साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘सुनको फुल पार्ने पोथी’ कृतिमा मजगैयाँकाे हास्यव्यङ्ग्य शिल्प

कुनै रचनाले पाठकलाई कुत्कुत्याउने र कुनैले मर्मान्तक पीडाको अनुभूति दिने हुँदा मजगैयाँको हास्यव्यङ्ग्य रचना उत्कृष्ट स्तरको अनुभव हुन्छ । उनी सरल, सहज पाराले हास्यको सिर्जना गर्छन् ।

Nepal Telecom ad

प्रा. कपिल अज्ञात :

‘सुनको फुल पार्ने पोथी’ (२०४५) उत्तमकृष्ण मजगैयाँको हास्यव्यङ्ग्य रचनाको कृति हो । हास्यव्यङ्ग्यकै गद्यधारा र पद्यधारामा उनका आधा दर्जनजति कृति प्रकाशित भइसकेका छन् । पद्यधाराभन्दा गद्यधाराका हास्यव्यङ्ग्यले निकै उचाइ छोएको प्रतीत हुन्छ । २०५४ साल मजगैयाँका रचनाको स्वर्णकाल नै रहेछ । एकै सालभित्र पाँच रत्न निस्केका रहेछन् । जय अवसरवाददेखि सुनको फुल पार्ने पोथीसम्म हास्यव्यङ्ग्य कृतिको शृङ्खलाले नेपाली साहित्य परम्परामा एक वासन्तिक बहार नै ल्याएका रहेछन् ।

यतिबेला फेरि मेरा हातमा उही कृति समीक्षार्थ आएको छ । शीर्षकले नै यो हास्यव्यङ्ग्यको कृति हो भन्ने सङ्केत मिल्छ । किनभने शीर्षक नै ध्वन्यार्थमा निहित छ । त्यसबेला प्राध्यापन पेशामा क्रियाशील हुँदा मलाई साहित्यक पुस्तक जोर्ने रहर जाग्थ्यो किनकि साहित्य पढ्ने सौख थियो । ती खोजेर र किनेरै पनि जम्मा पार्ने प्रयास गर्थें । पाठ्यक्रमका पुस्तकभन्दा साहित्यका पुस्तक अधिक प्रिय थिए । पाठ्यक्रमका पुस्तक त पुस्तकालयबाट पनि उपलब्ध हुन्थ्यो तर साहित्यका पुस्तक आफ्नै पैसाले जोर्नुपर्थ्यो । साहित्यका पुस्तक खोज्न विशेषगरी साझा प्रकाशनमैं जानुपर्थ्यो । साझाबाट छापिएका साहित्य उत्कृष्ट हुन्छन् भन्ने धारणा थियो ।

उतिबेला साझाबाट पुस्तक किन्दा कम्तीमा हजार रूपैयाँ नपुर्‍याएसम्म पच्चीस प्रतिशत छुट पाइँदैनथ्यो । सो पुर्‍याउनका लागि विभिन्न पुस्तकको खोजी गरिन्थ्यो; साझाको पुस्तक सूचीपत्र हेरेर पनि पुस्तक खोज्न र रोज्नमा सहज हुन्थ्यो । त्यही छुटका कारण उनै मजगैयाँका हास्यव्यङ्ग्यका कृति समावेश गरी हजारभन्दा अधिक पुर्‍याएर उक्त छुट लिएको यतिबेला स्मरण गरिरहेछु । यति नै बेला आफ्नो घरेलु पुस्तकालयका पुस्तकहरू हेर्दै जान्छु त आधा दर्जनभन्दा बढी मजगैयाँकै कृति रहेछन्, ती त्यतिबेलै किनिसकेको रहेछु । अहिले आफैँसँग प्रश्न गर्दा उनको रचना र शिल्पले मलाई उतिबेलैदेखि तानेको रहेछ । त्यतिबेलै केही पढेको पनि हुँला तर अहिले सम्झना रहेन । स्थिर, गम्भीर भएर आफ्नो समीक्षात्मक प्रतिक्रिया जनाउन भने बाँकी नै रहेछन् ।

उतिबेलै पढेर समीक्षा किन गरेनछु भन्ने पछुतो लाग्छ । उनका कृतिमा प्रवेश गर्‍यो भने छोड्नै मन लाग्दैन; पूरा पढिसक्यो प्रतिक्रिया जनाउन मन लागिहाल्छ । यसोउसो गर्दागर्दै आधा दर्जनभन्दा अधिक कृतिको त मैले समीक्षा पो गरिसकेछु । उनले भनेअनुसार उनका कृतिमा विविधता र नवीनता छ । उनका रचना आफैँ बोल्छन्, बोलिरहेका छन् । उनले आफ्नो यो कृतिमा समाजमा व्याप्त विकृति, विसङ्गतिउपर आफ्नो अनुभवभन्दा पनि काल्पनिक घटना र पात्रको प्रयोग गरी अर्थात् आख्यान सिर्जना गरेर आफ्नो सीप र सामर्थ्यबाट हास्यव्यङ्ग्य रचना गरेका छन् ।

