साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्य र व्यङ्ग्यको कलात्मक नमुना : ‘धरोधर्म हजुर !’

उनका रचनामा व्यङ्ग्यको प्रधानता रहे पनि अन्तर्हास्यको पुटले रचना रसप्रद बनेका छन् । उनका रचनामा हास्य र व्यङ्ग्य दुवैको मीठो स्वाद पाउन सकिन्छ ।

Nepal Telecom ad

प्रा. कपिल अज्ञात :

उत्तमकृष्ण मजगैयाँ २००९ साहित्यिक क्षेत्रको स्थापित नाम हो । उनी साहित्यमा बहुआयामिक छन् । कविता पनि लेख्छन्, काव्य पनि लेख्छन्, कथा पनि लेख्छन्, साहित्यिक कृति वा पत्रपत्रिकाको सम्पादन पनि गर्छन् । यस्तै अरु जे जे गरे पनि उनी हास्यव्यङ्ग्य रचनामै अव्वल छन्, उत्कृष्ट छन् । उनका हास्यव्यङ्ग्य रचना नै पाठकलाई औधि मन पर्छन्, त्यसमा पनि ‘धरोधर्म हजुर !’ लाई म ठोकुवा गरेरै भन्न सक्छु । उनको ‘धरोधर्म हजुर !’ हास्यव्यङ्ग्य सङ्ग्रह (२०५४) कलात्मक प्रस्तुतिका कारण त्यत्तिकै स्तरीय र पठनीय छ । त्यसै यो कृतिको प्रकाशनको दायित्व तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले बहन गरेको होइन । रूपरेखा, मधुपर्क, गरिमा, मिरमिरे, अभिव्यक्ति, गोरखापत्र जस्ता राष्ट्रिय स्तरका ख्याति प्राप्त पत्रिकामा पूर्वप्रकाशित रहेका १५ वटा हास्यव्यङ्ग्य रचनाहरू यसमा समावेश गरिएका छन् । ‘धरोधर्म हजुर !’ यस कृतिको अन्तिम रचना हो । यी सबैमा हास्यव्यङ्ग्यको कति शक्ति, शिल्प र सामर्थ्य छ रचना आफैले बोलेर प्रमाणित गर्छन् ।

जब कुनै कुरा विश्वास नलागे जस्तो लाग्छ तब विश्वास दिलाउनका निम्ति किरिया खाने प्रचलन रहेको छ । यो व्यक्तिपिच्छेको मौलिक लत हो । धेरैले धेरै थरीका किरिया खान्छन् । त्यस्तै प्रचलित किरिया ‘धरोधर हजुर’ हो । यो धर्म नै भाकेर खाइएको किरिया हो । अन्तिम शब्द ‘हजुर’ विनम्रताको सूचक हो । कसैले ‘धरोधर्म हजुर’ नभनेर ‘धर्म नाश होस् हजुर’ पनि भन्दछन् । सत्यलाई जोड दिनका निम्ति किरिया खाने चलन रहेकाले कुनै कुराको छिनोफानो गर्नका निम्ति व्यक्तिलाई ‘तामो–तुलसी’ लिएर भाक्न लगाउछन् वा गीतामा हात राखेर भन्न लगाउँछन् । कसैले टुप्पी राखेका भए टुप्पी समातेर ‘टुप्पीको कसम’ खान्छन् त कसैले जनै धारण गरेका भए जनै समातेर ‘जनैको कसम’ पनि भन्छन् । यिनै कसम खाने प्रवृत्तिलाई हास्यव्यङ्ग्यकार मजगैयाँले रोचक पाराले चर्चा गरेका छन् । यसै शीर्षकका आधारमा कृतिको शीर्षक नै राखिएको छ ‘धरोधर्म हजुर !’ जुन हास्यव्यङ्ग्य कृतिको निम्ति सुन्दर र सार्थक देखिन्छ ।

