साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अवैध कुखुराको चल्ला

अहिले भर्खर एक छिन पहिले मैले बुझेको सत्य के हो भने जता हेर्यो उतै अवैध, जे देख्यो त्यही अवैध । के तपाईँले बजारमा अवैध नहुने गरी केही सामग्री देख्नु भएको छ त ?

Nepal Telecom ad

सञ्जय साह मित्र :

हजारौँको सङ्ख्यामा लाखाैँ मूल्यको अवैध कुखुराको चल्ला पक्राउ परेको खबर जसै मेरो कानमा पस्यो तसै मेरो दिमागले काम गर्न छोड्यो । हाम्रो गाउँघरमा वर्षौँवर्षमा झगडा भएको वेला कोई झगडियाले जदि आफ्नो प्रतिवादीलाई केइ गरी अर्काको नाउँ काढेर प्रतीकात्मक अर्थ लाग्ने गरेर गाली गरेछ भने हङ्गामा मच्चिन्छ । आजसम्म कसैलाई गाली गर्दामात्र अबैध सन्तान सुनेको मजस्तो सोझो मान्छेको कानमा रेडियोको यो खबरले त यस्तो लाग्यो कि कानमा कसैले सिसा पगालेर हालिदिएको छ । मलाई यो समाचार यस्तो झूठो लाग्यो कि कसैले भनिदिन्छ कि गोरु ब्याएको छ र भर्खर बिगौती खाएर आउँदैछु । तर पनि रेडियोमा आएको बात भएकोले एकैचोटि झूठा मानिहाल्नु भएन । कुनै पत्रिकामा नपढ्दासम्म मेरो पेटको पानी पच्ने कुरै भएन । जदि पत्रिकामा यो खबर पढ्न पाइएन भने अबदेखि छिमेकीको एफएम सुन्न बन्द । मैले मनमनै आफ्नो कूल देउताको किरिया नै खाएँ ।

राती त राम्ररी निदाउनै सकिनँ नि । यता कोल्टो फेर्थेँ र उता कोल्टो फेर्थेँ । लाग्थ्यो ओछ्यानभरि उडुसै उडुस छ र सबैले माया गर्न प्रतिस्पर्धा गरिरहेका छन् । यस्सो आँखा के लागेको थियो – कतै कुखुरो बास्यो कु खु री काँ ऽऽऽऽऽ । कतै यो पनि अवैध कुखुराले कराएको हो कि ? अवैध कुखुराले जुनसुकै वेला पनि कराउन सक्छ । तर पनि अर्को मनले भन्यो – रात त कट्न लाग्यो । फेरि एउटा भाले बास्यो । फेरि मलाई शंका लाग्यो – बास्ने कुखुरो बैध कि अबैध । अबैध मुर्गाको बोली पनि अबैध नै होला । कहीँ अवैध बोली सुनेर बिउँझिँदा त मेरो दिन नै पो अबैध हुन्छ कि ? बिहान बिग्रे दिन बिग्रन्छ भन्छन् । यही डरले आँखामा निद्रा नभए पनि सुतिरहेँ । मलाई यो पनि लाग्यो कि मेरो निद्रा वा सुताइ नै अबैध छ । असली निद्रा नहुनु नै अबैध सुताइको प्रमाण हो ।

