साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तैँले गर्दा

मानिसको धेरै दोष भए पनि एउटा चाहिं गतिलो गुन छ । त्यो के भने उन्नति, प्रगति भएको जति मैले भन्न छोड्दैन । भलै त्यसका लागि सिन्को नभाँचेको किन नहोस् ।

Nepal Telecom ad

रामप्रसाद अर्याल :

मानिस चतुर, दुष्ट, स्वार्थी, धर्मी, अधर्मी, शर्मी, बेशर्मी, मूर्ख र विद्वान प्राणी हो । जब उसको बुद्धिको विर्को बन्द हुन्छ तब उसको गिदीमा लिदी भरिन्छ । त्यो बेला अलिकति मात्र परिस्थिति विग्रियो भने आफू बाँच्छ, आफ्नालाई बचाउँछ र अरुको खुट्टा भँचाउँछ । यति धेरै विशेषताको खात उसको हात नलागेको भए उहिलेको र अहिलेको व्याधि आउँने थिएन । र यो उपाधि खति पनि हुने थिएन । मतिमा किरा परेर सिङ्गोमा चिरा परेर टुक्रिए पनि खुङ्खार देखिएर डुक्रिन भने छाड्दैन । जति पनि बनेको बनाएको मैले अनि सबै बिग्रेको बिगारेको जति तैले गर्दा खेरि हो । भन्न पनि छाड्दैन चतुर खेलाडी न पर्‍यो मान्छे ।

दृष्टले गर्ने भनेको दुष्ट्यार्इं हो । दुष्ट्यार्इंको पुष्ट्याईं भए पनि अस्वीकार गर्नु उसको धर्म हो धर्मको पालन गर्न शर्म मान्ने कुरा पनि भएन । अनि त भन्नु पर्‍यो यो भएको कालो कर्तुत मैले होइन “तैँले गर्दा खेरि” हो । तितो तितो तँलाई मिठो मिठो मलाई भनेर केटाकेटीले खेल्ने खेल सबैले देखिएको छ । सानैदेखि तालिम पाएको हुनाले अहिलेसम्म पनि मानिसले आफ्‌नो गल्तीलाई स्वीकार्दै स्वीकार्दैन । त्यसको सट्टा अरुलाई दोषको भारी थुपार्दछ ।

घरघरको कहानीबाट सुरु गरैँ है त । एउटा जगल्टे तन्तेरीले एउटी जगल्टी तरुनीलाई जगल्ट्याएर ल्याउँछ । यता सासूले भन्दछिन् हाम्रो घरको सम्पत्ती देखेर, मेरो सोझो छोरालाई फंँसाएर, दुनियाँ हँसाएर आई । नौमति बाजा बजाएर, जग्गे सजाएर धुमधामले एक्लो छोराको विहे गरम्ला भन्ने कत्रो धोको थियो, त्यै छँडुलीले गर्दा सबै धोको धोको नै रह्यो । उता माइती पक्षकाले भन्दछन्‌– हाम्री बत्तीसै लक्षणले युक्त भएकी, घर छाडेर कतै नगएकी छोरीलाई मोहनी लाएर लग्यो । हाम्री बालखी छोरी पोइला जाने जस्तो त थिइन । त्यै केटाले गर्दाखेरि हो । केटालाई गाली गर्दैे भनिन्छ तैँले गर्दा ।

भनाई ज छ नि हाम्रो पोइ राम्रो घर परे मेरो भाग्यले, नराम्रो परे त्यै लमीले गर्दाखेरि । गाउँघरतिर सुत्केरीको व्यथा लागेकी पैलँौटी केटीले केटालाई गाली गर्दै भनिन्छ तैँले गर्दा ।

आफ्‌ना छोराछारीले पढ्न जानेनन् र फेल भए स्कुलमा मास्टरले नपढाएर, अभिभावकको आरोप । घरमा पढ्ने वातावरण नमिलाएर शिक्षकको आरोप । गाडे पल्टेको बिरामी अस्पताल ल्याइन्छ । डाक्टरले राम्रो उपचार गर्न नपाउँदै विरामीको देहाबसान हुन्छ । विरामीका आफन्तले भन्दछन् डाक्टरले गर्दा । अस्पतालमै डाक्टर कुट्न सुरु हुन्छ । क्षतिपूर्तिको माग राखिन्छ र भनिन्छ त्यसले गर्दा ।

