रामप्रसाद अर्याल ‘अविराम’जङ्क पोलिटिक्स
अश्लील हर्कत, फोहरी गाली, झुठो आरोप एक आपसमा साटासाट गरेर सामाजिक सद्भान सपारौं । पार्टीपार्टीमा हिलो छ्यापाछ्याप गरेर अराजकताको जिलो बढाऔं । आफ्नो ढ्याङ्रो ठोक्दै, डम्फु बजाएर शालीन राजनीतिको कुलीन परिचय दिउँ ।

रामप्रसाद अर्याल :
अहिले सबैभन्दा चर्चित लोकप्रिय शब्द खोज्ने हो यदि भने वहुमतको मुखारविन्दत्बाट उच्चारण गरिने सुमधुर शब्द मध्ये एक नम्मरमा पर्न आउने शब्द हो जङ्क पोलिटिक्स“ । काम नपाएर लखर लखर डुल्ने र आफू सधै हिनेको बाटो भुल्ने काम कम सरल छैन । मतदाता भन्दा धेरै राजनेता भएको देश हो हाम्रो। नेताको बोली राम्रो नराम्रो । आफ्नाले भने उही कुरा राम्रो अर्कोले भने नराम्रो ।
मैले भने यो जङ्क पोलिटिक्स (व्गलप एयष्तिष्अक) गर्न पनि जान्दिन । भन्न पनि जान्दिन । मैले रुचाएको दलका नेताले भनेको सबै कुरा जान्दछु, बुझ्दछु । मेरा नेताले पोलिटिक्समा राजनीति घुसाउँदैनन् । अर्काले भने राजनीति नघुसाइकन बोल्दा पनि बेल्दैनन् ।
वर्तमान विश्वको सन्दर्भमा जङ्कफुटले बालबालिकालाई जतिधेरै हित गरेको छ त्यो भन्दा धेरै हितकारी, सुस्वाद, आनन्ददायक र सरल पोलिटिक्स हो–जङ्क पोलिटिक्स“ यस्को लागि तथ्याङ्कको सहारा लिनु पर्दैन । मित्स्याङ्क भनेर पुग्छ । असत्यको आहाराले विहित, अविहित र निहित स्वार्थ पूरा गर्न सजिलै सकिन्छ ।
त्यसो त हाम्रो देशलाई हल्लैहल्लाले हल्लाएको छ । जव हल्लाले चल्ला कोरल्न थाल्दछ तव हल्लाले विश्वस्तरीय मान्यता प्राप्त गर्दछ । हाम्रो देशलाई त्यसै “हल्लै हल्लाको देश“ भनेको होइन । आफ्नो कान नछामेर कागको पछि दौडिनेहरुको संख्यामा प्रगति दिन दुना रात चौगुना भने झै भैरहेछ । हल्लाको खेती नफष्टाएको कुनै पनि मुहल्ला छैन ।
सत्य र तत्थ्यको सहारा नलिन पाइने, असत्यको, सारहीन कुराको आहारा खाना चाहिने र मmुठो आरोप, उधारो वाचा, अनौठो कसम खाएर, आफ्नै भजन गाएर हिड्न, मिलेको समाजमा भिड्न सकिने“ पोलिटिक्स “जङ्क पोलिटिक्स हो । अहिलेको राजनीतिमा कतिपय दलको भाषण सुन्दा लाग्छ – कुराको सार भन्दा गाली गलौजको धार वेगवान छ। शिष्ट र मिष्ट भाषाको प्रयोग गर्दा अशिष्ट भइने डर छ। समाजलाई भाँड्नु, मिलेकालाई फुटाल्नु, डर त्रासको आँधी, हुरी ल्याएर आफ्नो पोल्टामा मत खसाल्नु प्रमुख उद्देश्य हो । मानु मतदाता जतिसबै नादान छन् । केही कुरा बुझ्दैनन् ।
अहिलेको राजनीति बडो गजवको छ । गाउँको, टोलको, भुगोलको, समाजको र देशको, जनताको वास्तविक समस्या जान्न, बुझ्न नपर्ने, अरुले गरेका राम्रा काम पनि नराम्रै देख्ने, यो देशमा केही पनि भएन, केही, हुँदैन, सबै विगारेको सप्त्ता पक्षले र बनाएको जति मैले र मेरो दलले भने पुग्ने । अर्कोलाई नराम्रो देखाएर, झुठो आरोप लगाएर , चरित्र हत्या गरेर, आफू राम्रो भइने, साधु विरालो बनिने विकासप्रेमी नेता ।