घरबाट निक्लेँ सडकतिर एउटा लोटा लिएर झिसमिसे अँध्यारोमै । एउटा कुकुरले भुक्यो मलाई । मेरो टोलको कुकुर थिएन अर्थात् मेरो टोलको लागि अवैध कुकुर थियो, यसको अर्थ अबैध बोली भयो । अबैध भुकाइले कुनै अर्थ राख्दैन मेरो लागि । अलि अगाडि बढेर म दिसा गर्न बसेँ सडकको छेउमै । कुकुरले रखबारी गरिरह्यो भुकेर । त्यत्तै भएर पुलिसको गस्ती कतै जाँदै थियो, खासै त केही भनेन तर दशथरिको गालीहरू सुनेर स्वर्गका मेरा पितापुर्खाहरूले समेत कान ठाडो पारे होलान् । हिँड्दाहिँड्दै एक लात्ति के दिएको थियो लोटा चार हात टाढा भाग्यो । पानी त पोखियो । दिसा धुनै पाइनँ । धुने पनि केले ? नजिकै एकजना बाहुन बाजेको घर थियो । बाजे मेरो छिमेकमा पूजा गराउन आउँथे । उनको घरको नाली बाहिर निक्लेको थियो र त्यसैको फोहोर पानी जम्मा हुने एउटा खाल्टो बनाइएको थियो । त्यसैमा दिसा धुन के बसेको थिएँ, माथिबाट पानी छ्यापियो मेरो जिउमा । घरका नानीले राति कोप्रामा गरेको पिसाप जम्मा भएको थियो, त्यहीँ छ्यापिएको थियो मेरो जिउमाथि । सम्भवतः कुकुर भन्ठानेको हुनुपर्छ मलाई । धुर धुर गर्दै घरभित्र पसेको पनि सुनियो । कुकुरलाई गरेको गाली मैले अवैध रूपमा प्राप्त गरेको थिएँ नाफामा ।

गन्हाउँदै गरेको जीउ लिएर घर पुगेँ । लाग्यो कलधारामा नुहाइहालूँ । त्यो पनि सुकेको थियो । दिसा नै नधोएके जीउ, त्यसमाथि बच्चाको पिसाप छ्यापेको थियो । कलधारा सुकेकै थियो । यस्सो बुद्धि पु¥याएर विचार गरेँ – सिप्टीमा रहेको बाल्टीमा भएको पानीले हातखुट्टा धुँदा पनि हुन्छ । सधैँ त्यसमा पानी भरिरहन्छ । कसले थाहा पाउला ? गएर हेरेँ । पानी थियो आधा बाल्टीभन्दा केही बढी । पहिले दिसा धोएँ अनि कपडा फुकालेर बाहिर फाल्दै त्यैँ बाँकी पानीले नुहाएँ पनि । मरता क्या न करता । सिप्टीको पानीले विदेशमा मानिस न्वाउँछन् भन्ने सुनेको थिएँ तर जब आफैँले कुकुरले नपाएको दुःख पाएपछि बल्ल विदेशको सुविधा उपभोग गरेको पत्यार लाग्यो ।

गएँ चोकतिर । एउटा चिया खाने विचार गरेर पसलको ब्रेन्चीमा बसेँ । चिया आयो । त्यसमा एउटा झिँगा उपहार परेको थियो । मलाई लाग्यो झिँगाको मृत्यु अवैध हो । फेरि सोचेँ – मृत्यु कसरी अबैध हुन्छ । यो त मरेकै हो नि ? मृत्यु त सत्य हो । सत्य फेरि अवैध हुन्छ त ? सत्य त कहिल्यै पनि अवैध हुनै सक्दैन अर्थात् सत्य जहिले पनि बैध नै हुन्छ । उसो भए मेरो चियामा आएको झिँगाको लासको मूल्याङ्न कसरी हुन्छ ? के म चिया फाल्दिऊँ ? जे होस्, मरेको झिँगा भएको चिया खाँदा स्वास्थ्यलाई कुनै हानि नै पुर्याउँदैन । चियाबाट झिँगा फालें र पिउन थालेँ । साँच्चै, अरु दिनभन्दा आजको चिया मिठो लाग्यो । कतै मेरो चिया अबैध मिठो त छैन ?

अवैधताको रोगले मानसिकरूपले ग्रसित भएर पत्रिकाको पसलमा पुगेर एउटा लोकल पत्रिका किनेँ । त्यसको हेडलाइन नै थियो – हजारौँ अवैध कुखुराका चल्ला बरामद ।

न्युज पूरै पढेँ । तर कतै पनि यो कुरा प्रष्ट लेखिएको थिएन कि अबैध कुखुरा कसरी ? अबैध कुखुरा भएपछि त्यसको चल्ला के ? कुखुराको चल्ला जब कुखुरा नै हो भने अबैध कसरी भयो ? फोटो चाहिँ सबै कुखुराकै चल्लाको थियो । एउटै पनि अबैधस्तो लाग्ने अन्य पन्छीको देखिएको थिएन । अथवा यो पनि स्पष्ट पारिएको थिएन कि कुन कुखुरीले कसरी चल्ला पाई ?

