हरि खनालसञ्जाल सामाजिक
खाई आलु रवाफ छाँट्नु छ भने पेडा चपाएँ भनूँ । तारामा ध्रुव मैँ भनी गजबले आफ्नै प्रशंसा गरूँ ।। लाग्यो भोक अतीव उच्च भनिने के छाँट्नु खै मौखिक । थाले अङ्ग बिसाउने प्रविधिको सञ्जाल सामाजिक ।।

हरि खनाल :
झोला बक्बक गर्दछन् दिनदिनै गाली र ताली भरी ।
नाङ्गा मालिक झन् बडा अभिनयी देखिन्छ नाना थरी ।
कोही बेच्दछ आर्तना दिनदिनै छाया लिई मार्मिक ।
यस्दै रङ्ग विरङ्ग दर्शन हुने सञ्जाल सामाजिक ।।
मै राम्रो भवमा अरू त विचरा खोक्नेहरू के कम ?
चौरासी पनि सोह्र बन्छ छविमा आँखा कठै दिग्भ्रम ।।
आफ्नै माल कमाल वर्णन हुने यज्ञ यहीँ लौकिक ।
पर्दाभित्र रहन्छ सत्य नखुली सञ्जाल सामाजिक ।।
लुक्ने भाग खुला प्रदर्शन हुने उस्तै खुला हर्कत ।
नाताबीच रहेन साँध अहिले उन्मादको पौरख ।।
त्यस्तै गीत अनेक जम्छ यसमा जात्रा बन्यो आर्थिक ।
सारा जन्तुसमान मानव हुने सञ्जाल सामाजिक ।।
कालो बन्छ सफेद भुक्न सकिए सेतो बिचल्ली हुने ।
जाली सन्त बनेर पस्छ दिलमा आदर्श छैनन् रुने ।।
चिन्ने रावण राम आज कसरी को मूढ को हार्दिक ?
मै हो राम भने रमाउँछ अरे सञ्जाल सामाजिक ।।
खाई आलु रवाफ छाँट्नु छ भने पेडा चपाएँ भनूँ ।
तारामा ध्रुव मैँ भनी गजबले आफ्नै प्रशंसा गरूँ ।।
लाग्यो भोक अतीव उच्च भनिने के छाँट्नु खै मौखिक ।
थाले अङ्ग बिसाउने प्रविधिको सञ्जाल सामाजिक ।।
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest








































