प्रा. कपिल अज्ञात‘बोक्सी मन्त्र’की परिरोशनीको व्यङ्ग्यात्मक दृष्टि
कवितात्मक छनकले पनि उनको व्यङ्ग्य संरचना बुनिएको छ । सबैजसो निबन्ध शीर्षककेन्द्री छन्, व्यङ्ग्यका घच्काले अभिव्यक्तिलाई धारिलो तुल्याइएको छ ।

प्रा. कपिल अज्ञात :
गायत्री परिरोशनीको बोक्सी मन्त्र (व्यङ्ग्य निबन्धसंग्रह, २०६६) व्यङ्ग्यको कृति भनिए पनि हास्य न्यून र व्यङ्ग्य अधिक दुवै विशेषताले युक्त भएको कृति हो । मलाई यो २०६७ सालमै हात परेको रहेछ । अन्य काममा अल्झिएर पुस्तक पढ्ने मेसो जुरेको थिएन; अहिले पढेर प्रतिक्रिया जनाउँदै छु । सर्वप्रथम झटारो (२०६०) हास्यव्यङ्ग्यका कविताबाट सिर्जना आरम्भ गरेकी उनी कविताबाट निबन्धतर्फ सक्रिय हुँदै हास्यव्यङ्ग्यका क्षेत्रमा तीक्ष्ण प्रभाव पार्न सफल हुन पुगेकी छन् । कविता र निबन्ध गरी आधा दर्जनजति कृति प्रकाशन भइसकेका उनका सिर्जनाले पाठकजगत्मा राम्रै प्रभाव पारिरहेको अनुभूत हुन्छ । उनका कृतिका शीर्षकले नै हास्यव्यङ्ग्य कृति हुन् भन्ने जनाउँछन्, जस्तै : झटारो (२०६०), बोका पालन (२०६२) आदि । ७२ पृष्ठको आयतनमा फैलिएको यस कृतिमा उनका १९ वटा हास्यव्यङ्ग्य रचना समेटिएका छन् ।

‘बोक्सी मन्त्र’ यसै कृतिभित्रको एक रचना पनि हो । यही रचनाका आधारमा कृतिको नामकरण गरिएको छ, जुन व्यङ्ग्यका निम्ति उपयुक्त शीर्षक हो । ‘बोक्सी’ भन्नाले बोक्सेरो वा टुनामुना जानेर अरूलाई दुःख दिने स्त्रीजातिलाई भनिन्छ । तिनै बोक्सीलाई बाँध्ने वा नियन्त्रण गर्ने मन्त्रलाई ‘बोक्सी मन्त्र’ भनिन्छ । यो समाजमा चलेको एकप्रकारको भ्रम वा अन्धविश्वास हो । आफूलाई मन नपरेको वा देख्दैमा डरलाग्दो स्वरूप वा रिस उठाउनेजस्ती आइमाईलाई बोक्सीको आरोप लगाइन्छ । निरक्षर समाजमा यो धारणा रहँदै आएको छ ।
प्राचीन कालमा राजा–महाराजाहरूले कन्यालाई थोरैथोरै विष सेवन गराई उनको देहलाई विषाक्त बनाएर तालिमसमेत गराई हतियारको रूपमा प्रयोग गर्दथे । शत्रुलाई मार्ने वा फसाउने अचुक अस्त्रको रूपमा उनीहरूको प्रयोग गरिन्थ्यो । मस्त जवानी छउन्जेल तिनलाई दरबारभित्र निगरानीमा राखिन्थ्यो, जवानी ढल्केपछि तिनलाई खुला छोडिन्थ्यो । बाँकी जीवन बिताउन ती गाउँघरतिर प्रवेश गर्थे, ती देख्नमा राम्रा हुन्थे; जो तिनको मोहजालमा पर्थ्यो ती सोझै मृत्युलोकमा सिधार्नुपर्थ्यो किनभने तिनको चुम्बन नागिनको डसाइझैँ विषाक्त हुन्थ्यो । यथार्थमा तिनैलाई ‘विषकन्या’ भनिन्थ्यो । त्यही ‘विषकन्याबाट ‘बोक्सी’ शब्द प्रचलनमा आएको हो भन्ने भनाइ रहेको छ । यसमा कति सत्यता छ, त्यो शोधखोजको विषय रहेको छ ।
