वेदप्रसाद रिजालआधार ज्येष्ठको होस् साथी बनोस् समाज
दुष्कर्म दूर भागोस् सद्भाव मुस्कुराओस् होस् जिन्दगी उषाझैँ सत्कर्म झल्मलाओस् आऊ मिलेर धानौँ सद्धर्मको रिवाज आधार ज्येष्ठको होस् साथी बनोस् समाज।
वेदप्रसाद रिजाल :
सारा मिलेर हामी धर्ती सिँगार्नु पर्छ
जे आउँछन् समस्या ती दूर पार्नु पर्छ
पारेर काम फत्ते भिर्नै छ मूल ताज
आधार ज्येष्ठको होस् साथी बनोस् समाज।
पाका सबै पुराना आधार बन्न सक्ने
यो सृष्टि हाँक्न सक्ने हुन् सार बन्न सक्ने
नेतृत्व होस् यिनैको होस् सौम्य कामकाज
आधार ज्येष्ठको होस् साथी बनोस् समाज।
बाटो सही समाऔँ गन्तव्य भेट्नलाई
लागौँ मिलेर हामी आस्था समेट्नलाई
सत्कर्म गर्नलाई के मान्नु व्यर्थ लाज
आधार ज्येष्ठको होस् साथी बनोस् समाज।
होस् लेकमा कि बेँसी वा होस् मधेस फाँट
सौभाग्य छर्नु पर्ने खाली नहोस् ललाट
बन्ने छ अग्रगामी यो सृष्टिको जहाज
आधार ज्येष्ठको होस् साथी बनोस् समाज।
दुष्कर्म दूर भागोस् सद्भाव मुस्कुराओस्
होस् जिन्दगी उषाझैँ सत्कर्म झल्मलाओस्
आऊ मिलेर धानौँ सद्धर्मको रिवाज
आधार ज्येष्ठको होस् साथी बनोस् समाज।
०००
२०८३।०६।०८ ।
Subscribe
Login
0 Comments
Oldest






































