प्रमाेद प्रधाननेपाली हास्यव्यङ्ग्य निबन्ध (६)
यी निबन्धमा राई लहडीपन, जीवनका आवश्यक यथार्थ पक्ष र प्रतिपक्षहरू, रूढि र परम्पराका आडम्बरहरूको विकृतिजन्य निराकरणको ठूलो आवश्यकता प्रतिपादन गर्दछन् ।

प्रमाेद प्रधान :
दाेस्राे चरणका थप प्रमुख हास्यव्यङ्ग्य निबन्धकार
अच्छा राई ‘रसिक’ (१९८५-२००९)
यौवनावस्थाको प्रारम्भिक चरणमै मृत्युसँग मितेरी गाँस्न वाध्य अच्छा राई ‘रसिक’ दार्जिलिङको सामाजिक, सांस्कृतिक एवम् राजनीतिक क्षेत्रमा राम्रोसँग भिजेका एक महत्त्वपूर्ण रचनाशिल्पी हुन्। नेपाली साहित्यमा हास्यव्यङ्ग्य निबन्धकारका रूपमा उनको स्थान सुरक्षित रहेको छ। चौबीस वर्ष उमेर पाएका उनले उपन्यास, कविता, कथा र निवन्धका माध्यमबाट दिएको योगदान हेर्दा वास्तवमै उनको मृत्यु नेपाली साहित्यका लागि ठूलो क्षति मान्नुपर्छ। उनका हास्यव्यङ्ग्य निबन्धको सङ्ग्रह सप्तकोसी २०११ सालमै वरिष्ठ समालोचक रामकृष्ण शर्माको सम्पादनमा छापिएको देखिन्छ। पछि समालोचक रामलाल अधिकारीको सम्पादनमा उनका केही कविता, कथा र निबन्धको सङ्ग्रह सन् १९८२ मा श्याम ब्रदर्स, दार्जिलिङबाट रसिक रचनावली शीर्षकमा प्रकाशित भएको छ। सप्तकोसीमा भएका सबै निबन्ध रसिक रचनावलीमा पुनः प्रकाशित गरिएका छन्।
अच्छा राई ‘रसिक’ का निबन्धहरू मूलतः हास्य र व्यङ्ग्यको दोसाँधबाट मार्ग पहिल्याउँदै पाठकको मन र मस्तिष्कमा मर्मान्तक प्रहार गर्छन् । उनी आर्थिक दृष्टिले कमजोर वर्गका भएकाले जीवनसङ्ग्राममा कलिलै उमेरदेखि होमिनुपरेको तथ्य उनका रचनामा प्रतिविम्बित भएको छ। त्यसैले उनले दार्जिलिङको यथार्थलाई अत्यन्त नजिकबाट हेर्ने अनि अध्ययन र चिन्तन गर्ने सुअवसर प्राप्त गरे। यो सूक्ष्म दृष्टिचेत नै उनको रचनासिर्जनाका लागि पूर्वाधारका रूपमा रहेको पाइन्छ। साथै राजनीतिक एवम् सामाजिक चेतनाबाट समेत उत्प्रेरित हुनाले उनका रचनाहरूमा त्यसको चर्चा-परिचर्चा र निवन्धन हुनु अस्वाभाविक लाग्दैन।
उनको सप्तकोसी हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहमा सङ्कलित सात रचनामध्ये कान्छी र औंठी कथा हुन् भने बाँकी निबन्ध र प्रबन्ध हुन्। ती निबन्ध-प्रवन्ध रसिक रचनावलीमा पुनः मुद्रित छन्। रसिक रचनावलीमा रहेका सत्र निबन्ध-प्रबन्धमध्ये मपाई, अनुहार, भुँडी, पतलुङ, कुन पहिला अण्डा कि कुखुरा ?, जवाब र चिहानभित्र निजात्मक निबन्ध हन्। यी निबन्धहरूमा उनले हास्य र व्यङ्ग्य दवैलाई सन्तुलित ढङ्गले प्रस्तुत गरेको पाइन्छ । परम्पराप्रति विद्रोहको स्वर उराल्ने अच्छा राई ‘रसिक’ का निबन्धमा तार्किकता पनि उत्तिकै छ । जातिगत सामाजिक रूढि र करीतिप्रति व्यङ्ग्य गर्दै त्यसको निराकरणका लागि पऱ्याइएको रचनात्मक दृष्टिचेत वर्गीय चेतना, जीवनको सशक्त एवम् यथार्थ चित्रण उनका निजात्मक निबन्धका महत्त्वपूर्ण विशेषताका रूपमा देखिन्छन्। अत्यन्त कम उमेरमै जीवन र जगत्लाई हेर्ने परिपक्व दृष्टिको निर्माण उनमा भएको प्रमाणका रूपमा पनि उनका निबन्धहरूलाई लिन सकिन्छ। समाजलाई हेर्ने उनको दृष्टिको तीक्ष्णता पनि उनका निबन्धमा उल्लेखनीय रहेको छ। “यी निबन्धमा राई लहडीपन, जीवनका आवश्यक यथार्थ पक्ष र प्रतिपक्षहरू, रूढि र परम्पराका आडम्बरहरूको विकृतिजन्य निराकरणको ठूलो आवश्यकता प्रतिपादन गर्दछन् । यस प्रतिपादित व्यवस्थाले समाजका तथाकथित मान्यताका धरोहर भत्काउन सक्ने अवस्था प्राप्त गरेका छन्।” (राजेन्द्र सुवेदी, स्रष्टा सृष्टि : द्रष्टा दृष्टि, ललितपुर : साझा प्रकाशन, २०४९, दोस्रो संस्करण, पृ. १२४।)
व्यङ्ग्यका दृष्टिले वसुधैव कुटुम्बकम्, के त्यो फेरि ब्युंभेला ? र स्वर्गमा उनका उत्कृष्ट निबन्ध हुन्। अन्य निबन्ध-प्रबन्धमध्ये छैटौं अधिवेशन भ्रमण-संस्मरण हो भने लेख अ… व… व भाषा-विषयक लेख हो। सङ्ग्रहमा रहेका प्रबन्धात्मक रचनाका शीर्षक भने नारीसमस्याको हल, हिन्दी सिनेमा र हामी, समालोचना, गोरखालीको लघुतम इतिहास र बहिनीको पत्रको आलोचना रहेका छन्। यी रचनाहरूमा समसामयिक स्थितिबारे उनका विचारहरू राम्ररी प्रकट भएको पाइन्छ। विशेषतः नारीहरूले भोग्नुपरेका अशिक्षा, आत्मनिर्भरता, आवश्यकता आदि विषयक समस्याहरू र चलचित्रबाट तत्कालीन जनजीवनमा परेको प्रतिकूल प्रभावको उनले आफ्ना प्रबन्धमा राम्ररी विश्लेषण गरेका छन्। यस्ता प्रवन्धहरूमा पनि उनको निजात्मकता प्रकट भएको पाइन्छ। वास्तवमा उनका निबन्ध-प्रबन्धहरूको उद्देश्य समाजको रचनात्मक रूपान्तरणका लागि पाठकलाई सचेत बनाउनु नै रहेको देखिन्छ। उनका निबन्ध-प्रबन्धहरूमा उनको भाषा, साहित्य र संस्कृतिप्रेम, समाजसुधारप्रतिको प्रतिबद्धता, सच्चरित्रता र नैतिकताप्रतिको आस्था, अन्याय र अत्याचारप्रतिको तीव्र विरोध एकसाथ देखिएको छ। विचार र तर्कको प्रस्तुतिबाट हास्यरसको सिर्जना गर्नु पनि उनको विशेषता हो।
