डा. गाेपाल पाैड्याल ‘मण्डने’राजनीतिक खेती : संसारकै सर्वाधिक उन्नत खेती
अरू खेतीमा बाली पाकेपछि भकारी भरिन्छ, राजनीतिक खेतीमा कतिपयको भकारी भरिएपछि मात्र जनतालाई बाली पाकेको भाषण सुनाइन्छ !
डा. गोपाल पौड्याल ‘मण्डने’ :
संसारमा अनेकौँ खेती छन्। धानखेती, गहुँखेती, तरकारीखेती, फलफूलखेती, पशुपालन, मौरीपालन, माछापालन आदि। तर नेपालमा एउटा यस्तो अद्भुत, अभूतपूर्व, अद्वितीय र अत्याधुनिक खेतीको विकास भएको छ, जसका अगाडि संसारका समस्त कृषिवैज्ञानिकहरू नतमस्तक हुनुपर्ने देखिन्छ। त्यो हो-राजनीतिक खेती! यो खेती गर्न न खेत चाहिन्छ, न हलो, न गोरु, न मल, न बीउ, न सिँचाइ, न कृषि विश्वविद्यालयको प्रमाणपत्र। चाहिन्छ त केवल एउटा चिप्लो जिब्रो, बाक्लो छाला, लचिलो मेरुदण्ड, नथाक्ने मुख, नअघाउने भुँडी र जिन्दावाद-मुर्दावाद गर्न सक्ने दुईचार सय कार्यकर्ता!अरू खेतीमा बीउ रोपेपछि बाली फल्छ। राजनीतिक खेतीमा आश्वासन रोपेपछि पद फल्छ। किसानले खेत जोत्छ, राजनीतिक किसानले जनमत जोत्छ। किसानले मल हाल्छ, नेताले भ्रम हाल्छ। किसानले पसिना बगाउँछ, नेताले भाषण बगाउँछ। किसानले धान भित्र्याउँछ, नेताले दाम र नाम भित्र्याउँछ।
किसानको धानमा रोग लाग्छ, नेताको राजनीतिमा योग लाग्छ। किसानको बाली असिनाले सखाप पार्छ, नेताको बाली गठबन्धनले हराभरा पार्छ। किसानको खेत बाँझो रहन सक्छ, तर राजनीतिक किसानको महत्त्वाकाङ्क्षा कहिल्यै बाँझो रहँदैन। यस्तो चमत्कारी खेती हुँदाहुँदै पनि नेपालमा अझै मानिसहरू उद्योग खोल्ने, कारखाना चलाउने, व्यापार गर्ने, किताब लेख्ने, गीत गाउने, बिरामी जाँच्ने, बालबालिका पढाउने र खेत जोत्ने मूर्खतामा लागिरहेका छन्!मलाई त अचम्म लाग्छ-संसारकै सबैभन्दा उन्नत खेती आफ्नै देशमा हुँदाहुँदै हामीले अरू पेसा अपनाएर जीवन किन खेर फाल्ने?अब यसका लागि एउटा नयाँ राष्ट्रिय कृषि नीति बनाउनुपर्छ।
कविले कविता लेखे जेल जानुपर्नेछ !
कविले कविता लेखेर के हुन्छ? कविता लेख्दा देशको दुःख बाहिर आउँछ। जनताको पीडा प्रकट हुन्छ। अन्यायको विरोध हुन्छ। सत्ताको निद्रा बिग्रिन्छ।त्यसैले अब कविले कविता लेख्न पाउनु हुँदैन। कविता लेखे जेल जानुपर्छ!कविले हिमाल, पहाड, नदी, वन, फूल र प्रेमको कविता होइन, नेताको महिमा लेख्नुपर्छ। नेताको अनुहारमा सूर्य, बोलीमा सरस्वती, पेटमा समुद्र र खल्तीमा कुबेरको बास देखाउनुपर्छ।जसले नेताको प्रशस्ति लेख्छ, ऊ राष्ट्रकवि! जसले जनताको व्यथा लेख्छ, ऊ राष्ट्रघाती !
