काशीनाथ मिश्रितबालेन्ड
नेदरल्यान्डका वासिन्दालाई डच भनिए जस्तै बालेन्डका वासिन्दालाई कसैले बालेन्डी भन्ने छैनन्; बाल भन्ने छन, बाल ! अनि हुँदैन त बबाल । नेपाल देश र नेपाली भन्ने जनताहरूको बुद्धिशुद्धि केही छैन ।
काशीनाथ मिश्रित :
‘हिजोसम्म जो रोई रोई बाँचिरहेका थिए, आज तिनै हाँसी हाँसी मर्न तयार छन्’ भन्ने रिमाल बाजेको कवितांश एकाएक सम्झन पुग्यो खप्परभित्रको गिदीले । संसारै परिवर्तनशील छ। परिवर्तन कसले चाहन्न? हत्तेरी रिमाल बाजे ! तिम्रो परिवर्तनले फेरि आफूलाई परिवर्तन गरेर अझ अगाडि गइसकेछ । तिमी मर्यौ र मात्र हो, नत्र यो परिवर्तनको परिवर्तन अर्थात् महापरिवर्तन देख्न पाउने थियौ । परिवर्तनको यस्तो होडबाजी चलेको छ कि कुरै नगरौँ । आज हाँसी हाँसी मर्न तयार भएका तिम्रा मान्छेहरू फेरि रोई रोई बाँच्न बाध्य भैसकेका छन् । परिवर्तनको पुनर्परिवर्तन भयो भने फेरि उही ठाउँमा पुगिने होइन र ? तिमीले पनि आफूले गाई नपालेरै गोपालप्रसाद नाम राखेका थियौ । अहिलेसम्म तिमी बाँचेको भए तिम्रो नाम पनि परिवर्तन भएर महिषपालप्रसाद भैसक्ने थियो रिमाल बा ! यहाँ अत्याधुनिक जेन्जी पुस्ताको झकास परिवर्तन भएको छ; तिम्रो जस्तो खुइलिएको थोत्रो बुढो परिवर्तन होइन ।
मरिसकेकाले तिमीले सुन्न पाउने भएनौ बाजे ! यो लम्फुदासले आधा मरे पनि आधा त जिउँदै छु जस्तो ठानेको छ आफूलाई । त्यसैले यहाँ भएका परिवर्तनहरू देख्न र भोग्न पाएर तिमीसित फुर्ती लाउँदै छ । सिंह नै नभएकाले सिंहदरबारलाई अब अनामनगर दरबार हो कि बेनामनगर दरबार हो के के जाति राख्ने रे ! मैले एउटा जाननीयका मुखबाट सुनेको कुरा सुनाउँदै छु तिमीलाई । त्यसैले हो बाँचेको भए तिमी महिषपालप्रसाद हुन्थ्यौ भनेको । मान्नुपर्ने व्यक्ति भएकाले माननीय भनिएको रहेछ भने अबदेखि धेरै जान्ने हुनाले उनीहरूलाई जाननीय भन्न थाले ठिक होला जस्तो लागेको छ । पहिले पहिलेका थोत्रा पार्टीहरूले संसदमा मान खोज्ने मान्छेलाई पठाउने गरेकाले उनीहरूलाई माननीय भन्न थालिए पनि अहिलेका जल्दाबल्दा नयाँ पार्टीहरूले जान्नेसुन्नेलाई संसदमा छिराएका छन् । त्यसैले उनीहरूलाई जाननीय भन्नु सोह्रै आना ठिक हुन्छ । हाम्रा जाननीयहरूले अनामनगर दरबारको साटो अग्निदरबार राख्ने प्रस्ताव किन नगरेका होलान् ? आगोले भस्म पारेकाले भस्मदरबार भने बरु सुहाउला कि । हैन भन्या, अन्त कतै परिवर्तन गर्ने ठाम र काम नभेटाएर सिंहदरबारकै नाम परिवर्तन गर्नुपर्छ भनेर किन कुर्लेका होलान् ?
