साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उल्टो बाटो

त्यसैले  सोझो बाटो चिप्लिएर लडिन्छ। उल्टो बाटो जहाँकोतहीँ गढिन्छ। सुल्टो बाटो गन्तव्यमा चढिन्छ भन्ने कुरामा म अलपत्र परेको छु ।

Nepal Telecom ad
रामप्रसाद अर्याल :
धत्तेरिका ! सोझो बाटो हिडेको छु भन्ने ठानेको त उल्टै बाटो  पो हिनिएको रहेछ।मेरो होस पनि कतातिर चर्नजान्छ जान्छ।अरुलाई भएको भए, अह्राएकोभए नाकका जुका झर्नेगरी झ्याँक्न, पेटकाकिरा मर्नेगरी ङ्याँक्न हुन्थ्यौ, पाइन्थ्यौ । आफूले आफैलाई के भन्नू र खै ?

तपाईं भन्नुहोला के भनेको यस्तो, बाटो पनि कहिँ कतै उल्टो हुन्छ ? होइन बाटो त सुल्टा नै हुन्छ, तर त्यसमा हिड्ने मनुवा  हिंड्न नजानेर,बाटो बिराएर बितर्किएपछि कसको बाउको के लाग्छ र ? अरुले अरुकै कुरा काट्दछन् । कुराकाटेर बाटो पनि काट्ने गर्दछन्। सजिलो अर्काको  कुरा काट्न हुन्छ।म भने अर्काको कुरा काटेर हिंड्दिन।कुरा नकाटिकन हिंड्दा त बाटो बिराइन्छ भने कुराको तालमा हिंडे गन्तव्यमा पुग्न  मुस्किल हुन्छ ।

होइन अर्को मनले भन्छ (उहिले एउटा मान्छे पूर्वदिशातर्फ हिंडेछ हिंन्दाहिन्दा कालान्तरमा जहाँबाट हिनेको हो उहीँ ठाउँमा आइपुगेछ आउँदा भने पश्चिमतर्फबाट आएकोे  रहेछ।यसैगरी उत्तरतर्फ लागे दक्षिणतर्फबाट आइन्छ।त्यसो हो भने बाटो बिरिईँदैन
म भने  अरुको नभै आफ्नै कुरा काटेर हिड्ने गर्दछु । आफ्नो     कुरा, आफ्नो छुरा।म भुरा छँदैको  कुरा।अरुको कुरा नकाटेको कारण नजानेर ,नसकेर र डराएर हो । अहिले सकारात्मक कुरा गरे पनि आलोचनाको सिकार भइन्छ। तर नकारात्मक  कुरा गर्ने हो भने प्रिय भइन्छ र ताली खाइन्छ।भनेपछि गाली  किन खानु पर्यो । आफ्नो कुरा गर्दै थिएँ । फेरि बाटो  बिरिएछ। अब ठिक बाटोमा आउँछु । म भन्दै थिएँ आफ्नकुरा ।

अरु पढ्न पाठशाला।म लड्न मधुशाला अरुका हातमा कापीकलम मेरा हातमा हँसिया ,नामली।अरु स्कुलमा म वनमा  अरु कक्षा चढ्ने म रुख चढ्ने ।

मेरा दौतरी सुट र टाई, कपालमा डाई लगाएर ठाट्टिएर जात्रा हेर्न  बजारमा जान्थे । म गाई हेर्न वनमा जान्थें।दाउरा,घाँसको  भारीले थिचिएको थाप्लो कन्याउँदै , पसिना पुस्दै भारी बिसाएर बसेको हुन्थें । वनमा ऐसेलु ,जिम्मु ,काफल र किम्बु खान्थे । पढ्न न गुन्न, ढुङ्गा हान्ने (ङुरकाउने) हुन्न। वनका कुरा ।गाई चराउन जाँदा लाठे तन्नेरीले गिज्याए ।

लाटी तरुनीले समेत खिज्याए । तब बल्ल बुद्धिको ढक्कन खुल्यो । त्यैपनि उल्टो । किताबलाई पुजेर ,गणेश र सरस्वतीलाई ढोगेर पढ्न सुरु ,खुरुखुरु  दायाँबायाँ कुनाकानी कुरै छैन ।जाँचको बेलामा अरुले चोरचार,सोरसार गरेर पास,आफू सत्यानाश।अरु श्रीगणेश आफू गोबर गणेश । तैपनि चित्तबुझ्दो ,बुझाइँदो छ।जसले जता लोटायो त्यतै लोटिने हल्लौडो। जुठो लोटाउने गोबर ।