लेखकले पुस्तक लेख्न छाडेर अभिनन्दनपत्र लेख्नुपर्छ। समालोचकले साहित्यको मूल्याङ्कन होइन, नेताको गुणगान गर्नुपर्छ। पुरस्कार पाउन उत्कृष्ट कृति होइन, उपयुक्त निकटता चाहिन्छ।आखिर साहित्यले सरस्वतीको सेवा गर्छ, राजनीतिले लक्ष्मीको। सरस्वतीको वाहन लाटोकोसेरो हो, लक्ष्मीको वाहन उल्लू। त्यसैले राजनीतिक खेतीमा उल्लू बनाउने कला विशेष उपयोगी हुन्छ !
गायकले गीत गाए जेल !
गायकले स्वर साधेर के पाउँछ? घाँटी सुकाउँछ, रियाज गर्छ, सुरताल मिलाउँछ, बल्लतल्ल एउटा गीत रेकर्ड गर्छ।राजनीतिमा सुर मिलाउनुपर्दैन, गुट मिलाए पुग्छ। ताल जान्नुपर्दैन, ताली बजाए पुग्छ। स्वर राम्रो हुनुपर्दैन, नारा चर्को भए पुग्छ।अब गायकले गीत गाउनु हुँदैन। गीत गाए जेल जानुपर्छ!गाउनै परे
हाम्रो नेता महान् महान्,
उहाँकै भुँडी राष्ट्रको शान।
जनता खाऊन् आश्वासन,
हामी खाऔँ पद र सम्मान!
यस्तो गीत गाउनेलाई राष्ट्रिय कलाकार घोषणा गर्नुपर्छ। किनभने संगीतले मन आनन्दित बनाउँछ, तर राजनीतिक संगीतले मन्त्रीको मन आनन्दित बनाएर कलाकारको भविष्यसमेत उज्ज्वल बनाउन सक्छ।
पत्रकारले समाचार लेखे जेल !
पत्रकारको काम सत्य खोज्नु हो भन्ने पुरानो मान्यता अब बदल्नुपर्छ। सत्य खोज्दा अनेक अप्ठ्यारा प्रश्न जन्मिन्छन्। प्रश्न जन्मिएपछि जवाफ दिनुपर्छ। जवाफ दिँदा हिसाब खुल्छ। हिसाब खुल्दा कतिपयको भुँडी दुख्छ।त्यसैले पत्रकारले समाचार लेखे जेल जानुपर्छ!अब समाचारको नयाँ शब्दकोश बनाउनुपर्छ।घुसलाई ‘सेवा सहजीकरण शुल्क’, भ्रष्टाचारलाई ‘आर्थिक सिर्जनशीलता’, नातावादलाई ‘पारिवारिक प्रतिभा संरक्षण’, दल परिवर्तनलाई ‘वैचारिक गतिशीलता’, सरकारी ढिलासुस्तीलाई ‘प्रशासनिक धैर्य’ र अधुरो योजनालाई ‘निरन्तर विकास प्रक्रिया’ भन्नुपर्छ।पुल नबन्दै उद्घाटन भयो भने ‘विकासको ऐतिहासिक छलाङ’ लेख्नुपर्छ। सडक भत्कियो भने ‘भूमिगत संरचनाको अध्ययन’ भन्नुपर्छ। मन्त्रीको सम्पत्ति अस्वाभाविक रूपमा बढ्यो भने ‘आत्मनिर्भर अर्थतन्त्रको प्रेरणादायी नमुना’ शीर्षक राख्नुपर्छ।यसरी समाचार पनि सुखद, सरकार पनि प्रसन्न, पत्रकार पनि सुरक्षित!
किसानले अन्न उब्जाए जेल !
नेपालको सबैभन्दा ठूलो कमजोरी किसानहरू अझै अन्न उब्जाउन खोज्नु हो।धान फलाएर के हुन्छ? वर्षभरि पसिना बगायो, मल पाएन, बीउ पाएन, पानी पाएन, बजार पाएन। धान बेचेर घरखर्च धान्न पनि मुस्किल!तर राजनीतिक खेतीमा एउटा झन्डा रोप्यो, सय कार्यकर्ता उमार्यो, हजार नारा फलायो, लाख आश्वासन बाँड्यो, अनि अवसर मिल्यो भने करोडको सम्पत्तिको सपना देख्न पाइयो!त्यसैले अब किसानलाई आदेश दिनुपर्छ-
“धान नरोप, दल रोप! मकै नछर, मतदाता छर !
