साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अमर कीर्तिमानीको गीत ‘बसमा सरर ….’ सार्वजनिक

सेवा रेकर्डिङ स्टुडियोले रेकर्ड गरेको सो गीतमा वरिष्ठ संगीतकार बुलु मुकारुङले संगीत भरेका छन् भने गीतमा बुलु मुकारुङ, अमर कीर्तिमानी, अञ्जु गौतम, रितु कँडेल र विनोद दनुवारको स्वर रहेको छ।

Nepal Telecom ad

काठमाडाैं । करिब चार वर्षयता साहित्य तथा लेखनका क्षेत्रमा ज्यादै सक्रिय देखिने अमर अधिकारी अर्थात् अमर कीर्तिमानीको सन्देशमूलक यातायात गीत (ट्राफिक सङ्ग) ‘बसमा सरर …’ गत असार पहिलाे हप्ता होटेल सोल्टीको मारव सभाहलमा सार्वजनिक भएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रममा सो गीत प्रमुख अतिथि, अतिथिहरु, सरोकारवाला तथा दर्शकहरुका माझमा महासंघका नवनिर्वाचित अध्यक्ष सरोज सिटौला, गीतका रचनाकार अमर कीर्तिमानी तथा गायिका रितु कँडेलले दर्शकदीर्घातिर गीतको व्यानर देखाएर र साउण्ट युनिटबाट गीत बजाएर गीत सार्वजनिक गरिएको थियो। साढे आठ मिनेटभन्दा बढीको सो गीतमा लामो दूरीमा चल्ने यात्रुवाहक सवारी साधनहरुका चालक-सहचालक तथा यात्रुहरुले पालना गर्नुपर्ने विषयहरु समावेश छन्। सेवा रेकर्डिङ स्टुडियोले रेकर्ड गरेको सो गीतमा वरिष्ठ संगीतकार बुलु मुकारुङले संगीत भरेका छन् भने गीतमा बुलु मुकारुङ, अमर कीर्तिमानी, अञ्जु गौतम, रितु कँडेल र विनोद दनुवारको स्वर रहेको छ। त्यस्तै म्युजिक एरेञ्जको काम सुशिल भट्टराईले गरेका छन्।

यातायातका क्षेत्रमा बेथितिहरु ज्यादा भएको महसुस गरी करिब एक वर्षअघि अमरले सो गीत रचेका थिए र रेकर्डिङका लागि काठमाडौँ उपत्यका ट्राफिक कार्यालय (बग्गीखाना) मा अनुरोध गर्दा त्यहाँबाट बजेट अभाव भएको जनाउ दिएपछि उनी गृह मन्त्रालयमा पुगेका रहेछन्। गृह सचिवको तोकसहितको निवेदन र गीत सम्बन्धित महाशाखामा पुगेपछि महाशाखा प्रमुखले यातायात व्यवस्था विभागको क्षेत्राधिकारभित्र पर्ने भन्दै उक्त गीत रेकर्डिङका लागि अमरलाई विभागमा जान भने।

गीतका रचनाकार अमर जाँतो घुमे झैँ अर्को दिन पुगे यातायात विभागमा। यातायात व्यवस्था विभागमा पुगेर अमरले एकजना निर्देशकलाई गीत देखाएपछि “गीत उत्कृष्ट छ, रेकर्डिङ गराउन जरुरी छ” भनेपछि महानिर्देशकले गीत सहितको निवेदन तोक लगाइदिए पश्चात सम्बन्धित शाखामा पुग्यो सो गीत। सम्बन्धित शाखाका अधिकृतले पनि गीतका एकएक पंक्ति हल्का लयसहित पढेपछि “सम्पर्क गर्दै गर्नुस्” भनिएपश्चात अमर लागे आफ्नो गन्तव्यतर्फ। एक हप्तापछि गीतकार अमरले ती अधिकृतलाई “गीत रेकर्डिङको प्रक्रिया कहाँसम्म पुग्यो?” भनेर फोनमा सोध्दा “यसका लागि योजना बनाउनुपर्छ, बजेट छुट्याउनुपर्छ” भनेपछि केही हप्तापछि पुनः फोनमा ती अधिकृतलाई सोध्दा प्रक्रिया अगाडि बढेको छैन भन्ने जानकारी भयो र अमर केही दिनपछि फेरि पुगे विभागमा।

