प्रा. कपिल अज्ञात‘जङ्गबहादुरकाे फ्रेन्डरिक्वेस्ट’मा ‘मुखाले’को मनोविनोदात्मक प्रवृत्ति
मुखालेका समग्र रचनाका कथ्य विषयवस्तु सामाजिक, सांस्कृतिक र राजनीतिक बेथिति, विकृति र विसङ्गतिकै सौर्यमण्डलमा चक्कर लगाइरहेका देखिन्छन् र ती आफ्नो उद्देश्यमा सबल र सफल देखापर्छन् ।

प्रा. कपिल अज्ञात :
भोजराज रेग्मी– ‘मुखाले’ नामबाट मुखरित छन् । कविता, आख्यान र निबन्धमासमेत व्यङ्ग्यरचना गरेर ख्याति कमाएका छन् । जीवनको पूर्वाद्र्धमा हातमुख जोर्ने ध्याउन्नमा लागे पनि उत्तरार्धमा साहित्यको माहुर काढिरहेका छन् । मुख नलागेसम्म कहीँ केही भइन्न भनेर आफ्नो उपनाम ‘मुखाले’ राखेका छन् । ‘मुखाले’ र ‘चोथाले’ उस्तै हुन् तापनि दुवैको तात्पर्यमा अन्तर छ । मुखाले मुखमुखै लाग्ने वा बेशरमीसँग बोल्ने गर्छ भने चोथाले चुत्थो कुरो वा छुच्चो कुरा बोल्ने गर्छ । हास्यव्यङ्ग्यको निम्ति मुखाले सटीक शब्द हो । उनी हास्यव्यङ्ग्यात्मक हुन् भन्ने तथ्य आफ्नो उपनामबाट पनि ध्वनित गर्छन् ।
मुखाले मेरा गोत्र्याहा हुन् तर कोत्र्याहा होइनन् । प्रायः काेत्र्याहाहरू आपसमा खनिखोत्रो गर्छन्, तर उनी दूरका आत्मीय हुन् । उमेरावस्थाका कारण उनी मलाई ‘दाइ’ भन्छन् । नाता रगतको मात्र नभएर साहित्यको पनि हो, तर दाइ भए पनि उनको जस्तो हास्यव्यङ्ग्यको कला मसँग छैन, त्यस्तै गला पनि छैन । उनी हास्यव्यङ्ग्यको पार्टीमा लागे पनि गुटबन्दी गर्दैनन्, सबैसँग खुला र समसम्बन्ध राख्छन् । सामाजिक विकृति र विसङ्गतिप्रति औडाहा भएर आफ्नो मुख छाड्छन्, कविताका माध्यमबाट छाड्छन्, कथाका माध्यमबाट छाड्छन्, आफ्नो मुखाले प्रवृत्तिबाट हामीलाई वाह ! भन्नुपर्ने बनाउँछन् ।
मुखाले आत्मीय भएपछि मलाई पनि मुखामुख गर्न के गाह्रो ! मैले उनलाई भाइ नै सम्झेर भेटघाटको निम्तो दिएँ । घाटसम्म साथ दिनु पर्नेलाई हाटसम्म बोलाउनु अन्यथा होइन । उनी हस्याङ्फस्याङ गर्दै मेरो कपिलकुटीसम्म आएनन् मात्रै, आफ्नो हार्दिकता र व्यावहारिकता पनि जताए । मान्छे मुखाले भए पनि मनकारी रहेछन्, रित्तै हात आएनन् । दाजुलाई कोसेली भनेर आफ्ना तात्तातैका एकजोर हास्यव्यङ्ग्य कृति खोकिलामै बोकेर ल्याएका रहेछन् । लेख्ने, पढ्ने र पढाउनेबाहेक अरू कुराको अम्मल नभएको मजस्तो सेवानिवृत्त मास्टरलाई अरू के चाहियो र ! म खुशीले गदगद् भएँ । कुनै पनि स्रष्टाले पाठक, समीक्षक वा समालोचकबाट हाजिरीजवाफको शैलीमा