प्रा. कपिल अज्ञात‘देब्रे हात’मा प्रयुक्त कोमल व्यङ्ग्यहरू
युवावर्ग मोबाइलमा भुलेकोमा नेताहरू विदेशीको इसारामा चलेकोमा, छिमेकीसँग राष्ट्रघाती सन्धि गरेकोमा उद्योगधन्दा विघटित भएकोमा निबन्धकारले चिन्ता प्रकट गरेका छन् ।
प्रा. कपिल अज्ञात :
पूर्णबहादुर अधिकारीको निबन्धसङ्ग्रह हो – देब्रे हात (२०८३) । यसलाई साहित्य सङ्गम चितवनले प्रकाशित गरेको छ । यसमा अधिकारीका सत्रवटा निबन्धहरू सङ्गृहीत छन् । सुन्दर, आकर्षक र मनमोहक आवरणमा सजिएको यस कृतिमा अधिकतर राजनीतिक क्षेत्रमा देखिएका विकृति, विसङ्गति विरुद्ध प्रहार गरिएका धारणाहरू समेटिएका छन् । यो सोझै हास्यव्यङ्ग्यको उद्देश्य राखेर र तदनुरुपको शैली अपनाएर लेखिएका निबन्ध नभई सामाजिक सुधारको आकाङ्क्षा राखी ध्वनिगत रुपमा कोमल व्यङ्ग्य गरिएका निबन्धको कृति हो । अधिकारी जहाँ विकृति र विसङ्गति देख्छन्, त्यहाँ उनको मन अमिलो भइरहन्छ र उनी तीतापिरा भावना र विचार प्रकट गरिहाल्छन् ।
अनुभूतिका त्रिवेणी (निबन्धसङ्ग्रह, २०६५) को प्रकाशनबाट साहित्यमा औपचारिक रुपबाट प्रवेश गरेका उनको मूलसाधना निबन्ध नै देखिन्छ । उनी विचारशील र अनुभव समृद्ध हुँदै गएकाले पनि उनी निबन्ध सिर्जनप्रति बढी आकर्षित भएका देखिन्छन् । कथा, कविता आदि लेख्ने गरेका भए पनि उनको मूल साधना र पहिचान निबन्ध विधामा नै बनेको पाइन्छ । अहिलेसम्म उनका एक दर्जनजति कृतिहरू प्रकाशित भइसकेका छन् । साहित्यमा निरन्तर अभिरुचि राख्ने र भावना तथा विचारसँग खेलिरहने उनको प्रवृत्ति देखिन्छ ।
कृति रचना गर्दा व्यावहारिक र जीवनोपयोगी होस् भन्ने उनको ध्येय रहेको देखिन्छ । उनी कलाका लागि भन्दा पनि कला जीवनका लागि होस् भन्ने मान्यता राख्दछन् । उनले यस निबन्ध कृतिको नामकरण गरेका छन् – देब्रे हात । यो यस कृतिकै पहिलो र उत्कृष्ट निबन्ध हो । हात, दुवै बराबर नै हुन् – देब्रे होस् कि दाहिने होस् । समाजमा दाहिने हातलाई नै मान्यता दिइन्छ । अधिकांश मानिसका दाहिने हात नै बढी चल्छन् । कसैकसैका मात्र देब्रे हात चलिरहेका हुन्छन् । जसका जुन हात चलून्, भेदको भावना राख्नुहुन्न भन्नु नै उनको उद्देश्य रहेको बुझिन्छ । यस सन्दर्भमा उनले आफ्नो अनुभव दर्शाउँदै दुवै हात बराबर हुन् भने सन्देश दिँदै भेदको कारण सम्पत्ति रहेको बताएका छन् भन्ने उनको धारणा रहेको छ ।