महानिर्देशकलाई गीत रेकर्डिङको प्रक्रिया अगाडि बढाइदिन पुनः अनुरोध गर्दा महानिर्देशकले “म पनि गीत लेख्छु, मेरा पनि केही गीतहरु छन्” भनेपछि अमर निराश भएर अन्तै मोडिए। त्यो गीत सम्बन्धित शाखाका अधिकृतको टेबुलको ड्रयरभित्र हप्तौँसम्म बास बस्यो। २०८२ भदौ २३-२४ मा उर्लिएको जेन-जी विद्रोहका कारण कैयन सरकारी भवनहरु ध्वस्त हुँदा यातायात व्यवस्था विभाग पनि अछुतो रहेन र अमरको सो गीत टेबुलको घर्रा अर्थात् ड्रयरभित्र खरानी बन्न पुग्यो। यसरी अमरको त्यो मरेको गीत हालै मात्र रेकर्डिङ भएर अडियोको रुपमा सार्वजनिक भएको छ।

सोल्टी होटेलमा आफ्नो र गीत रेकर्डिङ टिमको सून्य खर्चमा सार्वजनिक हुँदा गीतकार आफू गौरवान्वित भएको बताउँछन्। सरकारले गर्नुपर्ने काम अमरले आफ्नै आर्थिक लगानीमा गरेका छन्। “गीत नेपालभरका यात्रुवाहक सवारी साधनहरुमा बज्यो र चालक-सहचालक अनि यात्रुहरुको मानसिका बदलियो भने आफूले करोड कमाए बराबर हुन्छ” भन्छन् उनी। २०८१ साउन १८ मा एक सञ्चार माध्यमबाट प्रकाशित ‘बालबालिकालाई संस्कार सिकाउने १९ सूत्र’ शीर्षकको उनको लेख पूर्व इलामदेखि पश्चिम डडेलधुरासम्मका तमाम सञ्चार माध्यमहरुले साभार प्रकाशन गरेपछि लेखको पारिश्रमिक नपाए पनि लेखले प्रसिद्धि पाएका कारण उनले आफूले लेखनका क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको महसुस गर्छन्।

कलमको प्रयोगले समाजमा परिवर्तन ल्याउन सक्नु नै आफ्नो ठूलो कमाइ ठान्छन् अमर। उनको टिमको गीत असार १० गते काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय (बग्गीखाना) को जनचेतना शाखामा पुगेको छ। बग्गीखानाबाट सो गीत छायांकन पनि हुने कुरा भएको गीतकार अमरले बताएका छन्। उनी व्यङ्ग्य रचना मार्फत पनि देशमा व्याप्त विकृति, विसंगती तथा भ्रष्टाचारलाई चिरफार गर्दैआएका छन्।

अमरका तीन पुस्तक प्रकाशित छन् भने उनकै जीवनी पुस्तक ‘अमर अधिकारीः व्यक्तित्व र कृतित्व’ डा. घनश्याम पुडासैनीले लेखिसकेका छन्। गीत रेकर्डिङका लागि उनले खाएका हण्डरहरु र गरेको निजी खर्चको मूल्यांकन होस् वा नहोस्, तर गीत देशव्यापी बन्नेमा कुनै शंका छैन। उनी भन्छन्- “राम्रो गर्न खोज्नेहरुका लागि यो देशमा मुस्किल छ।“ थप्छन्- “प्रतीभाले स्थान नपाउँदा कतिपय प्रतीभाशालीहरुको मनोबल गिर्ने गरेको, मुलुकको काँचुली फेर्नमा भूमिका निर्वाह गर्ने साहित्यकारहरुलाई निरुत्साहित गरिदैआएको पाइन्छ। जुन दुःखको कुरा हो।“

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x