तात्तातै प्रतिक्रिया वा प्रशंसा आओस् र नाक घोक्य्राउन पाऊँ भन्ने अपेक्षा राख्नु मनासिब हुँदैन, उनी त झन् तीन दिव्य बाह्र वर्ष राष्ट्रसेवा गरेका र देश–परदेश चहारेका भुक्तभोगी नै भइगए, मतिर हेरेर मुसुक्क हाँस्दै “ढिलै भए पनि यसो छोटोछरितो प्रतिक्रिया पनि पाउन पाए आभारी हुन्थेँ, दाजु !” भनेर बिन्ती बिसाउन भ्याइहाले । दर्जन दुहान बस्तुभाउ भएको गोठमा दुई थान बन्धुको गाई बाँध्दिन मलाई केको आइतबार ! मैले “हुन्छ नि भाइ !” भनेर मुस्काउनु र मेरी बाहुनीले चियाखाजा टक्य्राउनु सँगसँगै भो । चियाखाजासँगै हाम्रा गफ चले । हामीसँग बिदा मागेर मुखाले भाइ आफ्नो गन्तव्यतर्फ लागे ।
आफ्नै सुसेधन्दामा भुलिरहेको बेला एक दिन फ्याट्टै मुखालेलाई सम्झन पुगेँ । अनायास उनलाई सम्झाउने एउटै कारण थियो – उनले आफ्नो मुहारपुस्तिकामा पस्केको समसामयिक चोटिलो, पोटिलो अनि स्वादिलो साहित्यिक लघुरचना । अनि पो झल्याँस्स भएँ म, ओहो ! मुखालेका जुम्ल्याहा हास्यव्यङ्ग्य कृति त मैले नहेरिदिएको पीरले दराजभित्रै खादिएर रुँदै रहेछन् । हत्तपत्त निकालेर सुम्सुम्याएँ र तिनकै चिना–कुण्डली हेर्न थालेँ । समकालीन देश, काल र परिस्थितिका तमाम मुद्दाहरूको बडेमान मिसिलहरू पो रहेछन् – उनका कविता र कथाहरू ।
मुखाले लेखनमा मात्रै होइन, व्यवहारमा पनि आफ्नै उही मुखाले शैली अर्थात् हास्यव्यङ्ग्यको छेडो प्रस्तुत गर्दा रहेछन् । यस्ता मुखालेहरू मनपेटमा पनि कुनै पाप नभएका हुन्छन् भन्थे, मलाई पनि त्यस्तै लाग्यो । उनीसँग बराबर भेट भइरहूँ, हँसीमजाकको सिलसिला चलाइरहूँजस्तो प्रकृतिका रहेछन् । मेरो घर उनले देखे तर मैले उनको घर देखेको छैन । “गाई भए गोरस, भाइ भए भरोस” भन्छन् । मलाई पनि उनको हुलिया खोज्दै जाने इच्छा जागेको छ । बुढेसकालमा बुढी त चाहिन्छ नै, छोराछोरीहरू त देश–विदेश चहार्न र चर्न गएका हुन्छन् । त्यसपछि मुखालेजस्ता मुखबोला भाइसाथीहरूसँग बाक्लो भेटघाट भए समय बितेको पत्तै नहुने । यसरी राजधानीका विभिन्न साहित्यिक संस्थाहरूले निमन्त्रणा गरेका कार्यक्रमहरूमा मुखाले भाइसँग बेलाबेलामा भेटघाट भइरहन्छ । यही मौकामा चौका हान्दै हामी आफ्ना अनुभवहरू मात्रै हैन, नयाँनौला जानकारी र कृतिहरू पनि साटासाट गरेर मुग्ध हुन्छौँ ।