समालोचक रामलाल अधिकारीले भनेजस्तै ‘उनका उपमाहरूमा… हास्योत्पादक तथ्यहरू भएकाले र समाजमा जहीं-तहीं छरपस्टिएको विसङ्गति, अव्यवस्थाप्रति उनको पारदर्शी दृष्टि खुवै चनाखो भई भित्रैसम्म चियाउन सक्षम भएकाले र आफूले अवलोकन गरेका यस्ता विवश अवस्थाको वर्णन छोटा-छोटा बाक्यहरूमै कुशलतापूर्वक व्यक्त गर्न सक्ने प्रतिभा भएकाले उनको रसिक उपनाम पनि खुवै सार्थक भएको छ’ (नेपाली निबन्धयात्रा, पृ. ६०) भन्ने भनाइप्रति सहमति जनाउन सकिन्छ ।
वास्तवमा “जातिगत कुरीतिहरूप्रति व्यङ्ग्य गर्ने, विसङ्गतिपूर्ण समाजको संरचनाप्रति विद्रोह गर्ने र विषम परिस्थिति सिर्जना गर्ने नेपाली समाजको दुरवस्थालाई व्यङ्ग्यात्मक दृष्टिले सुधारको चेतना व्यक्त गर्ने रसिक दार्जिलिडे धर्तीका सफल साहित्यसाधक हुन्।” (राजेन्द्र सुवेदी, स्रष्टा सृष्टि द्रष्टा दृष्टि, पूर्ववत्, पृ. १२५।) यसका अतिरिक्त “दार्जिलिङबाट हास्यव्यङ्ग्य रचना लेख्ने परिपाटीको श्रीगणेश अच्छा राई ‘रसिक’ बाटै भएको मात्र होइन, दार्जिलिङका सर्वप्रथम सफल आत्मपरक निबन्धकार पनि उनी नै हुन्” (रामलाल अधिकारी, रसिक रचनावली, दार्जिलिङ श्याम ब्रदर्स, १९८२ इ., पृ. १३।) भन्ने भनाइबाट पनि उनको योगदान र महत्ता प्रमाणित हुन्छ। तथापि कतै-कतै प्रौढ अभिव्यक्तिभन्दा युवकोचित भावना देखिनु र जातिगत प्रहार गर्नुजस्ता कमजोरी पनि उनका रचनामा भेटिन्छन् ।
वरिष्ठ समालोचक रामकृष्ण शर्माले सप्तकोसीको भूमिकामा प्रकट गरेको निम्न विचारले पनि अच्छा राई ‘रसिक’ को योगदानलाई बुझ्न सहयोग पुग्छ-“हास्यात्मक गद्यलेखकमा रसिकको दाँजो गर्ने लेखक श्री हृदयचन्द्रसिहबाहेक नेपालमा पनि सायदै कोही होला। त्यसमाथि पनि साहित्यिक व्यक्तिको मानसिक कमजोडी, खोक्रो समाजको आडम्बर, राजनैतिक क्षेत्रका व्यक्तिको उरन्ठेउले कार्यवाही र सरकारी अकर्मण्यतामाथि पेचिला किवा निर्दोष कि त उदाङ्गीकरण टिप्पणी गर्दै दार्जिलिङको स्थानीय वातावरणमा पूर्णतया रङ्गिएका हास्यात्मक रचना लेखी कतै जिस्क्याउने, कतै मर्काउने, कतै घोच्ने नेपाली लेखक भने रसिकबाहेक मेरा नजरमा अरू कोही परेका छैनन् ।” (रामकृष्ण शर्मा, परिचायक, भूमिका, सप्तकोसी, दार्जिलिङ जगत् छेत्री, १९७१ इ. दोस्रो संस्करण, पू. ख।)
दोस्रो चरणकै अन्य हास्यव्यङ्ग्य निबन्धकार
