साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाग्यमानीको निधार ठूलो

जे होस् जो सुकैको निधार ठूलो होस् मतलब भएन, तर भाग्यमानीको निधार मात्रै ठूलो भएर बुद्धि चैँ गधाको लिएर आए के फाइदा।

Nepal Telecom ad

कृष्ण शर्मा सुमु :

हुनेको जमिन होला, घर होला, गाडी होला, अझैँ बैंकमा ठूलो रकम होला, सुन-चाँदी हाबी-जाबी के होला-होला……
होलातिर जानु हुँदैन, खोलाले लान्छ। `अर्काको बारीमा साग छ, मेरो के लाग्छ´।
हुनेलाई ढुङ्गामा फल, नहुनेलाई गोबर मात्रै मल।

आ! जे सुकै होस् है, आफूसँग फुट्टी कौडी नभएको बेला कौडे भालेको झोल सोचेर हुन्छ र? कौडे खानु पनि हाम्रो घरमा सुत्केरी नै हुनुपर्छ। कि त फल खानु बिरामी पर्नुपर्छ। मिडल क्लासलाई कम साह्रो छ जिउनु! मागेर खाने हुत्ती छैन, गरेर खानु इलम छैन। मागेर पनि कसरी खानु? छैन भनौँ त छ, छ भनौँ त छैन, मिडल क्लासमा बाँच्नु साह्रो…. कि त लास्टै गरिब हुनु, कि त भक्कु धनी, गरिबलाई कुनै कानुन वा धर्मले बाँध्न सक्दैन, उ जता गए पनि ठिक, जता खाए पनि ठिक, उसलाई कानुनमा बाँध्नु त पाल्नुपो पर्छ त, उ स्वतन्त्र छ, के कारण थाहा छ? उसको पैसा छैन, उसको मर्जी चल्छ।

धनीलाई कुनै परिबन्धले बाँध्न सक्दैन, उसलाई कुनै जात-धर्मले छेक्न सक्दैन, उसले सबै कुरा सन्तुलन बनाउन सक्छ। धेरै भएपछि आन्द्रा फेर्ने तागत उसँग छ, त्यो हो भिटामिन मनी।

अब आउनुस् म जस्तो मिडल क्लास, न यताबाट चित्तबुझ्दो भो, न उताबाट। भएभरको ग्रह हामी जस्तो मिडल क्लासले बोक्नुपरेको छ। कहिले साढे सातको ग्रह, त कहिले आकाशमा भएको शनि ग्रह। कहिले जातपातको कुरा, त कहिले नानाथरी सामाजिक कुरा, नमानौँ त समाजको डर, मानौँ त आत्मसात गर्न मन पर्दैन। माग्न जाऊँ त तेरो घरबार छ त भन्छन्, नमागौँ त साला पापी पेटमा चारो हाल्न पनि हम्मे-हम्मे परेको छ। ऋण मागे फर्काउने ठेगाना छैन।
यसो पेट काटेर बचाएको पैसा पनि यति साह्रो भइदिन्छ कि दिऊँ त भोलि आउँछ कि आउँदैन, नदिऊँ त आँखामा दुख्ने घटना छ। परिस्थिति पनि यस्तो आइपर्छ कि लिएको ऋण तिर्न नसकेर बाटो नै फेर्नुपर्ने कुरा मिडल क्लासको लागि नौलो कुरा चैँ पक्का होइन।
कसले उखान बनाए भाग्यमानीको निधार ठूलो भनेर ?
गरिबको चलते नाम्लोले कपाल उडेको पनि हुन सक्छ। ल, भाग्यमानीको निधार ठूलो, अभागीको चैँ के ठूलो भएर यस्तो भएको त ?

धन्न भगवानले हामी नेपालीलाई निधार सानो बनाएर ठिक गरेछन्, नभए त दसैँमा टीका नै एक माना चामल लाग्ने निधार दिएको भए देशमा अकाल पर्दा निधार ठूलो हुनेलाई गाली खाने मुख्य स्रोतभित्र राख्दा हुने थियो।
अब मकैँ छरेर धान खोज्दा हुन्छ र ? भाग्यमानीको निधार ठूलो…. हुन सक्छ हर्मोन, वंशाणुगत, भिटामिन, तनाव, निद्रा नपुग्दा आदि कारणले निधारको कपाल झरेको पनि हुन सक्छ। अब विज्ञानको कुरा छोडेर कता तालुखुइलेलाई हामीले भाग्यमानी सोचेका हौला।