जसले जति धेरै झुठ र भ्रम सिर्जना गर्न सक्यो त्यो त्यति नै महान राजनेता कहलिने । आफ्ना भजन मण्डली जम्मा पार्यो– ढोल बजायो , घण्ट हल्लायो, सूर्यलाईजल चढायो, रुखको छहारीमा बस्यो , तारा मण्डल हेर्यो गणितीय खेल खेल्यो बस । जनताको, मतदाताको मन मन्दिरमा जान नपर्ने। भ्रम फैलाए पुग्ने । खसमको कसम खाएर जात, धर्म, संस्कार, संस्कृति लिन र छोड्न सक्ने, सदुपयोग अरुले गरून मैले दुरुपयोग गरेर सत्ता पाप्त हुन्छ भने समाज जहाँ सुकै जाओस् त्यसले केही फरक पर्दैन भन्ने निश्वार्थी, सोचाइ । आहा कति सजिलो ।
सोझा मतदातालाई भावनामा बगाएर मतको ढोक्सा भर्ने र राजगर्ने । पूरा गर्न नसकिने झुठका, आश्वासनका पुलिन्दा बाँडेर, भ्रमको खेती फैलाउने । यो खेतीले पेटमा हावा भरिन्छ । तर अन्न भरिन्न । हावा भरिएपछि अन्न रुच्दैन । रूचे पनि पचदैन ।
यो अनावश्यक हावा, हुन्डरी देशैभरि फैलिंदो, फैलाइँदो छ। हुन त आँधी,व्याधी क्षणिक हुन्छ । त्यसले कतिलाई बढारेर लैजान्छ भन्न सकिन्न । आंँधी व्याधीमा अडिने सतिसाल“ मात्र हो ।
सतिसाल भएर आफ्नो दर्शन, नीति, सिद्धान्तमा अडिनु भन्दा वेलापतेलाका पात बनेर बाढीमा बगेदेखि पेटपाला हुने । तरल मत, सरल राजनीति, चुनाव जित्न डराएर, धम्काएर, फकाएर फुल्याएर, र साम, दाम, दण्ड भेद सबै नीति अपनाउन सकिने । पतिज्ञापत्र, घोषणापत्र सबैका उस्ता उस्तै, कुन दलको कस्ले चाेरेको वा सारेको भन्न नसकिने । शब्दजाल फरक सार उही । फेसबुके हल्ला, सामाजिक सञ्जालको जाल, क्याप्चर । त्यसमा कसैले चित्त नबुझेर निरोधमा टिप्पणी गर्यो भने, गाली, बेइजेति आरोपको बौछार हेर्न र पढ्न पाइने रमाइलो मानेर ।
यो हेर्दा लाग्छ हाम्रो समझ , हाम्रो समाज, सभ्यता र संस्कृतिले अश्लील हर्कतमा महारत प्राप्त गरेको छ । अहिले यो राजनीतिले के ख्याल गर्दैन भने अर्कोलाई गुप्ताङ्ग, देखाउनु भन्दा पहिले आफू बुङ्गो हुनु पर्दछ । छिःछिः दूरदूरको पोलिटिक्स्ले हामी र हाम्रो सामाजिक सद्भाव विथोलिने त होइन १ गम्भीर प्रश्न छ
आफ्ना संञ्चार माध्ययमबाट , आफ्ना पक्षधरबाट, गलत प्रचार प्रसार गर्नु, गलत मत सर्वेक्षण, सम्प्रेषण गर्नु र आफूलाई भविष्य बेत्ता ठान्नु जड़क पोलिटिक्स को काम हो। आफूले बोलेका कुराले देशलाई , समाजलाई र मतदाताको नजरमा गिराउला वा कहाँ पुर्याउला ? कुनै मतलव जवाफ देही हुन नपर्ने क्या गजब, क्या शानदार राजनीति र राजनीतिज्ञ । संसारको कुनै एक कुनामा बसेर अर्को दूरदराजको देशमा अफवाह, भ्रम र झुठको कोकोहोलो , दिग्भ्रमित पार्ने शब्दजाल फ्याक्न सकिने । सबैभन्दा गजवको कुरा त के छ भने आफूलाई स्वनामधन्य बौद्धिक ठान्ने व्यक्तिहरु समेत हल्लाकै पछि दगुरेको देख्दा अचम्म मान्नु पर्दैन ।