बुद्धि हुनेले किशोर किशोरीलाई टिउसनका नाममा दुहुनो गाई बनाएर बाल्टी भर्दा आफूले भने “सेवानै धर्म हो “ भनेर निःशुल्क पौढकक्षा सञ्चालन। लाल्टिनमा मट्टीतेल भर्नसमेत आफ्नो खल्तीबाट।आजको जमानामा “बिना धन केही नभन“भन्ने जान्दाजान्दै सेवामा सन्तुष्ट ।तलवी कर्मचारीले समेत नजराना नपाए काम अड्काएर   राखेका हुन्छन्। हुन पनि हो(फल नलाग्ने बोट कसले पो रोप्छर ? फलमा समेत कल हुन्छ  अचेल। ठुलो,सानो , मिठो ,नमिठो धेरै ,थोरै,  सस्तो महंगो भनेर । निःशुल्कको भाउ खोलापारि जाउ । सत्ताको कोर्लीगाई वतासे ब्याएपछि भाइलाई नचिन्ने ,दिदीबहिनी नभन्नेहरु गन्नेमान्ने भएकाछन्।

आफूलाई भने पुरानो गोठको भकारो सोहोर्दा सोहेर्दा धकारो मेट्ने फुर्सद पाएको होइन। फोहरको डङ्गुर पनि कति हो कति  पुरानो घर जतिसुकै लिपपोत गरे पनि भुकम्पको सानो झट्काले गर्ल्यामगुर्लुम। त्यसैले त चिट चोरेर पास हुनेहरुले पुराना जतिसबैलाई माटोमा मिलाए ।कति संकुचित विचार मेरो आफ्नो घर सिंगारेर देश सिंगार्ने योजना गाउँमा बस्यो,गाउँ सफाई गर्ने,डहर बढार्ने बडहर काट्ने,नाला लाने,पानीको धारो निर्माण गर्ने,बिजुली बाल्ने,गाउँ झलमल्ल पार्ने ,साँघु हाल्ने,पुल बनाउने,धाँजा फाट्यो सिलाउने ,मुद्दा परे मिलाउने । कचहरी बस्नु र सुतीपस्नु बाहेक के नापिस् मनुवा तैले आजसम्म? जिस्कायो म भित्रको मले मलाई । कतै कतै खोला पनि उल्टो बगेको हुन्छ । हामीकहाँ  उल्टे कुलो  प्रसिद्ध छ। कालीगण्डकी उत्तरवाहिनी भनेर सुनिएको मात्र होइन देखिएको पनि छ ।कतिपय जीव ,जन्तु, र जनावरहरु उल्टो जन्मेको हुन्छन्।अहिले  यसै सन्दर्भमा एउटा गीत याद आयो ।“ यो कली धपक्कै बली ,बाउको नली  छोराको मुरली “। यो समयमा बुढाका कुरा सुनिदैन र मुढाको आगो पनि तापिँदैन।त्यसको साटो  झिँजाको आगो तापिन्छ र मिजाको कुरा सुनिन्छ।त्यसोत सरकार पनि सुल्टै छ। काम मात्रै उल्टो छ ।

विगतको सपना वित्यो वित्यो आगतको कल्पना कल्पनानै हुन्छ । बास्तबिक भनेको  वर्तमान न हो । यो अत्यन्तै पीडादायी छ।हिजोको विनाशकारी काम आगोलाई दोष लगाम।आजको दोष पानीलाई लगाम हामी आफूलाई पानी माथिको ओभानो  मानम। नभए यसमाथि पनि  राजनीती गरौँ दोष अरुलाई लगाम ।

वर्तमान जो हो त्यो संघर्षशील छ, हुन्छ। अहिलेसम्म म गाउँमा छु ।भाइभाइ वीचमा परेको ,पारिएको खाडल पुर्दै,बाँदर  धपाउँदै।होइन बाँदरे मलाई धपाउँदै  छ । मानव जङ्गल पसे । बाँदर गाउँमा बसे । त्यसो त मानिस पनि बाँदरकै सन्तान हो । निर्माणकार्य भन्दा बिद्ध्‌वंश
मच्चाउन सिपालु । आफ्नो देशबाट युवालाई विदेश पठाउने र देशमा कामगर्ने मजदुर वाहिरबाट  झिकाउने ।

