हरि खनालगालीको बाली
शब्दको खडेरी परिसकेको समाजमा रस अलङ्कारयुक्त शब्द प्रयोग गरेर बोल्न र लेख्न थालियो भने तार टुटेछ भन्दैनन् ? जसले जे भन्नुहोस् म छैन खाली सप्रिँदैछ गालीको बाली ।
हरि खनाल :
खाली किन बस्ने ? बाली लगाउने नि । कस्तो बाली ? खेतबारीको हिलोमा पस्नु नपर्ने गानो जान्छ कि भनेर कमरमा पटुकी कस्नु नपर्ने । बजार हावाको टोली जाबाको । एउटा भाँडो हरहमेशा तयार पार्ने आफूलाई मननपर्ने कसैको बोली वा शब्द आयो कि झ्याँको झारिहाल्ने । हो अचेल म त्यतैको बाली लगाउन व्यस्त छु ।
व्यङ्ग्य मालिक जुँगे काजी व्यङ्ग्य किन नलेखेको भन्छन् । पढ्दै नपढी लाइक ठोकिदिनेदेखि मेरै बारेमा लेख्यो कि के हो भनेर खुट्टा तान्नेसम्मले गुनासा गरेका गरै छन् । के अचेल लेख्न छोडेकै हो र ?
गाली गर्ने शब्द नपुगेर शब्दकोशले गाली खाइरहेको छ । कसैलाई होच्याउन देखाउन सकिने गरी शरीरमा किन नयाँ अङ्गहरू पलाएनन् भनेर शरीरले गाली खाइरहेको छ । गाली समुद्र उर्लिरहेको वर्तमानमा मचाहिँ गाली छोडेर व्यङ्ग्य लेख्न थालूँ ? जहाँ छ्याङ्ग्य नै छ्याङ्ग्य छ त्यहाँको व्यङ्ग्यको के प्रयोजन ? म कसरी व्यस्त भएँ सुनाउँ है त ।
राती एघारबाह्र बजेसम्म सञ्जाल खोलेर बस्छु कतै कसैले गाली गर्न लायक स्टाटस हाल्छ कि भनेर । हाल्छ पनि । यो मुलुकमा र यो मुलुकका बाहिर बस्ने अझै धेरै प्राणी छन् कालोलाई सेतो भन्न नजान्ने र सेतोलाई कालो भन्न नजान्ने । ती प्राणीहरू दिनभरिका काम सकेर घरमा फर्किँदारहेछन् । घरपरिवारलाई सम्झिनु त कता हो कता दिनभरी पराइले दिएको दुःख सम्झेर आफ्नै माटोको सुवास खोज्न खोज्छन् । अनि यो भएन त्यो भएन भनेर बर्बराउँछन् । हिजो भएन भनेको सुहाउँथ्यो आज भएन भन्न पाइन्छ ? मन नपरेको चाउरिएको अनुहारको पो विरोध गर्ने त पोटिला अनुहारको पनि विरोध गर्ने ? मन परेको अनुहारले जे भनेपनि मान्नुपर्छ । त्यसरी विरोध गर्नेलाई गाली गर्न थालेपछि कहिले त रात नै बित्छ ।
बिहान उठ्दा गाली ग्याङका साथीहरूले गाली गरिसकेका हुन्छन् । देखिनस् फलाना फलानाको स्टाटस गाली गर्नुपर्दैन ? आँखा मिच्यो गाली खिच्यो प्रतिक्रियामा थिच्यो बस् बिहान पनि व्यस्त । दिउँसोको त कुरै नगर्नुस् । बाटोमा हिँड्दाहिँड्दै गाली लेख्नुपर्छ ।गाली जुहारीमा पनि भिड्नुपर्छ । अचेल सुतेकाहरू पनि उठेर गालीमा प्रतिश्पर्धा गर्न थालेका छन् । तिनलाई परास्त गर्न पनि त जम्नै पर्योह । कति पल्ट त शौचालयमा पसेर पनि गाली लेखिएको छ । शौचालयमा बसेर गाली लेख्दा भएका अनुभव विचित्रका छन् । कहिले जे गर्न गएको हो त्यही गर्न बिर्सिन्छ कहिले समापन नहुँदै उठिन्छ ।
लेख भन्ने मान्छेहरू सुन्नुहोस् । यो लेखपढको जमाना हैन । धन र मन पनि पैसाकै पछि लाग्छ । नपत्याए धन र मनका विज्ञहरूको अनुहार युट्युबमा खोजेर हेर्नुहोस् न ।
लेख्न थालेपछि धेरै समय लाग्छ । कम्युटरमा लेख्दा कर लाग्छ । अक्षरमा पनि भ्याटभ्याट आइसक्यो । आफूलाई मनपरेको अनुहारले पठाएको भएर विरोध गर्न पाइएको छैन । विरोध गर्नेलाई गाली मात्र गरिएर बसिएको छ । भन्नुहोला अक्षरमा कसरी भ्याटभ्याट ? अक्षर जन्माउन अचेल बिजुली नानी चाहिन्छ । बिजुली नानी भ्याटभ्याट चढेर आउनथालेकी छिन् । उनले भ्याटभ्याट गर्न थालेपछि यता गाँसबाँसले ढ्याक ढ्याक गर्न थालेको छ । गाली गर्न पाइएको छैन नुनको सोझो गर्नुपरेको छ ।
साहित्यको जमाना गयो अब । साहित्य लेखन त शालिन समाजमा मात्र हुन्छ । सरापे काँडाले कोतरेर गैँडाको छाला जस्तो भएको कानमा फूलको सुवास र सौन्दर्यको के प्रयोजन ? गाली गर्ने शब्दको खडेरी परिसकेको समाजमा रस अलङ्कारयुक्त शब्द प्रयोग गरेर बोल्न र लेख्न थालियो भने तार टुटेछ भन्दैनन् ? जसले जे भन्नुहोस् म छैन खाली सप्रिँदैछ गालीको बाली ।
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest






