मजगैयाँले २०३५ सालमै ‘डाक्टरीको चक्करमा’ गोरखापत्रको शनिवासरीय अङ्कमा रचना प्रकाशित गरेर आफ्नो प्राकृतिक शक्ति र सीपको प्रारम्भिक अभ्यास गरेका हुन् । प्रारम्भिक अम्यासमा हास्यव्यग्यका सुन्दर लक्षणहरू देखिन्छन् । त्यो रचना यसै कृतिभित्र पनि समावेश रहेको छ । तिनै अभ्यासको समुच्च विकसित रूप हो ‘धरोधर्म हजुर !’ त्यही रूप ‘सुनको फुलपार्ने पोथी’ (२०५४) र ‘गृहलक्ष्मी भित्र्याए पछि’ (२०५४) मा विस्तारित भएको देख्न बुझ्न सकिन्छ । यसरी उनका हास्यव्यङ्ग्य रचना प्रकाशनका दृष्टिले २०५४ साल उर्वर सालको रूपमा देखापर्छ ।
मजगैयाँ वि.सं. २००९ सालमा जन्मिएका हुन् । २०५४ साल पैँतालीस वर्षपछिको स्वर्णिम काल देखापर्छ । पाँच र चारको योग गर्दा नौ हुन्छ ।

यस दृष्टिले नौ भाग्याङ्क रहेछ ! जहिले जस्तो योग पर्छ, उनको भाग्यद्वार खुल्ने रहेछ ! नौ अङ्क जेष्ठा नक्षत्र जहिले आउँछ त्यति बेला उनको भाग्य चम्कने अनुमान गर्न सकिन्छ । त्यसो त भाग्य त्यसै खुल्दैन, कर्मको चाबीबाटै त्यो खुल्दछ । जे होस्, ‘नौ’को योगमा कर्म गर्दा उनलाई भाग्यले पनि साथ दिएको पाइन्छ । उनले एघार वर्षकै उमेरमा कविता रचना गरेका छन् । उनको त्यो ‘तब मात्र’ शीर्षकको कविता २०२० को ‘ज्योत्स्ना’ पत्रिकामा प्रकाशित भएको देखिन्छ । सानै उमेरमा कविता रचना गर्ने उनमा पछि गएर बहुमुखी प्रतिभाको प्रस्फुटन भएको देखिन्छ । कवितामै पनि ‘जय अवसरवाद’ (२०५४) र ‘तिमी नरहे देश डुब्न्याछ !’(२०५६) ले हास्यव्यङ्ग्य प्रवृत्तिको प्रतिनिधित्व गर्दछन् । पछि गएर कवितामा उनका कृति ‘बुद्धहरू मर्दैनन्‌’ (२०५९) मा मुक्तलयका कविता र ‘अनुगुञ्जन’ (२०७६) तथा ‘अन्तर्ध्वनि’ (२०८२) मा ललित प्रकृतिका शास्त्रीय छन्दमा आधारित पद्य कविताहरू प्रकाशित भएका छन् ।

उनले कवितामै पनि मौरी झैँ गुञ्जन गरेर मह जस्ता मीठा कविता नपस्किएका होइनन् तर पनि उनका हास्यव्यङ्ग्य रचनाले नै अधिक लट्ठ पार्छन् । उनका हास्यव्यङ्ग्यमा अहा ! कति मीठो कल्पना शक्ति ! कति घतलाग्दो वर्णन ! कति स्वभाविक कथन ! कति सरल र स्वाभाविक सम्प्रेष्य शैली ! कति तीक्ष्ण र चोटिलो प्रतिक्रिया ! यी सबै रचनात्मक विशेषता स्रष्टाका आफ्नै प्राकृतिक प्रसूत गुण हुन् । जसले आफ्नो प्राकृतिक गुणलाई सुन्दर शैली– शिल्पमा प्रस्तुत गर्न सक्छन् उनै दामी र नामी लेखक बन्न सक्छन् ।

