कुमार खड्कापाँच ठोक्तक
बढे राजनको कुशासन फेर्न नयाँ क्रान्ति गरियो यिनै मतियारहरूको बिचमा झन् चेपुवा परियो प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको जलप लगाउँदै, अमृत भन्दै लहैलहैमा काफी मन्दविष छरियो ।
कुमार खड्का :
१.
एकै छतमुनि सधैँ चर्केर कराउनुपर्ने हो भने
भिडहरूको बिचमा त्यसै डराउनुपर्ने हो भने
कस्तो समाजमा छौँ हामी सोच्ने बेला भएन र ?
आफ्नै र आफन्तबिचबाट हराउनुपर्ने हो भने ।
२.
ज्ञानीले दुई थोप्ला जोड्दै सरल रेखा बनाउँछ
समस्याको समाधानमा स्वयम् अब्बल जनाउँछ
तीन थोप्लाको ज्यामितीय त्रिभुज र त्रिकोणले,
विवेकपूर्ण समीकरणको तथ्य, तर्क अपनाउँछ ।
३.
अवसरवादी हाटमा फौबन्जारी छुट्टै नाउँ हुँदैन
चेपारेको बेसारे माया सत् चारित्रिक भाउ हुँदैन
के फरक पर्छ पप्पीलाई वस्त्र अथवा निर्वस्त्रले ?
किर्तेको सतरन्जमा इमानको कुनै ठाउँ हुँदैन ।
४.
कानुन भन्ने कुन चरो ? अगुवा नै मिच्ने गर्छन्
रक्षकहरू नदेखेझैँ पैतालाले थिच्ने गर्छन्
मनमौजी व्याख्या हुन्छन्, अविवेकी हगुवाहरूको,
दिनरात भिन्दाभिन्दै कित्ता ल्याप्चे किच्ने गर्छन् ।
५.
बढे राजनको कुशासन फेर्न नयाँ क्रान्ति गरियो
यिनै मतियारहरूको बिचमा झन् चेपुवा परियो
प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको जलप लगाउँदै,
अमृत भन्दै लहैलहैमा काफी मन्दविष छरियो ।
०००
आलापोट, काठमाडौं
सद्य प्रकाशि मुक्तक सङ्ग्रहबाट
Subscribe
Login
0 Comments
Oldest








































