साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मानिस नै भन्नु पर्छ !

भौतिक विषमा अमृतको जलप लगाएर बेच्नेहरूलाई सजाय दिने कानुन बन्नै परेन किनकि तिनले बेचेको अमृत हो। त्यसैले सम्मानित नागरिकको उपल्लो सूचीमै राख्नु पर्छ।

Nepal Telecom ad

शिवप्रसाद जैशी :

मानिसको दुनियाँ अलग छ, प्रकृति अलग छ। प्रकृति एक। मानवीय दुनियाँ बहु। सायद गणित अलमलिन सक्छ मानवीय दुनियाँको बहुरूपी क्रियाकलाप समेट्न खोज्दा। सुपरकम्युटर हायलकायल हुन कस्छ- मानवीय बहुरूपको गणना र हिसाब किताबमा। आजको विश्वका शक्तिशाली र अग्रणी सुपरकम्प्युटरहरू एल क्यापिटन (El Capitan) र फ्रन्टियर (Frontier) ले सक्लान् र मानवीय दुनियाँका बहुरूपी स्वार्थको मापन र गणना गर्न? मापनमा शङ्का भए पनि मानवीय दुनियाँ नियन्त्रणमा भने सफल छन्- डिजिटल प्लेटफर्महरू नै पनि।

प्रकृतिमाथिको मानवीय अत्याचारको आराले प्राणी जगतलाई सकसको बकस दिएको छ। मानिसको दुनियाँका सुन्दर आवरणभित्रका विभत्स कुनियाँका टाकुराले अलग अलग नबनाइएको हुँदो हो त संसार कति सुन्दर हुँदो हो? कुरुपताको आहालमा होली खेलेर अमृतको पोखरी निर्माण गर्ने सपना बाँड्दा मक्ख पर्नु पर्ने अवस्था कहाँ आउँदो हो र? लासलाई जिउँदो फर्काउने आस देखाएर जीवितलाई पासोमा पार्ने धर्मभीरुहरूको जगजगी कसरी हुँदो हो? आस्थाको मन्दिरभित्र कुकृत्यको नास्ता कसरी पाक्दो हो? मुहारमा पर्दा हालेर मौनव्रतको जिन्दगी कहाँ गुज्रिँदो हो? लासको सासको आस, कुकृत्यको नास्ता अनि मुहार बर्कोले छोप्दाको पीडा के थाहा प्रकृति र देउतालाई? दुनियाँ अलगमात्रै होइन फरकफरक भएर नै सदाचारको प्रवचन दिएर दुराचारको उद्योग सञ्चालन गर्नेहरूलाई समाजले देउताको आसनमा विराजमान गराउँछ।

मानवता, रामायणमा वर्णित लङ्काजस्तै बन्दैछ— टाढा, दुर्लभ र कथा-कहानीमा सीमित। विषको बोत्तलमा औषधिको लेपन लगाउँछ। नाकको इमानलाई मनको विमानले लुकाइ शान र मानमा ढाल्छ। वास्तविक मानवलाई नै खेलौना बनाएर बजारमा बेच्ने उद्योग चलाउँछ । विषलाई औषधी भनेर चिनाउन केही त लाज, सङ्कोच र कलाको आवश्यकता पर्थ्यो- थोरै एक पित्को भएपनि। आवरणीय धन्दाको बन्दा फष्टाउने त कुरै छोडौँ बरु बन्दै गर्नुपर्ने अवस्था छ। रोग बर्को च्यातेर खुलमखुल्ला अघिसरेपछि विषलाई औषधीको खोलमा बेर्नै पर्दैन। विषलाई विषकै रूपमा बेच्दा पनि ग्राहकहरूको भीड घटेको छैन।

गोप्यताको अवसान गर्दै शानका साथ सम्मान पूर्वक तिमी चोर्थ्यो हामी लुट्छौँ के लछार्छौ? सक्छौ पछार्न? लु आइज खुला चुनौती- सक्छौ सामनाको नामना राख्न? छ तागत? छ बर्गत? तागत र बर्गत सर्कस खडा गर्छ। अस्थित्वमाथिको हिंस्रक आक्रमणलाई थप्पडको चमत्कारमा शयर गराउने हैसियत छ। नपत्याए कुनै पनि युगको ज्ञानलाई सोध तु का तु जे चाहियो त्यही सदर गर्ने गरी जनमत तयार पारेर र ज्ञान विज्ञानको हुर्मत लिन सक्ने हैसियत छ। हैसियतमा लुकेको कैफियतको बाल मतलब छैन। कैफियतको वर्णन गर्ने कोलम डिलिट भैसकेको हुनाले हाम्रो टेबलको टपरीमा कैफियतको दुना छैन। कैफियतको दुनामा राख्ने गुनालाई सगुनको नमुना बनाएर भजाइन्छ।

