शिवप्रसाद जैशीसिल्किनेहरूको नाउँमा
सिल्क्याउनेहरूको पसल बन्द हुनेछैन। सिल्काइको पसलमा आशा बेचिरहनेछन्, सिल्किनेहरूले प्रतीक्षा किनिरहनेछन्। क्रय विक्रयको बजार खुलारहनेछ।

शिवप्रसाद जैशी :
प्रिय सिल्किनेहरू !
सिल्किनु बडो गजबको तिर्खा हो। यो सिल्क्याइले मनको अतृप्तअ चाहनाको प्रतिनिधित्व गर्छ नि! चाहनाको परिपूर्ति हुने भए यसको नाम, निशाना, चर्चा, परिचर्चा कहाँ हुँदो हो। सिल्क्याएर मिल्क्याउने भएकोले नै यो लेख्यरूपमा व्याख्या गरेर रमाना गराउन खोजिएको हो। प्रिय सिल्किनेहरू, सिल्किनुलाई कुन वाद भन्ने होला भनेर पनि न घोल्तिएको त कहाँ हो र? घोल्तिएर भोक र तिर्खाले सिलटिमुर ख्वाउने स्थिति आएपछि पत्ता लागेको हो। यो प्रयोगवाद हो भन्ने निष्कर्ष निकाल्न खोजिहालेको चाहिँ होइन। खोजेको मात्र के हो भने, यो कुन वाद हो भनेर अहिले सम्म कुनै पनि सिल्क्याउँनेले बताउँदैन। सिल्क्याउँनेले केवल सिल्क्याइ रहन्छ। यसकारण यो प्रयोगकै प्रयोगशाला भएकोले वादको जलप लगाउन मन लागेमा प्रयोगवाद भन्दा उपयुक्त होला भन्न खोजिएको पक्का हो।
आफूचाहिँ सिल्कएर हुर्किएको हुनाले यसको मर्म बुझ्छु भन्दा अतिसयोक्ति नहोला। प्रश्नहरू दर्शन खोज्न थाल्लान् भन्ने कत्रो डर छ। डराइ-डराइ गरेको दाबीमा चाबी पनि लाग्न सक्ला तर यति भन्न सकिन्छ, सिल्किदाको मनको मर्म संसारको कुनै पनि धर्मले बुझ्दैन। राजनीतिक सिद्धान्तले पनि सिल्काएर बाजीमार्ने र थन्क्याउने परम्पराको रीतिथिति बसाएकोले प्रयोगवाद नै होला भन्न सकिएला। विज्ञानको ज्ञानले पनि अहिलेसम्म पत्ता लगाएको ठोस प्रमाणका अभावमा सिल्कनेहरूलाई अमूर्त ज्ञानका अक्षरहरू बिजुली प्रकाशन मार्फत खटाएर पठाउन खोजिएको हो।
प्रिय बन्धुहरू ! सिल्किनु र सिल्क्याउनु विपरित ध्रुवजस्तै हो। सिल्केनेको पिर सिल्क्याउँनेलाई के थाहा? “अचानो र खुकुरीजस्तै”। हुन त थाहा पाएर सिल्क्याउँने हो। सिल्किनेको मुखबाट र्या ल निकाल्न सिल्क्याउँनेले भरमग्दुर प्रयास गर्छ। नोटको चट्टान देखाएर, भोटको मैदानमा भाषणको आत्तसबाजीले, विकासको धर्ती सम्याउने बाचा गर्दा मानिसहरू कम सिल्किन्छन्। अहँ यो अप्ठ्यारो भयो अलि सजिलोतिर लागौँ। सिल्क्याइका पनि प्रकार हुन्छन् यहाँ घरेलु सिल्क्याइ देखि समुद्रतरेलु सिल्क्याइका बखानले पखान फोर्न चाहिँ नसकिएला। तर सिल्क्याइको रूपरेखा भने तयार पार्ने खोजिएको चाहिँ पक्का हो।
कथा पुरानो हो। जतिबेला पैताला, पुका (पाडौला) र पाखुरा सर्कसिला (बलिया) भएकै थिएन। लर्बराउनबाट तङ्ग्रिएर ठिङ्ग्रिङ्ग उभिने मात्र भएका थिए। रुखमा अरु जस्तै सुर्किन मन लागेको बेला थियो। सुर्किएर फुर्किने मनले रुखको फेदबाट टुप्पोमा पुग्ने कल्पनाको मैदान सम्याउँदै थियो। प्रकृतिको नियम अनुसार रुखका जातले फलको आपूर्ति निःशुल्क गर्थे। तर ज्यान रुखका लागि योग्य भएकै थिएन। ‘आकाशको फल आँखातरी मर’ भन्ने उखानको बखान पनि सुन्न पाइएको थिएन। धने, मने र जैमने फर्काइला (अलिठुला) थिए। रूख चढ्ने भएका। सुरुकसुरुक सुर्के लागेर टुप्पो मै पुग्थे। पाका फल खान्थे।
उनीहरूले टिपेर खाएको हेर्दा र एक दुई दाना फाल्लान् कि भन्ने आशले सास फेर्दै रुखतिर हेर्दा घाँटी लास भएको अत्तोपत्तो हुदैनथ्यो। रुखमा चढेकालाई संसार जितेका बादशाह सम्झिन्थ्यो, बालख मनले। यसो देखाउँथे क्वाप्प खान्थे। माकाफुइँ भन्ने शब्द प्रचलनमा हुने कुरै भएन। प्रवृत्ति बाँदरको जस्तो भन्न मिल्छ। तलतिर उत्तानो परेर, टाउकोले थिचिएको घाँटीले, घुटक्क थुक निल्थ्यो। अर्कोले टिपेर खसाल्लान् भनेर सिल्किन्थ्यो यो मन। उनिहरूलाई भने फल खसाल्नु भन्दा सिल्क्याउँनुमा गजबकै मजा आउँदो हो, सायद। कहिलेकाहीँ फाल्थे त्यो पनि सिल्क्याइ सिल्क्याइ। उनीहरू पनि फर्काईला नहुने बेलासम्म, उनिहरूभन्दा पहिलेकाले, यस्तै गरेकाले, त्यसको मूल्य हामीले चुकाउनु परेको थियो कि !
