साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हस् हजुर ! हुन्छ हजुर !!

त्यसैले मैले पनि कसैलाई हस् र हुन्छ भन्न छोडेको छु । यसो गर्दा इमान नामको चिज अलिकति भए पनि जोगिएला नत्र चुपचाप आफ्‌नै ठाउँमा छाप !

Nepal Telecom ad

रामप्रसाद अर्याल :

जव हजुरले गजुर लगाउँछ तब भाले मजूर नाच्न थाल्दछ। चङ्खे मजुर जुर्मुराउँछ, मुर्मुराउँछ । हसको बसमा दुनियाँ बाँधिएको हुन्छ, खाँदिएको हुन्छ । हुन्छ भन्ने क्रियापदले सकारात्मक सन्देश दिन्छ। आशाको दियो जलाउँछ। बाँच्ने र हाँस्ने जिजीविषा पलाउँछ । तिर्सना विर्सन सक्दैन मानिस । र त उसले जिम्मेदार व्यक्तिसंग विभिन्न माग पस्किन्छ । दुखेसो पोख्दछ । आशामुखी नजरले नम्र स्वरमा बिलौना बिच्छाउँछ। ख्वामित ! समस्याको पहाडले थिच्यो। महंगीको भारले किच्यो। जिम्मेदारीको भारी कहाँ लगेर बिसाउँ ? यत्ति ब्यबहार मिलाउँ । लौन सहयोग पाऊँ ।
उत्तर पाउँछ, “हस हजुर ! हुन्छ हजुर !!

अहिले दिनहुँजसो माग्नेहरूको लस्कर मतदाताका घरघरमा लागेको छ । उनीहरुको गर्दन झुकेको र मतदाताहरुको प्रश्नमाथि प्रश्नले ओठ तालु सुकेको छ । कसैको गर्जन चर्को छ । गर्जन चर्को हुनेहरुको पक्षमा रमितेहरुको लर्को ठुलै देखिन्छ । भलै मत अन्तै किन नदिउँन ।

सुन्नमा प्रिय लाग्ने हस् हजुर ! हुन्छ हजुर । तर यसो भन्दै जनताको घरदैलो चहार्दै आउँन थालेको कति वर्ष भयो ? उत्तर आफै भित्र खोज्नु राम्रो हुन्छ किन भने हामीसँग माग्न आउनेजति सबैलाई हामीले पनि “हस हजुर ! हुन्छ हजुर भनेका छौं ।

यी शब्दहरु चुनावका बेला बढी सान्दर्भिक हुन्छन् । जतिजनाले जुनसुकै बेला मागे पनि दिन सकिने । दिएर कहिल्यै नरित्तिने शब्द । हस र हुन्छमा मोहनी जादु छ । यो जादू इन्द्रजालभन्दा कम छैन । विरोधीलाई समेत आफ्नो पक्षमा ल्याउन सक्ने खुली यसमा छ हुन्छ मा छ ।

बुढापाका र धेरै हिउँद खाका मानिसहरूले मुखले कुरा मिलाए पनि काँचो धागोले भोटो सिलाए पनि नव जेन्जी पुस्ता भने हस र हुन्छ भन्नेमा छैनन् भलै सत्य र तथ्य कुरा नै किन नहोस् । देश खाएर शेष पल्टेका जबरस्वाँठहरुलाई समेत होहल्लाका साथ बिल्लीबाठ पार्न थालेका छन् उनीहरुले कल्कलाउँदो जोवन, आलोकाँचो बुद्धि, नउम्रिसकेको सुद्धि स्वार्थवस् प्रयोग हुने । काक्रा फर्सी चोर्न कसैको घर फोर्न परे कसैको छोरी भगाउन, घरमा आगो लगाउन हिन– जाम हुन्छ हजुर । हस् हजुर ।

आफूले गरेको कार्यले कसको हित गर्दछ। अथवा कस्तो परिणाम निस्कन्छ ? समाजमा के असर पर्दछ ? भनेर सोच्च विचार गर्न नपर्ने उरन्ठेउलो जवाफ दिए पुग्ने। सही र गलत छुट्याउन, दुधको दुध पानीको पानी छुट्याउन पनि न पर्ने । जसले जे भने पनि हुन्छ, हस् ।

