साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परिधानको भद्र आन्दोलन

हामी कसैलाई डिस्टर्ब गर्ने गरी आन्दोलन गर्दैनौँ । जुन घरमा आन्दोलन गर्छौँ, त्यो घर छाडेर बाहिर निस्कन्छौँ । हाम्रो माग पूरा नहुँदासम्म हामी भित्र पस्दैनौँ ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

अस्ति साथीको बर्थ डे पार्टीमा मेरो फस्नरले आँ गरेर मुख खोल्यो । मुख खोल्यो कि केइँ दुःख पोख्यो, भाषा बुझ्‌न सकिनँ तर धेरै बेरपछि भने मान्यो । फस्नरले बर्थ डे पार्टीमा साथीभाइबीच बढाएको बेइज्जतको मात्रा उच्च रह्यो । एक मित्रले सहानुभूति राख्दै मेरी पूर्णाङ्गिनीतिर कर्के आँखाले हेर्दै बोल्यो : “एक वर्षमा तीन सय पैसठी ओटा इज्जत हुन्छ । हरेक इज्जतलाई बिहान, दिउँसो, साँझ र राती गरी चार प्रहरले झैँ चार भागमा बाँड्न सकिन्छ । इज्जतको यो वर्गीकरण पूर्ण वैज्ञानिक र लोकतान्त्रिक छ । अ‍ैले साँझको इज्जत जाँदा पनि पच्चीस प्रतिशत मात्रै जाने हो एक दिनको । यो पनि पूरै गएको छैन । करिब साढे बाह्र प्रतिशत इज्जत जाँदा खुसी मान्नु उचित हुन्छ ।”

मानिसको ध्यान गल्तीतिर छिटो जाने रहेछ । त्यो गल्ती गल्लीमा होओस् कि गुलेलीमा होओस् । बोलीमा होओस् कि टोलीमा होओस्, गल्तीले गणना पाउने रहेछ । कस्तो अचम्म, आफ्नो गल्ती नभए पनि परिणाम आफैले भोग्नुपर्ने । फस्नरले गल्ती गर्यो र मेरो इज्जत कसरी घट्ने ? फस्नरले मुख आँ गरिरहँदा सहानुभूति राखेर कसैले त्यसको मुख छोपिदिएन क्यारे । अँध्यारोतिर अनुहार फर्काएर मैले फस्नर फकाउने उपक्रम गरिरहँदा कतिको नजर मेरी पूर्णाङ्गिनीतिर किन गएको होला ? धन्न बर्थ डे पार्टी राति मात्र हुने रहेछ ।

झन् अस्तिको एउटा घटना हो । बाथरुममा हतार हतार नुहाएर कपडा लगाउँदै थिएँ । गन्जीको हात छिराउने प्वालमा टाउको छिरेछ । बाहिर आगन्तुकलाई कट्टुमा नै फुत्केलाजस्तो गरेर छिटो निस्कने आग्रह आइरहेको छ । गन्जीलाई बल्लतल्ल के लाएको थिएँ, उल्टो परेछ । त्यो पनि दोहोरो उल्टो । अगाडिको भाग पछाडि र पछाडिको भाग अगाडिलाई दोहोरो भनेको होइन । गन्जीको भित्री भाग बाहिर र बाहिरी भाग भित्र परेको थियो ।

हतारमा बाहिर निस्कँदा आगन्तुक साथी मेरो भेष देखेर हाँस्दै यसरी भित्र पसे मानौँ केही सेकेन्डले रेल छुट्दैछ । भित्र पसेर तिनले ढोका राम्ररी लगाउन नपाउँदै यस्तो आवाज आयो मानौँ द्वन्द्वकालमा टोलछिमेकमा केही पड्किरहेको छ । कहिल्यै सञ्चो–विसञ्चो पनि नसोध्ने मेरो छिमेकी आफ्नो छतबाट सोधिन् पनि : घरभित्र त्यस्तो के पड्केको होला ? (छिमेकीको घरमा केही पड्किँदा आफ्नो घर पनि असुरक्षित होला कि भन्ने चिन्ता हुन सक्छ ।) हो नि, छिमेकी भनेकै यस्तो हुन्छ र हुनुपर्छ । तरकारी झानेको आवाज नसुनेकी छिमेकीले देखाएको सहानुभूतिले मेरो इज्जत बढेको महसुस भयो तर फेरि व्यङ्ग्य कसिहालिन् : तपैँले त फेसन टिभीको जस्तो पो कपडा लगाउनु भाछ ।
जिस्किने मुड त थिएन तर फुत्त मुखबाट निस्किहाल्यो : टिकटकमा परिधान प्रदर्शनी छ, त्यसैमा अपलोड गर्न पुरानै गन्जीलाई नयाँ तरिकाले लगाएको ।
उनी हाँस्दै अलप भइन् ।

