साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शोकसागरमा मिथिला-वाङ्मय: बर्दिबासमा डा.  विमलप्रति काव्यिक अश्रुधारा

​सिन्धुली, सर्लाही, महोत्तरी, धनुषा तथा छिमेकी भारतको सीतामढीसम्मका साहित्य अनुरागीहरू उहाँकै स्मृतिमा धाएर आएका थिए।

Nepal Telecom ad

बर्दिबास, महोत्तरी । उहाँका शब्दहरू अझै हावामा गुञ्जिरहेका छन्, तर उहाँको भौतिक उपस्थिति अब रहेन। एक विराट् चेतना, सर्वदर्शनका ज्ञाता एवम् साधक डा. राजेन्द्रप्रसाद विमलको भौतिक महाप्रस्थानपछि बर्दिबासको वातावरण असीम शोक र भावविह्वलतातर्फ धकेलियो। गौरीशङ्कर मिथिला वाङ्मय प्रतिष्ठानको आयोजनामा बर्दिबास उद्योग वाणिज्य संघको सभाकक्षमा सम्पन्न वृहत् साहित्यिक भेला केवल एक औपचारिक कार्यक्रम रहेन; त्यो त विमल सरप्रतिको अगाध श्रद्धा, प्रेम र रोदनको सङ्गम बन्यो। प्रतिष्ठानका अध्यक्ष प्रेम घिमिरे ‘अग्निकवच’को अध्यक्षतामा सम्पन्न उक्त भेलामा उपस्थित हरेक मन र आँखा शोकाकुल देखिन्थे।

​सिन्धुली, सर्लाही, महोत्तरी, धनुषा तथा छिमेकी भारतको सीतामढीसम्मका साहित्य अनुरागीहरू उहाँकै स्मृतिमा धाएर आएका थिए। कार्यक्रमका प्रमुख अतिथि एवम् बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक कार्कीले मुक्तकण्ठले डा. विमललाई सरल, सिद्धान्तनिष्ठ र सामाजिक एकताका अमर प्रतीकका रूपमा स्मरण गर्नुभयो।

​विगतका स्मृतिहरू पल्टाउँदै विशेष अतिथि एवम् पदम शमशेर स्मृति प्रतिष्ठानका अध्यक्ष विष्णु खड्काले डा. विमलसँग बिताएका आत्मीय क्षणहरू सम्झिँदा सभाकक्ष स्तब्ध बनेको थियो। प्रलेस मधेशका अध्यक्ष नारायण घिमिरेले डा. विमल वाद र सीमाभन्दा माथि उठेका सर्वमान्य व्यक्तित्व भएकाले हरेक चोकमा उहाँको सालिक बनाएर चेतनालाई जीवन्त राख्नुपर्ने धारणा व्यक्त गर्दा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य राजकरण महतोले डा. विमलको अगाध बौद्धिकता र सहृदयताको मुक्तकण्ठले स्मरण गर्नुभयो।

​कार्यक्रमको त्यो क्षण सबैभन्दा बढी भावुक बन्यो, जब प्रतिष्ठानका सचिव एवम् मैथिली साहित्यकार सभाका सचिव अरुणकुमार राउत (अरुण आर्य)ले डा. विमलको जन्मदेखि महाप्रस्थानसम्मको जीवनवृत्तान्त प्रस्तुत गर्न थाल्नुभयो। उहाँको सङ्घर्ष, समर्पण र महाप्रस्थानको कथा सुन्दै गर्दा सभाहलमा उपस्थित कसैले पनि आफ्ना आँसु थाम्न सकेनन्—सभामण्डप पूर्णतः भावविह्वल बन्यो।

​दिवङ्गत आत्माको शान्तिका लागि विश्व नेपाली साहित्य महासङ्घकी अध्यक्ष निला घिमिरे, उपाध्यक्ष गोपाल यादव, बुढ्यौली साहित्य समाज मधेश प्रदेशका अध्यक्ष लम्बोदर काफ्ले, सिन्धुली अध्यक्ष केशव फुयाल, नारी समाजकी अध्यक्ष मञ्जु मञ्जुभाषिणी, कमला साहित्य समाजका अध्यक्ष गणेश तिमल्सिना, कोषाध्यक्ष गोविन्द खड्का, मिथिला साहित्य समाजका अध्यक्ष विपीराज दाहाल, सचिव निरप्रसाद शर्मा र लालबन्दी नगर वाङ्मय परिषद्की सदस्य सुमित्रा आचार्यले आ-आफ्ना कारुणिक मन्तव्य र श्रद्धाञ्जलीका काव्यिक रचना प्रस्तुत गर्नुभएको थियो।

​आँसुले भरिएका आँखाहरूसहित सभाध्यक्ष प्रेम घिमिरेले भन्नुभयो—”विमल सरले देखाउनुभएको साहित्यिक बाटोमा अघि बढ्नु, उहाँका अमूल्य कृतिहरूको संरक्षण गर्नु र उहाँका विचारलाई हृदयमा जीवन्त राख्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ।”

​गम्भीर एवम् शोकमग्न वातावरणमा आयोजित उक्त श्रद्धाञ्जली सभाको सञ्चालन प्रतिष्ठानका कोषाध्यक्ष भीमकुमार राउतले गर्नुभएको थियो।

०००
अग्निकवचकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x