फित्कौलीबाट आफ्नो खित्कौली चलाउँदै आएका फित्कौलीका मठाधीशसँग सगोत्रीको साइनो जोडेका मुखाले भाइका मुखर प्रस्तुति कस्ता छन् – मेरानिम्ति घोर जिज्ञासाको विषय बनेको छ । पद्य र गद्य दुवैमा खित्का छुटाउन सक्ने मुखालेको जङ्गबहादुरको फ्रेन्डरिक्वेस्ट (२०८१) फित्कौलीबाटै प्रकाशित भएको कृति हो । यसमा व्यङ्ग्यराज पौडेलको ‘भूमिका’ र हास्यनाथ लुइँटेलको ‘प्रकाशक्यौली’ रहेको छ । दुवैको माया पाएको कृतिले आफ्नो चर्तीकला देखाउने मज्जाको परिवेश पाएको देखिन्छ । एकातिर हास्यव्यङ्ग्यका कृति प्रकाशित हुनु,अर्कातिर हास्यव्यङ्ग्य पल्टनकै सेनानीहरूले भूमिका लेख्नु, कृतिले गुरुत्व र गुणवत्ताको राम्रो कदर पाएको मान्न सकिन्छ । दुवैबाट कृतिको नापजाँच भएपछि मुखाले कृति हातहातै जाने भो भन्ने भावनाले अवश्य पनि फुर्किएको हुनुपर्छ । त्यस्तै आए उनी पाखुरा सुर्केर बहस गर्न पनि पछि पर्दैनन् र बुढेसकालको पौरखबाट आएको कृति चानचुने हैन है भनेर पछि नपर्लान् जस्तो लाग्छ ।
जङ्गबहादुर नै हाइफाइको नाम हो । जङ्गिनुमा अग्रता प्राप्त गरेका ऐतिहासिक पात्र हुन् – जङ्गबहादुर । कोतपर्व मच्चाएर सत्तामा पुगेका तिनै महसूर पात्रको फ्रेन्डरिक्वेस्ट भनेपछि विषय नै गम्भीर र ओजपूर्ण लाग्छ । ‘जङ्गबहादुर’ नाम ऐतिहासिक शूरवीर र ‘फ्रेन्डरिक्वेस्ट’ आधुनिक सूचना सञ्जाल – दुवै शक्तिबद्र्धक शब्दको प्रयोग गरी नामकरण गरिएको शीर्षक नै हास्यव्यङ्गोत्पादक अनुभव हुन्छ । यसमा तीसवटा हास्यव्यङ्ग्य रचनामध्ये सर्वप्रथम त्यही शीर्षकको कथा पढ्दछु, जुन कथा सँगालोको तेह्रौँ भाइ रहेछ ।
चित्त दुखेको ओखती (२०७१) बाट साहित्यिक कृतिको प्रकाशन प्रारम्भ गरेका मुखाले पहिला कवितातिरै लहसिएका रहेछन् । आफू त्यसरी लहसिन उत्प्रेरित हुनुको कारण – आमाबुवाले सुनाउनुभएका नीतिकथा, पौराणिक एवं दन्त्यकथाहरू र भानुभक्त, लेखनाथ, देवकोटा, घिमिरे र भूपी प्रभृतिका रचनाहरूको पठन रहेको खुलस्त्याइँ उनले आफ्नो पुस्तकको ‘आत्मकथन’मा गरेका छन् । पछि आफ्नो एकेडेमिक तथा स्वाध्यायनको सिलसिलामा गद्याख्यानतिर पनि चहार्न र चाख्न थालेपछि यिनले आख्यान र गैरआख्यानतिर पनि हात चलाउन थालेछन् ।
औडाहाबाट कविताको दौडाहा देखाइसकेका उनले लामो दूरीको म्याराथुन दौडभन्दा छोटो दूरीको प्रतिस्पर्धामा आफ्नो निकै फुर्ती चढाएको पाइन्छ । लघु आख्यानमा ढालिएका हास्यव्यङ्ग्यात्मक प्रस्तुतिमा उनको यो प्रवृत्ति नवीन स्वरूपमा देखा पर्छ । कविताभन्दा अझ एक पाइलो अघि बढेको उनको यो कृति मास्टरपिस नै हो भन्ने लाग्दछ । उनका हास्यव्यङ्ग्यात्मक रचना अधिकांश लघुकथाको आकारमा एकदुई पृष्ठमै निहित छन् भने कुनै सातआठ पृष्ठसम्म फैलिएका छन् ।
