रामकृष्ण ढकालभ्रष्ट निर्माताको घिच्योपदेश
अब आउन्या दिनहरू महिनाहरू वर्षहरूमा तिमी जनता नामका भेडाहरूसँग फेरि भेट होला जस्तो लाग्दैन ।

रामकृष्ण ढकाल :
हाम्रा प्यारा शेषबासीहरू !
आगे हाम्रा शासन तिमीहरुका भाग्यमा आउन्या छेन । हामीले यो देशमा धेरै वर्षसम्म हामीले जाने जति सबै गर्यौं । हाम्रा शासनले तिमीहरूलाई पूरै असन्तुष्ट पारेको कुरा बेलाबेलामा तिमीहरुले हाम्रा हजुरमा जाहेर गरिरह्याैँ तर हामी आफ्नो सुरबाट अलिकति पनि हल्लिएनौं । कुर्सिमा बसेर घुर्की र फूर्तीद्वारा सूर्तिकोजस्तो कोक्याउने दुर्गन्ध बडो शानले छोडिरह्यौं । हामीले मौका मिल्दा कहिले जेट खायौं कहिले बजेट चपायौं, कहिले घुस खायौं कहिले कमिसन खायौं । अझ त्यतिमात्र कहाँ हो र तिमीहरूलाई कहिले बिनाअर्थका मुद्दा लगायौं कहिले अन्यायी कानून बनायौं , कहिले जुवा मार्यौं कहिले होनहार युवा मार्यौं । यसका त्यसका बैँस चोर्यौं, देशका पैसा सोहोर्यौं । केही न कामका आउरे बाउरे झोले झाम्टे गुण्डा जगल्टेलाई हामिले दिनुसम्म साथ दियौं । बरू देश र जनतालाई नै लात दियौं ।
यो संसारमा हाम्रैजस्ता बानी ब्यहोरा स्वभाव भयाका मात्र हाम्रालागी मान्छे हुन । सोझा सिधा लाटा सुधा सबैकन हामीले सोझै भेडा भन्यौं । मन नलागी नलागी चुनावको नाउ तर्नकालागि भनेर देखावटी रुपमा जनता विकाश निकाश सुशासन आदिका नाम जपेका हौं । यदि राम्रो गर्नेनै हाम्रो मनसुवा थियोभने अहिले आएर साना साना लालाबालाद्वारा लखेटिएर एकान्तमा बसि यस्तो लेख्ने दिन आउन्या थिएन । संसारमा भएजती सबै नराम्रो अन्याय अत्याचारलाई शिरोपर गरेकाले नै आज आएर बालबच्चाबाट खेदिएर चुनावबाट सेरिएर पहिलेको विश्वकै महाभ्रष्टको कीर्तिमान कायम गर्ने अधूरै रहेको हाम्रो सपना भदौरे हुरिले उडाइदिएकोले र हाम्रो सबै कर्तूत विभिन्न तरिकाले तिमीहरुले थाहा पाएकाले मात्र यस्तो खालको भाषामा यो घिचोपदेश तयार गरेका हौं ।
अहिले नै एकचोटि डामिएर हामीले नै बनाएका अन्यायी कानून र समाजमा गन्हाएका अन्यायधीशहरूको असिम अनुकम्पाले अलिकति सास फेर्न पाएको बेलामा हामीजस्ता घिचाहा मिचाहा थिचाहा वनका माहाराजहरूले यस्सो एउटा घिचोपदेश नामको बकपत्र बनाइहाल्न पाए हिजोको इतिहासको पहिलो जङ्गबहादुरको सनद जस्तैगरी कालजेयी होला र हामी अबका दिनमा कालकोठरिमा पसेर बस्नु परे पनि हामीलाई बेसरी सताउन्याहरूको बकपत्र भनेर तिमी जनताहरूले हेरौला । जसरी सोझो सिधा हाम्रो देशसँग दुई शताब्दी अघि निर्लज्ज धावा बोलेर सात समुद्रपारिका अमानव म्लेच्छहरूले आजसम्म हाम्रा दृष्टिमा घोर अन्यायी क्रुर समुदायको रुपमा आफ्नो छवि बनायो, जसरी तिनै म्लेच्छहरूका दास बन्न विवस भएका आजका दक्षिणी राक्षसहरू कसैले नबानाएको ठाउँलाई कत्ती