अनिता काेइरालासावधान ए निर्दयी समय !
सगरमाथाभन्दा अग्लो विश्वास छ अन्धकारभन्दा शक्तिशाली छ आमाहरूको ममता छ सावधान, ए निर्दयी समय ! आमाहरू जीवितै छन्।
अनिता कोइराला :
समयको सुन्दर यात्रामा
सरल जीवन
सरल किसिमले
बगिरहेको थियो,
सफलता र सम्भावनाको
सुरम्य संसारमा पुगेर
धर्तीलाई हजारौँ रङ्गले
सिगार्न तयार थियो कूची ।
तर पत्थरै पत्थरको समय
रमाउन कहाँ सक्यो र !
अरूको खुसीमा,
मिहिनेतले निर्माण गरेको
स्वर्ग झैं संसार
ध्वस्त पार्न आतुर
ए निर्दयी समय,
सावधान!
आमाहरू जीवितै छन्।
विश्वासको सगरमाथालाई
जरैबाट उखेलेर
मरुभूमिमा पछार्छु भन्दै
मच्चिएको तेरो उन्माद
बिर्सिएको छैन।
तपस्याको सूर्यलाई
सजिलै समातेर
कहिल्यै नफर्किने गरी
कृष्णविवरमा धकेलेर
अन्धकारको यात्रा गराउँछु
भन्ने तेरो घमण्ड पनि
अझै ताजा छ।
तर तँलाई के थाहा—
आमाको शक्ति,
परिवारको माया,
र आशाको अदृश्य सामर्थ्य!
तँ त टाइटानिक डुबेको कथा
हेरेर आफैँमा रमाउँछस्,
तर आमाहरू त
डुबेको टाइटानिक समेत
हत्केलामा जुरुक्क उचालेर
किनारमा ल्याउँछन्।
र
पुनःपुनः
समुद्रको सतहमाथि
सहजै चलायमान बनाउँदै
विश्वयात्रामा पठाउँछन्
नयाँ–नयाँ टाइटानिकहरू।
किनकि—
समयभन्दा बलवान
उनीहरूको धर्य छ
आकाशभन्दा फराकिलो सपना छ
सगरमाथाभन्दा अग्लो विश्वास छ
अन्धकारभन्दा शक्तिशाली छ
आमाहरूको ममता छ
सावधान,
ए निर्दयी समय !
आमाहरू जीवितै छन्।
०००
२०८३-४-१७
चन्द्रागिरी, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest





