राजमार्गलाई लोकमार्ग बनाएको खबर त पाइसकेकै हौला । अब केही समयपछि भोकमार्ग र लगत्तै शोकमार्ग बनेको पनि खबर पठाउँला मैले । स्वर्गमा पर्खेर बसे है । यहाँ यति छिटो छिटो परिवर्तनहरू भइरहेका छन् कि बताउनै सकिन्न । हेर्दै जाउँ पुतलीसडकलाई अरिङ्गाल सडक र बालुवाटारलाई रोडाटार नामाकरण गरे भने पनि अनौठो मान्नुपर्दैन । शीतल निवासलाई जलन निवास गराएर घन्टाघरलाई घन्टीघर बनाइदिएछन् भने पनि कसको के जोर चल्छ र, बहुमत ल्याएकै छन् । अब त सेकेन्ड सेकेन्डको परिवर्तन पनि आर्टिफिसियल इन्टेलिजेन्स भन्ने जन्तुले तुरुन्तै बताइदिन सक्नेवाला छ, निराश नबन्नु ल रिमाल बा । हामी जस्ता खप्रभित्र ओरिजिनल इन्टेलिजेन्स भएकाहरूले त पछि लाग्ने मात्र हो, भेटाउन सकिने होइन ।
तिम्रा पालाभन्दा पनि अघिका बाजेहरूले बनाइदिएको एउटा उखान छ नि बाजे ! ‘गधालाई दुधले नुहाइदिएर गाई बनाउन सकिँदैन’ भन्ने ? हो, त्यो उखान पनि अहिले परिवर्तन भएको छ रे । धेरै गधाहरू यहाँ दुधले नुहाएर गाई बनिसकेका छन् । भ्रष्टाचारी भनेर सत्तोसराप गरेका र भ्रष्टाचारी बनेर सो सराप खाएका दुवैथरि गधाहरू पनि अहिले खुलमखुला हिँडिरहेका छन् । दुधले नुहाएपछि त गाई बन्दारहेछन् । त्यस्ता गाईहरू बहर नलागिकनै गर्भधारण गर्न सक्ने भैसकेका छन् आजकल बाजे! त्यसैले सत्तामा पुग्नासाथ लैना हुन्छन्, सत्ताबाहिर हुत्तिनासाथ बकेर्ना हुन्छन् । अझ चुनावमै हारेर थन्किन पर्यो भने त थारै बस्छन् क्या मिलाएर बुझ्नु । सबै कुरा तिमीलाई बताउन थाल्ने हो भने गोपनीयताको हक हनन गरेको भनेर मलाई मामाघरतिर लैजान बेर छैन ।
परिवर्तनको परिवर्तन, अनि परिवर्तन र फेरि परिवर्तन हुँदै परिवर्तनै परिवर्तन भएकाले मैले तिम्रो ‘परिवर्तन’ कविताको टुप्पो मात्र राखेर अरु वास्ता नराखेको हुँ । आज एउटा परिवर्तन, भोलि त्यसको अर्को परिवर्तन र पर्सि पुनः परिवर्तन भैरहेको छ क्या । त्यसैले तिमी मरेपछि यहाँ महापरिवर्तन भएको छ । अहिलेका कुरा तिम्रो पुस्ताले बुझ्नै सक्दैन क्या बाजे! हामी आधा ज्युँदै रहेकाले समेत बुझ्न छोडिसकेका छौँ उनीहरूको कुरा । नयाँ पुस्ताले जानेको कुरा पुरानाले जान्दैन भने पुरानाले जानेको कुरा नयाँलाई चाहिँदैचाहिँदैन । तिमी मदानी बनाउने काठ खोज्न जङ्गल जङ्गल धाउँथ्यौ होला । अहिले राहदानीसमेत घरघरै टुप्लुक्क आइपुग्न थालेको छ । योभन्दा ठुलो परिवर्तनको अपेक्षा नै किन गरिरहनुपर्यो र बाजे ।
