साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चमत्कारी झोला

यसको जस एउटा चमत्कारी झोलालाई जान्छ जुन झोला बोकेदेखि ममा यो भ्यागुते परिवर्तन आयो । त्यो कुन झोला हो थाहा छ तपाईँहरूलाई ? राजनीतिको झोला ।

Nepal Telecom ad

हरि खनाल :

बदल्ने चाहना राखियो भने सूर्यको उदाउने र अस्ताउने दिशा पनि बदलिन्छ । म तपाईँ हुनु र तपाईँ म हुनु त केही हैन । शरीरमा बगेको रगतमा र मस्तिष्कमा मातापिताका गुण हुन्छ भन्छन् नि त्यो पनि बदलिने रहेछ । हावामा कावा खाँदै गफ छाँट्यो भन्ने ठान्नुभएको होला । म काँचो हैन पाको र साँचो कुरा भन्दैछु । आज म आफैँ बदलिएको कुरा सुनाउँछु । पत्याए पत्याउनुस् नपत्याए खोलीबगर ।

पहिले म निकै भावुक मान्छे हुँ नभनेर थिएँ भन्छु । कतै सन्तानको वियोगमा आमाबाबु रोइरहेका देखेँ भने सँगै पग्लन्थेँ । कतै कसैको प्याराले बिदा लिएको दृश्य देख्दा आँसु रोक्नै सक्दैनथेँ । त्यति मात्र हो र ? कसैको मर्मश्पर्शी कहानी सुनेँ वा पढेँ भने मेरा दुवै आँखामा झरी पर्थे । कसैको शोकसभामा बोल्दाबोल्दै भक्कानिएर अधूरो शब्द छोडेर हिँड्थेँ । यसको कारण मेरो बंशगत गुण थियो र सँगै घरको संस्कार पनि । दयामाया र सहानुभूतिका धेरै नैतिक शिक्षा र साहित्य पनि पढियो । सबै कुराको र्यागङ र ठ्याङ थियो होला शायद म कमजोर हुनुमा ।

म कमजोर देखिने अर्को पाटो पनि थियो । बृद्ध र अशक्त मान्छे देखेपछि पग्लिहाल्थेँ । धेरै पटक भात पकाएर तरकारी किन्न बजार जाँदा बाटोमा माग्ने भेटिएपछि तरकारी बजेट दान गजेटमा परिणत भइदिन्थ्यो र घरमा फर्केर निस्तो भात पनि खाएका उदाहरण छन् ।

भावुकताले सत्यको बाटोबाट पर जान दिँदैन कि क्या हो ? कुनै कुरा झूटो बोल्न पुगिएछ भने तत्काल आत्मग्लानि भइहाल्ने । कतै अनजानमा गल्ती भएछ भने पनि मनभरि आगो बलिरहने । यस्ता धेरै घटना छन् तर एउटा चाहिँ सुनाउँछु । धेरै समयपछि एकजना परिचित महिला भेटिनुभयो । उहाँसँग मित्रवत् कुरा भए । नजिकै पुरुष साथी पनि थिए । महिला साथीको कुरा गर्दै हो कि हैन त ? भनेर पुरुष साथीलाई धाप मारेँ भनेको त महिला मित्रलाई पो धाप मार्न पुगेछु । तत्काल माफी माग्न पनि आएन । बाटो लागेपछि त त्यही कुराले बाटो ब्लक गरिदियो । खै कसरी घरमा पुगेँ थाहै भएन । अनि घरमा पुग्ने बित्तिकै पहिलो काम उहाँलाई स्पर्श भएकोमा क्षमा माग्छु भनेर लेख्ने भयो ।

कसैले कसैलाई कुटेको वा गाली गरेको पनि हेर्न र सुन्न सक्दैनथेँ । क्याम्पसमा पढ्न जाँदा धेरैपटक साथीहरू अखिल नेविसंघ केटी संघ भेटी संघ आदि के के संघको नाममा भिडन्त गर्थे । म सकी नसकी छुट्याउन खोज्थेँ । एउटाले अर्कोलाई ठोकेको देख्दा मलाई दुख्थ्यो । त्यति मात्र हो र बाटोमा कोही अशक्त भएर लडिरहेको देखेँ भने म त्यहीँ हराउँथे । ती अशक्तको उद्धार नभएसम्म त्यहीँ बस्थेँ । आफ्नो धर्म र संस्कृतिको अपमान कसैले गरेको देखेँ सुनेँ भने सहन सक्दैनथेँ । म सकी नसकी प्रतिकार गर्थेँ । यसो गर्दा एकपटक त चोरधुलाई पनि भेटेको अनुभव छ ।
भावुकतासँगै अर्को पनि एउटा खराब वानी थियो ममा । कुनै कुरा सुनेपछि तत्काल नपत्याउने र थप खोजी गर्ने । आफ्नो भनेको सत्य मात्रै हो भन्ने बुझाइ थियो । आफ्नैले भने पनि तर्क गर्न तम्सिने ।

