काशीनाथ मिश्रितमातापिता !
पैसा लाखौँ करोडौँ डलर बटुलियोस् देहमा चैन छैन एक्लै छोडेर जान्छौ कति छ त ममता ? भावनाले हुँदैन । पुज्नै पर्दैन अर्को उनिसरह ठुलो देवता छैन कोही द्यौता मातापिता हुन् तर घरघरमा बस्दछन् रोइरोई !।
काशीनाथ मिश्रित :
आमाको कोखबाटै सब जन धरणी टेक्न सक्ने बनेका
हौँ भन्ने सत्य बिर्सी किन परपर भै आज हेला गरेका ?
वृद्धावस्था हुँदामा अति जरुर थियो साथमा छैन कोही
द्यौता मातापिता हुन् तर घरघरमा बस्दछन् रोइरोई !।१।
छोराछोरी बुहारी सब जन धनको लोभमा लाग्न थाले
अर्कालाई गुहारी घरजम धनकै मोहले त्याग्न थाले
श्रद्धा आस्था हरायो सबतिर ममता सिद्धियो छैन खोइ ?
द्यौता मातापिता हुन् तर घरघरमा बस्दछन् रोइरोई !।२।
‘सेवा नै धर्म हो’ यो कथन पनि कता स्वात्त भाग्यो बिलायो !
आफ्नो संस्कार मान्ने चलन अगतिलो ठान्न कल्ले सिकायो ?
फर्की बच्चा युवामा बदलिन नसकोस्, वृद्ध ता हुन्छ सोही
द्यौता मातापिता हुन् तर घरघरमा बस्दछन् रोइरोई !।३।
टाढा टाढा पुगेछन् तनय र तनया हेर्न पाइन्छ फोटो
गर्छन् साथै बसेझैँ कल पनि भिडियोहुन्छ अत्यन्त छोटो ।
चल्दैनन् हातगोडा नजर कम भयो को दया गर्छ खोइ ?
द्यौता मातापिता हुन् तर घरघरमा बस्दछन् रोइरोई !।४।
पैसा लाखौँ करोडौँ डलर बटुलियोस् देहमा चैन छैन
एक्लै छोडेर जान्छौ कति छ त ममता ? भावनाले हुँदैन ।
पुज्नै पर्दैन अर्को उनिसरह ठुलो देवता छैन कोही
द्यौता मातापिता हुन् तर घरघरमा बस्दछन् रोइरोई !।५।
०००
गुल्मी
२०८३ साउन ३१ गते
Subscribe
Login
0 Comments
Oldest









































