रमेन्द्र काेइरालामनकाे मैलाे
केही समय पछि फेरि आएर हेर्यो । अघिसम्म त्यत्रो हिलो देखिन्थ्यो अहिले त केही नै छैन जस्तो छ ।

रमेन्द्र कोइराला :
रमाको सासूसंँग गुम्सेको मन आमा आएपछि फुक्का भएको थियो । दिउँसो आमासँग दिल खोलेर सासूको गफ गर्न थाली । सासू चैं घरीघरी के गफ गर्छन् भनेर चियो गर्न ओहोरदोहोर गर्थिन् तर थाहा पाउँदैन थिइन् । उनीहरू घरी खुसुखुसु गर्थे घरी सारो बोल्थे ।
त्यही बिचमा रमा एकपटक शौचालयबाट आउँदा बाटोमा पानी पोखिएको देखी ।
“कसले यो पोख्यो ?” भनेर उसले घरै उठाउन थाली । सासूकै काम हो भनेर अप्रत्यक्ष रूपमा घोचपेच गर्न थाली । आमालाई सुनाउने गरि भनी-” यो घरका मान्छेले कति दु:ख दिन्छन् मलाई । जति सफा गर्यो तुरुन्तै फोहोर गर्दिहाल्छन् ।”
सासू पाहुनाको कारण केही बोलिनन् ।
लोग्ने अर्को कोठामा बसेर चुपचाप यो सबै हेरिरहेको थियो । ऊ अरू बेला त त्यति झगडा नगर्ने त्यसमाथि आज त सासू आएकी ।
केही बेरसम्म फतफताए पछि रमा फेरि भान्सामा गएर आमासँग गफिन थाली ।
एकछिन पछि रमाकी आमा शौचालय गएर आइन् । त्यतिखेरै रमाको पति रमेश केही कामले बाहिर निस्क्यो । उसले प्यासेजमा चप्पलको हिलो सहितको डाम देख्यो ।
“कसले यो फोहोर गर्यो ? ” रिसले कराउन आँटेको थियो । तर तुरुन्तै सम्झियो यो त सासुको काम हो । किनकि सासु भर्खरै शौचालयबाट आएकी थिइन् । तर सासू पाहुना भएकोले अपमान हुन्छ भनेर चुप लाग्यो । आमाले गरेको यो भन्दा कम फोहोरलाई स्वास्नी उफ्रेको अघि देखेको थियो । आफ्नी आमाले गाली खाँदा हुन्छ भने स्वास्नीकी आमाले गरेको गल्ती किन न उठाउने ?भन्ने सोचेको थियो तर सहेर बस्यो । कुरा उठाएन ।
केही छिन पछि फेरि त्यही बाटो हिंड्यो । “अरे ! हिलो त आधा सुकिसकेको रहेछ । ” उसले अचम्मले हेर्यो । अब उसको रिस धेरै शान्त भइ सकेको थियो । केही समय पछि फेरि आएर हेर्यो । अघिसम्म त्यत्रो हिलो देखिन्थ्यो अहिले त केही नै छैन जस्तो छ ।
यो देखेर पुरै शान्त भएर उसले सोच्यो -“रिस र हिलो उस्तै उस्तै पो रहेछ । चप्पलको हिलो सुके जसरी मनको मैलो पनि केही समयमा आफै सुक्तो रहेछ । अघि आफूले बोलेको भए सित्तैमा झगडा हुन्थ्यो । एकैछिन चुप लाग्दा त झगडै पो नहुने रहेछ ।”
०००
Subscribe
Login
0 Comments
Oldest






































