कृष्ण शर्मा सुमुघर न द्वार हिँडे हरिद्वार
भाइ दस रुपियाँको सिगरेट खानेले एक रुपियाँको माचिस बोक्नु पर्दैन र ? उ चुपचाप ओठ लेपारेर गयो । यस्तै हुन्छ कति कुरा घर न द्वार हिँडे हरिद्वार।

कृष्ण शर्मा सुमु :
बिचारको अभिव्यक्त गर्ने ठाउँ हुन्छ। स्वतन्त्र भएर बोल्न, लेख्न पाइन्छ। अब बोल्ने अधिकार देशको कानुनले दिएपछि सबैको मत राख्ने ठाउँ पनि छ। भनौं न नाच्न पाइन्छ भनेर रेडियोको समाचारमा नाँच्नु भएन नि । रेला गरेको ठाउँमा रेला कुरा नै हुन्छ। भाषण दिएको ठाउँमा भाषण कै कुरा हुन्छ।
मन्दिर, चर्च, गुम्बामा पुगेपछि ईश्वरको नै कुरा हुन्छ। जसले जुन नाम दिनु भएको छ कसैले प्रभु, कसैले भगवान, कसैले गर्ड । जे होस् जुन स्थानमा पुगिन्छ त्यही ठाउँको कुरा गरेको राम्रो, त्यही विषयमा बोलेको राम्रो । लंकामा सुन छ कान मेरो बुच्चै भन्दै लंकातिर मुख पारेर लंकालाई गाली गर्नु त भएन नि…होइन र ?
अब भट्टीपसलमा पसेर कविता सुनाउँदा हुन्छ र ? कविता/गजलको आफ्नो गरिमा छ। त्यसलाई सुनाउने मञ्च बनिएको हुन्छ अनि त्यहाँ सुन्ने व्यक्तिको हृदय पनि उस्तै हुन्छ।
ठाउँमा हीरा फोड्नेलाई हिरो भनिन्छ। कवि अनि कविताको कुरा आइहाल्छ, गरिहाल्छु। कतै एक सज्जनले आफ्नो नामको अघि कवि लेख्नु भएको थियो यो फेसबुके दुनियाँमा। सायद यत्रो कवि जस्तो गरिमामय पदमा बसेपछि खासै कवि नै सोचेँ।
उहाँका पूरा रचनाहरू हेर्नू खोजेँ, थिएन, ठिकै हो कसैले लेखेको कविता वाचन गरेर एकदुई ठाउँ पोस्ट गरेको भेटेँ । यसो सोचेँ सम्मान, उपाधि, भन्ने कुरा त अरूले पो दिन्छन् होइन र ?
मलाई साप्टी, ऋण वा लोन जस्तो कुराले भित्रभित्रै खान्छ। कसैकोबाट कुनै दिन यसो साप्टी चलाए भने पनि उसको सामु पर्दा रातोपिरो हुन्छु। जे होस् यो ऋण र नराम्रो दिन शत्रुलाई पनि भागमा नपरोस् ।
एकजना साथी हातमा कागज लिएर बैंकतर्फ कुद्दै थियो। सायद हतारमा थियो अलिकति बात गरेर लोन डिपार्टमेन्टतिर लाग्यो।
उसले छ:महिनादेखि घरभाडा तिरेको छैन भन्दै घर मालिकले सधैं बिहानै मलाई नै ताना मार्ने। जे होस् कसैको निजी जीवनमा बोल्ने कसैलाई अधिकार दिएको त छैन नै.. ।
एकदिन बाटोमा भेटेँ नयाँ गाडी, नयाँ मान्छे, हातमा सिगरेट, मुखमा पान थियो। अचानक सँगै काम गर्ने साथीमा आएको परिवर्तन सोध्न पुगेँ। अस्ति के त बैंकमा भेटेको, मलाई ठिकै याद आयो। त्यही ऋण लिएर किनेको भन्दा तीन छक्क परेँ। जे होस् साथीलाई बधाई दिँदै अघि बढेँ।
फेरि उसको नै घर मालिक बाटोमा भेटेँ। तपाईंको साथीले गाडी, घोडा किन्नु सक्छ तर घरभाडा दिनु सक्दैन भन्दै उ गयो।
मनमनै सोचेँ आफू छ भाडामा, खुट्टा छ छहारामा। रहर तब पूरा गरिन्छ जब शहरमा आफ्नै घर हुन्छ। रहर तब पूरा गरिन्छ जब गाउँमा आफ्नै आँगन हुन्छ।
जे कता, गिटारको तार जस्तै कुरा बटारेछु।
