नन्दलाल आचार्यलेखबहादुर
जनताको माया आउँछ, चुनावमा, र समाजसेवा आउँछ, क्यामेरा आएपछि ! जय देशभक्ति ! जय भाषण !! जय सेल्फी !!!
नन्दलाल आचार्य :
(लेखबहादुर कार्कीप्रति समर्पित)
म साँच्चै भन्छु,
यो देशमा मान्छे मरेपछि
उसको फोटो ठूलो हुन्छ,
जिउँदो हुँदा भने
उसको पेट सधैँ सानो हुन्छ ।
कवि मरेपछि सम्मानसभा बस्छ,
बाँचुन्जेल निमन्त्रणा आउँदैन,
मृत्युले पुरस्कार पाउँछ,
जीवनले पारिश्रमिक पाउँदैन ।
वाह रे देश !
जहाँ भोकको उपचारभन्दा
श्रद्धाञ्जलीको माइक ठूलो छ,
जहाँ कविको कृतिभन्दा
उसको फोटोको फ्रेम महँगो छ !
जय साहित्य ! जय संस्कृति !!
जय पुरस्कार ! जय मन्तव्य !!!
लेखबहादुर !
तिमीले जीवनभरि
देश हाँस्नुपर्छ भन्यौ,
देशले तिम्रो कुरा सुनेन,
बरु तिम्रो मृत्युमा
तीन मिनेट मौन बस्यो ।
तीन मिनेट !
कस्तो गजबको राष्ट्रिय एकता !
त्यसपछि फेरि
सबै आआफ्नो स्वार्थमा बोल्न थाले ।
तिमीले ‘जीवन पुस्तिका’ लेख्यौ,
हामीले जीवनलाई विज्ञापन बनायौँ,
तिमीले ‘देश हाँसेन’ लेख्यौ,
हामीले देश हँसाउने नाममा
देशकै गालामा थप्पड हान्यौँ ।
तिम्रो किताब
काँधमा बोकेर गाउँ पुग्थ्यो,
हाम्रो विचार
गाडीमा चढेर राजधानी पुग्छ,
तिम्रो कविता
गरिबको घरमा बस्थ्यो,
हाम्रो साहित्य
समारोहको ब्यानरमा झुन्डिन्छ ।
भन त लेखबहादुर !
तिमीले कुन विश्वविद्यालयमा पढ्यौ
मान्छेको मन पढ्ने विद्या ?
हामी त
विद्यावारिधिका प्रमाणपत्र बोकेर
आफ्नै छिमेकीको दुःख चिन्न नसक्ने भयौँ ।
हामीलाई देशभक्ति आउँछ,
राष्ट्रिय दिवसमा,
स्वाभिमान आउँछ,
मञ्चमा,
जनताको माया आउँछ,
चुनावमा,
र समाजसेवा आउँछ,
क्यामेरा आएपछि !
जय देशभक्ति !
जय भाषण !!
जय सेल्फी !!!
तिमी डाँडापाखा उक्लियौ,
हामी सिँढी चढेर मञ्च उक्लियौँ,
तिमीले गोरेटो नाप्यौ,
हामीले पदको दूरी नाप्यौँ,
तिमीले घरघरमा कविता पुर्यायौ,
हामीले घरघरमा आश्वासन पुर्यायौँ ।
तिमीले जनताको पीडा सुन्यौ,
हामीले जनताको पीडा
सम्बोधन गर्ने अवसर खोज्यौँ ।
तिमीले भोकालाई रोटी खोज्यौ,
हामीले रोटीको फोटो खिच्यौँ,
तिमीले गरिबको घाउमा मलम लगायौ,
हामीले घाउको उद्घाटन गर्यौँ ।
कस्तो विकास !
अब त घाउ पनि
शिलान्यास गरेर खुल्छ,
पीडा पनि
कार्यक्रम गरेर बाँडिन्छ,
र राहत पनि
भाषण सकिएपछि आउँछ !
ए लेखबहादुर !
तिम्रो देशमा
दुई भाइ बन्दुक बोकेर
एकअर्कालाई मारिरहेका थिए,
तिमी शान्तिको गीत गाउँथ्यौ ।
आज बन्दुकको आवाज कम भएको छ,
तर स्वार्थका गोलीहरू
अझै चलिरहेका छन् ।
हिजो जंगलमा लडाइँ थियो,
आज कुर्सीमा लडाइँ छ,
हिजो विचारका नाममा मान्छे मर्थे,
आज विचार बेचेर
मान्छेहरू पदमा चढ्छन् ।
हिजो जनता छोराछोरी गुमाउँथे,
आज जनता भविष्य गुमाउँदैछन्,
हिजो आमाहरूले सन्तान खोज्थे,
आज युवाहरूले देश खोजिरहेका छन् ।
विदेश जाने विमान भरिन्छ,
गाउँका घर खाली हुन्छन्,
खेतमा झार उम्रिन्छ,
तर भाषणमा उत्पादन बढ्छ ।
युवाको पासपोर्टमा
देशको सपना छापिन्छ,
नेताको भाषणमा
युवाको भविष्य छापिन्छ,
तर रोजगारको ढोकामा
एउटै पुरानो ताल्चा झुन्डिन्छ ।
कस्तो स्वाधीनता !