गहुँ नफलाऊ, गुट फलाऊ!
अन्न होइन, कार्यकर्ता उत्पादन गर !
”किसानले सोध्ला, “अनि देशले के खाने?”उत्तर सरल छ-विदेशबाट चामल ल्याउने !
“पैसा कहाँबाट ल्याउने ?”
छोराछोरी विदेश पठाउने !
“अनि देशमा को बस्ने ?”
नेता, मन्त्री, सल्लाहकार, कार्यकर्ता र तिनका लावालस्कर !
“तिनले के खाने ?”
रेमिट्यान्सले किनेको चामल र जनताले तिरेको कर !
यसरी देशको कृषि समस्या पनि समाधान, बेरोजगारी समस्या पनि समाधान, जनसङ्ख्या समस्या पनि समाधान। केवल देशभित्र जनता घट्ने र नेताको सङ्ख्या बढ्ने सानो समस्या बाँकी रहनेछ।
शिक्षकले पढाए जेल !
शिक्षकले बालबालिकालाई पढाएर के हुन्छ? पढेपछि विद्यार्थीले प्रश्न गर्न सिक्छ। प्रश्न गरेपछि तर्क खोज्छ। तर्क खोजेपछि प्रमाण माग्छ। प्रमाण मागेपछि राजनीतिक खेतीमा खडेरी पर्न सक्छ।त्यसैले अब शिक्षकले पढाए जेल जानुपर्छ!विद्यालयमा नयाँ वर्णमाला लागू गर्नुपर्छ-
क— कुर्सी, ख— खल्ती, ग— गुट, घ— घुस। गणितमा दुई र दुई चार हुन्छ भन्ने नियम हटाउनुपर्छ। राजनीतिक गणितमा दुई र दुई गठबन्धनअनुसार पाँच, सात, एघार वा शून्य जे पनि हुन सक्छ।नैतिक शिक्षामा ‘सत्य बोल्नुपर्छ’ भन्ने पाठको सट्टा ‘समयअनुसार बोली फेर्नुपर्छ’ भन्ने पाठ राख्नुपर्छ।
विद्यार्थीलाई योग्य बनाउने शिक्षकभन्दा नेताको प्रशंसा गर्ने शिक्षक उपयोगी ठहरिनुपर्छ। आखिर योग्य नागरिकले प्रश्न गर्छ, आज्ञाकारी कार्यकर्ताले ताली बजाउँछ !
डाक्टरले बिरामी जाँचे जेल !
डाक्टर बन्न कति दुःख! वर्षौं अध्ययन, परीक्षा, तालिम, अस्पताल, रातभर जाग्राम!राजनीतिक खेतीमा त्यति दुःख छैन। एकपटक मन्त्री भएपछि स्वास्थ्य मन्त्रालयसमेत चलाउन पाइने सम्भावना हुन्छ। चिकित्साशास्त्र नपढे पनि स्वास्थ्य नीतिमा भाषण दिन सकिन्छ।अब डाक्टरले बिरामी जाँच्न छाडेर राजनीतिक नाडी छाम्नुपर्छ।कुन दलको रक्तचाप बढेको छ? कुन गुटको मुटु कमजोर छ? कुन नेताको कुर्सी खुस्किने रोग लागेको छ? कसलाई मन्त्रीपदको भिटामिन चाहिएको छ? यिनै हुन् आधुनिक राजनीतिक चिकित्साका विषय।जनताको पेट दुखे औषधि चाहिन्छ, नेताको पेट दुखे मन्त्रालय चाहिन्छ। जनतालाई अक्सिजन चाहिन्छ, नेतालाई समर्थन चाहिन्छ। जनताको रोगको निदान परीक्षणबाट हुन्छ, राजनीतिक रोगको निदान भागबन्डाबाट!
