फित्काैली डटकमसाहित्यकार तीर्थराज अधिकारी (मुक्तकमणि) सम्मानित
कार्यक्रममा अधिकारीले एक वर्षअघि मात्र प्रकाशित चतुष्पदी ढाँचामा लेखिएको सारवत मुक्तक सङ्ग्रहका एक दर्जन उत्कृष्ट मुक्तक वाचन गर्नुभएको थियो ।

राले, अमेरिका । मुक्तकमणि उपनामले चर्चित साहित्यकार तीर्थराज अधिकारीलाइ सम्मानित गरिएकाे छ । अन्तर्राष्ट्रिय साहित्य समाज नर्थ क्यारोलाइना च्याप्टरले आयोजना गरेको कार्यक्रममा एनसिएनसीका अध्यक्ष ददिन पाण्डे, अनेसासका च्याप्टर महासचिव मनोज प्रधान र सल्लाहकार ईश्वर देवकोटाले अधिकारीलाई खादा र टोपी लगाएर सम्मान गर्नुभयो । सो अवसरमा अधिकारीकी पत्नी सीतादेवी अधिकारीलाई पनि सम्मान गरिएको थियो ।
मुक्तकमणि अधिकारी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका बोर्ड अफ ट्रस्टी पनि हुनुहुन्छ । उहाँका नौ साहित्यिक कृति र पाँच शब्द रचनाका अडियो एल्बम प्रकाशित छन् । सो कार्यक्रममा अधिकारीले एक वर्षअघि मात्र प्रकाशित चतुष्पदी ढाँचामा लेखिएको सारवत मुक्तक सङ्ग्रहका एक दर्जन जति उत्कृष्ट मुक्तक वाचन गर्नुभएको थियो ।

यसै गरी साहित्यकार अधिकारीले मुक्तकका बारेमा जानकारी दिनुका साथै उपस्थित साहित्यकारले सोधेको प्रश्नको उत्तर दिनुभएको थियो । अधिकारीले आफूले सधैँ सरल र बोधगम्म भाषामा कविता तथा मुक्तक लेख्ने गरेको स्मरण पनि गराउनुभएको थियो ।
सो अवसरमा अधिकारीको परिचय दिने क्रममा साहित्यकार डा. ऋषि बस्ताकोटीले लमजुङको दुराडाँडामा जन्मेर ५० वर्षभन्दा लामो समय निरन्तर साहित्य साधनामा लाग्नु एक महान् उपलब्धि हो भन्दै उहाँको जस्तो ऊर्जाशील व्यक्तित्व सबैका लागि एक प्रेरणा हो भन्नुभयो । डा. बस्ताकोटीले साहित्यकार अधिकारी नेपालमा सरकारी कर्मचारीका रूपमा जुन जुन स्थानमा गए पनि तत् तत् स्थानमा कुनै न कुनै साहित्यिक गतिविधिमा सक्रिय रहनुभएको प्रसङ्ग पनि उठाउनुभएको थियो ।
सो अवसरमा साहित्यकारहरू प्रभा पोखरेल, मनोज प्रधान, आरपी पौडेल, मधु माधुर्य, डा. चिरञ्जीवी भट्टराई, डा. शरद पराशर मरहट्ठा, नम्रता गुरागाइँ, नगेन्द्र न्यौपाने, डा. भाष्कर कुँवर, कृष्णराज खनाल आदिले अधिकारीका चोटिला मुक्तक वाचन गर्नुभएको थियो ।
०००
कृष्णराज खनालकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest










































