कृष्ण शर्मा सुमुकस्टमर केयर
म अत्तालेर भाइ भएकोमा पुगेँ फेरि मैसेज आयो उस्तै, म ठगिएको कुरा चाल पाएपछि हामीले बैंक मैंनेजरलाई कल लगायौं। बैंकबाट कुनै हेल्प नहुने भएपछि अन्तमा खाता बन्द गर्नु लगायौं।

कृष्ण शर्मा सुमु :
नमस्कार सर !
म गजक्क परेँ।
ससुरालीमा सालोले नमस्कार नगर्ने मान्छेलाई एक्कासी नयाँ नम्बरबाट नमस्कार सर भन्दा मेरो छाती त लाभा निस्केको पहाड जस्तै फुलेको थियो।
मैले नम्र स्वरमा नमस्कार भनिदिए।
सर हजुरको अलिकति समय छ ?
सुन्दर स्वरमा युवतीले भन्दा म अझै मख्ख परेर समय दिनु थालेँ।
मेरो जीवनको आधापाटाे त उसले नि भनिदिई। म छक्क परेँ।
सर हजुरको नाम, गाउँ, जन्म दिन, सबै भनेपछि सोचमा परेँ कसरी थाहा पाई मोरीले भन्दै उसको कुरामा मख्ख परेँ म त।
सर विवाहित कि ?
होइन, होइन, आइ एम सिगल भनिदिएँ ……
यताउता हेरेँ, धन्न बुढिया घरमा थिइन र….
कति राम्रो सर तपाईं के गर्नु हुन्छ सर ?
मैले पनि धाक दिँदै भनिदिएँ इज टिचर….
अनि सरको तलब ?
कम भनौं त इज्जतको डर धेरै भनौं त माग्छ कि भनेर मिलाएर बीचको भनिदिएँ।
यताउता सबै कुरा गरेँ…. मैडम तपाईं पनि सिंगल कि भनेर लाइन मारिदिएँ…
सर हजुरलाई खास कुरा गर्नु भुलेछु, तपाईं रमाइलो मान्छे हुनुहुँदोरहेछ, मेरो खुट्टाले भुइँ छोड्यो।
जे होस् गाउँमा पुग्दा कुकुरले भुक्ने मान्छेलाई सर मात्रै भनिदिँदा पनि ठुटे नेता जस्तो फुटानी मभित्र नआएको चैं होइन।
सर हजुर लोन (ऋण) लिनु हुन्छ ?
ऋण ?
हजुर सर !
मेरो सपनाको महलहरू एकतमास भएर भूँइमा खसे जस्तै भयो। यति मीठो स्वरले ऋण भनेको पटक्कै नसुहाउँदो लाग्यो।
जीवनमा यो मोबाइल किनेदेखि उहीँ त हो मलाई माया गर्ने भनेर सोच्दै थिएँ ……
अचानक हल्लो सर …..
हजुर ….हजुर
सर तपाईं सोचेर भन्नुहोस् म पाँच मिनटपछि पुनः कल गर्नेछु भनेर फोन काटिपठाई।
दस मिनटमा नै कत्रो सपना देखाई मोरीले ….
एउटा घर संसार सोचि पठाएछु…..
केहीक्षण पछि पुनः त्यही नम्बरबाट कल आयो। जे सुकै होस् अब सपना भत्के पनि स्वर सुन्नु मात्रै कल उठाए…
हल्लो सर नमस्कार…
एउटा राँगो जस्तो आवाज भएको लोग्ने पो बोल्छ।
सर अहिले तपाईंसित हाम्रो गफ भएको थियोे लोन बारे भन्नुहोस् सर कति लिनु हुन्छ ?
मलाई हुनुसम्मको रिस उठ्यो झुक्काउनु पनि सिमा हुन्छ नि, त्यही केटी बोलेको भए त मन त शान्त हुने थियो। यो राँगा जस्तो स्वर सुन्न साथ मेरो टाउकोमा चारवटा घाम लागे जस्तो लाग्यो।
सर कति लिने लोन…..
मैले निकै चर्को स्वरमा भने दिनु सक्नु हुन्छ के ?
भन्नुहोस् सर कति…
मैले भने दस अरब…
उसले मलाई खिसी गर्दै भन्यो दस अरबमा कतिवटा शून्य हुन्छ सर ?
मैले रिसाउदै भने सक्ने कि नाई ?
सर तपाईं दस अरब लिएर के काम गर्ने त ?
मैले उत्तर दिए रेल (ट्रेन) किन्नु मन छ ?
सबै कुरा निजीकरण भएर बेकारी समस्याले गाउँ हाँकेको बेला अब मलाई निजी एउटा ट्रेन किन्नु मन छ।
सर…सर …हजुरले त्यो ट्रेन कता चलाउनु हुने त ?
उसले मजाकी तोडमा सोधेपछि मैले भनिदिए दिल्ली टु काठमाडौं …
उसले हाँस्दै फोन काट्यो।
हेल्लाे सर !
नमस्कार
तपाईं कृष्ण शर्मा ?
हजुर हजुर ….
सर हजुरको बैंक खाता बन्द हुँदैछ ।
हो र ?
हजुर सर।
तपाईंको बैंक खातामा भएको सबै रकम रोकिने छ।
के भन्नुहुन्छ ?
हजुरले के.वाई.सी.अपडेट गर्नु भएको छैन रहेछ।
हेल्लाे सर !
हजुर हजुर भन्नुहोस् न,
चाँडो भन्दा चाँडो तपाईं आफ्नो बैंकमा जानुहोला।
होइन मैडम त बाहिर छु, कसरी बैंक पुग्नु सक्छु र ?
आपतमा परे मैडम कुनै उपाय भए भनिदिनु होला ?
हजुर सर तपाईंको आधार कार्ड (नागरिकता नम्बर) अनि बैंक खाता नम्बर चाँडो भन्नुहोस्।
सर हजुरको नम्बरमा एउटा ओ.टी.पी.आउने छ।
हजुर मैडम……
यता दिनुहोला तब तपाईंको बैंक खाता बन्द हुनुबाट बाँच्ने छ।
तुरुन्त हेर्नू त सर चार अङ्क भएको नम्बर आयो। चाँडै दिनुहोस्।
लेख्नु होस् ९८५४ । ल सर अब एकछिनमा नै तपाईंको खाता पुनः चालू हुनेछ।
हजुरको दिन मंगलमय रहोस्।
मोबाइलमा मैसेज आयो तपाईंको खाताबाट पच्चीस हजार निकासी भयो।
म अतालेर भाइ भएकोमा पुगेँ । फेरि मैसेज आयो उस्तै, म ठगिएको कुरा चाल पाएपछि हामीले बैंक मैंनेजरलाई कल लगायौं।
बैंकबाट कुनै हेल्प नहुने भएपछि अन्तमा खाता बन्द गर्नु लगायौं।
जागो ग्राहक जागो ! यो सन्देश व्यङ्ग्यबाट नै दिन चाहेँ ।
०००
सिलिगुडी, भारत
Subscribe
Login
0 Comments
Oldest







