घुम्टोभित्र घ्यू खाने परम्पराको भग्नावशेष उत्खनन गर्दा पनि नभेटिने गरी दुराचारको मितेरी सदाचारसँग लगाउँन कुनै कसर बाँकी नराख्ने कदमलाई बदनाम गर्न कसले सक्छ? नैतिकताको घुम्टो ओढेर दुष्कर्मको बिरुवा गोड्न बाध्य हुनु पर्दैन। पर्दा बिनै कर्दा चलाउन सकिने छ। मह काड्दा हातमात्रै चाट्ने चलनको अन्त्यगरी चाका चबाउने कानुन बनाउन थालिने छ। औंलामा लागेको घ्यू ज्यू बनाउने नियतले चाटेमा केको रिस। आरिस गर्न आफै पर्छ ठिस्। बुझ्नेलाई इसारा नै काफी नबुझ्नेले माग्नु पर्छ माफी।

बेइमानी लुकाउनु पर्दैन, प्रदर्शन गर्नुपर्छ। झुटलाई सत्यको पोसाक लगाउनुपर्दैन। सत्यलाई नै झुट सावित गर्न सक्ने कला विकास भइसकेको छ। उदार समाजले विष बेच्नेहरूलाई व्यापारी, झुट बेच्नेहरूलाई विश्लेषक र लुट्नेहरूलाई सफल उद्यमी भन्न थालेको छ। भोकको तृष्णा मेटाउने चाहनामा लाम लागेका भोकाहरूको बगालमा अभिव्यक्ति स्वतन्त्रताको अङ्कुशले अनाजको व्यापार गर्नसक्ने कलात्मक अभिनय गर्न सकिन्छ जस्तो लाग्दैछ। तसर्थ पेटको भोकलाई अहङ्कारको प्रभुत्वले च्याप्नुलाई अन्यथा ठान्नु गलत हुन सक्छ।

औषधीको खोजीमा निस्किएको मानिसले बोतल भेट्दा लेबल किन पढ्नु पर्योक। पढ्दैन। बोतल भित्र के छ किन हेर्ने? हेर्दैन। हेर्न पर्दैन। बोतलको चमकले मनमा धमक ल्याए भैगो नि! परिणाम किन चाहियो। बोलेको पुगे भैगो नि! यस्तो परिस्थितिमा विषको बोतलमा औषधि खोज्नेहरूको सङ्ख्या बढ्नुलाई अन्यथा मान्न मिल्दैन। हो, बजार पनि यही माग रेखा उभो लागेको देखेर दङ्ग छ। माग बढ्दा आपूर्ति पनि बढाउनु पर्योब नि! आपूर्ति बिनाको मागमा त केवल ठण्डाराम मात्रै हो। जे होस् विषको बोतलमा औषधी खोज्नेहरूका माग अनुसार आपूर्ति नहुनु भनेको यो धन्दा सफल र सम्भावना दुवै भएको अकाट्य कारोबार हो- ठोकुवा गरेर भन्न सकिन्छ।

विष केवल बोतलमामात्र कहाँ हुन्छ र! बोतलबिनाको विष, आकार विहीन विष अर्थात अभौतिक विष। यो विष भौतिकरूपमा खोलिएका कारखानाबाट उत्पादन हुँदैन। मानवीय दुनियाँमा मानिसको खोपडीबाट वा सरकारबाट स्थापित विषालु खुफिया औजारका माध्यमबाट उत्पादन गरेर वितरण गरिन्छ। विषालु औजारबाट उत्पादित विष। विषको पनि महाविष। मायाको खेतमा मितेरी लगाएर, दयाको बिउँ देखाएर, क्रुरताको बिरुवा उमारी मानवजातिमाथि खन्याइने अत्याचारी विष। मानवमात्र होइन सम्पूर्ण प्राणी र पृथ्वीको सुन्दर अनि स्रोत सम्पदा सम्पन्न भाग र अन्तरीक्ष पनि यो विषको शिकार भएकै छन्। स्वअस्तित्व विस्तारको अभियानमा अरुको अस्तित्व नाश गर्न भौतिक विष घातक हतियारको मतियार पनि यो अभौतिक विष हुने गर्छ।