सिल्क्याइको असह्यले गालमाइकितिर मन जान्थ्यो। भुईँबाट ढुङ्गा हिर्काउन मन लाग्थ्यो। ओर्लेपछिको जोखिम मोल्न सक्नेहरू सिल्क्याउँने बिरुद्ध हान्थे पनि तलबाट ढुङ्गो र फडिबाउटो (काठको लबेदो )। अर्थात जे पायो त्यही। जोखिम मोल्नेहरूलाई कम्ति गाह्रो थियो? जवानीको जोसले बेहोसको पगार ( भिर) चढ्न सिकाउँने उमेरका। ओर्लेपछि कानका लोती तन्काएर, टाउको फन्काएर, भरखर लगाउन जानेको धोती फुस्काएर, लाजबाट तुरुक्क निकालेर, बसाले (तोरी )को फूल देख्ने गरी दिन्थे पुप्डा (गाला र कान सहितको भाग) फुट्ने गरी – शरीरले बोकाको गन्ध छोड्नु पूर्वका ती सिल्क्याउँनेहरू। सजिलो थिएन। बासाबेरी (बेलुका) झाँट ( साँझ) पर्नेबेला आमाले घाँटी र पुप्डाको मसाज मनतातो बसालेका तेलले सजसजै (विस्तारै) गर्नु पर्थ्यो अनि पत्ता लाग्थ्यो सिल्क्याइको प्रतिवादको व्यथा। रिस उठ्थ्यो अम्बा, आँप, टिमिला, तिनु, किमु, आरु, इमिला, दाडिम (अनार) लगायत जेजे फल्थे मौसम अनुसार रुखसँग-किन भुइँमा नफलेका भनेर।
सिल्क्याइमा मान्छेमात्र होइन अरु जनावर पनि पर्छन्। लोभ्याइ लोभ्याइ तड्पाउँने गरेमा- सिल्किन्छन् जनावर पनि। लोभ्याएको चिज सजिलै प्राप्त गरे के को सिल्क्याइ हुन्थ्यो र? कुकुरले जिब्रो तान्ने देखि पुच्छर हल्लाउने सम्मको काम सिल्किएर नै गर्छ। घाँस देख्ने बित्तिकै घरपालुवा जनावरहरू हाउभाउ परिवर्तन गर्छन। बाख्रालाई घाँसको डालो देखाउँदै पिछलग्गु बनाइ दिन्छ- यो सिल्क्याइले। आफूर्ति बिना गोठालाले सिल्क्याएको हो भन्ने अर्थ हो। अर्थ बुझेपछि केही पनि व्यर्थ जाँदैन।
समाजिक सिल्क्याइको रूप पनि गजबको हुन्छ। ठुलो घर भएकाले धुरीमा चढेर घर फर्मायस कार्यक्रम चलाउछन्, साना घर भएकालाई। ताउलोदेखी नाउलोसम्म यसको बास हुन्छ। ठुलो ताउलो लिएर नाउलामा पानी भर्न लाम लागेका बेला, ठुलोको फर्माइस भाव भङ्गिमा देखा पर्छ। गाग्री तामाको भए पितलको गाग्रीलाई सिल्क्याउन बेर लाग्दैन। गहनाको त कुरै नगरौँ, छड्के तिलहरी ढल्काएर, रत्यौलीमा देखिएकी नारीको शारीरिक बारीमा सिल्किनेहरूका आँखा गाडिएर, घर भाँडिएका, कथा कति सुनिए कति! मुरीले कट्टालाई, कट्टाले पाथीलाई, पाथीले मानालाई सिल्क्याउने परम्पराको जरा फैलिएर कम्ता हुन्छ। ठुलो गरोले सानो गरोलाई सिल्क्याएर नै बसाइँ सराइ बढेको होइन र भन्या !