शारदामा त्यस बेला प्रकाशित रचनाहरूमा बोधविक्रम अधिकारीको कविता मातासँग मेरो गन्थन (१९९२), प्रेमराज शर्माको पण्डितजीको चिठी (१९९२) र सिलवाल पण्डितको वेदान्तविवादको मिसिल (१९९२) जस्ता रचनाहरूले हास्यव्यङ्ग्य निबन्धका क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेका छन्। वरिष्ठ समालोचक डा. ईश्वर बरालका अनुसार “… बोधविक्रम अधिकारीको विनोदी स्वभाव भएकाले उनका निबन्धमा माथि माथि बडो सारल्य देखिन्छ तर भित्र-भित्र लाक्षणिकता अधिक। उनका निबन्ध प्रतीकात्मक आश्रयमा उभिएका छन् र उसैले ठाउँ-ठाउँमा वक्रोक्ति र विशेष ध्वनि-चमत्कार पाइन् स्वाभाविक छ । उनका निबन्ध सरल भएर पनि तरल छन्, छोटकरी भएर पनि भावभरिला। सङ्क्षिप्त व्याप्तिका भएकाले ती गीतिकाव्यकै एकमुखीन भावावेगका छन्। उनको शैली सजिलो गफगराइ र मीठो भनाइको छ। प्रेमराज शर्माका निबन्धमा पनि रसिलो पारा पाइन्छ व्यङ्ग्य र विनोदप्रिय वक्रताको। उहाँको भाषा चटकिलो छ र विवरण चहकिलो । उहाँका निबन्धले पाठकलाई कोर्राको दनक दिन्छन् र बोधविक्रमले बडो हलुको फूलहनाइले खुत्रुक्क पार्छन्।” (ईश्वर बराल, सयपत्री, ललितप्र: साझा प्रकाशन, तेस्रो संस्करण, २०३०, पृ. २५-२६। † ऐजन, पृ. २७।) अझ समालोचक डा. बराल त नेपाली निवन्धमा व्यङ्ग्यात्मक निबन्धको थालनी बोधविक्रम अधिकारीले गरेको विचार राख्छन् । (एे. पृ. २७) नेपाली हास्यव्यङ्ग्य निबन्धको दोस्रो चरणका यी महत्त्वपूर्ण रचनाहरूका केही अंश यहाँ प्रस्तुत गरिएको छ-
हिजोआज हामी मातृभूमिकी शारदा नामकी कान्छी छोरीमाथि यहाँका धेरै मानिसको व्यवहार चलिरहेको छ। कान्छी वहिनीलाई लोलोपोतो पारे त आमा खुशी हुनुहोला भनेर हो कि केले हो, शारदाको अङ्गप्रत्यङ्गलाई वस्त्रालङ्कारले सुशोभित पार्नमा धेरै लागेका देखिन्छन्। आफ्ना-आफ्ना विद्या र बुद्धिको चमत्कार देखाउँदै कोही छापटीका पहिराउँछन्, कोही स्टार, कोही हार, कोही बाजु-बाला, कोही-कोही रेशमी पोशाक। एक त चार महिना लागिसकेकी हुनाले भाकलभुकल परेको गाथ, उसमा पनि अनेक किसिमका वस्त्रालङ्कारले सुसज्जित हुँदा त बहिनी कति राम्री। (फलामे औंठी, बोधविक्रम अधिकारी, शारदा, १९९२)
लेखकहरूमा सर्वश्रेष्ठ गणेशजी ठहरिएका छन् । गणेशजीको नाम हो-… लम्बोदर अर्थात् ‘लम्व’ माने लामो, ‘उदर’ माने पेट। अब ता बुझ्नुभो कि। मेरो पनि ता… नाकलगायत मेरो अङ्गप्रत्यङ्ग सबै थोक गणेशजीसँग झन्डै झन्डै मिल्द छ, केवल गणेशजीको वाहन मलाई मन परेको छैन। गणेशजीले जस्तो धान चोर्ने जन्तुमाथि म चद्दिनं – न ता गणेशजीका बुबाले जस्तो हलो जोत्ने जन्तुमाथि । वस्तुतः कलम जोत्ने जीव नै मेरो प्रिय वाहन हो। जुन कलम जोत्ने जीवलाई मेरो समालोचनात्मक चाबुक मन पर्दैन त्यसलाई म बर्नार्ड शाको पदवी पनि दिन्नँ। (पण्डितजीको चिठी, प्रेमराज शर्मा, शारदा, १९९२)