भाग्यमानी हो भन्दैमा डोकोमा दूध दुएर हुन्छ र ? भाग्यमा छ भन्दैमा आकाशको तारा मेरो हो भन्न पाइन्छ र? यहाँ अर्काको घरमा भएको चेलीबेटी त बुहारी भन्न पाइँदैन भने भाग्यमा भएको कुरा गर्नु पनि छोराको बिहे गरेपछि मात्रै बुहारी भन्न पाइन्छ। खै कसले उखान बनाए ?
तालुखुइले हुनु पनि भाग्यमानी भन्दा त छक्क पर्नु बनाउँछन्। विश्व कता पुगिसक्यो, हामी चैँ नुन कता बनिन्छ भनेर खोजिरहेका छौँ।
विश्वले अरू ग्रहमा घर बनाउने सोच्दा हाम्रो मिडियाले चैँ कसको बुढीको सित सल्क्यो, कसको बुढा कसको घरमा गयो भनेर खोज्दै देखाउँछ बा~~~

अझै त्यसले पनि नपुगेर आजकल बजारमा निस्केको झ्याउ च्याउ जस्तै बाबा, माताको कुरा सुन्दै भाग्यलाई दोष दिँदैछौँ। कथा सुनाउनेहरू करोडको गाडीमा चढेर हिँड्ने भए, हामी कथा सुन्ने चैँ डर, त्रास, भय बोकेर बैतर्नी नदी कसरी तर्ने भन्दै पापको हिसाब-किताब खोज्दै फेरि पुगेका छौँ चिना हेराउन, जताबाट पनि भाग्य नै नराम्रो भएपछि ग्रहजाप गर्नु, फेरि पुगेका छौँ पण्डितको जयजयकार गाउन, लेखान्त लेख्ने विधाता हो, हुन त सुन्दर चन्द्रमामा पनि खोट निकाल्ने समाजमा हामी बसेका छौँ। जसरी पनि खोट निकाले पुग्छ, आ….जे सुकै होस् है !

भाग्यमानीको निधार ठूलो भएर के भो त? चाउरी परेको बाँदरको जस्तो निधार हुनेले कम राम्रो केटी पाएको छ। नाथे भाग्यमा छ भन्दैमा डोकोमा दूध दुहेर हुन्छ र? भाँडा बलियो हुनुपर्छ, त्यो हिउँदे हावामा नै गोजी पल्टाइदिए के को भाग्यमानी, गोजी पनि अलिक गरम हुनुपर्छ, सुकेनास लागेको जुँघा जस्तो गोजी भएपछि भाग्यमा श्री लेखेर कहिले उभो लाग्छ र? श्री लेख्ने पनि भाग्यविधाता हो, त्यही श्री मेटाएर तितिरी लेखिदिने पनि उहीँ हो।

भाग्य त बाँदरले पनि लिएर नै आएको छ, होइन र? उसको पेटमा पनि चारो हालिदिने उही त हो, बाघको मुख खाए पनि रातो, नखाए पनि रातो भने जस्तै बाँदरको पिन चैँ किन रातो त? स्वाभाविक हो, प्राकृतिकले जे दिन्छ सहर्ष स्वीकार्नुपर्छ। अब टाउकोको कपाल उड्छ, भाग्यमानी रे…. निधार ठूलो हुनु पनि भाग्य नै चाहिन्छ, नभए म जस्तो छातीमा नै भुत्ला धेरै भएर साबुन त त्यहीँ सकिन्छ, अनि कहाँबाट बचत हुनु र भाग्यमानी बन्नु।

एक प्रिय साथीले तिम्रो त भाग्य नै राम्रो, जागिर त भयो कम से कम भन्दै आफ्नो गुनासो सुनायो, मैले पनि मनमनै भने जागिर त पाए नि साथी, तर न निल्नु भएको छ, न फ्याक्नु, तिमी जस्तो स्वतन्त्र भएको पखेटा पटक-पटक मेरो काटिएको छ, गोजीमा पैसा हुँदा पनि भोकभोकै हिँड्नुपरेको ताजा घटना आँखामा नाच्यो, हो साथी म भाग्यमानी हुँ। म लुरुलुरु चोर-बिरालोको सिकार उम्के झैँ बजारतिर लागेँ।

भाग्यमानी त उ हो जसको पछि दसवटा मानिस काम गर्ने होस्, दस आदेश मानिदिने मानिस होस्, हामी जस्तो साउनमा लुतो लागेको जस्तो मानिसको चोरी ल्यायो, भुटी खायो छ, कसले पो सुन्छ र हाम्रो कुरा त ?
कि त यहाँ कुरा बिकाउनु नेता हुनुपर्छ, तर आजकल जेन्जी आएपछि त नेताको पनि साह्रो टिकाउवाला विश्वास लाग्दैन, कति खेर कुन चैँले दाउरा ढाडमा बजाउने हो थाहा नै हुँदैन। नेता भन्दा त चम्चाको अलिक भर छ, कति खेर कुन पार्टीको झन्डा समाउन पुग्छ, भाग्य जाँच त उसले गर्न पाएको छ, जुन पार्टीले माल फ्याँक्छ उसको भइदिने, चम्चाले थाल खाली नहुन्जेल रुग्छ है। जस्तो थाल खाली, चम्चाले स्थान परिवर्तन गरिदिन्छ, यहाँ स्थान परिवर्तन गर्नुमा भौतिक विज्ञानको फर्मुला पनि फेल खान्छ।