सिल्क्याइ सर्वव्यापी हो। घरेलुबाट राष्ट्रियस्तरमा चढ्यो भने यसको दायरा बढ्छ। नुन देखि कानुन सम्म सिल्क्याइ प्रवेश गरेर थुनछेक गराउन सक्ने हिम्मत छ सिल्क्याइमा। अझ शासकका आशक्तहरू सिल्केर, शासकको सिल्क्याइको मानसिक दायरालाई फराकिलो तर भौतिक बन्धनमा कन्धनीमा बाँधी राख्न सक्छन्। जयजय गानको झङ्कारले सिल्क्याइको जात्राको मात्रा बढ्छ। ससर्त सिल्क्याइले मनमा गतिलो अत्यासको हुरी चलाउँछ। हृदयको सुक्खा पहिरोले डाँडा कटाउँछ। आँसुका भेल तेल भएर निस्कन्छन्। अतिबाट खती गर्दै कहिलेकाहीँ नेल ठोकेर जेल सम्म पुर्याधउँछ। उपहार दिने गरी सिल्क्याएर भुसको भाउसम्म नदिँदा यस्ता अत्यासलाग्दा घट्ना घट्ने गर्छन्। हुलहुज्जत, आन्दोलन, झगडा, लफडाका साङ्लाको दाम्लोले घाँटीमा पासोको काम गर्छ। नाङ्लाले ठटाएर सिल्क्याइको चटनी चटाउँछ। वैभवको पर्खाललाई मसान घाटको कोइला बनाइ सेलाउँछ। राष्ट्रियस्तरमा सिल्किनेहरू बडो गजबका हुन्छन्। आफूलाई महामूर्खको सज्ञा दिँदैनन्। खलनायकहरू फल खान रुखमा चन्दाको धन्दा चलाएर बेचिदिन्छन् र उजाडिएको बारीलाई नवनिर्मित बगैँचाको दावा पेश गर्दै उद्घाटनमा झुल्किन्छन्। “सर्वे भवन्तु सुखिनाः सर्वे भवन्तु निरामयाः” को मन्त्र जपि रहन्छन्।
सिल्क्याइ राष्ट्रमामात्र सीमित हुँदैन। यो अन्तर्राष्ट्रियस्तरको पनि हुन्छ। आतिथ्य सत्कार, स्वागतका द्वार, मन्दमुस्कान, स्वादिष्ट खानपान, खादा र माला, हृदयमा छुरा, काम पुरा, गर्ने साधन हो यो स्तरको सिल्क्याइ। रातो कार्पेट बिछ्याएर, मखमली पासो र रेशमी जालमा फँसाइ हासाउँने कला हो नि यो सिल्क्याइ। पासोमा पारी सातोलिने बस्त्र सहितको अस्त्र हो यो सिल्क्याइ। एक्काईस तोपको सलामीले राष्ट्रको मलामी जाने स्थितिमा ल्याउने अवस्थाको सिल्क्याइको स्वाद चाखेका पात्रहरुपनि इतिहासका पानामा समेटिएका छन्।यस्तो सिल्क्याइलाई भूटनीति भन्छ होला। शब्दले मान पाउला। “मुखमा रामराम बगलीमा छुरा”, त्यसै चलेको उखान होइन नि! अबगुणमामात्र सीमित छनै, सिल्क्याइ। थोरभौत यसका गुण पनि छन्। अझ भनौं सिल्क्याउँनेका लागि त यो गुणैगुणको सम्राज्य हो, पासोमा पार्ने निःशस्त्र अभियान हो।
इतिहासमा यस्तापात्रको पनि अभिलेख छ जसले टुप्पोबाट देखेको सपनाले सिल्किएर साम्राज्य खडागरे। यस्ता पात्र सिल्किएका हुन्, सिल्क्याइएका होइनन्। लत्ता, भत्ता, हरिया पत्ताको चमकले मनमा रमक ल्याएर सिल्किएका होइनन्। टाला (कपडा) र मालाले पनि सिल्किएका होइनन्।
समयको गतिसँगै सिल्क्याउनेहरू बदलिए। सिल्किनेहरू पनि बदलिए। तर सिल्क्याइको स्वाद भने युगौँदेखि उस्तै छ- मुखभरि र्या्ल, व्यवहारमा ख्यालख्याल, मनभरि बारी हातभरि खाली! त्यसै कहाँ चल्थ्यो र उखान “नाउँका बडा हात तिर्खुला (चुत्रो) जडा (जरा) ”। जे होस् सिल्क्याइको व्यापार कहिल्यै मन्दीमा परेन।
प्रिय सिल्किने मित्रहरू !
सिल्किरहनु होला। सिल्क्याइको स्वाद चाखिरहनुहोला। संसारमा सबैभन्दा सस्तो वस्तु आशा रहेछ र महँगो मूल्यको प्रतीक्षा अर्थात सिल्क्याइ। सिल्क्याउनेहरूको पसल बन्द हुनेछैन। सिल्काइको पसलमा आशा बेचिरहनेछन्, सिल्किनेहरूले प्रतीक्षा किनिरहनेछन्। क्रय विक्रयको बजार खुलारहनेछ। आखिर सिल्कनेहरू नभए सिल्कयाउनेहरूको अस्थित्व कहाँ हुन्थ्यो र !
०००
कैलाली, हाल – थानकाेट, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