आगन्तुक बाहिर निस्कँदै गर्दा सफा मनले भन्दछ : “क्या फसाद, कटुको इँजार खोल्दानखोल्दै फुत्किहाल्यो । अर्काको ठाउँमा भएको भए त मेरो कत्रो बेइज्जत हुन्थ्यो । यो त आफ्नै घर हो । घरको कुरो घरैमा रह्यो ।” उसको हविगत दर्शनीय थियो ।

अनि कसरी भयो यसरी ? मैले प्रश्न गरें ।
आगन्तुक मित्रले पुराण वाचन गरेको शैलीमा भन्यो “रुघा र खोकी लिएर हिजो राती सालीनानीकहाँ बास बसेको थिएँ । जिस्केर हो कि धेरै माया गरेर भातबाहेक सबै खानेकुरा पिरो पकाइन् । माथिबाट रुघालाई च्वाट्टै पार्ने झोल भनेर चाउमिनसँगै दिइने एक बोतल खुर्सानीको झोल पनि दिइन् । म पनि सालीनानीको हातको हो भनेर सबै गुलियो मिठो मानेर खाएँ । खानेबेलामै मलाई पिरोले बाबुको बिहे देखाएको थियो । टाउको रन्थनिएर, पेट हुँडलिएर, मुटु कलेजोमै आगो लागेकोजस्तो भएको थियो । तैपनि मृदु मुस्कानसहित घरबालीभन्दा भन्दा प्यारी सालीले दिएको औषधि पिएपछि पिरोपछि हिरो हुने निश्चित थियो । तर टिक्ने नै बिक्छ । म टिक्न सकिनँ र राति नै भागे कुुकुरको पुच्छरमा मटितेल खन्याएझैँ ।

सालीको हर्कतले भने एउटा कुराको आविष्कार भएको छ । आज म घोषणा गर्दछ् : “तीनपटक स्वाद दिने पदार्थ खुर्सानी हो । खाँदा पनि बाउको बिहे देखाउँछ, उल्टो ढ्याउ आउँदा पतिकी पत्नी वा पत्नीको पति पोइल वा जोइल गएकोभन्दा पनि बढी पोल्छ र यो दिसा बस्नेबेलामा त झन् चारै दिशा देखेजस्तो हुन्छ । थप ब्जायमा पेट पोल्ने नाफा आउँछ ।” खुर्सानीको रहस्योदघाटन गर्दा नगर्दै ऊ फेरि भित्र पस्यो ।

हिजो अलिक अचम्म नै भयो । पिकनिक जानको लागि दराजबाट कपडा निकाल्न खोज्छु । कपडै भेटिन्न । सबै कपडा छन् तर लाउने कपडा नै छ जस्तो लाग्दैन । बल्ल बीसौँ शताब्दीको एउटा सेट भेट्टाएँ र लाएँ । तिघ्रामा सुकेको र तल भुइँमा लतारिने गरी झन्डै डेढ हात फुकेको पाइन्ट लाउनासाथ मैले घरमै पालेको कुकुरले भुकेर गिज्यायो । बाहिर के निस्केको थिएँ, नयाँ ग्रहको मान्छे आएजस्तो सबैले यसरी हेर्न थाले कि म बाबा आदमको युगको नागरिक हुँ ।

आज बिहान घरमा कोई थिएन । आनन्दले बाथरुप पसें । मेनगेटमा भित्रैबाट ताल्चा लगाएको हुनाले कोई पस्ला भन्ने डर नभएपछि बाथरुमको ढोका पो किन लाउनु पर्यो । र, घरमा एक्ले भएपछि किन प्राकृतवादी स्नान नगर्ने ? जन्मिदा कपडा लाएको कोही हुँदैन र मर्दा पनि कपडा लाएर कोही जाँदैन । एक्लै भएको बेला केको औपचारिकता ?