मान्छेले भन्दछन् आफ्‌ना आखँले देखेका जति सबैकुरा सत्य हुँदैनन् । आफ्नै कानले सुनेका कुरा पनि सत्य नहुन सक्तछन् । महाभारतको कथा पढ्दा थाहा हुन्छ। गुरु द्रोणाचार्यले अश्वस्थामा मरेको सुनेका थिए तर त्यो आफ्नो छोरो अश्वस्थामा थिएन । अश्वस्थामा हात्ती थियो ।

२०४०/०४१ को कुरा हो देशभर शिक्षकहरूको आन्दोलन चलिरहेको थियो। शिक्षा मन्त्रालयमा धर्ना। काठमाडौँ जाऔं। व्यतिखेर म संघर्षशील शिक्षकको परिचय बनाएको थिएँ । विद्यालयका संचानक समिति अध्यक्ष जिल्लाका नामुद पञ्च र गाउँफर्क अभियानका जिल्ला अध्यक्ष थिए। उनले विद्यालयमा आएर एउटा फर्मान जारी गरे ।“ हाम्रो विद्यालयबाट कोही कतै नाजाला। मैले भने हस् हजुर । हुन्छ हजुर !! यातिखेर विद्यालय बन्द हुन्छ । म मामा घर जाउँला ।

पेशागत हक र हितको संघर्ष कस्ले छोडोस् । म काठमाडौं जान उत्साहित हुनुको अर्को कारण पनि थियो । देशको राजधानी सहर घुम्न र देख्न पाइने । दो काज एक पन्थ । आफूले चिताए जस्तो सरल रेखामा जीवनरेखा चल्दो रहेनछ । “आफू ताक्छ मुढो बन्चरो तान्छ घुडो भने जस्तो पो भयो त मेरो राजधानी मात्रा । उद्देश्य पवित्र थियो हक र हितको । राजधानीमा पहिलो पाइलो टेक्ने रात सुनधाराको त्रिशक्ति नामको लजमा हाम्रो टोली बास बस्यो । अर्को दिन चैत्र २९ गते विहान चोखो मुख पशुपतिनाथको दर्शन गर्ने जाम, उतै माम खाम, उनैतिर जुलुस भेटाम भन्ने मनशुभा राखेर हिँडियो पैदलै । रत्नपार्क, घण्टाघर, बागबजार, त्यसपछि डिल्लीबजार महाकवि लक्ष्मीप्रसाद देवकोटाको गाउँ हेर्दै टोली विस्तारी चालले हिन्दै थियो । पहिलो पटकको राजधानी नेपालयात्रा । गाँउका केटा केही नदेखे जस्ता जे देख्यो लाटाले केरा हेरेझै हेरिरह्‌ने टोलाई रहने ।

झ्याप्पै जुलुसले भेट्टाइ हाल्यो। हामी पनि के कम नारा लगाउन थालौं। “हाम्रा माग पूरा गर्। बन्दी शिक्षक रिहा गर्। भोको पेट, चैते घाम, मुख प्याक्प्याक्ति सुख्न थाल्यो। प्रहरीले अश्रुग्यास हान्यो। लाठी चार्ज गर्यो। कटवाँसको लाठीले डंडाल्नो मस्काइ दियो। थचक्कै हुने गरी । अनि कोंचार्यो ट्रकमा र लग्यो प्रहारीको खोरमा । ट्राफिक प्रहरीको सभाहल आन्देलनकारी शिक्षकहरुको भिडले खचाखच भरिएको थियो । त्यहाँको अवस्था देख्दा मलाई आदिकवि भानुभक्त बाजेको कान्तिपुरी नगरीको एउटा कविताको सम्झना आयो :–

पथ सात फुटे बस नौ गजको
सिट बीसभए भिड सौ तकको
छ त अन्तकतै सुबिधा यसरी
अलकापुरी कान्तिपुरी नगरी ॥

मनमनै गमें भैरव अर्यालको रूपान्तरित रूप कुनै शिक्षकमा ठेकिन आए अर्कैखाले कविता पोखिने थियो। सय सवासयको क्षमताको कोठा छ सय भन्दा बढी शिक्षक, सिन्की खँदाइ खाँदिएर, चेष्टिएर, नेप्टिएर रहेका । अक्सिजनको अभाव । हपहप्पी गर्मी कोही पानीपानी भन्दै चिच्याउने ,कोही बस्ने ठाउँ खोज्दै घिच्याउने । कोही अन्यायको विरोधमा दृढ देखिन्थे । कोही बाहिर निस्कने अवसरमा परिचितसंग छेकिन्थे ।