इन्जिनियरले पुल बनाए जेल !
पुल बनाउनु जोखिमपूर्ण काम हो। नक्सा चाहिन्छ, माटो परीक्षण चाहिन्छ, बजेट चाहिन्छ, निर्माण सामग्री चाहिन्छ, प्राविधिक सीप चाहिन्छ तर पुलको शिलान्यास गर्न एउटा ढुङ्गा, एउटा माला, एउटा कैंची र केही क्यामेरा भए पुग्छ।पुल बन्यो भने एकपटक उद्घाटन हुन्छ। नबनेसम्म पटकपटक शिलान्यास गर्न पाइन्छ। त्यसैले पुलभन्दा शिलान्यास बढी लाभदायक छ।
इन्जिनियरले पुल बनाए जेल, पुलको शिलान्यास गर्ने नेता विकासपुरुष!सडक बनेपछि गाडी गुड्छ, नबनेसम्म बजेट गुड्छ। भवन बनेपछि कार्यालय सर्छ, नबनेसम्म फाइल सर्छ। आयोजना सम्पन्न भएपछि ठेक्का सकिन्छ, अधुरो रहँदा म्याद थपिन्छ। यस्तो दूरदर्शी विकासदर्शन संसारमा कहाँ पाइन्छ ?
उद्योगपति र व्यापारीले उद्योग–व्यापार गरे जेल !
उद्योग खोल्न पुँजी चाहिन्छ, मेसिन चाहिन्छ, बिजुली चाहिन्छ, श्रमिक चाहिन्छ, उत्पादन चाहिन्छ, बजार चाहिन्छ। नाफा हुन्छ कि घाटा, कुनै ठेगान हुँदैन तर राजनीतिक उद्योगमा उत्पादन गर्नुपर्ने मुख्य वस्तु आश्वासन हो। यसको कच्चापदार्थ जिब्रो हो, मेसिन मुख हो, कारखाना मञ्च हो र बजार जनता हुन्। यस उद्योगमा धुवाँ निस्कँदैन, भाषण निस्कन्छ। वस्तु उत्पादन हुँदैन, घोषणा उत्पादन हुन्छ। घाटा भए दोष अर्कोलाई जान्छ, नाफा भए जस आफैँलाई आउँछ।व्यापारीले सामान बेचेर नाफा कमाउँछ, राजनीतिक व्यापारीले सम्भावना बेचेर प्रभाव कमाउँछ।त्यसैले नेपालमा उद्योगधन्दा किन चाहियो? राजनीतिक दल नै उद्योग, कार्यकर्ता नै श्रमिक, नारा नै उत्पादन, चुनाव नै बजार र सत्ता नै मुनाफा !
युवाले स्वदेशमा रोजगारी खोजे जेल !
युवाले देशमै काम खोज्नु पनि कस्तो अनौठो जिद्दी!देशमा उद्योग खोल्न कठिन छ। विदेश पठाउन तुलनात्मक रूपमा सजिलो छ। राहदानी बनाऊ, ऋण खोज, टिकट काट, विमान चढ, विदेश पुग, पसिना बगाऊ, पैसा पठाऊ।उता छोराछोरीले विदेशमा श्रम गर्छन्, यता राजनीतिक किसानले रेमिट्यान्स बढेको सफलताको भाषण गर्छन्।युवाले विदेशमा भाँडा माझ्छ, नेताले देशमा भाषण माझ्छ। युवाले विदेशमा सडक बनाउँछ, नेताले स्वदेशमा सडक बनाउने घोषणा गर्छ। युवाले विदेशमा पसिना बगाउँछ, नेताले स्वदेशमा फूलमाला लगाउँछ।
देशका युवाले विदेशको विकास गर्ने, विदेशबाट पठाएको पैसाले देशको आयात धान्ने, अनि देशभित्र राजनीतिक खेतीको विकास गर्ने- योभन्दा उत्कृष्ट अन्तर्राष्ट्रिय श्रमविभाजन अरू के हुन सक्छ ?