आफ्नै देशमा काम खोज्दा
परिचयपत्र मागिन्छ,
विदेशमा पसिना बेच्न जाँदा
ऋणको रसिद मागिन्छ !
लेखबहादुर !
तिमीले त
सिमेन्ट कारखानाको धूलो खाएर
शब्दको खेती गर्यौ,
हामीले शब्दको खेती गरेर
अर्थको बाली काट्यौँ ।
तिमीले पसिना बेचेर
छोराछोरी हुर्कायौ,
हामीले छोराछोरीको भविष्य बेचेर
आफ्नो वर्तमान सजायौँ ।
तिमीले गुरुलाई महागुरु भन्यौ,
हामीले गुरुलाई पनि
गुटअनुसार नाप्यौँ,
तिमीले प्रतिभालाई सम्मान गर्यौ,
हामीले प्रतिभालाई
आफ्नो पक्षमा छ कि छैन भनेर जाँच्यौँ ।
यहाँ त
कविता पनि कित्तामा बाँडिन्छ,
कलम पनि गुटमा दर्ता हुन्छ,
साहित्य पनि सिफारिसमा छापिन्छ,
र पुरस्कारको ढोकामा
प्रतिभाभन्दा परिचयपत्र पहिला पुग्छ ।
कविता लेख्न जान्नुपर्दैन,
कविता छाप्ने मान्छे चिन्नुपर्छ !
गीत गाउन जान्नुपर्दैन,
गीत बजाउने मान्छे चिन्नुपर्छ !
देश बुझ्न जान्नुपर्दैन,
देश बुझाउने मञ्चमा पुग्नुपर्छ !
हा हा !
हाम्रो समयको महान् उपलब्धि यही हो-
ज्ञानभन्दा पहुँच अग्लो,
सिर्जनाभन्दा प्रचार अग्लो,
र सत्यभन्दा स्वर ठूलो !
तर लेखबहादुर !
तिमीलाई एउटा कुरा सोध्न मन छ ।
तिम्रो जीवनमा
२०५५ सालमा पत्नीको मृत्यु भयो,
घरको एउटा दियो निभ्यो,
तैपनि तिमी अरूका घरमा
गीतको उज्यालो बोकेर हिँड्यौ ।
हामीचाहिँ
आफ्नै घरको बत्ती बाल्न
छिमेकीको घरमा आगो लगाउन तयार छौँ ।
तिमीले बुढेसकालको एक्लोपनलाई
ठट्टाले छोप्यौ,
हामीले समाजको एक्लोपनलाई
मोबाइलको पर्दाले छोप्यौँ ।
तिमीले नाति गुमाउँदा
भविष्यको लौरो भाँचिएको अनुभव गर्यौ,
आजका युवाले भविष्य खोज्दा
आफ्नै देशको ढोका बन्द भेटिरहेका छन् ।
तिम्रो छातीमा
एउटा परिवारको पीडा थियो,
आज देशकै छातीमा
लाखौँ अधुरा सपनाको भार छ ।
तर,
यो देश सधैँ रुने छैन,
यो पुस्ता सधैँ झुक्ने छैन,
यो माटो सधैँ बाँझो रहने छैन !
किनकि
अँध्यारोले कहिल्यै सूर्यलाई
आजीवन भत्ता दिएको छैन,
बादलले कहिल्यै आकाश
कब्जा गर्न सकेको छैन,
र बीउले कहिल्यै
माटोसँग हार स्वीकारेको छैन ।
अब नयाँ पुस्ता उठ्नुपर्छ,
नारा बेच्न होइन,
नयाँ बाटो खन्न !
हातमा किताब,
मनमा प्रश्न,
आँखामा सपना,
र खुट्टामा माटोको भरोसा लिएर
उठ्नुपर्छ !
हामीलाई
नेताको फोटो ठूलो चाहिएको छैन,
किसानको खेत हरियो चाहिएको छ,
मञ्चमा देशभक्ति चाहिएको छैन,
विद्यालयमा गुणस्तरीय शिक्षा चाहिएको छ,
भाषणमा स्वाधीनता चाहिएको छैन,
युवाको हातमा काम चाहिएको छ ।
हामीलाई
जातको पर्खाल होइन,
मान्छे जोड्ने बाटो चाहिएको छ,
झुटको ताली होइन,
सत्य बोल्ने आँट चाहिएको छ ।
लेखबहादुर !