उनीहरु भन्थे म शिक्षक होइन । म तरकारी किन्न हिनेको, कोही भन्थे केटी छिन्न हिनेको । म कपडा रोज्न हिनेको । म गहना खोज्न हिनेको । पिनेको लिए बहाना चाहिए भने जस्तो। अनेकानेक निहुँ छिक्थ्ो । कोठा भित्र अटाइ नसक्नु, दिसा पिसाब खटाइ नसक्नु भएको थियो ।

कुनै प्रहरीले दया देखाउने कुनैले क्रुरता । कुनैले भन्ये माथिको आदेश । माथिको आदेशको अवज्ञा गर्न मिल्दैन । गर्न नहुने र गर्न नसकिने काम पनि हस हजुर ! हुन्छ हजुर !! भन्नु पर्दछ । भनाइ नै छ नि नुन खाए पछि नुनको र सिन्दूर पहिरिए पछि पोइको जसो गर्नुपर्दछ। भलै लुकिछिपी घुस खान पल्केको र नाठोसंग सल्केको नै किन न हा्‌ेस । अचेल बाहय र अन्तर्य एउटै भेटाउन कहाँ सक्नु र हजुर ।

यता कोहीको गफ चल्दैथियो उता कोहीको धैर्यको बाँध गल्दै थियो। हजुर ! सर म भुक्मानमा परेर आएको। छुट्कारा पाऊँ । प्रहरी कार्यालयका प्रमुखले कागजमा सहि गराएर मुखले कबुलाउँदै थिए। अब पञ्चायती व्यवस्थाको समर्थन गर्नू । नारा जुलुसमा चिच्याउँदै नहिन्नू । फेरि नाराजुलुस निकाल्दै हडताल गरेर पक्राउ परे अत (अराष्ट्रिय तत्व) लाई दिउँला । हुन्छ? सबैजसो रुञ्चे सरहरुको एउटै स्वर थियो। हुन्छ हजुर ! हस हजुर !!

थकित शरीर, भोको पेटमा कुर्ला बासिरहेको थियो । बाहिर निडर देखिए पनि भित्र मनमा डर र त्रासले बास गरेकै थियो। कतै रातको समयमा जंगलमा लगेर गोलीले स्वागत त गर्दैन ? के थाहा ! सुखानीको जंगलमा छजना होनहार युवालाई गोलीको तातो स्वाद चखाएकै सरकार त हो यो। तर त्यस बेलाको सरकार बडो दयालु पो देखियो त । रातिको बाह्रबजेतिर ओसिएको चिउरा, चिसिएको तरकारी लिएर दुईजना प्रहरी जवान देखा परे। एक पेजको गोरखा पत्रको चार छेउमा एकएक मुठी चिउरा र एकएक डाडु तरकारी भुईंमा फ्यात्त फालेर ल चारजनाले मज्जाले खानूस् है भने। प्रतिउत्तरमा लौ लौ !! हुन्छ हजुर ! हस् हजुर भनियो ।

त्यसो नभनेर के भन्ने त ? बाहिर बसे रैती, भित्र बसे कैती भन्ने जमाना थियो त्यो । काठमाडौको प्रहरी खोरमा एक हप्ता र पछि तौलिहवाको जेलमा गरी एक महिना विताएपछि विद्यालयमा हाजिर हुन आएँं । त्यति सजिलै हाजिर हुन कहाँ पाइन्थ्यो र ? पञ्चको शासनमा। स्कुल भिड्केको दिन ठुलो भेला डाकिएको रहेछ स्पष्टिकरण लिन । भेलामा मलाई अध्यक्षले राताराताआँखा देखाएर चोर औला ठड्याउदै गर्जेर भने यतिका दिन कहाँ बसेर आइयो माडसाप !! मैले दृढ स्तरमा भने मामाघर ।
अध्यक्ष – (जङ्गिदै) हुन्छ मामाघर । जेल गएको होइन ?
मैले व्यङ्गयको शैलीमा भने हो जेललाई त मामाघर भन्दछन् नि ।
अध्यक्ष–तपाईं हड्तानी मास्टरलाई हुम्ला जुम्ना सरुवा गर्दिम ?
मैले भने– हुन्छ हजुर ! हस् हजुर !!