वर्तमान परिस्थिति `यो पैसाको युग हो´ मा निर्भर छ। भाग्य उसको पनि हुन्छ जसको निधार हुँदैन भन्नुको मतलब तालु। तालु नभए पनि आलु फल्छ। यो फलाउनेमा निर्भर छ। मेहनत नगरी ल खा भनेर कसले पो दिन्छ र, बाउको होटलमा त काम नगरे माम पाइँदैन, अरूको होटलको के कुरा गर्नु र ?

माल पाएर चाल नपाएपछि हीरालाई पनि किरा टल्केको भनेर छोडिराख्छ। भाग्य होइन, मान्छे चिन्नु, खसी किन्नु भने जस्तै मौका सबैलाई दिएको हुन्छ। मौका अनि समयको सदुपयोग सही ठाउँमा गर्नेलाई निधारले पनि साथ दिन्छ। भट्टी पसलमा पसेर जागिर खोज्दा पाइन्छ र? जागिर खोज्न त पढाइ पो गर्नुपर्छ, होइन र ?
होइन माइला, जागिर खान त चाप्लुसी गर्नुपर्छ, के भन्छ यो बाजे ?
हो माइला, जागिर पाउन पढ्नुपर्छ, तर जागिर खान चाप्लुसी गर्नुपर्छ। जसले चाप्लुसी अनि तेल लगाउन जान्दछ उसको जागिर पनि पाक्छ, पेन्सन पनि पाक्छ।
हो रहेछ बाजे,
बाजेको कुरा सुनेर लुरुलुरु व्यङ्ग्य कस्न बसे फेरि….

भाग्यमानीको निधार ठूलो भएर के गर्नु, मुख धुँदा भक्कु साबुन तालुसम्म लाग्छ। तेल लगाउने ठाउँमा मालिस गर्दै ठिक छ। निधार ठूलो हुनु पनि पिर, घरमा ऐना फुटे बुढियाले त्यही तालु हेर्दै कपाल कोरिदिन्छन्।

टोपी किन्दा-किन्दा हत्तु, हुनु पनि हो जनसङ्ख्या वृद्धि भएको बेला टोपीले नियन्त्रण नगरेको भए चाइनालाई जित्ने डर, धन्न विज्ञानले प्रगति गरेको छ, नभए त रोग र थोक एकैसाथ आए घरमा पनि पीर, वनमा पनि पीर।

खुलेर बात गर्नु डराउनु अनि लजाउनु हुँदैन, भोलि रोगले समातेपछि सल्लाह दिँदा हुँदैन। समयमा सल्लाह अनि बुद्धि दिनुपर्छ। खाल्डामा जानुभन्दा पहिला खाल्डा छ भनेर भनिदिनु किन पो लजाउनु र?
ए…….!!!

म कता भाग्यमानी भन्ने विषयमा भाषण दिन बसेको, कता पुगेछु, जे होस् भाषण पनि सही अनि मानव जीवनको कल्याणकारी भए त्यो भाषण हुँदैन, अमृतवाणी हुन्छ। आजकल हाम्रो गाउँ-घरतिर चटपटे जस्तै भाषण दिएर जुका जस्तै मोटाउने नेताको पछि लागेर पनि धेरैको भाग्य बिग्रेको छ।

जे होस् जो सुकैको निधार ठूलो होस् मतलब भएन, तर भाग्यमानीको निधार मात्रै ठूलो भएर बुद्धि चैँ गधाको लिएर आए के फाइदा।

भाग्यमानीको निधार मात्रै होइन, सोच अनि समाजलाई लिएर हिँड्न सक्ने क्षमता हुनुपर्छ, नभए त भाग्यमानीले आफ्नो भाग्य बनाउँछ, बाँकीलाई खोलामा हालेर जान्छ।

०००
सिलगढी, भारत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा

बुढेसकालमा

कृष्ण शर्मा सुमु
तिहुन चखुवा

तिहुन चखुवा

कृष्ण शर्मा सुमु
पुरस्कार थाप्ने रहर

पुरस्कार थाप्ने रहर

कृष्ण शर्मा सुमु
कस्टमर केयर

कस्टमर केयर

कृष्ण शर्मा सुमु
मेलामा भएको झमेला

मेलामा भएको झमेला

कृष्ण शर्मा सुमु
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x