काशीनाथ मिश्रितआफै बोक्सी आफै धामी
यसो भयो भने कोही नेपाली कहिल्यै बिरामी हुने छैन । उहिलेदेखि फलाकेका सारा नाराहरू चुट्कीको भरमा साकार हुनेछन् । खै के भनौँ र, सुखी नेपाली समृद्ध नेपाल त मज्जाले उपभोग गर्न पाइन्छ । पत्याउनुहोस् न भन्या ।

काशीनाथ मिश्रित :
एक्काइसौँ शताब्दीको उत्तरार्ध पनि दुई तिहाइ बितिसकेको बेला बोक्सीको कुरा गर्छ भनेर मलाई झपार्न बेर छैन सबैले । बोक्सी हुँदै नहुने भए कुरो कहाँबाट आयो? हटाइदिउँ न त शब्दकोशबाटै ! शब्दकोशमा बोक्सी शब्दको अर्थ बोक्सेरो जान्ने वा टुनामुना गर्ने स्त्री, डङ्किनी, डाइनी भनेर लेखिएको छ । यस्तै धामीको अर्थ चाहिँ भूत प्रेत, बोक्सी, डाइनी, लागो आदिको आशङ्कामा सो रोग निको गराउन शरीरमा देउदेउता वा भूतप्रेतको प्रवेश गराएर तन्त्रमन्त्र प्रयोग गरी झारफुक गर्ने व्यक्ति; झाँक्री भन्ने उल्लेख छ ।बोक्सी भएपछि धामी चाहिने नै भैहाल्यो । फेरि यो धामी बस्ने र बसाल्ने प्रथा पनि त कायमै छ अझसम्म । न कुनै अन्धविश्वास हटेको छ न कुनै पूर्ण विश्वास पलाएको छ । शब्दकोशबाट मेटेर मात्र के गर्नु मान्छेको जिभ्रो जिभ्रोमा झुन्डिएपछि । जिभ्रोमा मात्र झुन्डिएको भए त के फरक पर्थ्यो र! यहाँ त बोक्सीको आरोपमा असहाय महिलालाई मलमुत्र खुवाउनसमेत छोडिएको छैन जतिसुकै शताब्दी बिते पनि । मान्छेले त्यस्ता कुकृत्य गर्न भैरहेको छ, मैले लेख्नै हुँदोरहेनछ भने नभइरहोस् ।
शताब्दी एक्काइसौँ भए पनि बाइसौँ भए पनि आखिर घैँटामा घाम लागेन भने अँध्यारो नै हुन्छ । घैँटामा घाम लाग्ने भनेको शिक्षाले हो, त्यो नै बादलिएको छ भने कसरी उज्यालो छर्ला ! त्यसैले हामी अझै पनि बोक्सीवादमा निर्भर छौँ, हुनुपरेको छ । अरु जस्तोसुकै तन्त्र र वाद लागु भए पनि बोक्सीवाद नहटेपछि कसैको केही जोर चल्दैन । त्यसैले यो लम्फुदासलाई बोक्सी भनेको समस्या हो अरु केही पनि होइन भन्नेमा पूर्ण विश्वास छ । धामी चाहिँ समाधान हुनुपर्थ्यो तर धामी पनि समस्या नै बनेपछि आफै बोक्सी आफै धामी नभएर हुने नै के हो र ??