गलत सूचनाले जनतामा राजनीतिप्रति वितृष्णा फैलाउन सकिने । सक्षम, इमानदार, नैतिकवानलाई हराएर, स्वार्थी बेइमान देशद्रोहीलाई जिताएर आफ्नो निहित स्वार्थ सिद्ध गर्न सकिने । कुरा जनहित र काम चाहिं मनहितको गर्न सकिने राजनीति । जुन ठाउँमा जे बोल्दा आफूलाई फाइदा हुन्छ त्यही कुरा बोल्न पाइने ।
अहिले जताततै चुनावको चर्चा चुलिएको छ । शहरका गल्लीगल्ली, चोक चोक, ग्रामीण बस्ती, देवी देउराली, भञ्ज्याङ, चौतारी तातेको छ। नेताका भाषणले, गालीले र तालिले । एक दलले अर्को दललाई गाली नगरेसम्म खाएको हजम हुँदैन । नारा ठुलाठुला, चुनाउको बेला उपलब्धी चाहिँ लुला। एक अकोप्रति विद्वैष, घृणा, फैलाएर आफूले फाइदा लिन पाइने काइदा, बकाइदाको छ ।
देशको, समाजको समस्या, महंगी, बेरोजगारी, भ्रष्टाचारी, स्वास्थ्य, शिक्षा इत्यादि कुरा उछाल्ने तर आफूले समाधानको निदान खोजी गर्नु नपर्ने। विहान एक, साँझ अर्को, आज मन्द भोलि चर्को, दलबदलको लर्को देख्न सकिन्छ । यो पोलिटिक्समा पद पैसा, पार्टी फेरेपछि नीति, सिद्धान्त कसम र प्रतिबद्धता पनि फेर्न सकिन्छ । आफ्नो वर्ग बदलिएपछि विचार उही रहने कुरा पनि होइन । भुइँमान्छेबाट बुई मान्छे बनेपछिको नतिजा हो यो ।
यो पोलिटिक्सको खेला हो । आफू सभ्य बनेर होइन अरुलाई असभ्य देखाएर, देशको उन्नति प्रगति जति मैले, मेरो दलले र अवनति, बिग्रेभत्केको जले जलाएको , मरेमारेको जति अरुले भनौं । अफ्नो अनुहार नहेरौ । अर्कोको नाटीखुटी कुरा काटौं। एकले अर्काको, एक पार्टीले अर्को पार्टीको सकारात्मक कुराको पनि विरोध गरौं। अभद्र, अश्लील अमर्यादित शब्दको चयन गरेर आफूलाई ठुलो विवेकशील व्यक्तित्व साबित गरौं । आखिर एक्काइसाैँ शताब्दीका चेतनशील मनुवा न पर्यौेँ हामी ।
अश्लील हर्कत, फोहरी गाली, झुठो आरोप एक आपसमा साटासाट गरेर सामाजिक सद्भान सपारौं । पार्टीपार्टीमा हिलो छ्यापाछ्याप गरेर अराजकताको जिलो बढाऔं । आफ्नो ढ्याङ्रो ठोक्दै, डम्फु बजाएर शालीन राजनीतिको कुलीन परिचय दिउँ । अनाधिकृत धन खर्च गरेर रक्सी र मासुले आफ्नो भुडी भरेर विकासको मुल फुटाऔँ । अश्लीलताको होली खेलेर शिष्ठ र विशिष्ठ बनौँ । सोझा मतदाताको भावना भड्काएर भावुक पनको फाइदा लिऊँ। जे जसरी हुन्छ आफ्नो जीत निकालोंैं। यसमा आम नेपालीले हारे पनि कसैन कसैको जीत अवश्य हुनेछ ।
आखिर हामी जङ्क पोलिटिक्सका कट्टर समर्थक न हौँ ।
०००
पाल्पा








































जंक फुडले स्रवास्थ्य बिगार्छ ,जंक पोलिटिक्सले समाज बिगार्छ!