पदम दाहालविचारपथका चेलाहरू हो सुन
हामी छौँ अझ शिष्य बालक दुबै आधार पाकाहरू तन्नेरी पनि बुझ्छ सादर कला सौहार्द भाकाहरू । सारा दिग्गज सोधखोज गर लौ झुट्टा नहोस् जीवन पाका सारद हुन् विचारपथका चेलाहरू हो सुन ।

पदम दाहाल :
सेतो केस हिमाल फुल्दछ जहाँ सत्मार्ग हुन् चेतना
खुम्चेझैँ अनुहार पर्वत सरी उत्साह सन्देशमा ।
अर्ती औषध ओखती अनुभवी बोक्छन् कि ऊर्जापन
पाका सारद हुन् विचारपथका चेलाहरू हो सुन ! ।१।
सच्चा साधक सृष्टि पालक सबै संसार देखाउने
उम्दा प्रेरक पौरखी प्रहर हुन् पक्का पुकारा हुने ।
द्रष्टा गौरव सिद्धहस्त करुणा त्राता भला सज्जन
पाका सारद हुन् विचारपथका चेलाहरू हो सुन ! ।२।
शाखा सन्तति बीजतत्त्व निज हुन् बोकेर उठ्छौँ उँभो
अर्को खै गुरु को छ यो भुवनमा जेठो जुनी सान हो ।
छर्छन् जो नव ज्ञानज्योति पहिलो हट्छन् सबै बन्धन
पाका सारद हुन् विचारपथका चेलाहरू हो सुन । ।३।
बाआमा परिवारकै प्रथम हुन् शिक्षा र दीक्षा दिने
तीभन्दा पछिमात्रका गुरु अरू भाषा इसारा दिने ।
नौका नाभिक झैँ सवार सहजै तार्ने जुनी को भन ?
पाका सारद हुन् विचारपथका चेलाहरू हो सुन । ।४।
हामी छौँ अझ शिष्य बालक दुबै आधार पाकाहरू
तन्नेरी पनि बुझ्छ सादर कला सौहार्द भाकाहरू ।
सारा दिग्गज सोधखोज गर लौ झुट्टा नहोस् जीवन
पाका सारद हुन् विचारपथका चेलाहरू हो सुन । ।५।
०००
मादी न.पा. ६, सङ्खुवासभा
हालः लोकन्थली, भक्तपुर ।
Subscribe
Login
0 Comments
Oldest







