तिम्रो नाममा
अब अर्को स्मारक नबनाऔँ,
बरु एउटा गाउँमा पुस्तकालय बनाऔँ,
तिम्रो सम्मानमा
अर्को भाषण नगर,
बरु एउटा बालकलाई किताब किनिदिऔँ ।
तिम्रो जन्मजयन्तीमा
फूलको माला मात्र नचढाऔँ,
एउटा गरिबको घरमा चुलो बाल,
तिम्रो पुण्यतिथिमा
मौनधारण मात्र नगर,
एउटा अन्यायविरुद्ध आवाज उठाऔँ ।
नत्र,
तिम्रो फोटोमा फूल सुक्नेछ,
तिम्रो नाममा भाषण बढ्नेछ,
तिम्रा कृतिमा धूलो जम्नेछ,
अनि हामी फेरि भन्नेछौँ-
देशमा साहित्यको ठूलो सम्मान छ !
सम्मान छ रे !
कविको पेटमा भोक,
कृतिमा धूलो,
र सिर्जनामा ताल्चा लगाएर
कस्तो सम्मान ?
लेखबहादुर !
तिमी निसिनटारमा जन्मियौ,
कौवाईका गोरेटामा हिँड्यौ,
त्रियुगाको माटोमा पसिना पोख्यौ,
उदयपुरका गाउँमा गीत सुनायौ।
तिमी कुनै दरबारका कवि थिएनौ,
तिमी त जनताको आँगनका मान्छे थियौ,
तिम्रो विश्वविद्यालय डाँडापाखा थियो,
तिम्रो पुरस्कार गाउँलेको मुस्कान थियो,
तिम्रो प्रकाशन आफ्नै काँध थियो,
तिम्रो समीक्षा जनताको मन थियो ।
तिमीलाई क्यान्सरले लग्यो,
तर तिम्रो विचारलाई
कुनै रोगले लग्न सक्दैन ।
तिमी २०८३ कार्तिक १३ गते
काठमाडौँको अस्पतालमा अस्तायौ,
तर तिम्रो आवाज
अझै गाउँको गोरेटोमा हिँडिरहेको छ ।
त्यसैले,
अब तिमीलाई श्रद्धाञ्जली मात्र होइन,
हामीलाई आत्मालोचना चाहिएको छ ।
तिमीलाई स्मरण मात्र होइन,
हामीलाई रूपान्तरण चाहिएको छ ।
तिमीले देश हाँसेन भन्यौ,
अब हामी देश हँसाउनेछौँ,
तर कसैको दुःखमा हाँसेर होइन,
दुःखको कारण हटाएर !
हामी कविता लेख्नेछौँ,
तर शब्दको माला उनेर मात्र होइन,
समाजको अनुहार फेर्न !
हामी गीत गाउनेछौँ,
तर माइकको पेट भर्न होइन,
जनताको मन जगाउन !
हामी इतिहास पढ्नेछौँ,
तर पुराना गल्ती दोहोर्याउन होइन,
नयाँ भविष्य कोर्न !
अब खबरदार !
देशलाई आफ्नो बिर्ता ठान्नेहरू,
जनतालाई भोटको भाँडो ठान्नेहरू,
साहित्यलाई पदको भर्याङ बनाउनेहरू,
युवालाई विदेशको टिकटमा सीमित गर्नेहरू !
यो पुस्ता
तिमीहरूको ताली बजाउने मेसिन होइन,
प्रश्न गर्ने चेतना हो,
यो पुस्ता
तिमीहरूको झन्डा बोक्ने काँध मात्र होइन,
आफ्नै भविष्य लेख्ने हात हो !
लेखबहादुर !
तिमीले जीवनभरि
देश हाँसोस् भनेर गीत गायौ,
अब तिम्रा गीतले
हामीलाई उठ्न सिकाउनेछन् ।
तिमीले जीवन पुस्तिका लेख्यौ,
हामी नयाँ अध्याय लेख्नेछौँ ।
तिमीले देश हाँसेन भन्यौ,
हामी देशलाई हँसाउनेछौँ-
नक्कली मुस्कानले होइन,
न्याय, श्रम, समानता र इमानले !
र अन्तिम कुरा सुन,
लेखबहादुर !
मान्छे मरेपछि
उसको नाममा माला लगाउने देश होइन,
मान्छे बाँचुन्जेल
उसको सिर्जनालाई माया गर्ने देश बनाऔँ ।
कवि मरेपछि
कविता पढ्ने देश होइन,
कविता बाँच्ने समाज बनाऔँ ।
किनकि
तिमी एउटा लेखबहादुर थियौ,
अब हजारौँ लेखबहादुर जन्मिनुपर्छ,
तिमीले एउटा जीवन लेख्यौ,
अब एउटा पुस्ताले इतिहास लेख्नुपर्छ !
जय माटो !
जय श्रम !!
जय सिर्जना !!!
जय जागृत पुस्ता !!!
०००
२०८३ मङ्सिर २ गते ।
सिद्धार्थटोल, उदयपुर ।
Subscribe
Login
0 Comments
Oldest










































