फित्काैली डटकमसाहित्यकार डा. नवराज लम्साल अमेरिकामा सम्मानित
नर्थ क्यारोलाइना नेपाली साहित्य समाज र नेपाल सेन्टर फर नर्थ क्यारोलाइना (एनसीएनसी) ले संयुक्त रूपमा सम्मान गरेको हो।

राली (अमेरिका), असार १५ गते । नेपाली सञ्चार क्षेत्रका अग्रणी व्यक्तित्व, कवि तथा गीतकार डा. नवराज लम्साल अमेरिकाको नर्थ क्यारोलाइनामा सम्मानित हुनुभएको छ।
केही सातादेखि अमेरिका भ्रमणमा रहनुभएका मदन पुरस्कार विजेता साहित्यकार लम्साललाई शनिबार राति नर्थ क्यारोलाइना नेपाली साहित्य समाज र नेपाल सेन्टर फर नर्थ क्यारोलाइना (एनसीएनसी) ले संयुक्त रूपमा सम्मान गरेको हो।
समाजका अध्यक्ष शिखर दुलाल, एनसीएनसीका अध्यक्ष ददीन पाण्डे तथा समाजका सल्लाहकार ईश्वर देवकोटाले उहाँलाई खादा ओढाएर सम्मान गर्नुभएको थियो।
नेपाली महाकाव्य विधालाई नयाँ उचाइमा पुर्याउन योगदान दिँदै आउनुभएका डा. लम्सालको ‘अग्नि’ महाकाव्यले मदन पुरस्कार प्राप्त गरेको छ। उहाँका कर्ण, अग्नि, धरा र कल्प लगायत नौ वटा कृति प्रकाशित भइसकेका छन्।
सम्मान ग्रहणपछि डा. लम्सालले साहित्य सबैका लागि लेखिनुपर्ने बताउँदै दुःखबाट मुक्त हुन प्रेरित गर्ने साहित्य नै सच्चा साहित्य हुने धारणा व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “अन्य साहित्यिक विधा बाहिरतर्फ फर्कन्छन्, तर काव्य भित्रतर्फ फर्कन्छ। प्रेम र मानवीय संवेदनालाई काव्यले समेट्नुपर्छ। सुकेको छातीमा प्रेम उम्रँदैन, त्यसैले हृदयमै प्रेमको बीजारोपण हुनुपर्छ, त्यहीँबाट काव्यको जन्म हुन्छ।”
डा। लम्सालले नर्थ क्यारोलाइना नेपाली साहित्य समाजले सञ्चालन गर्दै आएका साहित्यिक गतिविधिबाट आफू प्रभावित भएको पनि बताउनुभयो। कार्यक्रममा साहित्यकार डा. ऋषि बस्ताकोटी र ईश्वर देवकोटाले डा. लम्सालको बहुआयामिक व्यक्तित्व र साहित्यिक योगदानबारे चर्चा गर्नुभएको थियो।
समाजका अध्यक्ष शिखर दुलालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव मनोज प्रधानले संस्थाको परिचय दिँदै डा. लम्सालका कृति, वाचनकला तथा गीत–साहित्यका विविध पक्षबारे प्रकाश पार्नुभयो।
सो अवसरमा डा. शरद पराशर मरहट्टा, शिव पलाँस, भूमि नेपाली, पेशल पोखरेल, कृष्णराज खनाल, प्रभा पोखरेल र नम्रता गुरागाईंले आफ्ना रचना वाचन गर्नुभएको थियो।
०००
कृष्णराज खनालकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