उनका हास्यव्यङ्ग्यका रचनात्मक कथ्यहरू जति पढ्यो उति नै पढिरहूँ र रचनाको आस्वादन पाइरहूँ जस्तो लाग्छ । यथार्थमा उनले आफ्नो प्राकृतिक गुणलाई कलामा उतारेर रचनालाई नै ऐतिहासिक तुल्याएका छन् । त्यसैले उनलाई मूल रूपमा कवि भन्नुभन्दा हास्यव्यङ्ग्यकार भन्नु नै मनासिव देख्दछु । त्यसो त उनले ‘जय अवसरवाद’ र ‘तिमी नरहे देश डुब्न्याछ’ भन्ने हास्यव्यङ्ग्यका कवितासङ्ग्रह नै रचना गरेका छन् तर उनको हास्यव्यङ्ग्यको पद्य–गुणभन्दा गद्य–गुण नै सर्वोपरि छ भन्ने लाग्दछ ।

‘धरोधर्म हजुर !’ मेरा दृष्टिमा मात्र होइन दुनियाँका दृष्टिमा पनि प्रिय लागेको कृति हो । त्यसैले यस कृतिबारे स्पष्ट पार्नु सान्दर्भिक होला । हास्यसँग व्यङ्ग्य जोडिन आएको छ । दुवै आफ्ना गुण प्रकृतिले जोडिएका शब्द हुन् । हास्य भनेको हँसाउने र व्यङ्ग्य भनेको छेड हान्ने वा घोचपेच गर्ने प्रकृया हो । व्यङ्ग्यभन्दा हास्य शब्द अगाडि किन प्रयोग गरिन्छ त्यो मननीय कुरा छ । हास्य मनोरञ्जनसँग सम्बन्धित छ भने व्यङ्ग्य घोचाइ वा पीडासँग सम्बन्धित छ । जे होस्, आनन्द दिने अर्थमै हास्य शब्द अगाडि प्रयोग भएको हुन सक्छ । सिद्धान्तकारहरूका दृष्टिमा हास्यमा भावतत्त्व प्रमुख रहन्छ भने व्यङ्ग्यमा बुद्धितत्त्व निहित हुन्छ । हास्य विकृत चेष्टाबाट जन्मिन्छ भने व्यङ्ग्य विसङ्गत अवस्थाबाट प्रादुर्भाव हुन्छ । दुवैको उद्देश्य विकृत, विसङ्गत अवस्थाको चित्रण गरेर आनन्दसहित सुधारको मार्ग प्रसस्त पार्नु हो ।

मजगैयाँका अधिकांश निबन्धमा आख्यानतत्त्वकोे प्रचुरता पाइन्छ । समसामयिक यथार्थलाई विषयवस्तु बनाएर उनी हास्यव्यङ्ग्यको रचना गरिरहेका हुन्छन् । उनका कतिपय व्यङ्ग्य–रचनालाई व्यङ्ग्य–कथा पनि भन्न सकिन्छ । समीक्षकहरूका दृष्टिमा पनि उनका रचनाहरूमा हास्यभन्दा व्यङ्ग्यको प्रधानता पाइन्छ र उनको मुख्य प्रवृत्ति आख्यानात्मक निबन्ध नै हो भन्ने रहेको छ । २०३५ सालदेखि २०५४ सालसम्म १९वर्षे अवधिमा विशेषतः २०५० कै आसपासमा रचिएका मजगैयाँका हास्यव्यङ्ग्यका रचनामा तार्किक शैलीको पनि विशेषता देखापर्छ ।

तर्कले उनको हास्यव्यङ्ग्यका नैबन्धिक रचनात्मक प्रवृत्तिलाई धारिलो र तेजिलो तुल्याएको छ । कतै एक जोर नयाँ लुगाको प्रसङ्ग झिकेर, कतै देउतावाजेलाई चिट्ठी भन्दै पत्रात्मक शैलीको प्रयोग गरेर, कतै अतिथि देवताको प्रसङ्ग झिकेर, कतै यमराजको अदालतमा अद्भुत कल्पना गरेर, कतै उपनामको चक्करको धारणा राखेर, कतै व्यङ्ग्यकारकी पत्नीको अन्तरवार्ता लिएर, कतै डाक्टरीको चक्करमा परेको पूर्वस्मृति सुनाएर, कतै ससुरालीको निम्तो जस्ता घत लाग्दा प्रसङ्ग बयान गरेर, कतै बेरोजगार भएर पीडामा परी हण्डर, ठक्कर खाएको मुखियाको पद खाली छ भन्ने सुनेर, कतै एकदिनको भान्छे बन्नुपर्दाको अनुभव बखानेर, कतै आफन्तहरूको आपत्‌को वर्णन गरेर, कतै साहित्यकार बन्ने सपनामा अर्को नयाँ पसल खोलेर र अन्त्यमा धरोधर्म हजुरको चर्चा गरेर हास्यव्यङ्ग्यको व्यञ्जन प्रस्तुत गरेका छन् ।