हास्यव्यङ्ग्य बेग्लै विधा होइन, यसले जुन घोडा अनुकूल देख्छ, त्यसैको लगाम पक्रेर दौडाउँछ । यसमा आख्यानको घोडा छ र चढ्नेका गोडा पनि दह्रा छन्, पाखुरा पनि कसिला छन् । घोडालाई बडा राम्ररी दायेरै चलाएको महसुस हुन्छ । आख्यानलाई तुर्की घोडाझैँ बनाएर प्रस्तुतिले बुर्कुसी मारेको देख्दा देख्ने–बुझ्नेलाई पनि बडो मज्जा लाग्दो रहेछ । अब मुखालेलाई सामाजिक संजालमा चलेको संवाद सुनेबुझेर मात्रै सामान्य ठान्नुभन्नु हुँदैन । यस कृतिले अब्बल दर्जाको हास्यव्यङ्ग्यकार भएको प्रमाणित गर्छ । त्यसो त कृतिमा हास्य कम र व्यङ्ग्य बढी महसुस हुन्छ ।
आख्यानिक व्यङ्ग्यतिर लाग्न सामान्य प्रतिभाको वशको कुरा हुँदैन । आख्यानचेत र व्यङ्ग्यचेत दुवै भएको स्रष्टा मात्र यसमा सफल हुनसक्छ । यसमा त मुखालेको आख्यानिक चेत मात्रै होइन, नैबन्धिकव्यङ्ग्यचेत र कवित्वचेत – तीनैको सफल समन्वय देखिन्छ । दुई दर्जन हास्यव्यङ्ग्य कविता र एक दर्जनबढी कथात्मक व्यङ्ग्य रचना फित्कौलीमा प्रविष्ट भइसकेको खुलासा फित्कौलीका हाकिमबाट भइसकेकोले मुखालेका कृति कम महत्वको छैन भन्ने बोध हुन्छ । साथै लघुआयाम र बृहद् आयाम दुवैमा व्यङ्ग्य रचना गर्न उनी निपुण छन् भन्ने पनि यसले साबित गरिदिएको छ । विधागत परिचयका सन्दर्भमा यसलाई हास्यव्यङ्ग्यात्मक आख्यानसङ्ग्रह भनिएको छ । यथार्थमा यो सार्थक पनि छ तर यसमा हास्यव्यङ्ग्यको राम्रो छनक आए पनि मनोविनोदात्मक भाव अधिक प्रविष्ट भएकाले यसलाई मनोविनोदात्मक आख्यानात्मक निबन्धका रूपमा मान्न सकिन्छ ।
यसमा जम्मा तीसथान व्यङ्ग्य रचनाहरू सङ्गृहीत छन् । ती रचनाहरूले के कस्ता सन्देश मुखरित गर्छन्, तिनको फेहरिस्त प्रस्तुत गरूँ । आखिरले महात्माको भेष धारण गर्दैमा आफ्नो बानी जाँदैन बरु अरूलाई तानीतानी फसाउँछ भन्ने सन्देश दिएको छ । अर्दली र समयले समय र परिस्थिति सँधै एकनासको हुन्न, कुनै समय हाकिमकी स्वास्नीको सेवा गर्ने स्थिति हुन्छ भने कुनै समय करारको पियनले हाकिम थर्काउन पुग्छ भन्ने र कुनै जागिर चट भएर रुझेको बिरालोझैँ बन्नुपर्छ भन्ने देखाएको छ । मान्छे प्रकृति र प्रवृत्तिले मात्रै होइन, प्रवृत्तिले पनि गरिब हुन्छ । चाँजोपाँजो मिलाउन नसक्दा हैसियतमै भाँजो पर्छ भन्ने नियती र निर्लज्जले दर्शाएको छ । घरमुली नै हुलमुले र अव्यावहारिक भएपछि परिवार नै भड्खालोमा पर्छ भन्ने सन्देश दिएको छ । आइडियाले दुर्जनलाई दुष्प्रवृत्तिकै विचार आउँछ भन्ने कुरा जनाएको छ । रिङ्गटाले अरूलाई पर्दा सम्झाउन सजिलो पर्छ तर आफैँलाई पर्दा रिँगटा आउँछ भन्ने देखाएको छ ।
