रमेन्द्र काेइरालाआधुनिक सीता
सुनेर बुहारीले जुरुक्क उठेर भनिन्, "म आधुनिक सीता भएकीले अग्निपरीक्षा दिनु भन्दा असक्षम रक्षकलाई अस्वीकार गर्दछु ।”

रमेन्द्र कोइराला :
भगवती मन्दिरमा मानिसको भीड थियो । उनीहरूको मुख मुखमा थियो -“आज फेरि सीता माताको अग्निपरीक्षा हुँदै छ ।”
केही समयमा मुखिया, पक्ष, विपक्ष र सम्बन्धित व्यक्तिहरू जम्मा भए । मुखियाले पक्षलाई भने, “ल भन, के आरोप छ ?”
“हजुर ! मेरी बुहारी बाइफाले छे । परपुरुषसँग रात बिताउँछे । यसलाई सजाय चाहियो ।” ससुराले भन्यो ।
लोग्नेले पनि भन्यो, “यो कुलटा हो । यो सीता जस्ती पवित्र छैन ।”
मुखियाले बुहारीलाई सोधे, “भन बुहारी ! तिम्रो के भनाइ छ यसमा ?”
बुहारीले भनिन्, “म निर्दोष छु ।”
मुखियाले भीडतिर फर्केर भने,
“यसबारेमा तिमीहरू के भन्छौ ?”
एउटी महिलाले भनिन्, “हजुर यिनी सीतामाता जस्तै पवित्र छिन् । यिनले सारा गाउँलेलाई माया गर्छिन् । हामी यिनलाई सीतामाता भन्छौं ।”
गहन छलफल भयो । आखिरमा पुरुषले जित्यो ।
मुखियाले फैसला सुनाए – “यिनले सीता माता जस्तै आज अग्निपरीक्षा दिनुपर्छ । यहाँको चलन अनुसार मन्दिरको अक्षता चबाउँदा मुखबाट रगत निस्कियो भने दोषी, निस्केन भने निर्दोषी हुन्छिन् ।”
सुनेर बुहारीले जुरुक्क उठेर भनिन्, “म आधुनिक सीता भएकीले अग्निपरीक्षा दिनु भन्दा असक्षम रक्षकलाई अस्वीकार गर्दछु ।”
०००
इनरुवा -९, बबिया, सुनसरी
सङ्गम अभियान (माघ-२०८२)
Subscribe
Login
0 Comments
Oldest






