न देश छ भन्दै साँधसिमाना राजनितीमा कहिले त्यहिँ कुसैनिक तालिम दिएर जङ्गली दानवहरू हाम्रा बिरुद्ध उठाउने लगायतका अत्यन्तै अमानवीय कुकर्म देखाइरहन्छन अनि कुकर्मीकै रुपमा भयापनी हामी तिनका नाम लिइरहन्छौं , कम्तीमा त्यसैगरी भए पनि जुनबेला यो घिचोपदेश हेरौला त्यही बखतमा भनेपनी हाम्रो नाम सम्झौला भनेर हामीले आफ्नै राजी खुशीले यो घिचोपदेश तयार गरेका छौं ।
यो घिचोपदेश तयार पार्दा हामीलाई असल देखाउन्या खालको कुरा यसमा राख्यौंभने बालबच्चाहरूले आगो झोसेर सत्ता खोसेर लखेटेर पठाएकाहरूले अझै कम्मरसम्म पनि चेत आएकोरहेनछ तलै रहेछ भनेर भनौला भनेर हामीले तिमीहरूलाई राम्रो लाग्न्या भाषामै यो घिचोपदेश तयार गरिदियौं ।
आगे उप्रान्त यो देशको सरहदभित्र हाम्रो शासन सत्ता फर्कने छाँटकाँट हामीले देखेका छैनौं । किनभने हामीले अनेक विदेशीका हाम्रालागी आत्माघाती इशारा मानेर सकेसम्म अन्यायी कानून बनाई, अदालत वकिल कर्मचारी नीतिनिर्माता ठेकेदार बिचौलिया सबैलाई हाम्रै पोल्टाको बनाई युगौंसम्म आफ्नै मनमौजी सत्ता चलाउन खोजेको हामिले नभनेर उल्टो लोकतन्त्र प्रजातन्त्र गणतन्त्र सुशासन जस्ता थेगोहरू दोहोर्याएको दोहोर्याइ गर्दा समेत तिमीहरुले खै कसरी हाम्रो मनको इप्सा बुझेछौ , अझ विद्यालय जान्या आउन्या विद्यार्थीहरूसमेतले बुझीकन जुलुसै निकालेर हामीलाई भागाभाग बनाया भन्या अब शब्द भाषा यताउता पारेर घिचोपदेश बनाउनु ठिक नहोला भनेर हामिले सोझै यस्तो भाषा प्रयोग गरेका छौं ।
उप्रान्त तिमीहरूकै छाला काडेर रुवाउँदै खाँदै गर्ने हाम्रो अत्याधुनिक सभ्य अनि विश्वकै सर्वोत्कृष्ट संबिधानको नारा जपेर हाम्रा झोले झाम्टे चम्चे आउरे बाउरेकासमेत दाह्रा धसेर युवा बेची भ्रष्ट साँची सोझासीधाको ढाड कम्मर भाँची सास रहुञ्जेल पालोशान्ती भागबन्डाको माध्यमद्वारा नाम सुशासनको काम दुशासनको गर्ने हाम्रो महान इच्छाहरू आज हाम्रा लागि शहीद हुन गया । ती शहीदहरूप्रती हाम्रो धेरै धेरै श्रद्धाञ्जली । अब आउन्या दिनहरू महिनाहरू वर्षहरूमा तिमी जनता नामका भेडाहरूसँग फेरि भेट होला जस्तो लाग्दैन । यत्ती घिचोपदेश लेख्ने फुर्सद पनि अन्यायालयहरूमा हाम्रै झोले टीके हुक्के बैठके हुतिहारा न्यायमाराहरूको उपस्तिथिति भएकोले मात्र पाएको हो । यदि तिनीहरु हटेर साँच्चिकै राम्रा मानिस न्यायालयमा आया भन्या हाम्रो कुनै खैरियत हुन्याछैन । यति बुझेर अहिलेको समयलाई उपयोग गर्दै यति घिचोपदेश बनाइदिया ।
अब अन्तमा देश र जनतालाई राम्रो होस भनौंभने हाम्रै बिधिव्यबहारले पहिल्यै त्यो ठाउँ राखेको छैन । त्यसैले आजलाई यत्तिकै । सबैलाई चेतना भया ।
०००
२०८३ वैशाख ३०
चितवन
Subscribe
Login
0 Comments
Oldest







