आफ्नो वनका  सुखेका काठ नियम विनियमको हवाला दिएर सडाउने विदेशबाट झिकाउने । युवा बेच्ने र रेमिटेन्स लिने। अनि देश समृद्धिको यात्रामा अगाडि बढ्दै छ,भाषणमा फलाक्ने।बाढीपीडितलाई तत्काल उद्धारमा लाग्नु भन्दा मृतकका लाशका गहना  जिप्ट्याउने । राहतका सामग्रीले आफ्नो घर भर्ने। आफू धनी बन्ने बाटो  सुल्टै हो कि उल्टो म भन्न सक्तिन ।

अहिले हिमाली छाँया र स्वदेशको माँया लाटोको लँगौटी भन्दा पनि प्यारो भएको छ । देशका स्थायी जागिरे अफिसर अवसरको खोजिमा विदेशको बाटो समाएर गएबाट मापनगर्न सकिन्छ।र बलबैँस हुनेले उमेरमा जहाँजहाँ गए पनि पछिल्लोपटक घरमै फर्किने हो भन्ने कुरा पनि पानीमा पारे जस्तै हो  श्रीसम्पति बेचेर जानेलाई के भन्न सकिन्छर खै आफू त परियो घरगौँडे। चिप्लो बाटोमा माछा  मारेको भर। पुर्ख्यौली थातथलो छोड्न ,सहरमा घरघडेरी जोड्न नसक्नेले के को राष्ट्रभक्ति ?

जतिसुकै राष्ट्रघात गरेको भए पनि सिंहासनमा राजगरेका देउतालाई सहयोगीहात बढाउने हो भने राष्ट्रभक्ति ठहर्दछ। गाउँमा केही   नगरोस् ठाउँमा गरे पुग्छ । सुमेरु पर्वतको लम्बिने  उल्टोबाटो किन ? फूलप्रसाद लिएर तीनफन्का देवीदेउताको चरणमा घुम्ने होभने काम तमाम।

सजिलोसँग बन्ने काम गर्न नजानेर  बाटो बिराएर दुः ख पाइएछ जीवनभर। मान न सम्मान सबै समान भन्ने लाटा सोझाले मात्रै हो । जान्ने र सुन्ने, टाठाबाठाले मन्नेलाई मान्छन्,  त्यो पनि लाभांश हेरेर । नमान्नेलाई लाठाले हान्छन् । तँ अघि बढिस् भने … ।   त्यसैले  सोझो बाटो चिप्लिएर लडिन्छ। उल्टो बाटो जहाँकोतहीँ गढिन्छ। सुल्टो बाटो गन्तव्यमा चढिन्छ भन्ने कुरामा म अलपत्र परेको छु । हत्या हिंसा, आगजनी, लुटपाट र अश्लील गाली गलौजको बाटो हिनेमा छिट्टै सत्तासुन्दरी भेटिने रहेछ। चोर्न पनि कला सिप चाहिन्छ भन्ने सुनेको मैले सहिबाटो नपाएर भौतारिंदै आएका  छु ।

यदि तपाईंले सहिबाटो फेला पार्नु भयो भने कृपया बताइ दिनुहोला नत्रभने जुनीभरि उल्टो बाटोमा हिँड्ने भएँ ।

०००
तानसेन पाल्पा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चुपचाप

चुपचाप

रामप्रसाद अर्याल ‘अविराम’
स्वागत तालिले गरौँ

स्वागत तालिले गरौँ

रामप्रसाद अर्याल ‘अविराम’
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
जता मल्कु त्यतै ढल्कु

जता मल्कु त्यतै ढल्कु

रामप्रसाद अर्याल ‘अविराम’
मलाई मनपर्ने दलको दाल

मलाई मनपर्ने दलको दाल

रामप्रसाद अर्याल ‘अविराम’
हस् हजुर ! हुन्छ हजुर !!

हस् हजुर ! हुन्छ...

रामप्रसाद अर्याल ‘अविराम’
श्रीझोले महापुराण

श्रीझोले महापुराण

डा. गाेपाल पाैड्याल ‘मण्डने’
फँणा फिजाए नि तँ मेरै आहारा होस्

फँणा फिजाए नि तँ...

सुरेशकुमार भट्ट
रैथाने व्यापारको करामत !

रैथाने व्यापारको करामत !

ठाकुरप्रसाद अधिकारी
भाग्यमानीको निधार ठूलो

भाग्यमानीको निधार ठूलो

कृष्ण शर्मा सुमु
0
Would love your thoughts, please comment.x
()
x