थाहा पाउनुभयो नि मेरो भावुकताका उदाहरणहरू । ठान्नुहोला अहिले पनि यो मान्छे उस्तै होला । अहँ मरिगए छैन । ती गुणहरू अहिले उहीलेका कुरा खुइले भइसकेका छन् । मेरो भावुकताको खोलो उल्टो बगेको छ आजभोलि । अब कतै कसैको पीडामा मेरा आँखाले रुझ्न छोडेका छन् । म निर्धक्क कसैको शोकसभामा हाँसेर बोल्न सक्ने भएको छु । कतै कोही बिरामी छन् भन्ने सुनेँ भने म तपाईँले जस्तो खानेकुरा किन्नतिर लाग्दिन । म त उनलाई ओढाउने कुराको खोजी गर्ने भएको छु । कहीँ सामाजिक सञ्जालमा कसैको शोकका तस्विर देखेँ भने मजाले शोकाकुललाई नै गाली गर्ने गरी अश्लील शब्द लेख्नसक्ने भएको छु ।

पहिले एकपटक झूटो बोल्दा सपनामा पनि गल्ती भयो गल्तीभयो भनेर बर्बराउने म अहिले एक दिनमा सयौँ हजारौँ झूट बोल्ने भएको छु । पहिले झूटो बोल्दा निद्रा लाग्दैनथ्यो नि अहिले झूटो नबोले निद्रा पर्दैन ।

पहिले पहिले कसैले कसैलाई कुटपिट गरेको देख्न नसक्ने म अहिले कसैलाई कसैबाट ठोकठाक पार्न लगाएर मुसार्न जाने कलाकार भएको छु । धर्म र संस्कृतिका कुरा पनि अचेल ख्याल ख्याल लाग्न थालेको छ । दुई चार पैसा पाए मलाई धर्म र संस्कृतिको अपमानबोध हुँदैन । धर्मका बारेमा बोल्नु पर्दा मानिसको उपस्थिति र मनोविज्ञान बुझेर बोलिदिन्छु । कतै अफिम भनिदिन्छु त कतै सभ्यता भनेर ठोकिदिन्छु । अचेल आफूले पत्याएको र मानेको अगुवाले केही कुरा बोले भने म आँखा चिम्म गरेर उफ्री उफ्री ताली ठोकिदिन्छु । मैले मस्तिष्कभित्रको त्यो तर्क र विवेचनाका भागलाई परिवर्तनको डण्डाले निष्क्रिय बनाइदिएको छु ।

झुक्किएर कसैलाई स्पर्श हुँदा बाटो नदेख्ने म अचेल जानी जानी स्पर्श गर्ने बाटो खोज्ने भएको छु । भाषा पनि मेरो बदलिएको छ । पहिले पहिले शिष्ट मात्र लेख्थेँ अचेल शिष्टको अगाडि अ थपेर अघि बढ्न थालेको छु । आजभोलि त आमा चकारेर लेख्ने र बोल्ने अप्रत्यक्ष प्रशिक्षण पनि पाइरहेको छु सामाजिक सञ्जाल र सङ्गतबाट । कोही रगताम्य भएर लडिरहेको किन नहोस् म त्यो लाशमाथि टेकेर वा नाघेर हिँड्ने वा त्यसैलाई भर्याजङ जस्तो बनाएर माथि चढ्ने हिम्मत राख्ने भएको छु ।

तपाईँलाई आश्चर्य लागेन कसरी विकास भयो यस्तो गुण ? बाबा र आमाले रगतमा पठाएको गुणलाई नै विस्थापन केले गर्योा होला ? तपाईँहरूलाई अचम्म लाग्ला, आश्चर्य लाग्ला वा यी सबै बकम्फुसे गफ हुन् भन्ने लाग्ला । लागे लागोस् मलाई लाग्ने हैन तपाईँहरूलाई लाग्ने त हो नि । यसको जस एउटा चमत्कारी झोलालाई जान्छ जुन झोला बोकेदेखि ममा यो भ्यागुते परिवर्तन आयो । त्यो कुन झोला हो थाहा छ तपाईँहरूलाई ? राजनीतिको झोला ।
अस्तु

०००
८३: ०४ :१५
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
नहुषको निष्काशन

नहुषको निष्काशन

हरिशंकर परसाईं
फोन

फोन

लीलाराज दाहाल
पुस्तकको चमत्कार

पुस्तकको चमत्कार

ठाकुरप्रसाद अधिकारी
मलमूत्रको कुरो

मलमूत्रको कुरो

दिलीप अर्याल
0
Would love your thoughts, please comment.x
()
x