राजनीतिक खेतीको पारिवारिक कृषि प्रणाली
साधारण किसानले छोराछोरीलाई खेतबारी छाड्छ। सफल राजनीतिक किसानले छोराछोरीलाई राजनीतिक विरासत छाड्न सक्छ।किसानले खेतको आली बाँध्छ, नेताले आफन्तको जाली बाँध्छ। किसानले बीउ जोगाउँछ, नेताले टिकट जोगाउँछ। किसानले गाईभैँसीको वंश सुधार्छ, राजनीतिक किसानले आफ्नै वंशको राजनीतिक भविष्य सुधार्छ।कसैका छोराछोरी विदेशमा डाक्टर, इन्जिनियर, व्यापारी र उद्यमी बन्छन्। कसैको नाममा घर थपिन्छ, कसैको नाममा जग्गा थपिन्छ, कसैको पछाडि सयौँ मानिसको लावालस्कर थपिन्छ।यो देखेर एउटा किसानले सोध्यो, “नेताज्यू, तपाईंको यत्रो सम्पत्ति कसरी बढ्यो?”
नेताले भने, “जनताको मायाले!”किसानले फेरि सोध्यो, “हामीलाई पनि जनताले माया गर्छन्, हाम्रो सम्पत्ति किन बढेन ?”
नेताले भने, “तिमीलाई जनताले मनले माया गर्छन्, हामीलाई मतले माया गर्छन्। मनको माया भावनात्मक हुन्छ, मतको माया राजनीतिक रूपमा फलदायी हुन सक्छ!”किसान चुप लाग्यो। उसले जीवनभर धानको बीउ चिन्यो, तर मतको बीउको महिमा चिन्न सकेन।
मेरो आफ्नै भुँडीको राजनीतिक दर्शन
अब मेरो भुँडीले पनि विद्रोह गर्न थालेको छ।एक दिन उसले मलाई भन्यो, “तँ कति मूर्ख लेखक! जिन्दगीभर कविता, निबन्ध र व्यङ्ग्य लेखेर बसिस्। कागज भरिस्, तर खल्ती भरिनस्। पुस्तकको सङ्ख्या बढाइस्, तर जग्गाको क्षेत्रफल बढाइनस्। शब्दको खेती गरिस्, सम्पत्तिको खेती गरिनस्!”
मैले भनेँ, “साहित्यले समाजलाई चेतना दिन्छ।”
भुँडीले भन्यो, “चेतना खाएर पेट भरिन्छ ?”
मैले भनेँ, “लेखकले सत्य बोल्नुपर्छ।”
भुँडीले भन्यो, “सत्य बोलेर सात पुस्तालाई पुग्ने सम्पत्ति कमाइन्छ?”
मैले भनेँ, “देश र जनताको सेवा गर्नुपर्छ।”
भुँडी रिसायो- “त्यसो भए राजनीति गर्, तर यो चमत्कारी राजनीतिक खेतीमा लाग्नुअघि आफ्नो भुँडीको भविष्य सुनिश्चित गर् !” मैले आफ्नो भुँडीलाई नियालेँ। यसको क्षमता सीमित छ। दुई थाल भात खाएपछि अघाउँछ। तर राजनीतिक भुँडी कति अद्भुत! पद खाए पनि नअघाउने, प्रतिष्ठा खाए पनि नअघाउने, अवसर खाए पनि नअघाउने, सम्पत्ति थपिए पनि नअघाउने!मेरो भुँडीमा खाना पच्छ, राजनीतिक भुँडीमा सिद्धान्त पच्छ। मेरो भुँडीले दालभात पचाउँछ, राजनीतिक भुँडीले विरोध, आलोचना, गठबन्धन र आफ्नै पुरानो भाषणसमेत पचाउन सक्छ।मेरो भुँडी भरिए डकार आउँछ। राजनीतिक भुँडी भरिए अर्को पदको विचार आउँछ।त्यसैले मैले भुँडीलाई सोधेँ, “म पनि राजनीति गरूँ त ?”
भुँडीले भन्यो, “अवश्य गर्! तर पहिले तीनवटा योग्यता हासिल गर्।”
“केके ?”