यसबाट थाहा हुन्छ कि हस्, हुन्छ भने पनि त्यो काम गनै पर्छ भन्ने छैन । म सरुवा पनि भइन । पछि सरोकारबालाले मेरो काम भयो भनेर सोधे जा ! बिर्सिएछ भने पनि हुने । मैले त गर्दिएको हो तर फलानाले बिगारिदिएछ भनेर उम्किन पनि पाइने । हाम्रो जस्तो समाजमा त झन आश्वासनको चास्नी खान दिए मात्र सबै चक्ख सबै मख्ख । आश्वासनको लड्डु खाएर जीवन घान्ने बानी परेका हामी नेपाली ।

भर्खरै भएको प्रतिनिधि सभाको निर्वाचनको कुरा गरौँ । मेरा अभिन्न मित्र आफ्नो नाम चलेको पार्टीको टिकटमा उमेद्वार बन्नु भयो। निष्ठा, योग्यता क्षमता र समााज सेवाको हिसावले खोट लगाउने ठाउँ छैन । चुनाउ जित्ने कुरामा उहाँ र उहाँको दल ढुक्क थियो ।

चुनावपछि हिंजोमात्र उहाँ देखा पर्नुभयो । मौका मिलाएर मैले प्रश्नको पेटारो खोलें । हैन माननीयज्यू ! यो चुनावमा हजुरको र हजुरको दलको कान्ता ं वियोग भन्दा पनि ठूलो कन्तबिजोग हुनुको कारण के होला ? रुञ्चे हाँसो हाँस्दै उहाँले भन्नुभयो– पहिलो कुरा त म यो मेरो क्षेत्रको टोल वडा, पालिकाका वस्तीतस्तीमा परिचित छु । म मत माग्न जहाँजहाँ गए कसैले पनि तँलाई मत हन्ुन दिन्न भनेनन् । त्यसको साटो फूलमाला लगाइ दिए। नारा जुलुसमा हिंडे । घरघरमा, टोलटोलमा स्वागत पनि गरे । कतिले घरमा बास बसाले, कुखुरा काटे मासुभात खान पनि दिए ।

धेरैजनाले भने होटेल होटेलमा नास्ता पानी खाए। यातायातमा पनि धेरै खर्च गराए । पैसा भनेजति मागे, तिराए । तर भोट दिने बेलामा चुपचाप अन्तै छाप गराए । भोट गन्दा त म छाँगाबाट खसे जस्तो भएँ । कतिदिन त बाहिर मुख देखाउन पनि सकिन लाजले भुतुक्कै भएँ । आज पहिलो पटक बाहिर निस्किदै छु। अव त विश्वास भन्ने चिज कसैमा पनि रहेन । आफ्नै श्रीमती र छोराछोरीको समेत भोट परेन छ कि ? मलाइ त शंकै लागेको छ । नत्र भने जमानत जफत हुने मान्छे हो त म ?

हस् हजुर ! हुन्छ हजुर !! को विश्वास पर्दा दुनियाले धेरै दुख पाएको, हण्डर खाएको छ। त्यसैले मैले पनि कसैलाई हस् र हुन्छ भन्न छोडेको छु । यसो गर्दा इमान नामको चिज अलिकति भए पनि जोगिएला नत्र चुपचाप आफ्‌नै ठाउँमा छाप !
हस् हजुर ! हुन्छ हजुर !! अवलाई बस हजुर !।

०००
पाल्पा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मलाई मनपर्ने दलको दाल

मलाई मनपर्ने दलको दाल

रामप्रसाद अर्याल ‘अविराम’
भाँजी मार्नु

भाँजी मार्नु

रामप्रसाद अर्याल ‘अविराम’
जङ्क पोलिटिक्स

जङ्क पोलिटिक्स

रामप्रसाद अर्याल ‘अविराम’
फुक्लिएको दाँत

फुक्लिएको दाँत

रामप्रसाद अर्याल ‘अविराम’
तैँले गर्दा

तैँले गर्दा

रामप्रसाद अर्याल ‘अविराम’
तब पो हुरी !

तब पो हुरी !

रामप्रसाद अर्याल ‘अविराम’
अदालत

अदालत

आर.सी. रिजाल
विद्यार्थी जीवन

विद्यार्थी जीवन

अनुश्री आचार्य
सहरिया

सहरिया

सीताराम नेपाल
ससुराली !

ससुराली !

धनराज गिरी
रक्षा गर

रक्षा गर

रामकृष्ण ढकाल
मजदुरमा दरार

मजदुरमा दरार

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x