परिरोशनी बोका पालन (२०६०) पछि बोक्सी मन्त्र र त्यसपछि अरूअरू पनि परिष्कृत र परिमार्जित हुँदै आएका निबन्धहरू होलान् । डेढ दशकअगाडिको यस कृतिमा त यति दम छ भने पछिका कृति झन् कति तीक्ष्ण र दमदार होलान्, अनुमान गर्न सकिन्छ । उनका हास्यव्यङ्ग्य सिर्जनको सृजनात्मक पृष्ठभूमि हेर्दा उनी ऊर्जाशील, पठनीय र प्रेरणाप्रद व्यक्तित्वका रूपमा देखा पर्छिन् । उनका कृति र क्रियाशीलता हेर्दा पनि उनी मौसमी स्रष्टा नभएर सदाबहार स्रष्टाको रूपमा एक हास्यव्यङ्ग्यको उत्कृष्ट उचाइ हासिल गर्न पुगेकी सफल स्रष्टा हुन् भन्ने बुझ्न सकिन्छ । उनका रचनाहरू आख्यान र कल्पनाको मिश्रणले रोचक र घोचक हुनुका साथै चित्तरञ्जक बनेका छन् ।
उनका तुकका तारतम्य पनि सटीक छन्, त्यही तुकको प्रयोगबाट उनले किञ्चित हास्यको सृष्टि गरेकी छन् । कवितात्मक छनकले पनि उनको व्यङ्ग्य संरचना बुनिएको छ । सबैजसो निबन्ध शीर्षककेन्द्री छन्, व्यङ्ग्यका घच्काले अभिव्यक्तिलाई धारिलो तुल्याइएको छ । सबै निबन्ध सामयिक विकृति र विसंगतिप्रति लक्ष्यित छन् । स्रष्टाको स्वकीय दृष्टिले पनि राम्रो भूमिका खेलेको पाइन्छ । स्पष्टताका साथ प्रस्तुत भएका उनका दृष्टिहरूले पाठकीय मनोवृत्तिलाई समेत जागृत तुल्याउँछन् ।
निबन्धका अधिकांश शीर्षकहरू व्यङ्ग्यात्यमक छन् तर केही टिप्पणीपरक भएकाले अखबारी तहमा ओर्लेका हुन् कि झैँ लाग्दछन् । जे होस्, समग्रमा सिर्जनात्मक क्षमताको उर्वरताले पाठकलाई प्रभावित पारेरै छोड्छन् । कामको तुलनामा बातको विकास भएको, नेताहरूले आफ्नै स्वार्थको निम्ति नीति बनाएको, राजनीतिका नाममा सबै अवसरवादकै पछि लागेको, नराम्रो काम गर्नेलाई पनि राम्रो मान्ने गरेको, अरूकै कविता चोरेर प्रतियोगितामा भाग लिई पुरस्कार टप्काएकोजस्ता प्रस्तुतिबाट उनले मानवीय दुष्प्रवृत्तिलाई उजागर गरेकी छन् र मनमा लागेको धोकोको पोको फुकाएकी छन् । उनी यसरी हास्यव्यङ्ग्यको सुस्वादु व्यञ्जन प्रस्तुत गर्न सफल भएकी छन् ।
उनी सृजनप्रक्रियाका सम्बन्धमा देखेका कुरा लेख्छिन् । सिद्धान्त र व्यवहारमा भिन्नता रहेको देख्छिन् । उनको लेखकीय इमान्दारिता र आँटले समाजको स्पष्ट चित्र उतारेको पाइन्छ । उनको समीक्षात्मक चेत पनि तीव्र देखापर्छ । व्याख्यात्मक र विश्लेषणात्मक प्रवृत्तिले निबन्धमा यथोचित गति पाएका छन् । यस्ती तीक्ष्ण प्रतिभाकी हास्यव्यङ्ग्यकार परिरोशनी धन्य हुन् । परिरोशनीको अर्थ हो – ‘चारैतिर किरण फैलाउने’ । हुन पनि समाजका विकृति र विसंगति उपर आफ्नो दृष्टि रोशनी फैलाउन सकेकोमा उपनामले पनि सार्थकता पाएको महसुस गर्न सकिन्छ ।
अन्त्यमा,
राम्रोलाई राम्रै मानेर लेख्नुहुन्छ तपाईँ
नराम्रोलाई नराम्रै रूपमा देख्नुहुन्छ तपाईँ
सबैतिर उज्यालो छर्ने नामै छ ‘परिरोशनी’
यस्तै लेखिरहे व्यङ्ग्यशिखरमा टेक्नुहुन्छ तपाईँ ।
०००
भरतपुर–१२, चितवन
Subscribe
Login
0 Comments
Oldest








































