साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छोराको प्राविधिक शिक्षा

अनि सुतिरहेको मलाई आएर सोध्छ "योभन्दा पनि चोटिलो गाली गर्ने शब्द छ कि छैन भन्नुस् न । यति लेख्यो भने मेरो फ्यान बढ्छन् त ?" राती स्टाटस लेख्दा त पिउनु पनि पर्छ भनेर कसले लगाइदियो कुनि मुखै ह्वास्स गनाएको हुन्छ ।

Nepal Telecom ad

हरि खनाल :

आजभोलि मलाई छोराले दुख दिन थालेको छ । छोराले दिएको दुख कसलाई भन्नू भनेर चुप लागेको अब त अति नै भयो । पारिवारिक कहानी नै सही चलचित्र त बन्छ भने मैले लेख्न नमिल्ने के नै छ र ? अँ विगत वर्षदेखि ऊ उखानटुक्काहरू कण्ठ गर्ने अभियानमा छ । उखान टुक्का कण्ठ गर्ने क्रममा उसले निद्रा नै खाइदिन्छ । ऊ एक्लै त बर्बराउँछ नै कहिलेकाहीँ लौ न बाबा एउटा सिचियोसन बनाइदिनुपर्यो म त्यसमा मिल्ने उखान टुक्का भन्न सक्छु कि सक्दिन परीक्षण गर्नुपर्यो भन्न आउँछ । छोरो हो सहयोग गर्नै पर्यो नि भन्छु र त्यसमा संलग्न हुन्छु, रात गएको थाहै हुँदैन ।

किन यस्तो गर्या भन्नुहोला उसको उद्देश्य मुलुकको प्रधानमन्त्री हुनु छ रे । उद्देश्य नै महान् छ त मान्नै पर्यो । यतिले नपुगेर ऊ नयाँ उखान टुक्काको खोजीमा विभिन्न जिल्ला भ्रमणमा जाने गर्छ । एकपटक त भनेँ बाबु यस्तो उखान टुक्का सङ्ग्रह गर्ने नयाँ भाषिक कुरा खोज्ने काम तिम्रो हैन यो त प्रज्ञा प्रतिष्ठानको काम हो भनेको के जबाफ दियो थाहा छ ? “हैन बाबा त्यसको काम त भाषाको वर्णविन्यासमा कैँची चलाउने, प्रमुख अतिथि पल्टिएर ल्याकत नै नभए पनि कसैको लेखनका विषयमा भाषण ठोक्ने र नेताजीहरूको चरणकमलमा पूजा प्रार्थना गर्ने हो । यो हाम्रै काम हो ।” अनि सकियो छोरासँग कुरा गरेर ?

पन्ध्र दिन अघि छोरो पानीट्याङ्की हेरिरहेको रहेछ । खुस्कियो कि क्या हो भनेर हप्काएको त नसोचेको ठूलो कुरा पो गर्छ गाँठे । बाबा पछि म ठूलो पदमा चारपाँचपटक आसिन भएपछि रुपैयाँ राख्न पर्यो भने यो ट्याङ्कीले काम गर्छ कि गर्दैन यसको क्षमता छ कि छैन भनेर जाँचेको रे । यो पनि उसको ठूलै अभिष्ट रहेछ भनेर चित्त बुझाएँ । मलाई भेट्यो कि अनेक कुरा सोधिरहन्छ । फाइलमा कसरी नागरिकलाई अनागरिक बनाउने निर्णय लेख्ने रे । कसरी शरणार्थीलाई नागरिक बनाउने रे ? मुद्दा लाग्नेलाई नलाग्ने बनाउने र नलाग्नेहरूलाई फसाएर जेलमा सडाउनका लागि के कसरी मुद्दा बनाउने रे । आफूले निर्णय गरेर सार्वजनिक सम्पत्ति बेचेपछि निर्देशन दिएर काम गरेका बबुराहरूलाई मात्र फसाउन के गर्नुपर्छ रे । जसले घर बनायो उसलाई घरको माया हुँदैन डेरामा बस्नेलाई पो माया हुन्छ भनेर तर्क दिन के कसरी सकिन्छ रे ।

कहिले छिनछिनमै झूटो बोल्ने कला कसरी सिक्ने रे । लाशैलाशमाथि टेकेर पनि म त फूलैफूलको चाङमाथि छु भन्नका लागि कसरी सकिन्छ रे । यी सारा कुराको चिन्तनमा ऊ चुर्लुम्म डुबेको छ ।

उसले सताउने विधा पनि फरक फरक छ । हिजोबाट त राति बाह्र बजे उठेर फेसबुकमा स्टाटस लेख्न शुरु गरेको छ । घरका सबैको निद्रा खलबल्याउने गरी मोबाइलमा स्पिकरको घण्टी फिट गरेको छ । बाह्र बजे निद्रा क्वापल्याक्क खाँदै घण्टी बज्छ । ऊ जुरुक्क उठ्छ र लेख्न थाल्छ । अनि सुतिरहेको मलाई आएर सोध्छ “योभन्दा पनि चोटिलो गाली गर्ने शब्द छ कि छैन भन्नुस् न । यति लेख्यो भने मेरो फ्यान बढ्छन् त ?” राती स्टाटस लेख्दा त पिउनु पनि पर्छ भनेर कसले लगाइदियो कुनि मुखै ह्वास्स गनाएको हुन्छ ।

आज बिहान त वाक्क लागेर मैले उसलाई भनेँ “छोरा यो हर्कत छोडिदेऊ ।” उसले भन्यो “मलाई देश छोडेर पनि नजा भन्ने अनि शानसँग देशमा बस्नका लागि आवश्यक चरित्र र क्षमता विकासमा पनि नसघाउने ? यो यहाँको लागि उपयुक्त प्राविधिक शिक्षा हो बुझ्नु भो ।” छोराले कडै कुरा गर्यो । हामी सल्लाह गर्दैछौँ बरु विदेश नै जा भनिदिउँ कि भनेर । लौ न सल्लाह पाऊँ ।
अस्तु

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x