उप्रान्त विषय गाउँमा बसेका शब्द, स्पर्श, रूप, रस, गन्ध नाउँ गरेका पाँच धरका मानिसहरूमाथि आसक्ति जबर्जस्ती गरी, पक्री, मारी, सुख नाउँ गरेको कवाफ बनाई खाएको भित्री पुलिसद्वारा जाहेर भै पक्राउ भई बुझिएका जीव १, मन १, अहङ्कार १, अज्ञान १, माया १, विवेक १, ज्ञान १ समेतले लेखिएका मुखजबान बयानसमेत बुझिएका गैहूप्रमाण परिवन्दले मारे-खाएको साबित कोही नभएको हुनाले निज माया, विवेक, ज्ञानहरूको बयान भुट्टै मात्र हो कि भन्ने देखिन्छ… । (वेदान्त-विवादको मिसिल, सिलवाल पण्डित, शारदा, १९९२)
यस चरणमा शारदामा प्रकाशित हरिनाथ खनालका केही निबन्धमा पनि हास्यरसको प्रयोग भएको छ। उनको सम्प्रेषणशैली ठट्यौली किसिमको भएको डा. बरालको भनाइ पाइन्छ। नेपाली निवन्धका महत्त्वपूर्ण दुई व्यक्तित्व लक्ष्मीप्रसाद देवकोटा र हृदयचन्द्रसिंह प्रधानले पनि यस चरणमा आफ्ना केही निबन्धमा व्यङ्ग्यबाणको प्रयोग गरेका छन्। देवकोटाको कविराजको च्याङ्ग्रे खच्चर (२००२) र हृदयचन्द्रसिह प्रधानको जुंगालाई यसको उदाहरणका रूपमा लिन सकिन्छ। यस चरणमा राजनीतिक व्यङ्ग्य पनि लेखिन थालेको तथ्य नारायणप्रसाद भट्टराईको हावाबाजी (युगवाणी, २००४) र गणेशमान सिंहको श्री ३ मोहन प्रभुको स्वर्गारोहण (नेपाल पुकार, २००७) ले स्पष्ट गर्छन् ।
कथाकार गुरुप्रसाद मैनालीले सबभन्दा वलियो शीर्षकको प्रहसनात्मक निबन्ध लेखेर यसतर्फ रुचि देखाए पनि निरन्तरता भने देखिएन। उनको सो प्रहसनात्मक निवन्ध भारती (२००९) मा छापिएको थियो। उनको धेरै पछि वि. सं. २०२५ को प्रहरी पत्रिकामा साँढे समस्या शीर्षकको व्यङ्ग्यात्मक निवन्ध प्रकाशित भएको पाइन्छ। केशवराज पिंडाली पनि आफ्ना सशक्त हास्यव्यङ्ग्य रचनाहरूमार्फत यसै चरणमा देखा पर्छन् ।
दार्जिलिङतिर भने गोरखा पत्रिकामार्फत तिलक राई र प्रेम थापाजस्ता निबन्धकारहरू पनि हास्यव्यङ्ग्य शैलीका साथ सिर्जनकर्ममा सक्रिय भए। प्रेम थापाका प्रकाशित उल्लेखनीय हास्यव्यङ्ग्य निबन्धहरू नाइटो (पूर्णिमा, १९५८ इ.), गुरु (बाबु + आमा, गोरखा, ६:४९), दाह्रीजुघा (गोरखा, ९:४) र हाय रे दुःखी। वाह रे तालु। (भारती, ८:५-६, १९५७ इ.) रहेका छन्।
यस चरणमा निवन्धकार लक्ष्मीप्रसाद देवकोटा, हृदयचन्द्रसिंह प्रधान, पूर्णप्रसाद ब्राह्मण, श्यामदास वैष्णवलगायतका निबन्धहरूमा तीव्र व्यङ्ग्य पाइन्छ ।
क्रमशः
०००
नेपाली निबन्धको इतिहास (२०६६)
Subscribe
Login
0 Comments
Oldest







