एउटा धेरै मिल्ने साथी थियो। लु न आपत परेँ भनेर साप्टी पैसा लिएर गएको दिनदेखि उसले म हिँडेको बाटो छोडेर हिँड्नु थालेको छ।अनुहार देखाउनु त परको कुरा छायाँसम्म देख्नु नपाउँदा चैं मान्छेबाट भरोसा उठ्दै गएको छ। फर्काउने कुरा कता हो मित्रतालाई लात हानेपछि होसियार हुनु कर लागेको छ।
ठूलो बजारमा ठूलो कुरा म र साथी बसेर गफ गर्दै थियौँ। अचानक एउटा केटा छेउमा आएर केही भुले जस्तो गरेर बाइक रोक्यो।तपाईंकोमा केस नगद छ ? मलाई सोध्दै थियो। मैले उसको कुरा टार्नु के मुख खोलेको मात्रै थिएँ, साथी प्याच्चै बोली पठायो । छ छ किन ? तपाईंलाई फोन पे गरिदिन्छु नि भनेर गोजीबाट फोन निकाल्यो। साथीले पनि नगद निकालेर त्यो युवाको हातमा दियो। उसको नम्बर लिएर पैसा हाले जस्तै गर्दै थियो। हामी दुई गफमा भुल्नु थाल्यौं। केटा बाइक लिएर हिँड्यो। साथी चैं घरिघरि ब्यालेन्स चेक गर्दै थियो। लगभग दस मिनटपछि आफू ठगिएको कुरा गरेपछि थाहा भयो आज कतै सहयोगको हात बढाउन पनि गाह्राे छ।
दुई बाग्मफुसे भाइहरू मज्जाले गफ दिँदै थिए। एउटा हातमा चिया थियो अर्को हातमा सिगरेट…म दोकानको छेउमा बसेर चोर जस्तै कुरा सुन्दै थिएँ, भर्खरै आएको बाइकको कुरा हुँदै थियो, लगभग तीन लाख जतिको रहेछ कुरा सुन्दा, यस्तो उस्तो गाडीको प्रचार मानौं कम्पनीले उनीहरूलाई नै ठेक्का दिएको जस्तो लाग्यो। लाख र करोडदेखि तल दुई भाइको मुख मुनि थिएन, सोचेँ पक्का पनि केटाहरूले गरिखाने रहेछन् भन्दै थिए । जब चियाको बिल आयो नि तब दुई भाइले गोजी छाम्नु थाले, फुटेको पैसा थिएन, चियाको पैसा तिर्नु नसके खै कता कता फोन गर्दै थिए ।
अहिले आएको छ नि सेयर मार्केट एक महिनामा डबल पैसा… एक जान भाइले खुब देखायो मलाई। यसमा डबल उसमा डबल। सायद होला पनि भनेर सोच्दै थिएँ । कम्पनीलाई कसरी यत्रो मुनाफा हुन्छ होला भनेर हेर्दै थिएँ । भाइले बिस्तारै डबल हुने कुरा गर्नु छोड्नु थाल्यो।
सायद वाक्कै मान्छ भनेर कुरा गर्नु छोडेको सोचेँ, भएभरको रकम उसले कताकता लगाएको थियो। बिचमा सोधेको त कम्पनी घाटामा गएर बर्बाद भएछ नि दाजु भन्छ। यति बिघ्न घाटामा गएछ कि आफ्नो मउ पनि नपाउने स्थितिमा पुगेपछि आजकल खै कुनै चै गुरुदेउको भजन सुन्दै बस्छ।
एक जान हतारमा आयो … दाजु माचिस छ ? भन्यो । मैले यताउता हेरे न म सिगरेट खान्छु न उसलाई नै चिन्छु, मैले टाउको हल्लाएर छैन भनिदिएँ, अनि सोधेँ किन र भाइ ? सिगरेट खानु मन लागेर भन्यो। भाइ एक पिस सिगरेटको दाम कति हो ? उसले धमास साथ भन्यो दस रुपियाँ … । भाइ दस रुपियाँको सिगरेट खानेले एक रुपियाँको माचिस बोक्नु पर्दैन र ? उ चुपचाप ओठ लेपारेर गयो ।
यस्तै हुन्छ कति कुरा घर न द्वार हिँडे हरिद्वार।
०००
सिलगडी, भारत
Subscribe
Login
0 Comments
Oldest







