देब्रे हातको चर्चा गर्दा निबन्धकार रेशम विरहीको देब्रे आँखालाई सम्झन पुगिन्छ । दुवै निबन्धका कृति हुन् । देब्रे आँखामा दुवै आँखाको महŒव दिइएको छ । ज्योतिष शास्त्रमा कार्यसिद्धिका निम्ति चन्द्रमा दाहिना हुनुपर्छ भनिन्छ – व्यवहारमा पनि फलानो त फलानोको दाहिना हात हो भनिन्छ । कर्मकाण्डीय दृष्टिमा पत्नीलाई वामाङ्गी भनिन्छ । निबन्धकार यी सबै अन्धविश्वासका कुरा हुन् भन्ने मानी प्रकृतिप्रदत्त सबै वैकल्पिक अङ्गहरू समान रहेको धारणा प्रकट गरेका छन् । आफ्नो अनुभवबाट सिद्ध भएका तथ्यहरू प्रतिपादित भएकाले कृति निकै उपयोगी र रुचिकर हुन पुगेको छ ।
व्यङ्ग्यका सन्दर्भमा ‘मोबाइल फ्लु’ र ‘हिजो आजको परिवेश’ उत्कृष्ट निबन्ध हो । व्यवहारमा मोबाइलको महŒव र उपयोगिता नरहेको होइन तर बालबालिकामा यसको अधिक प्रयोगले हानि पु¥याइरहेको छ । एकप्रकारले यो नेपाली आर्थिक आयको शोषण गर्ने प्राविधिक जुका भएको छ ।
केही अछूत कसरी र किन ? मा समाजभित्रका भेदभाव र विकृतिजन्य प्रवृत्तिको चित्रण गरिएको छ । भनाइ र गराइमा भिन्नता यहाँभन्दा अन्यत्र कहाँ होला ? कहीँ छैन भन्ने निबन्धकारको ठहर रहेको छ । मानिसले गरेका वर्णविभाजनबाटै जातीय विभाजन र छुवाछुतको भावना पैदा भएको भन्ने निबन्धकारको अनुमान रहेको छ । यसमा उनले छुवाछुतको अवसर सोच, संस्कार र चिन्तनप्रति विरोध जनाउँदै छोइछिटो प्रथाप्रति प्रहार गरिरहेका छन् ।
रङ्गमञ्चका दुईथरी मान्छेहरूमा निबन्धकारले लेखनाथले भनेझैँ यो संसारलाई नाट्यशाला मानेका छन् । यसमा एकथरी सेवा पाउने र अर्कोथरी सेवा गर्नेको रूपमा कल्पना गरेका छन् र नेता प्रवृत्ति नेतृत्व निवासप्रति व्यङ्ग्य गरिरहेका छन् । मानवजीवन र खानपिनका कुरामा मानवीय खानपान प्रवृत्तिको विश्लेषण गर्दै बाँच्नका निम्ति खानुभन्दा पनि खानका लागि बाँच्ने प्रवृत्तिको आलोचना गरेका छन् । मानव स्वास्थ्यलाई ख्यालमा राखेर खाद्यवस्तुको उपयोग गर्नुपर्छ भन्ने उनको दृष्टिकोण रहेको छ । आफ्नो स्वास्थ्यस्थितिको संस्मरण सुनाउँदै खानपानमा विचार नपु¥याए त्यसको दुष्परिणाम बेहोर्नुपर्ने कुरामा सजग गराएका छन् ।
चेस खेल्नुको मजामा खेलको महत्व दर्शाउँदै निबन्धकारले खेलले मस्तिष्क भड्किनबाट स्थिर हुन्छ भन्ने तथ्य दर्शाएका छन् । अन्य खेलभन्दा चेस खेल बढी बुद्धि लगाउनेहरूको खेल हो । यसलाई उत्तम खेलको श्रेणीमा राख्दै यसले मान्छेको मनलाई एकाग्र तुल्याउने बताएका छन् । सहयोग कि उपयोगमा आफ्नो स्वभाव वा बानीको विश्लेषण गर्दै सहयोगका नाममा आफू अरूको उपयोग हुन पुगेको तीतो अनुभव प्रकट गरेका छन् । अन्धविश्वासमा अन्धविश्वासको परिचय दिँदै समाजमा देखापरेका केही अन्धविश्वासहरूलाई वर्गीकृत रूपमा उल्लेख गर्दै अन्धविश्वासले पु¥याउने क्षतितर्फ पनि व्यङ्ग्यप्रहार गरेका छन् ।