कपडा नलिइकन बाथरुममा पसेपछि एउटा टिकटक बनाउन मन लाग्यो । आफ्नो प्राकृतिक रूप र स्वभाव सायद यस्तै बेलामा होला आउने । मानिससित बुद्धि भएकोले मात्रै न हो कपडा लगाउन सिकेको । मानिसबाहेक अरु कसैले कपडा नै लगाउँदैन । कपडा एउटा प्रदर्शन बन्न पुग्नुको कारण पनि यही नै हो । यो लगाउने चलन नै नभएको भए सबै मानिस उस्तै देखिन्थे । अरु सबै कुराभन्दा कपडाले नै हो मानिस मानिसमा भेद सिर्जना गरेको । किन किन कपडा नै सारा विभेद र विकृतिको मूल स्रोत हो भन्ने निष्कर्षमा पुर्‍यायो ।

बाहिर निस्कन्छु त कपडा कतै छैन । मेरो घरमा कतै कुनै कपडा नै देख्दिनँ । ढोका झुन्डिएर आत्महत्या गरेको अभिनय गर्ने पर्दा गायब, ह्यांगरमा झुन्डिएर पिङ खेल्ने कपडाहरु पनि गायब, मेरो तौलिया, गन्जी, कट्ु सबै हराए । अलिकति लाज मानेको अभिनय मनले गर्दागर्दै पनि म बाथरुमबाट सोझै दराजतिर लम्कें । कपडाको दराज रित्तै । ओछ्यानमा तन्ना, तोसक र सिरक केही पनि छैन । मेरो शरीर कपडाविहीनजस्तै मेरो घर पनि कपडाविहीन लाग्यो ।
भर्खर बाथरुममा टिकटक बनाउँदा प्रतिपादन गरेको कपडाविहीन दर्शनले साकार रूप लिन पाउँदा मैले खुसी हुनुपर्ने हो तर म आफ्नो कपडाविहीन दर्शनमा अडिरहन सकिनँ । एक छिन पनि टिक्न नसक्ने दर्शन वा सिद्धान्त प्रतिपादन गर्ने ममाथि आफै लाज लाग्नुपर्ने हो तर कपडा नै नभएपछि केको लाज ? आखिर सबै कपडाहरू कहाँ हराए ?
डोरबेल बज्यो । मनमा अत्यासको आँधीहुरी चल्यो । जीउलाई झ्यालको पल्लामा लुकाउँदै मेनगेटतिर आँखा दौडाएँ । मेरा कपडाहरू मर्निङ वाकमा गएका रहेछन् । तुरन्त भित्र आउने आदेश दिएँ ।
एउटाले बोल्यो : हामी आन्दोलनमा छौँ ।

केको आन्दोलन ? कस्तो आन्दोलन ? कपडाको पनि आन्दोलन हुन्छ ?
हामी कसैलाई डिस्टर्ब गर्ने गरी आन्दोलन गर्दैनौँ । जुन घरमा आन्दोलन गर्छौँ, त्यो घर छाडेर बाहिर निस्कन्छौँ । हाम्रो माग पूरा नहुँदासम्म हामी भित्र पस्दैनौँ ।

के माग हो तिमीहरूको ? मागहरूबारे पहिले नै बताएको भए हुन्थ्यो नि, पूरा गरिसक्थें कि ?
झन् अस्ति गन्जीले आन्दोलनको संकेत गरेको होइन ? फस्नरले अस्ति माग पूरा गराउन आन्दोलन गरेको होइन ? तिम्रो साथी घरमा आउँदा कुनै पनि कपडा नखुल्न समयमा खुल्न नमानेको होइन ? तीन टिकट महाविकट भनेझैँ तीनपटक चेतावनी दिइसकेका थियौँ तर पनि हाम्रो माग पूरा नहुने भएपछि आन्दोलनको बाटो समातेका हौँ ।
माग के हो ?

हाम्रो मागको विषयमा हामी अहिले टेबुलमा बसेर कुराकानी गरौँला । हाम्रो भद्र आन्दोलन हो । हाम्रो कुरा सुन्न तयार तिमी तयार छौँ भने हाम्रो भद्र आन्दोलन स्थगित गर्दछौँ । तत्काललाई यति बुझिराख : हाम्रो पनि मान–सम्मान हुन्छ र तिमीहरूको पनि अपमान हुन्छ । परिधानको अपमान गर्नेले मानिसहरूकै बीचमा उसको सम्मानको बोक्रा उप्किइन्छ ।

हस् भन्दै म नतमस्तक हुन्छु । अलार्म बज्छ । निद्रा खुल्छ । हस्याङफस्याङ गर्दै यताउति हेर्छु । सबै ठिकठाक छ, अघिको टिकटक छैन ।

०००
रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
सुप्रिमो

सुप्रिमो

सञ्जय साह मित्र
कुत्ताभक्ति

कुत्ताभक्ति

सञ्जय साह मित्र
अनाम

अनाम

ईगम खालिङ
भजन मण्डलीको पुनर्गठन

भजन मण्डलीको पुनर्गठन

काशीनाथ मिश्रित
तर्सिङहोम (३)

तर्सिङहोम (३)

कृष्ण प्रधान
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
0
Would love your thoughts, please comment.x
()
x