यस सुनको फुल पार्ने पोथी कृतिभित्र सोह्रवटा हास्यव्यङ्ग्य रचना छन् । सबै रचना सार्थक, सोद्देश्य, सन्देशमूलक र प्रभावोत्पादक छन् । यस कृतिबाहेक उनका अन्य रचना अधिक निबन्धात्मक छन् भने यो बढी हास्यव्यङ्ग्यात्मक र आख्यानात्मक अनुभव हुन्छ । आख्यानात्मकता उनका रचनामा पाइने प्रमुख विशेषता नै हो । त्यो उनका अधिकांश रचनामा निहित छ । उनले आख्यानात्मक नरहेका ठाउँमा प्रसङ्गका टुक्राटुक्री जोडेर रचनालाई एक निश्चित आयाममा प्रस्तुत गरेका छन् । उनी प्रखर कवि पनि हुन्‌; गद्य र पद्य दुवैमा उनको वर्चस्व छ ।

कवितामा हास्यलाई उनले उत्कृष्ट रूपमा प्रस्तुत गरेका छन्, त्यस्तै उनी प्रगाढ कथाकार पनि हुन् । दुवै विधागत शक्ति–सीप उनले हास्यव्यङ्ग्य रचनामा पनि समन्वित गरेका छन् । उनी स्मृतिशक्तिका धनी पनि उत्तिकै छन् । आख्यानका अतिरिक्त स्मृतितत्वको समावेश गरेर भए पनि रचनात्मक कथ्यलाई रागात्मक गति प्रदान गरेका छन् ।
कृतिमा निहित रचनाहरू कुनै हास्यप्रधान छन्, कुनै व्यङ्ग्यप्रधान छन्, कुनै हास्यव्यङ्ग्य दुवै तत्वले सम्पन्न छन् । जहाँ आख्यान र स्मृति छैन त्यस्ता कथ्यमा स्वैरकल्पनाले कथ्यलाई रोचक गतिमा प्रस्तुत गर्दै मनोरम स्थितिको कथ्यले बिट मारेका छन् ।

समग्रतामा आकलन गर्दा स्मित हास्यव्यङ्ग्य विनोदप्रियता र रोचक वर्णनात्मकताले कृति गुथिएको छ । यसमा पाँच वर्षे अवधिका अधिकांश रचना पूर्व ख्यातिप्राप्त पत्रिकामा प्रकाशित भैसकेका एवम् कतिपय प्रथम पटक यसैमा प्रकाशित रचनाराशि रहेछन् । सबै रचनालाई यसै कृतिको अन्तिम रचना सुनको फुल पार्ने पोथीमा समेटेर प्रस्तुत गरिएको रहेछ ।

यस रचनाभित्र विकृति–विसङ्गतिका पराकाष्ठाको पनि चित्रण गरिएको छ, जस्तै एक नमुना – “कुकुरलाई खसी बनाएर, ढुङ्गालाई चामल–दाल बनाएर मान्छे कहाँदेखि कहाँ पुगिसक्यो तिमी सत्यवादी हरिश्चन्द्र बन्दैमा सम्पूर्ण अनैतिक कार्यहरू रोकिएका छन्‌” (पृ. ९३) । यति मात्र होइन परिवन्दमा परी जेल परेर जेल गएकै राति रामबहादुरले आत्महत्या गर्छ; त्यो अवस्थामा उसकै पत्नी मन्दोदरीले पुर्‍याएकी थिई । पति मरेपछि निराश्रित मन्दोदरीले गलत धन्दा गरेर जहान पाल्नुपर्ने स्थिति आइपर्‍यो; छोरा कुलतमा फस्यो । दुई जवान छोरीहरू सुनका फुल पार्ने पोथी भए अर्थात् गलत धन्दामा लागे । यहाँ हास्यव्यङ्ग्यकारले सामाजिक विकृति–विसङ्गतिको पराकाष्ठाप्रति तीव्र प्रहार गरेका छन् । यही शीर्षकमा कृतिको नामकरणसमेत गरी हास्यव्यङ्ग्यकारले लेखकीय धर्म पूरा निर्वाह गरेका छन् ।

