साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धर्म गाैतमकाे ‘बिपी र विद्रोहका तीन दिन’ सार्वजनिक

इलामका राजनीतिज्ञ एवं लेखक धर्म गौतमले लेख्नुभएको पुस्तक ‘बिपी र विद्रोहका तीन दिन’ आइतबार काठमाडौँमा विमोचन गरिएको हो ।

Nepal Telecom ad

काठमाडौँ । पहिलो जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाले आह्वान गरेको सशस्त्र सङ्घर्षको सँगालो ‘बिपी र विद्रोहका तीन दिन’ सार्वजनिक भएको छ ।

इलामका राजनीतिज्ञ एवं लेखक धर्म गौतमले लेख्नुभएको पुस्तक ‘बिपी र विद्रोहका तीन दिन’ आइतबार काठमाडौँमा विमोचन गरिएको हो । लेखक गौतमसँगै नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, लेखक एवं वरिष्ठ पत्रकार हरिहर विरही, राजनीतिशास्त्री सुचेता प्याकुरेल र युवा राजनीतिज्ञ उषाकिरण तिम्सिनाले पुस्तक विमोचन गर्नुभयो ।

कांग्रेस सभापति गगनकुमार थापाले पार्टीका संस्थापक बिपी कोइरालाको विचार र सिद्धान्तलाई सत्ता प्राप्तिको रणनीतिका रूपमा मात्र प्रयोग गर्न नहुने बताउनुभयो ।

उहाँले बिपीको ‘राष्ट्रिय मेलमिलापको नीति’ तत्कालीन समयको भूराजनीतिक अवस्था र राष्ट्रियताको संवेदनशीलतासँग जोडिएको बताउनुभयो । उहाँले अहिलेको पुस्ताले बिपीलाई केवल पूजा गर्ने पात्र मात्र नभई उहाँको सादगी र विचारलाई पछ्याउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “धर्म गौतमजी जस्ता निष्ठावान् कार्यकर्ताको संस्मरणले कांग्रेसको इतिहास र बिपीको सादगीपूर्ण जीवनलाई बुझ्न मद्दत गर्छ । अहिले कांग्रेसभित्र पद र शक्तिको होडबाजी चलिरहँदा धर्मजीको राजनीतिक निष्ठा र बिपीको दर्शनको स्मरण गर्नुपर्ने आवश्यकता छ ।”

वरिष्ठ पत्रकार एवं लेखक हरिहर विरहीले धर्म गौतमको पुस्तकले नेपाली राजनीतिको एउटा महìवपूर्ण कालखण्डको जीवन्त चित्रण गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो पुस्तक केवल संस्मरण मात्र होइन, यो प्रजातान्त्रिक आन्दोलनको एउटा महìवपूर्ण दस्ताबेज हो । धर्मजीले बिपीसँग नजिक रहेर काम गर्दाका अनुभवलाई निकै इमानदारीका साथ प्रस्तुत गर्नुभएको छ, जसले इतिहासका कतिपय अनुद्घाटित पाटालाई बाहिर ल्याएको छ ।”

राजनीतिशास्त्री सुचेता प्याकुरेलले बिपीको समाजवाद र राष्ट्रियताको अवधारणालाई प्राज्ञिक दृष्टिकोणबाट व्याख्या गर्नुभयो । उहाँले भन्नुभयो, “धर्म गौतमको लेखनमा नेपाली कांग्रेसको सङ्गठनात्मक संस्कृति र बिपीको वैचारिक अडान प्रस्ट देखिन्छ । बिपीले परिकल्पना गरेको समाजवाद केवल आर्थिक वितरण मात्र थिएन, यो मानवीय मूल्य र लोकतान्त्रिक आचरणको समग्र रूप थियो, जुन कुरा यस पुस्तकले उजागर गरेको छ ।”

लेखक गौतमका अनुसार महामानव कोइराला पञ्चायती व्यवस्थाविरुद्ध आह्वान गरेको सशस्त्र सङ्घर्षका ऐतिहासिक सन्दर्भमा पुस्तकमा समेटिएका छन् । उहाँले नयाँ पुस्तालाई प्रजातान्त्रिक आन्दोलनका कठिन दिन र बिपी कोइरालाको वास्तविक व्यक्तित्वबारे जानकारी दिन पुस्तक लेखेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बिपी कोइराला उच्चस्तरको राजनेता भएर पनि उहाँको जीवन अत्यन्त सरल र कार्यकर्ताप्रति अभिभावकत्व प्रदान गर्ने खालको रहेको कुरा पुस्तकमा स्मरण गरेको छु ।”

लेखक गौतमका अनुसार बनारसमा रहँदा र प्रवासको कठिन परिस्थितिमा पनि प्रजातन्त्र प्राप्तिका लागि गरिएको सङ्घर्षका क्षणको दस्ताबेज पुस्तकमा समेटिएका छन् । किताब प्रकाशनले पुस्तक प्रकाशनमा ल्याएको हो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x