बजारबाट किनेर ल्याउन पर्दैन। निःशुल्क वितरणको व्यवस्था मिलाइएको हुन्छ। उस्तै अवस्थामा यो विष फैलाउन भत्ताको व्यवस्था समेत हुन्छ। न त चिन्ह नै टाँसिएको हुन्छ। यसको डरलाग्दो कथा, यसले छाड्ने घाउ र यसले जन्माउने व्यथाको लेखाजोखा राख्न खोजियो भने संसारका शक्तिशाली सुपरकम्प्युटरहरूको पनि सातो बोलाउनु पर्ने अवस्था आउन सक्छ। यो सबै थोकको चाँजोपाँजो मिलाउने प्राणीलाई पनि मानिस नै भनिन्छ किनकी यो धर्तीमा अर्को कुनै प्राणी छैन जसले आफ्नो श्रमलाई वेतनसँग साटोस्। वेतनकै कारणले जे अह्रायो त्यही गरोस्-कर्म होस् कि  कुकर्म !

भोकको झोक सहन नसकेर एकै घुट्को भौतिक विषको झोल पिएर परलोक रोज्नेहरूको सङ्ख्या गन्न सजिलो होला। मानमर्दनको पीडाले गर्दनमा डोरी कस्नेहरूको तथ्याङ्क पनि कतै न कतै भेटिएला। तर बाँचिरहेका मानिसहरूलाई दिनहुँ, क्षणक्षणमा पिलाइने छल, कपट, अपमान, अन्याय र शोषणको विषको मात्रा कति छ भन्ने हिसाब कसले राख्ने? के सुपरकम्प्युटर सक्ला ? अहँ, केवल तथ्याङ्क ग्रहण गर्छ, सङ्ख्या विश्लेषण गर्छ र नतिजा निकाल्छ। भौतिक विषको रासायनिक मात्रा नाप्न सक्ला, शरीरमा परेको असर गणना गर्न सक्ला। तर मानिसको आत्मामा जमेको अपमानको विष, सम्बन्धमा मिसिएको विश्वासघातको विष, समाजमा फैलिएको अन्यायको विष र चेतनामाथि थोपरिएको भ्रमको विषको मात्रा नाप्ने सूत्र कहाँ छ सुपरकम्पुटरसँग ? मानिसले भोग्ने अनुभूतिको संसारलाई तथ्याङ्कको संसारका लागि तयार गरिएको त्यो निर्जीव यन्त्रले कसरी देख्ने? त्यसैले मृत्यु गराउने विषभन्दा पनि कहिल्यै नमर्ने गरी बाँच्न बाध्य पार्ने सामाजिक, आर्थिक र मानसिक विषहरू कति घातक छन् भन्ने कुरा न एल क्यापिटनलाई थाहा छ, न फ्रन्टियरलाई। त्यो त केवल विष पिएर पनि बाँचेका मानिसहरूलाई मात्र थाहा छ, जो हरेक दिन विषको असर सहेर मुस्कुराइरहेका हुन्छन्।

भौतिक विषमा अमृतको जलप लगाएर बेच्नेहरूलाई सजाय दिने कानुन बन्नै परेन किनकि तिनले बेचेको अमृत हो। त्यसैले सम्मानित नागरिकको उपल्लो सूचीमै राख्नु पर्छ। विषको बोतलमा औषधीको खोजी निरन्तर जारी छ। जारी रहनु पर्छ। मानिसको इमान, जमान, लगाम, समर्पण, त्याग, बलिदान, र कुर्बानीको मर्मको धर्मलाई निमोठ्न सर्म नमान्नेहरूको जमातलाई पनि मानिस नै भन्नु पर्छ।

०००
कैलाली, हाल: थानकाेट, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
फर्मान प्रेमी

फर्मान प्रेमी

शिवप्रसाद जैशी
निस्सासिएछ हावा

निस्सासिएछ हावा

शिवप्रसाद जैशी
ए यज्ञ कैसे चलेगा ?

ए यज्ञ कैसे चलेगा...

सुरेशकुमार भट्ट
बिऊ

बिऊ

लक्ष्मी रिजाल
अवस्था

अवस्था

सीताराम नेपाल
आजका श्रवण कुमार

आजका श्रवण कुमार

घनश्याम न्यौपाने ‘परिश्रमी’
0
Would love your thoughts, please comment.x
()
x