उनका हास्यव्यङ्ग्यमा विविधता छ । कतै स्मित हास्य त कतै व्यङ्ग्यमा प्रगाढता छ; कतै विनोदप्रियता छ त कतै व्यङ्ग्यमा तीव्रता छ । हास्यव्यङ्ग्यका विविध तŒवको र तिनमा सन्तुलन ल्याउने प्रयत्न गरिएको छ । हास्यव्यङ्ग्यका विविध विशेषताले पनि उनका सीप–सामर्थ्यको महत्व दर्शाउँछन् । सारमा भन्दा उनको हास्यमा मर्म र व्यङ्ग्यमा वितृष्णा झल्किन्छ । अभिव्यक्ति तह परीक्षण गर्दा डिङ्गा पनि झिङ्गाझैँ, चीत्कार गरे पनि पतिलाई मिठो खानाले सत्कार गर्नुपर्छ, गह्रुङ्गो माललाई हलुङ्गो भाउमा, भट्टीवाल्नीले मेरो पुर्पुरो सेकी, नीति गयो नातो गयो, धन गयो माटो गयो, चामल गयो आटो गयो, ह्याउ गयो सातो गयो, गहभरि आँसु ल्याएर बह पोख्दै त्यस्तै कुकुरलाई खसी बनाएर, स्प्रिटलाई रक्सी बनाएर … जस्ता आनुप्रासिक शब्द र कलात्मक प्रयोगले हास्यव्यङ्ग्यका रचनालाई प्राण फुक्ने काम गरेका छन् ।

विविधताले युक्त यस कृतिमा कतै व्यथा र अतृप्तिको अँध्यारोमा परेका बेरोजगार युवाको चित्रण छ । कतै परजीवीपन र लोभी चरित्रको चित्रण छ, कतै पेन्सन पाएपछिका मानवीय विसङ्गति, कतै बाहिर अग्रता देखिए पनि भित्री नम्रता तथा बाहिर शिक्षित देखिए पनि भित्री शठता भएको चारित्रिक तुलना देखाउँदै जीवनसाथीको चयनमा सचेत रहनुपर्ने सन्देश दिइएको छ । कतै अनुशासनहीनता र नैतिक पतन बाहिर गुरुभक्ति देखाए पनि भित्री उच्छृङ्खलता कतै प्रेमिकाको अपमान, आत्महत्यको प्रयास, छुरी धसेर व्यर्थमा प्राण फाल्नुभन्दा खरानी दलेर ज्यान पाल्नु वेस तथा समयअनुसार आफूलाई परिवर्तन गर्नुपर्ने सन्देश छ ।

सन्न्यासीका नाउँमा सत्यानाशी, कतै हरेक मान्छेभित्र शक्ति वा हनुमानगिरी छ, त्यसलाई कसैले उल्क्याइदिए भनेर सन्किनु हुँदैन, जीवनमा जोशमा होश राखेर चल्नुपर्छ भन्दै स्मित हास्यको सिर्जना छ । कतै सामान्य कुराले पनि तनावग्रस्त भएको स्थिति दर्शाइएको छ, कतै सर्वसाधारणको दुर्दशा, नेताको विलासिताको चित्रण छ, कतै वादविवाद शैलीमा दाइजो प्रथाप्रति व्यङ्ग्य गरिएको छ, कतै सार्थक काम गर्न सुझाइएको छ, कतै इतिहासको उपेक्षा गर्दा देश सङ्कटबाट गुज्रिएका स्थितिको चित्रण छ, कतै प्रेमको भूतले दुर्दशाको स्थिति बेहोर्नुपरेको देखाइएको छ ।

सिर्जन प्रक्रियामा मजगैयाँको दृष्टिचेत सशक्त देखिन्छ । त्यसले पनि हास्यव्यङ्ग्य सिर्जनामा प्रखर छटा आएको देख्न सकिन्छ । कुनै रचनाले पाठकलाई कुत्कुत्याउने र कुनैले मर्मान्तक पीडाको अनुभूति दिने हुँदा मजगैयाँको हास्यव्यङ्ग्य रचना उत्कृष्ट स्तरको अनुभव हुन्छ । उनी सरल, सहज पाराले हास्यको सिर्जना गर्छन् त्यस्तै प्रहारात्मक प्रकृतिका व्यङ्ग्यवाण चलाउँछन् । सामयिक समाजका विकृति र विसङ्गतिलाई आधार बनाएर उनले आफ्नो सीप–सामर्थ्य प्रकट गरेका छन् । उनी हास्यव्यङ्ग्य कलामा पोख्त भएरै यस क्षेत्रमा उनको ख्याति फैलिएको छ । उनको प्रकृति वा स्वभावले नै उनलाई हास्यव्यङ्ग्यको कुशल शिल्पीकारको रूपमा समाजले प्रतिष्ठापित गरेको छ ।

०००
भरतपुर–१२, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x