खुल्ला दिसामुक्त क्षेत्रले भनाइ र गराइको भिन्नतालाई दर्शाएको छ । पराइका कुरा सुन्ने प्रवृत्तिले मानिस घमण्डी र अम्मली मात्र हैन, महाअपराधी बन्न सक्छ भन्ने कुरा घोइरेले प्रस्तुत गरेको छ । परिवर्तनले समस्या एक्कासि साह्रो पनि हुनसक्छ र भाग्यले साथ दिए भूत पनि कमारो बन्न सक्छ भन्ने देखाएको छ । बदलाले बदलाको भावनाले गरिने दुष्प्रवृत्ति र त्यस्तैको पदोन्नतिसमेत देखाएर गर्भित व्यङ्ग्य प्रस्तुत गरेको छ । मान्छे अक्कडो बन्दै गए सम्बन्धको लागि पनि कोही उभिन सक्दैन भन्ने सेकेण्डह्याण्डले दर्शाएको छ । प्रोफेसर भाइरलले दशाले कसैलाई पनि चिन्दैन भनेर बुझाउँछ भने जाती गर्यौले नरिसाउने ज्याद्रो बानीको परिणाम देखाएको छ ।
जङ्गबहादुरको फ्रेन्डरिक्वेस्टमा कथाकार मुखाले स्वैरकल्पनाको गहिराइमा पुगेर नेपालको राजनीति र न्यायप्रणालीमा देखिएको विकृति र विसङ्गतिको जरो कोट्याउन र लहरो खुट्याउन खप्पिस देखिएका छन् । भगवान र भेडाहरूले मान्छेको भेडाप्रवृत्ति उजागर गरेको छ भने सङ्गतको फलमा मान्छेको सङ्गतले पशुपन्छी पनि प्रभावित हुन पुग्छन् भन्ने गहिरो सन्देश दिएको छ । बडाबाको बड्डेले स्वार्थी र पाखण्डी आफ्नै मान्छेले फसाउँन बेर लाग्दैन भन्ने कुरा देखाएको छ ।
ककरो नहीँ कहिदिय (कसैलाई नभन्दिनु होला) कथामार्फत् कथाकारले तराई मधेशको जनजीवन, सभ्यता र संस्कृतिको एउटा मार्मिक पक्षलाई उद्घाटित गरेका छन् । लोग्ने र स्वास्नीको झगडा सधैँ परालको आगोजस्तै ह्वार्र बलेर एकछिनमै झ्याप्पै निभ्ने हुँदैन, बरु यसमा तेस्रो पक्षले आफ्नो स्वार्थको सेकुवा सेक्ने बदनियत राखेको छ भने घरभित्रको झगडा कोइलाको आगोजस्तै हत्पती ननिभ्ने र त्यसले आपसी सद्भाव र प्रेमलाई पनि जलाउन सक्छ भन्ने सन्देश दिएको छ । देशको राजनीतिमा केही वर्षअघि भएको अमूक दलका शीर्ष नेताहरूको प्रवृत्ति र चरित्र चित्रण बडो व्यङ्ग्यात्मक कौशलका साथ प्रस्तुत गरेर समकालीन घटना र पात्रलाई कथामा उन्न र बुन्न मुखाले सिद्धहस्त देखिएका छन् ।