‘प्रजा’ र ‘स्व’ मात्र नमिलेका दुई पार्टीहरू मिल्ने हो भने संसदमा दुईतिहाई पुर्याउन कुनै माइकालालले रोक्दैन । त्यसपछि त संविधानका २४३ धारा मात्र हैन बाँकी रहेका थुप्रै धारा, उपधारा, इनार, कुवा, पँधेरा सबै परिवर्तन गर्न मिलिहाल्छ । संशोधन भन्नु नै परिवर्तन त हो ! पहिले एउटा मान्छेले अबिर दलेको थियो, अहिले मोसो दलेछ भने परिवर्तन भएको मान्ने कि संशोधन ? आफै मनन गर्नुहोस् । भेष बदले पनि केश बदलेपनि बदलिएकै हो । गालाको छाला कालोबाट रातो भयो भने परिवर्तन भएन त ? आखिर जनताले भोट दिएकै छन् । यही मौकामा चौका हानेर देशकै नाम परिवर्तन गर्ने सोच राख्न किन नसकेका हुन् हँ यिनीहरूले ? मैले त यिनीहरूभन्दा दस कदम अघि बढेर देशकै नाम परिवर्तन गर्नुपर्छ भन्छु । नेपालमा सिंह नै नभएकाले सिंह दरबारको नाम परिवर्तन गर्ने हो भने नेपाललाई पाल्ने कपोलकल्पित ती ‘ने मुनि’ पो कहाँ छन् र? त्यस्तो हावा कुराका आधारमा देशको नाम नेपाल रहिरहनुभन्दा झिक्कै झिक्कै माया गर्ने हाम्रा प्रधानमन्त्रीले पाल्ने जिम्मा लिएको यो सतीले सरापेको देशको नाम बदलेर ‘बालेन्ड’ किन नबनाउने ?
‘ल्यान्ड’लाई कसैले लैन्ड भन्लान् त कसैले लेन्ड । फरक के नै पर्छ र । मान्छेलाई पनि कतै मुन्छे त कतै मन्छे बोल्छौँ हामी । अझ यो त पराइको भाषा ल्यान्ड नै बोल्नुपर्छ भन्ने खाँचो छैन । तपाईँहरूले बाल्यान्ड नै भने पनि भन्नुहोला म त बालेन्ड नै भन्छु । यसो भयो भने थाइल्यान्ड, इङ्ल्यान्ड, फिनल्यान्ड, हल्यान्ड जस्तै हाम्रो देश पनि विकसित हुन टिङटिङ घन्टी बजाइरहनु पर्दैन । सुईँय्यँ सिठ्ठी बजाए पनि स्वीजरल्यान्डभन्दा माथि उफ्रिहाल्ने छ हाम्रो देश बाल्यान्ड ! आउनुहोस् अब संसदमा देशकै नाम परिवर्तन गरेर बालेन्ड राख्ने प्रस्ताव पेश गरौँ । इतिहासमा कहिल्यै नपाएको भोट पाएको यस्तो बालेन सरकारले यति पनि गर्न सकेन भने अरु परिवर्तनको के आशा रहला र ?
अब हाम्रो देश बालेन्ड चानचुने देश होइन भन्ने बुझे रिमाल बा! छिमेकीका सीमा मिच्ने क्षमता राख्न सक्ने भैसकेको छ । सधै भारत र चिनले मात्र हाम्रो सीमा मिच्नुपर्छ भन्ने छ र ? पटक्कै छैन । त्यसैले हाम्रो देशले पनि सीमा मिचेर अलिक ठुलो बनाओस् । त्यसपछि बालेनले भारतका खुला सिमालाई पर्खाल लगाएर बन्द गर्न सके भने बालेन्ड राख्न कसले नमान्दोरहेछ हेरुँला म पनि । सधै खुला सीमाका कारण हामी कति खुइलिनु । सीमा विवादलाई टुङ्ग्याएर देशलाई पर्खाल लगाएर घेर्ने त्यत्रो योजना हुँदाहुँदै पनि प्रतिपक्षी भनाउँदाहरूले कुखुराले कीरो पाए जस्तो गरेको देख्दा पो लम्फुदास दङ्ग छ । यो देशमा बस्न नचाहनेहरू विदेशतिर गए जाऊन् । यहाँ एआई जडित नयाँ मानवहरूको आविष्कार गरौँला नि । बरु त्यसपछि अरु देशकाले बालेन्डमा पिआर लिएर स्थायी बसोबास गर्न आऊन् क्या । यस्तो शुभ समाचार तिमीलाई यो लम्फुदासले छिट्टै पठाउनेवाला छ है महिषपाल बाजे । अनि त तिमीले पनि बालेन्डमा एकपटक ल्यान्ड नगरी भएन भनी इन्द्रसित बिन्ति बिसाएर विमानबाट ल्यान्ड गरिहाल्ने छौ ।