हजारौँ कुखुराको अबैध चल्ला जब पक्राउ भइरहेको छ त कुखुरीलाई समातेर सोध्दा त थाहा भइहाल्छ नि कुन चल्ला कुन भालेको सन्तान हो भनेर । नत्र कुखुरा पाल्नेलाई त अवश्य नै थाहा होला ।

खप्न नसकेपछि एकजना मास्टर साहेलाई सोधेँ “हो सर, मुर्गीको बच्चा कसरी अबैध हुन्छ ?”
पत्रिकाबाट नजर नहटाई अलि झर्केर बोल्छन् – चल्लाको बाबु आमाले अझै विवाह दर्ता नगराएको होला ।

मलाई पनि लाग्यो ठिकै कुरो होला । आखिर कुनै भालेकै बच्चा त होला नि ? हुन सक्छ, कुनै ठाउँमा जन्मदर्ता वा नागरिकताको प्रमाणपत्र नै नहोला । जब नागरिकता नै छैन र जन्मदर्ता पनि छैन त ऊ अबैध सन्तान भई नै हाल्यो नि । तर कुखुरा कुखुरीको विवाहदर्ता वा जन्मदर्ता कसले बनाउँछ र कसरी ?

जसरीतसरी आफ्नो चित्त बुझाएर हिडेँ । खुट्टाले बाटो नापिरहेको भए पनि आँखा भने पत्रिकामा नै थिए । तल ठेस लाग्नुअघि आँखा प¥यो एउटा शीर्षकमाथि – अबैध काठ पुलिसद्वारा बरामद ।

खायो दिमाग, त्यसै रिङ्टा लाग्न थाल्यो – काठ कसरी अबैध हुन्छ ? ठेस लाग्यो तर त्यसको दुखाइभन्दा बढी रन्थनिएँ समाचारको शीर्षकले । म त भाउन्न परेर त्यहीँ लडुँलाजस्तै भएँ । रन्थनिएर त्यहीँ बसेँ थुचुक्क । काठको गर्भाधान प्रक्रिया पनि बैध र अबैध हुन्छ ? मेरो दिमागले काम गर्नै छोडेको जस्तो भयो । हे भगवान, म किन बहुलाउन सक्दिनँ ?
झन्नै अर्धबेहोसीमै अर्को शीर्षकमा आँखा पुग्यो – अवैध मन्दिर भत्काइने ।
मन्दिर पनि अवैध ? मन्दिर नै अवैध भएपछि त्यसभित्रका देउता ?

एक छिनपछि बल्ल बुद्धिको बिर्को खुल्यो – मेरो दिसा, न्वाइध्वाइ अवैध तथा पत्रिकामा पढेको कुरो बुझेको कुरो पनि अवैध । सायद मलाई अहिलेसम्म बुद्धि दिनेजति पनि अवैध अथवा तिनीहरू सबैको बुद्धि नै अबैध । वैध अवैधको खोजीमा बितेको मेरो समय पनि अवैध ।

अहिले भर्खर एक छिन पहिले मैले बुझेको सत्य के हो भने जता हेर्यो उतै अवैध, जे देख्यो त्यही अवैध । के तपाईँले बजारमा अवैध नहुने गरी केही सामग्री देख्नु भएको छ त ?
अ‍ैले तपैँले पढेको यो निबन्ध पनि अवैध नै पो हो कि ?

०००
गरूढा, राैतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
ढाेग दियाँ

ढाेग दियाँ

रामप्रसाद पन्थी
के अर्थ ?

के अर्थ ?

धनराज गिरी
खुट्टा तान्नु

खुट्टा तान्नु

आर.सी. रिजाल
व्यवस्था

व्यवस्था

फित्काैली डटकम
आवरणमा लुकेको ‘मु.’

आवरणमा लुकेको ‘मु.’

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x