काशीनाथ मिश्रितआगलागी झुपडी डेढ घडी भद्रा
अनि आगो लगाएर झन् कङ्गाल बनाइदिएपछि सबैले भद्रा हेर्न पाइहाल्ने नै भए । अब देशभित्रका ज्योतिषिहरूले भद्रा हेर्ने पालो गइसक्यो । विदेशीहरूले पनि डेढ दशकभन्दा बढ्तै भद्रा हेर्ने भए केको डेढ घडीले पुगोस् ।

काशीनाथ मिश्रित :
नाडीमा बाँध्ने घडी मात्र देखेका आजकालका जेन्जी पुस्ताहरूले पौने घडी र डेढ घडी पनि हुन्छ भन्ने कुरो थाहै नपाएका पनि हुन सक्छन् । घडीको अर्थ समय बताउने सुईवाला वा अङ्कवाला यन्त्र मात्र होइन है जेन्जी मित्रहरू ! हामी पुराना जेन डब्लु पुस्ताका मान्छेलाई घडी भनेको चौबिस मिनेटको समय हो भन्ने थाहा छ । त्यसैले डेढ घडी भनेको छत्तिस मिनेटको समय हो भने पौने घडी भनेको अठार मिनेटको । तपाईँहरूलाई उहिलेका कुरा खुइले भन्ने लाग्दो हो, हामीलाई त उहिलेका सबै कुराहरू खुइल्याउनु छैन । बरु जोगाएर राख्नुपर्छ भावी सन्तानलाई पनि थाहा होस् भनेर । कहाँ तपाईँहरू लभ म्यारिज गरेर सुइँकुच्चा ठोक्ने जमानाका न्यु जेनेरेसन, कहाँ म विवाहमा लगन छोप्न घाम झुल्केपछि घडी थापेर बस्ने जमानाको मान्छे ! कुरा कसरी मेल खाओस् ।।
कुराले मेल खाओस् वा नखाओस् देशले चाहिँ गोता खायो भन्ने सबैले देखे । त्यो कुरा मैले खसखस गरिरहनु परेन क्यारे । देशका थुप्रै झुपडीहरूमा आगलागी भएको नदेख्नेहरूलाई मात्र थाहा नहोला अरुलाई थाहा छँदै छ । अझ आगो लगाउनेलाई त भलिभाँती थाहा हुनुपर्छ भन्ने यो लम्फुदासको अड्कलाइजेसन छ । घग्रक्क खौलामा जाकिएको बुढो गोरुभन्दा बढ्ता उठ्न नसक्ने गरी यो देश थला पर्योछ भनेर मैले भनेँ भने होइन भनेर मभन्दा मूर्खले पनि भन्दैन, अझ मैले किन भन्ने? त्यसैले आउनुहोस् अझ बाँकी रहेका झुपडीहरूमा पनि आगलागी गरौँ र डेढ घडी हैन डेढ दशकसम्म भद्रा हेरौँ ।।
भद्रा नहेरेको भए आजसम्म देशले विकासको चरम चुलीमा चढेर सगरमाथाको टुप्पो नाघिसक्थ्यो । अहिले त भासिएर बङ्गालको खाडिमा जाकिएला जस्तो छ । देश बनाउँछौँ भन्ने टपरटुइयाँहरूले आजसम्म भद्रा हेरे भनेर जेन्जी पुस्ताहरूले झुपडीहरूमा आगो लगाइदिएका हुन् भन्ने सुन्छु । आगलागीपछि पनि हाम्रो देशका ज्योतिषहरूले भद्रा हेरेर बसिरहेछन् । दमकल भन्ने जन्तु पनि निभाउन जानलाई भद्रा परेको भनेर आगो निभाउँदा झन् अशुभ हुने डरले गएनछ । यता सेनाहरूले डेढ घडी हैन डेढ घन्टासम्मै भद्रा हेरेछन् उता जलेर खरानी हुँदै गएछ संसद भवन नामको चीनले बनाइदिएको कुटी, सिंहदरबार नामको झुपडी !
झुपडी पनि कोही कोही ज्योतिषीहरूले त जनताको कर छलेर दामी दामी पो बनाएका थिए । बिचराहरूलाई छानी छानी आगो झोसिदिँदा कति घोच्यो होला मुटुमा । अझ कसैले त आफ्नो विशाल झुपडीलाई गौँथलीको गुँड भनेर नामाकरण पनि गरेका थिए क्यारे । पहिले नै बुद्धिमा आगो लगाउन सकेको भए अहिले आएर झुपडीमा आगो त लाग्ने थिएन । डाडु पन्यु आफ्नो हातबाट फुस्कनै नदिने गरेर अँठ्याएपछि झुपडी डढ्दा पनि दौड्न सकिने कुरो भएन क्यारे । मनको लड्डु घिउसित खाँदा खाँदा अघाएका जैरे जनता भन्नेहरूले झुपडीभित्र खिचडी पाकेको थाहा पाउने कसरी ?
खिचडी पनि ढुङ्गाको पकाउँछु भनेर बुढीलाई ठग्ने बटुवाको कथा जस्तो सधैभरि ठग्नबाहेक अरु धन्धा नगरेपछि जाबो झुपडि राखेर के काम भन्ने पनि लाग्नु स्वाभाविकै हो । लुट्न पनि थाहा नपाउने गरी लुटिएका रहेछन् सोझा नेपालीहरू! एक दिन होइन दुई दिन होइन वर्षौँसम्म ठगेको ठग्यै! दशक हैन शताब्दी पनि बित्यो देशलाई सिङ्गापुर बनाइदिन्छौँ भन्ने हावादारी भाषण सुनेको । सधै लुटिइरहन त को सक्छ र? त्यही भएर जेन्जीहरूले जोश निकालेका हुन् क्यारे । तर जोशमा होश गुमाएछन् र पो ।
गुमाउन त होश मात्र हैन नेपालीले इज्जेत पनि गुमाइसके । आफ्नो देशमा बसेर परिश्रम गर्नुको साटो विदेशीको नोकर बन्न जाती मानेपछि यस्तै हुन्छ । यी नेपाली मगन्तेहरू न हुन् भनेर विदेशीहरूले किन नहेपून् त ! नेता पनि माग्नै जाने, जनताहरू पनि खानै नपाए जस्तो उतै गएर दास बन्ने ! अनि आगो लगाएर झन् कङ्गाल बनाइदिएपछि सबैले भद्रा हेर्न पाइहाल्ने नै भए । अब देशभित्रका ज्योतिषिहरूले भद्रा हेर्ने पालो गइसक्यो । विदेशीहरूले पनि डेढ दशकभन्दा बढ्तै भद्रा हेर्ने भए केको डेढ घडीले पुगोस् । त्यसैले आउनुहोस्, जेनडब्लुका पालाको यो उखानलाई पनि जेन्जीकै पालामा सुहाउने बनाइदिउँ – ‘आगलागी झुपडी डेढ शदी भद्रा ।’
०००
गुल्मी
२०८२ पुस ५










































सरल भाषामा तिखो व्यङ्ग्य, तर टिकटक र युट्युबका पारखीले यस्ता लेख पढने र प्रतिकिर्या दिने आँट का गर्छन् र