मजगैयाँका हास्यव्यङ्ग्य रचना रसप्रद, प्रेरणाप्रद र ऊर्जाप्रद छन् । तिनमा उनका भावना र कल्पनाले नै प्रवाहमय गति दिएको पाइन्छ । तार्किकता, काव्यात्मकता र मर्मस्पर्शी वर्णनले उत्सुकता थपेको पाइन्छ । उनका कल्पना पनि सामयिक यथार्थमा आधारित छन्, अतिशय अतिरञ्जना र अस्वाभाविक लाग्ने किसिमका छैनन् । उनले मझौला आयातनमा कथ्यलाई टुङ्ग्याउँछन् । हास्यव्यङ्ग्य सञ्चारका निम्ति त्यति नै ठीक हुन् जस्तो लाग्छ । पढ्दै जाँदा कहीँ कतै खल्लो र अलिनो लाग्दैन । सबै रचनाहरू सिर्जनात्मक तत्त्वहरूलाई आवश्यकता अनुसार सन्तुलितरूपमा प्रयोग गरी तयार पारी सुस्वादु बनाइएको सुपाच्य व्यञ्जन जस्ता लाग्छन् । शब्द–शैलीको चामत्कारिक प्रस्तुतिभन्दा पनि वर्णनकला र कथ्यको परिपुष्टिले आस्वादन र आनन्दको सञ्चार गराउँछन् । शीर्षककेन्द्री रहेका उनका सबै रचनाहरू प्रौढ र परिपक्व मनस्थितिका उपज देखिन्छन् ।

निष्कर्षमा भन्दा आख्यानलाई आधार बनाएर सुन्दर भावना र कल्पनाले नैबन्धिक प्रवाहलाई गति दिदै सरल सम्प्रेष्य स्पष्ट शैलीमा सामयिक यथार्थलाई आधार बनाएर समाजमा व्याप्त विकृत र विसङ्गत अवस्थाप्रति व्यङ्ग्य प्रहार गरी सामाजिक सुधारका लागि मार्ग प्रशस्त पारेका छन् । उनका रचनामा व्यङ्ग्यको प्रधानता रहे पनि अन्तर्हास्यको पुटले रचना रसप्रद बनेका छन् । उनका रचनामा हास्य र व्यङ्ग्य दुवैको मीठो स्वाद पाउन सकिन्छ । उनले कथ्यलाई तार्किकताले तेजिलो बनाएर यथोचित प्रसङ्गमा उखान–टुक्काको समेत प्रयोग गरी आनन्दको सञ्चार गराउँछन् ।

०००
कीर्तिपुर–२, मैत्रीनगर, काठमाडौँ ।
मो. ९८४५११००३०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अनलाइन ठगहरू

अनलाइन ठगहरू

प्रा. कपिल अज्ञात
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
पुरेत र जजमान

पुरेत र जजमान

प्रा. कपिल अज्ञात
शैतानको बगान

शैतानको बगान

प्रा. कपिल अज्ञात
नीच प्रवृत्ति चित्रण

नीच प्रवृत्ति चित्रण

प्रा. कपिल अज्ञात
ससुराली !

ससुराली !

धनराज गिरी
रक्षा गर

रक्षा गर

रामकृष्ण ढकाल
मजदुरमा दरार

मजदुरमा दरार

सुरेशकुमार पाण्डे
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
0
Would love your thoughts, please comment.x
()
x