चालक अनुमतिपत्र लिएको, मालपानी पिएको ड्राइभरले भिरबाट गाडी गुल्ट्याउँछ र भन्छ तेल्ले गर्दा । “नाच्न नजान्ने आँगन टेडों” देख्नेहरू कति छन् कति । चुनावमा उमेद्वारहरूले हार्दछन् र भन्दछन् ‘तेल्ले गर्दा ।’ नत्र म हार्ने मान्छे हो त ? आाफूले जिते लोकप्रिय भएर, अर्कोले जिते, धन खर्च गरेर, धाँदली गरेर ।

अचेल निष्ठामा विष्ठा परेको तत्वदर्शीहरू खोली झरेको भनेर भन्नु हुँदैन । सामान्य ठानेका मान्छेहरू पनि भित्रभित्रै कुहेका मुसुमुसे गन्ध चुहेका हुन्छन् । यता गाउँको घरमा श्रीमती सासूससुराको स्याहार सुसासारमा जीवन आर्पण गरेकी हुन्छिन् । उता सहरमा हाकिम श्रीमान कार्यालयकै कर्मचारीसँग यौवन समर्पण गरेका हुन्छन् । सुगन्धित हावा फैलिन बेर लाग्दछ तर दुर्गन्धित हावा छिटो फैलिन्छ । आमाले थाहा पाउँछिन् र बुहारीलाई भन्द्छिन्‌– तैँल ेगर्दा । एउटा पोइलाई पनि चित्त बुझाउन नसक्ने । बुहारी मनमनै भन्छिन– पोइ पनि कतिवटा हुन्छन् र हो ? फेरि मलाई सँगै जान दिएको भए पो । भित्रभित्र अन्तैे सल्केका रहेछन् र पो मलाई साथमा लग्न नमानेका ।

यो युगमा श्रीमती सती सावित्री मात्र कहाँ छन् र ? हाम्रो देशको, समाजको, गाउँको हाल बेहालनै छ । घरको दुःखले नवयौवना, अङ्गना, अर्धाङ्गिनीलाई चटक्क छाडेर खाडीमा पसिनाका धारा बगाउँदै खाडीमा झाडी फाड्दै पैसा पठाएका हुन्छन् श्रीमानहरूले आफ्‌नो घरमा ।

घरमा श्रीमतीजीहरूलाई कामदेवको बाण लाग्छ । त्यसले हायल कायल बन्दछन् । घायल बनेपछि उपचार खोज्नु स्भाविकै हो । अनि त नाठोसँग रात कटाएका हुन्छन् । केही वर्षपछि श्रीमान आउने भन्दा अघिल्लो रात नाठोसँग लगनगाँठो । श्रीमती सम्पत्ति सहित परिपाठ । यता श्रीमानको हाल बेहाल भएर बिल्लीबाठ । डिप्रेसनको सिकार बनेको श्रीमानले मनमनै भन्छ– श्रीमती त सोझी थिई त्यहीे नाठोले गर्दा ।

भन्न त बुढापाका मानिसहरूले भन्ने गर्दछन् “आफ्‌नो थैलीको मुख राम्रोसँग बाँध्नु, साथीलाई दोष नदिनु ।” तर हामी उत्तरआधुनिक युगका बौद्धिक मान्छे न पर्‍यौँ । जस जति मलाई अपजस जति तँंलाई । मिठिमिठी मलाई तितीतिती तँलाई । आलोचना सहने शक्ति भक्तिमार्गमा लागेका भक्तलाई त छैन भने अरुलाई कहाँबाट हुनु । आलोचना आत्मालोचनाको परिपाटी खरिपाटी बिलाए झैँ बिलाएर गयो ।

मान्छेले गर्न हुने र गर्न नहुने काम गर्छ । चोरले चोरी गर्छ । हत्याराले हत्या गर्छ । बलात्कारीले बलात्कार गर्छन् । भ्रष्टाचारीहरूले भ्रष्टाचार गर्दछन् । लुकीछिपी । कतै एक्लै कतै समुह मिलेर र सेटिङ मिलाएर । उजुर पर्‍यो भने न्यायाधीशको अगाडि एउटा सानो, सोझो निमुखो कर्मचारीलाई आरोप लगाउँछन् तेल्ले गर्दा ।