देशकै नाम परिवर्तन गरेपछि राजधानीको नाम उही थोत्रो राख्न सुहाउँदैन । फेरि भूकम्पले भत्काएर त्यो काष्ठमण्डप भन्ने मन्दिर पो अहिले कहाँ छ र ? त्यसको साटो बरु अब सरकारले छिटै सङ्ग्रहालयमा राख्न लागेका पुराना पार्टीका भ्रष्टाचारी नेताहरूले कुम्ल्याएको धन फिर्ता ल्याउँदैछ । कुन्नि कुन कुन ल्यान्डमा लगेर बैँकमा राखेका छन् रे नि, हो ती जम्मै गाँठ बटुलेर थुप्रो लाउने हो भने हाम्रो देश बालेन्डको राजधानी ‘गाँठमाण्डु’ राख्नु साह्रै सुन्दर हुन्छ । त्यसपछि त ए रिमाल बा ! तिमी र तिम्रा पुस्ताका बुढाहरूले पुनर्जन्म लिएर यहाँ आएछौ भने अहिलेका जेन्जी पुस्ताले तिमीलाई ‘साबिकको नेपालका आधुनिक कवि, उहाँ साबिकको काठमाण्डुमा जन्मिनुभएको हो रे’ भनेर परिचय गराउने छन् । गाँठमाण्डु चाहिँ गाँठैगाँठले भरिएको धनी सहर हुनेछ, बुझ्यौ?
नेदरल्यान्डका वासिन्दालाई डच भनिए जस्तै बालेन्डका वासिन्दालाई कसैले बालेन्डी भन्ने छैनन्; बाल भन्ने छन, बाल ! अनि हुँदैन त बबाल । नेपाल देश र नेपाली भन्ने जनताहरूको बुद्धिशुद्धि केही छैन । बालहरूको बुद्धि पनि बबालै हुने छ । अरु विकसित देशमा जस्तै प्राचिन महत्त्वका धरोहरहरूलाई बालहरूले बल्ल बचाउने छन् । अहिलेका नेपालीहरूले त ध्वस्तै गरिसके बाजे । तिमी बालेन्डमा ल्यान्ड गरेका बेला एउटा भव्य सवालजवाफ प्रतियोगिता पनि देख्न पाउने छौ । त्यहाँ बालेन्डको पुरानो नाम के हो ? भन्ने प्रश्नको उत्तर ‘नेपाल’ भनेर मिलाउने केबल तिमी मात्र हुनेछौ, सम्झिराख । अरु सबैले नेपालको नाम नै बिर्सिसकेका हुने छन् ।
नाम परिवर्तनको यो होडबाजी विकास हुँदै जाँदा साविकको नेपालका कुन कुन ठाउँको नाम के के राख्ने भनेर हाम्रा जाननीयजीहरू जुटिरहेको बुझिएको छ । अब हाम्रा जाननीयहरूमध्येबाट यो पृथ्वि अर्थात् अर्थकै नाम परिवर्तन गर्नुपर्छ भन्ने शर्त संयुक्त राष्ट्र संघमा लैजान बेर छैन । हामी अर्थका अभावले अर्थका जुनसुकै देशमा भौतारिनु परेकाले पृथ्वीलाई अर्थ भन्न पनि त सुहाएको छैन नि । हेर्दै जाऊ रिमाल बा ! यो विश्वकै नाम बदलिदिने त्यस्तो मर्द पनि बालेन्डमा जन्मने छ । यही थिएन त तिम्रो परिवर्तनको चाहना ?
जय बालेन्ड !
०००
२०८३ भदौ ९ गते
फोक्सिङ, गुल्मी ।
Subscribe
Login
0 Comments
Oldest








