‘गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता’ नारा सुन्दा कति मिठो लाग्छ । भुत्रो भयो गुणस्तरीय शिक्षा ! नाराले मात्र हुने भए समृद्ध नेपाल सुखी नेपाली सपनामा मात्र देखिरहनु पर्दैन्थ्यो । खै नयाँ नेपाल भन्न थालेको कति दशक बित्यो ? अझ कति दशकपछि जन्मने बच्चाले पनि यही भुल्ले, थोत्रे, झुम्रे र नाङ्गो पुरानै नेपाल देख्नुपर्ने हो , दैव जानोस् । धामी पनि आफै बोक्सी पनि आफै भएपछि बिरामी कहिले रोगमुक्त हुन्छ र? बोक्सी प्रथा हट्नुपर्छ भनेर धामी बन्न गएकाहरूले नै बोक्सीपूजा गर्न थालेपछि गर्ने के? शिक्षाको विकास गर्न बाफ रे बाफ कति प्रतिशत बजेट छुट्याउँछन् हाम्रा धामीहरूले ! त्यहीँबाट थाहा भएन र ? अझै धामी बाहरूले मास्टरको तलब किन बढाउने? भनेर होच्याइरहेका छन् । शिक्षकलाई दबाएर शिक्षाको विकास गर्छौँ भनेर फाइँफुट्टी लाउनु बोक्सी प्रथा जोगाउने धामीहरूको षड्यन्त्रबाहेक अरु हुँदै होइन ।
धामी बाहरूले बोक्सी मन्त्र पनि जान्नुभएको छ । नत्र धामी कसरी बन्नुहुन्थ्यो र ! उल्टोसुल्टो नजाने बोक्सीले सिध्याइहाल्छन् नि । नत्र ती फाइलभित्रका मन्त्रहरू हामी जस्ता लम्फुदासहरूलाई के थाहा छ र? तपाईँहरूले कसका पालामा मन्त्र बनाउनुभएको हो? कसका पालामा त्यसलाई कार्यान्वयन गर्नुभयोर अहिले आएर त्यो मन्त्रले आफैलाई डाम्न थाल्यो? हामीलाई के थाहा? फाइल खोल्न पनि तपाईँहरू नै जान्नुहुन्छ, बन्द गर्न पनि तपाईँहरू नै सक्नुहुन्छ । अनि आफै बोक्सी आफै धामी भएपछि रोग निको हुन्छ भनेर कल्पना गर्ने त कुन्नि कतातिर बुद्धि भएकाले मात्र हो । हामी जस्ता टाउकामा बुद्धि भएकालाई केही पनि थाहा भएन । म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने त सुनाउने बोक्सी मन्त्र मात्र हो । मनमनले के भनेर बोक्सी फुक्नुहुन्छ थाहा पाउन सकिने भए पो ।
तपाईँ आफू बोक्सी हो कि धामी हो? स्पष्ट छैन । त्यही भएर नै म जस्ता नेपाली लम्फुदास जनताहरू सधै सुकेनास लागेभन्दा बढ्ता टाक्सिएका छन् । तपाईँ बोक्सी भएको भए राम्रै उपचार खोज्नुपर्यो । धामी हो भने त हामीलाई सन्चो गराउनुपर्ने! यसरी आफै बोक्सी आफै धामी नबन्नुहोस् न भन्या । कानुन बनाउने पनि तपाइँ, उल्लङ्घन गर्ने पनि तपाईँ । भोट माग्ने पनि तपाईँ, भोट किन्ने पनि तपाईँ । यति मात्र भए त हुन्थ्यो मागेका र किनेका दुवै थरि भोट बेच्ने पनि तपाईँ । अब कसरी छुट्याउने तपाईँलाई बोक्सी हो कि धामी हो भनेर ।
सडक जाम गर्ने पनि तपाई, सदन जाम गर्ने पनि तपाईँ । सत्ता उल्टाउने पनि तपाई, सत्ता सुल्टाउने पनि तपाईँ । दुईवटा नागरिकता लिने पनि तपाईँ, दुईवटा नागरिकता दिने पनि तपाईँ । नेपालीलाई भुटानी बनाउने पनि तपाईँ, भुटानीलाई नेपाली बनाउने पनि तपाईँ । को हो त तपाईँ? नोकर पनि तपाईँ, जोकर पनि तपाईँ । सालिक पनि तपाईँ, मालिक पनि तपाईँ । हतियार उठाउने पनि तपाईँ, हतियार सुताउने पनि तपाईँ । अस्पताल खोल्ने पनि तपाई, चुरोट कारखाना खोल्ने पनि तपाईँ । गाउँका गरीबगुरुवाले गरेको गाँजा खेती विनास गराउने पनि तपाईँ, गाँजा खेतीलाई बैधता दिनुपर्छ भनेर कराउने पनि तपाईँ । डाँका पनि तपाईँ, पुलिस पनि तपाईँ । कसरी चिन्ने त सिधा सादा मान्छेले ?