संस्कृति एक परिचयमा मान्छे जन्मँदा कोरा संस्कार ग्रहण गर्न पुग्छ भन्ने उनको धारणा रहेको छ । प्रकृति नियममा चल्छ तर मान्छे नियम र अनुशासनमा बस्न किन सक्दैन भन्ने प्रश्न गर्दै सुसंस्कृतिले सिङ्गो समाजको कल्याण गर्छ भन्ने उनको धारणा पाइन्छ । वर्तमानले भोगेको कुरा वर्तमानका विद्यार्थीले देखाएका दुराचरण र दुष्प्रवृत्तिको चित्रण छ । सामयिक शिक्षानीतिले देशलाई दुर्दशातिर धकेलेको चित्रण गर्दै सामयिक बेथिति, विकृति र विसङ्गतिबारे प्रकाश पार्दै सामयिक राजनीति देश भाँड्ने खालको छ भन्दै त्यसप्रति कटाक्ष गरेका छन् ।
मानव समाज, शिक्षा र परीक्षामा प्राचीनकालीन गुरुकुलीय शैक्षिक व्यवस्थाको चर्चा गर्दै सीपको सही आर्जनलाई नै ज्ञानप्राप्तिको मूलआधार मान्नुपर्ने कुरामा जोड दिँदै सामयिक शिक्षाको विकृतिमाथि आलोचना गरेका छन् । गरिब र गरिबीमा गरिबीलाई परिभाषित गर्दै यसका कारणहरू बताउँदै गरिबीबाट मुक्तिको संभावनाबारे चर्चा गरेका छन् । अरूका दृष्टिमा म उनको अन्तिम निबन्ध हो । यसमा म कस्तो छु भन्ने कुराको चित्रण छ । उनका मूल्य र मान्यताअनुसार अन्याय र अत्याचारको प्रतिवाद गर्नुपर्छ । यदि त्यसो नगर्ने हो भने शोषणको प्रवृत्ति झन् बढ्दै जान्छ भन्ने उनको धारणा पाइन्छ ।
यसरी उनका अनुभवजन्य निबन्धहरू शिक्षाप्रद र आनन्दप्रद रहेका छन् । विगतमा आफूले भोगेका र बेहोरेका स्मृतिलाई आधार बनाएर नैबन्धिक सिर्जनालाई गति दिएका छन् । निबन्ध सिर्जनमा विभिन्न प्रसङ्गहरूको समावेश गरेर निबन्धलाई रोचक र मर्मस्पर्शी तुल्याएका छन् । देशको गौरव गिरेकोमा युवावर्ग मोबाइलमा भुलेकोमा नेताहरू विदेशीको इसारामा चलेकोमा, छिमेकीसँग राष्ट्रघाती सन्धि गरेकोमा उद्योगधन्दा विघटित भएकोमा निबन्धकारले चिन्ता प्रकट गरेका छन् । नेपाल प्राकृतिक सम्पदा र जलराशिले भरिपूर्ण छ । यो सुनको कचौरा हो तर नेपाली गरिब छ भन्दै निबन्धकारले देशको गरिमा र गौरव अवहेलित र उपेक्षित रहेकोमा दुःख व्यक्त गर्दै नेपाल आमासँग सपूत जन्माउन अनुरोध गरेका छन् । गुन लगाउँदा–लगाउँदै पनि बैगुनी बन्ने र कृतघ्न व्यवहार गर्नेहरूका घटनाको पनि स्मरण गरेका छन् । यसले व्यावहारिक जीवनका निम्ति मार्गदर्शन गर्ने काम गरेका छन् ।
उनका दृष्टिमा समाजमा दुई वर्ग छन् – शोषक र शोषित । यसमा शोषकका शोषण प्रवृत्तिको विरोध जनाउँदै शोषितप्रति सहानुभूति दर्शाएका छन् । निबन्ध लेख्दालेख्दै कतै निबन्धहरू लेखजस्ता बन्न पुगेका छन् । जे होस्, निबन्धकारले आफ्ना निबन्धमा आफ्नो स्वभाव, ज्ञान र प्रवृत्तिलाई उतारेर निबन्धलाई रोचक र पठनयि तुल्याएका छन् ।
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest







