कथाकार मुखाले आफ्नो बैंसकालीन यात्रावृतान्तलाई एक पित्को प्रेममार्फत् इमानसाथ पस्किन सफल त छँदैछन् नै देखाउने दाँत देखाएर बाउआमाको मन सन्तानमाथि, सन्तानको मन ढुङ्गामुडामाथि भन्ने मार्मिक उखानको बखान पनि बडो मनोहारी ढङ्गले प्रस्तुत गरेका छन् । पटकपटक सरकार बनाउने तर रङ्गढङ्गले चलाउन नसक्ने हिजडा प्रवृत्तिलाई कडा प्रहार गर्दै गबुल्लेको बिहे लेखेका छन् भने अलच्छिनको लक्षणमार्फत् परम्परागत राजनीतिक बेथितिप्रति दह्रो थप्पड हानेका छन् । नेपालीको थाप्लोमा विदेशी ऋणको भारी बोकाएर आफूले कम्बल ओढेर कुराउनी खाने नेपाली शासकहरूको निर्लज्ज मनोवृत्ति र डाँकाप्रवृतिलाई मुखियाको हात्तीदानमार्फत सिस्नोपानी लगाएका छन् भने चम्चा र काँटा, निर्णय, सरकारी सिटजस्ता सामाजिक कथा कथुरेर पाठकलाई फरक स्वाद चखाएका छन् । यसैगरी बखतेको सपनामार्फत् कथाकारले देशमा ब्याप्त बेरोजगारी, राजनीतिक अन्यौल र आक्रोशले जन्माउने विभिन्न बेथितिहरूको विमोचन गरेका छन् ।
यसमा स्रष्टा स्वयंले स्वैरकल्पनाको प्रयोग भनेका छन्, जुन यथार्थता हो । भूमिकाकारले समकालीन यथार्थको वृत्तचित्रको रूपमा क्वाँटी साहित्यको नमूना भनेका छन्, जुन सटीक टिप्पणी लाग्दछ । भूमिकाकारले भनेझैँ यसमा ठट्यौली पाराको परिहास छ, जसले कथ्यलाई स्वादिलो तुल्याएको छ । जेहोस्, नेपाली हास्यव्यङ्ग्यमा मुखालेको मुखरवृत्तिले हास्यव्यङ्ग्यका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको मान्न सकिन्छ । यसमा प्रयुक्त दृष्टान्तमूलक कथन वैचित्र्यले शैल्पिक पद्धतिलाई चमत्कृत तुल्याएको छ । कृतिभित्र त्यस्ता अनेक दृष्टान्त छन्, जस्तै : चङ्गा उडाउने चम्चाहरू र नारा लाउने काँटाहरू (पृष्ठ ८१), उनीहरूको दुःखको खोलोमा हाम्रो कहरको खोलो पनि मिसियो (पृष्ठ ७५), जतिपटक बिहे गर्यो उतिपटक भ्रामरीले भेट्थ्यो (पृ. ७०), तिम्रो यही नरिसाउने ज्याद्रो बानीले नै मलाई प्रेममा लठ्ठ्याएको र अहिलेसम्म अड्याएको हो (पृ. ४०), केही वर्षदेखि उनी धार्मिक सम्प्रदायमा हात धोएरै लागेकीले गुरुभक्तिको तापक्रम बढ्दै गएको थियो (पृ. १७) ।
मुखालेका समग्र रचनाका कथ्य विषयवस्तु सामाजिक, सांस्कृतिक र राजनीतिक बेथिति, विकृति र विसङ्गतिकै सौर्यमण्डलमा चक्कर लगाइरहेका देखिन्छन् र ती आफ्नो उद्देश्यमा सबल र सफल देखापर्छन् ।
०००
कीर्तिपुर–२, मैत्रीनगर, काठमाडौँ
मो. : ९८४५११००३०
Subscribe
Login
0 Comments
Oldest








