धामी बन्नका लागि बोक्सीका विशेषता अवश्य जान्नुपर्छ । त्यसैले पहिले बोक्सी नभई तपाईँ धामी बन्नै सक्नुहुन्न । फेरि यो स्वयंसिद्ध हो कि आफै धामी आफै बोक्सी भएपछि कहिँ पुगिदैन । सत्तापक्ष पनि तपाईँ, आन्दोलनकारी पनि तपाईँ ! सुकुमवासी पनि तपाईँ हुकुमवासी पनि तपाईँ ! नायक पनि तपाईँ खलनायक पनि तपाईँ । अनसन बस्ने पनि तपाईँ अनसन बस्न लगाउने पनि तपाईँ । सुन तस्करी गर्ने पनि तपाईँ, तस्करलाई पक्र्यौँ भनेर प्रचार गर्ने पनि तपाईँ। मानव अधिकार हनन गर्ने पनि तपाईँ, मानव अधिकारको मनन गर्नुपर्छ भन्ने पनि तपाईँ । कुन स्वरूपले काम गरेको हुन्छ यो बोक्सी मन्त्र नजानेकालाई थाहै हुँदैन ।
हजार जिभ्रा भएका शेषनागले स्वस्थानीको महिमा वर्णन गर्न नसके जस्तो हजार पल्ट हन्डर खानु पर्ने हामी जस्ता सर्वहाराले के सकौँला र तपाइँहरूको यो बोक्सी रुप वा धामी स्वरूपको वर्णन गर्न । सत्ताको गुलियो स्वाद चाख्न पाउँदा रातो भालेको भुटुवा भकुरेको धामी जस्तो गर्नुहुन्छ । सारा जगत मैले नै ठिक पार्छु जस्तो गरी ढ्याङ्ग्रो ठोक्नुहुन्छ । त्यसबेला तपाईँको अगाडि पर्ने कसैको बुता हुँदैन । जब सत्ताको स्वाद तितो बनेर बान्ता आउँछ तब अघिपछि छौँडा लगाएर बोक्सी झैँ चहार्न थाल्नुहुन्छ घरदैलो । भोका-नाङ्गा, दुःखी-गरीबहरू बल्ल देख्नुहुन्छ र नील डाम थाहा पाउनुहुन्छ । कुपोषण र दरिद्रताले व्याप्त समाजमा अझ बोक्सीको अन्धविश्वास छर्नुहुन्छ र धामी बन्ने सपना बाँड्नुहुन्छ । यस्तो महिमामय स्वरूपलाई हामीले अझै पनि मन नपरी नपरी देख्न, सुन्न र भोग्न परेको छ र त रिस उठ्छ
देउता छैनन् पनि भन्नुहुन्छ, पशुपतिमा जलहरी पनि चढाउनुहुन्छ । गाईको पूजा गर्नुहुँदैन पनि भन्नुहुन्छ, भैँसीको पूजा पनि गर्नुहुन्छ । भूत, लागो, बोक्सी हुँदैहुन्न पनि भन्नुहुन्छ, अनि दिनदाहाडै बोक्सीको आरोपमा मलमुत्र खुवाएर कुटपिट गरेको पनि लाज नमानी हेर्नुहुन्छ । हेर्ने भए मात्रै त ठिकै हो, त्यो अन्याय गर्नेहरू आफ्ना मान्छे परेछन् भने त्यो अपराध नै हैन, उपचार हो भन्न पनि लाज मान्नुहुन्न । बरु ठुलै भीड जम्मा भएको रहेछ भने धामी प्रथा हाम्रो सांस्कृतिक परमपरा हो । यसलाई जोगाउनु पर्छ । बोक्सी प्रथा पनि हाम्रो सनातन परम्परा हो । यसको संरक्षण गर्नुपर्छ भनेर भाषण भट्याउन पनि चुक्नुहुन्न । अझ त्यसमाथि दुई चार जनाले ताली पट्काइदिनुपर्छ, धामी झाँक्री तथा बोक्सी प्रथा हाम्रो नेपालको मौलिक संस्कृति भएकाले हामीले यसको जगेर्ना गर्नेछौँ भनेर कुर्लनुहुन्छ । यो पो छ त आश्चर्य लाग्दो कुरा !
लौ त हजुर ! कुन्नि कुन देउदेउताको भूत चढेछ क्या यो ज्यानमा र यस्तो उखरमाउलो आयो मनबाट । साँच्चै बोक्सीका छौँडाले पो भेटाएका हुन् कि? केही छुट्याउन सकेको छैन । तपाईँहरूलाई अलिअलि झारफुक गर्न आउँछ भने खरानी उडाएर वा ढ्याङ्ग्रो ठोकेर यो लम्फुदासको व्यथा निको पारिदिनुहोस् ल । बोक्सी हुँदैनन् भन्ने भ्रम पालेर बस्नुभयो भने काम लाग्दैन नि । अझ यसलाई शब्दकोशबाटै हटाउनेतिर लाग्नुभयो भने त खत्तमै हुन्छ । बरु नयाँ शिक्षामा बोक्सी र धामीको सनातन परम्पराबारे अनिवार्य एउटा पाठ राख्नुपर्ने प्रावधान गराउनुहोस् । यसो भयो भने कोही नेपाली कहिल्यै बिरामी हुने छैन । उहिलेदेखि फलाकेका सारा नाराहरू चुट्कीको भरमा साकार हुनेछन् । खै के भनौँ र, सुखी नेपाली समृद्ध नेपाल त मज्जाले उपभोग गर्न पाइन्छ । पत्याउनुहोस् न भन्या ।
०००
२०८१ फागुन २१ गते
फोक्सिङ, गुल्मी ।
Subscribe
Login
0 Comments
Oldest









































