विद्या अनामिका तिवारीराखून् सद्भाव पाका परिजनबिचमा
शङ्काको जाल चिर्दै विषमय ननिका दुष्ट दुर्भाव फालून् होलान् राम्रा नराम्रा गुण अवगुण ती चित्तबाटै लघारून् सद्ज्ञानी सौम्यताले जहर सरहका तिक्तता दूर राखून् राखून् सद्भाव पाका परिजनबिचमा ज्ञानले दीप्त पारून्।।
विद्या अनामिका तिवारी :
जन्माए यी धरामा अविचलित बनी हिँड्न सक्ने बनाए
जस्तै आऊन् समस्या कटु कहरसँगै जुध्नलाई सिकाए
धाता यी ज्ञान बाँडून् मृदुल हृदयको प्रेम धारा पिलाऊन्
राखून् सद्भाव पाका परिजनबिचमा ज्ञानले दीप्त पारून्।।१।।
शिक्षादीक्षा दिलाए अमृतमय कला शिल्पले पूर्ण पारे
बन्दै आधार टेको अनुज तनयका कर्मलाई सपारे
ऊर्जा भर्दै सिकाऊन् अझ अमर विधाका खजाना लुटाऊन्
राखून् सद्भाव पाका परिजनबिचमा ज्ञानले दीप्त पारून्।।२।।
पाकाका दिव्य वाणी सुललित मृदु हुन् चेतना जग्मगाऊन्
सङ्लो उम्दा हियोका अनुभव सुखका दु:खका खोल्न पाऊन्
आत्मामा दीप बाल्दै मधुर रसमयी चाँदनीले सजाऊन्
राखून् सद्भाव पाका परिजनबिचमा ज्ञानले दीप्त पारून्।।३।।
छोराछोरीहरूले पनि वचन मिठा आत्मसात् गर्न पाऊन्
श्रद्धा राखून् सबैले अझ टहल गरी ज्येष्ठ ती रम्न पाऊन्
बोलाऊन् मान राखून् अनुनय रसिला शव्द शैली सपारून्
राखून् सद्भाव पाका परिजनबिचमा ज्ञानले दीप्त पारून्।।४।।
शङ्काको जाल चिर्दै विषमय ननिका दुष्ट दुर्भाव फालून्
होलान् राम्रा नराम्रा गुण अवगुण ती चित्तबाटै लघारून्
सद्ज्ञानी सौम्यताले जहर सरहका तिक्तता दूर राखून्
राखून् सद्भाव पाका परिजनबिचमा ज्ञानले दीप्त पारून्।।५।।
०००
ठिमी -९ राधेराधे, भक्तपुर
Subscribe
Login
0 Comments
Oldest







































