देवीप्रसाद मिश्रविवश छन् सहयोग छिटो गरौँ
देवीप्रसाद मिश्र :
गर्जेर चाैपट्ट पहाड फाेरी
हुङ्कारका साथ बनी अघाेरी
आयाे ठुलो बाढ,लिएर काल
पाका तथा बालक छन् बिहाल ।।१।।
व्यापार गाेदाम सयाैँ सवारी
गाई र भैँसी घर खेतबारी
सारा बढारेर बन्याे कराल
पाका तथा बालक छन् बिहाल ।।२।।
सान्निध्य हाम्रा दिलदार जीव
चिच्याउँथे हाय, भनी अतीव
हान्याे त्यहीँ रुग्ण भएर जाल
पाका तथा बालक छन् बिहाल ।।३।।
आफन्तले सास न ता पलामा
भेटे न ता लास कुनै थलामा
पीडा पखाल्ने न रहे सवाल
पाका तथा बालक छन् बिहाल ।।४।।
उद्धारमा आज न एकता छ
सद्भावकाे सार लतारिँदाे छ ।
हाेस् एकतामा अझ तालमेल ?
पाका तथा बालक छन् बिहाल ।।५।।
विवश छन् सहयोग छिटो गरौँ
प्रकृतिले कृति नै नभनीकन
हरण धेर गऱ्यो जनजीवन
मलम साथ लिई पथमा झराैँ
विवश छन् सहयोग छिटो गरौँ।।१।।
मुलुकमा छ विपद् अहिले ठुलो
मन फराक गराैँ नबनाैँ लुलाे
अभरमा भरकाे मसला छराैँ
विवश छन् सहयोग छिटो गरौँ।।२।।
वचनले धनले नगरी ढिलाे
सकल पीडितका मनकाे किलाे
पर हटाउनमा प्रतिभा छराैँ
विवश छन् सहयोग छिटो गरौँ।।३।।
कति जवानहरू भलमा परे
कति गुहार गरे बिचरा मरे
सकल जीवनमा करुणा भराैँ
विवश छन् सहयोग छिटो गरौँ।।४।।
कति जहान फँसे भलबाढमा
कति अपाङ्ग बने,परिणाममा
कहर पीडितका कति छन् हराैँ
विवश छन् सहयोग छिटो गरौँ।।५।।
मन उदात्त लिईकन साथमा
अब उठाैँ नभुलाैँ बकबासमा
अघि बढौँ अब घाउहरू पुरौँ
विवश छन् सहयोग छिटो गरौँ।।६।।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest





