पुरानो जमानाका ओकिलको कुरा गरौं । झगडिया वादीले मुद्धा मिलाई दिन नजरांना स्वरुप कम्बल दिएछ ओकिललाई । मुद्धा फैसला गर्ने दिन ओकिलले आफ्‌नो पक्षमा बहस नगरेको देखेपछि कम्बल दिएको कुरा सम्झाउने उद्देश्यले भनेछ– हजुर कम्बलमा बसेजस्तै गरी न्याय गरिवक्सियोस् । ओकिलले कुरा बुझेर उत्तर दिएछन्‌– कम्बल त गाईले खायो ।

अदालतप्रति हाम्रो निष्ठा त्यसै उच्च भएको होइन । हिजो अदालतको न्याय गाईले खाने रहेछ । आज के के चिजले खाने गर्दछ कुन्नि ! अनि भन्नु पर्‍यो गाईले गर्दा ।

छिन्नभिन्न भएको अमुल्य चिज खेर गएको तैँले गर्दा । अवनति, पतन, धब्बा, कालो दाग लागेको तैंले गर्दा । देशका युवाको पलायन तैंले गर्दा । देशमा भएका चलेका कलकारखाना बन्द तैंले गर्दा । पुरानो गौरवशाली संस्कृति हराउँदै गएको तैंले गर्दा । पश्चिमा संस्कार मौलाउँदै गयो तैंले गर्दा । असचेत नागरिकले धर्म बदले तैंले गर्दा । सचेत भनेकाहरूले कर्म बदले तैंले गर्दा ।

युवाहरूले सुशासनको माग राखे । भ्रष्टाचार विरुद्ध नारा लगाए । न्याय र समानता खोजे । सञ्चार सुविधा रोजे । देशभित्र बस्न चाहे । रोजगारी मागे । आन्दोलनमा उत्रिए । सबै तैंले गर्दा । देशमानै आगो लगाए । पैसा जलाए, सरकार ढलाए । सबै तैंले गर्दा । जित्नेलाई हराए नजित्नेलाई जिताए तैंले गर्दा । तँ बैंगुनी होस् सबै बिगारिस् । भत्काइस्, तहस नहस पारिस् ।

मानिसको धेरै दोष भए पनि एउटा चाहिं गतिलो गुन छ । त्यो के भने उन्नति, प्रगति भएको जति मैले भन्न छोड्दैन । भलै त्यसका लागि सिन्को नभाँचेको किन नहोस् । आलोचनात्मक चेत अचेत भएको बेला समभाव राखेर विश्लेषण गर्न जरूरी ठान्दैन । अर्काको खोट देख्ने आँखाले आफ्‌ने खोट कसरी देखोस् । आँखाले अगाडि न देख्दछन् ।

हुँदाहुँदा शरद्को साँझमा टहटह जुन लाग्यो । पुसको महिनामा न्यानो घाम लाग्यो भने पनि मैले गर्दा भन्न बेर लगाउँदैन मान्छेले । मैले पनि यो लेख लेख्ने, जाँगर चलाएंँ तैँले गर्दा । लेख छापियो फित्कौलीले गर्दा ।

०००
पाल्पा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मलाई मनपर्ने दलको दाल

मलाई मनपर्ने दलको दाल

रामप्रसाद अर्याल ‘अविराम’
हस् हजुर ! हुन्छ हजुर !!

हस् हजुर ! हुन्छ...

रामप्रसाद अर्याल ‘अविराम’
भाँजी मार्नु

भाँजी मार्नु

रामप्रसाद अर्याल ‘अविराम’
जङ्क पोलिटिक्स

जङ्क पोलिटिक्स

रामप्रसाद अर्याल ‘अविराम’
फुक्लिएको दाँत

फुक्लिएको दाँत

रामप्रसाद अर्याल ‘अविराम’
तब पो हुरी !

तब पो हुरी !

रामप्रसाद अर्याल ‘अविराम’
रक्षा गर

रक्षा गर

रामकृष्ण ढकाल
मजदुरमा दरार

मजदुरमा दरार

सुरेशकुमार पाण्डे
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
0
Would love your thoughts, please comment.x
()
x