“पहिलो- हिजो बोलेको कुरा आज बिर्सन सक्ने स्मृतिशक्ति। दोस्रो- आजको शत्रुलाई भोलि अँगाल्न सक्ने लचकता।
तेस्रो- जति पाए पनि नअघाउने पाचनशक्ति !”
मैले भनेँ, “त्यसो भए इमानदारी ?”
भुँडीले लामो सुस्केरा हाल्यो- “त्यो गुण लिएर तँ यस प्रकारको खेतीमा सफल हुन सक्दैनस् !”
राष्ट्रिय राजनीतिक कृषि विश्वविद्यालय
यस्तो उन्नत खेतीको संरक्षण र संवर्द्धनका लागि नेपालमा ‘राष्ट्रिय राजनीतिक कृषि विश्वविद्यालय’ खोल्नुपर्छ।यसमा निम्न विषय पढाउनुपर्छ आश्वासनशास्त्र, नाराविज्ञान, गुट व्यवस्थापन, गठबन्धन प्रविधि, अवसरवाद दर्शन, पदप्राप्ति अर्थशास्त्र, आत्मप्रशंसा साहित्य र भुँडीविस्तार विज्ञान। स्नातक तहमा ‘जिन्दावाद’, स्नातकोत्तरमा ‘भागबन्डा’ र विद्यावारिधिमा ‘सत्तापरिवर्तन तथा कुर्सी संरक्षण’ पढाउनुपर्छ।प्रयोगात्मक परीक्षामा विद्यार्थीले हिजो विरोध गरेको दलसँग आज गठबन्धन गर्न सक्नुपर्छ। हिजो असम्भव भनेको कुरालाई आज ऐतिहासिक उपलब्धि प्रमाणित गर्न सक्नुपर्छ।जसले सबैभन्दा धेरै आश्वासन दिएर सबैभन्दा कम काम गर्छ, उसलाई स्वर्णपदक दिनुपर्छ !
विश्वविद्यालयको मूलमन्त्र हुनुपर्छ- “विद्या ददाति विनयम् होइन, राजनीति ददाति अवसरम् !”
अन्तिम बाली : देश बाँझो, भुँडी हराभरा !
अब कल्पना गरौँ- नेपालका सबै किसान राजनीतिक किसान भए। सबै शिक्षक कार्यकर्ता भए। सबै पत्रकार प्रचारक भए। सबै डाक्टर सल्लाहकार भए। सबै इन्जिनियर भाषणकार भए। सबै व्यापारी दलाल भए। सबै युवा विदेश गए।देशमा कारखाना छैन, उद्योग छैन, उत्पादन छैन, व्यापार छैन, खेती छैन। तर राजनीतिक दल छन्, गुट छन्, उपगुट छन्, अध्यक्ष छन्, उपाध्यक्ष छन्, महासचिव छन्, सल्लाहकार छन्, कार्यकर्ता छन्, झन्डा छन्, ब्यानर छन्, मञ्च छन्, माला छन्, माइक छन् !
एक दिन देशभरिका राजनीतिक किसानलाई भोक लाग्नेछ।
अध्यक्षले महासचिवलाई सोध्नेछन्, “भात कहाँ छ?” महासचिवले मन्त्रीलाई सोध्नेछन्, “धान कहाँ छ?”मन्त्रीले सचिवलाई सोध्नेछन्, “किसान कहाँ छन्?”सचिवले फाइल पल्टाएर भन्नेछन्, “हजुर, सबै किसानलाई राजनीतिक कार्यकर्ता बनाइसकियो!”अध्यक्षले सोध्नेछन्, “त्यसो भए अब खाने के ?”
सबैले एकै स्वरमा भन्नेछन्-“घोषणापत्र उमालौँ, आश्वासनको अचार बनाऔँ, भाषणको झोल पकाऔँ!”तर घोषणापत्र उमाल्दा भात पाक्दैन। आश्वासनको अचारले भोक मेटिँदैन। भाषणको झोलले शरीरमा रगत बन्दैन।त्यसपछि बल्ल सबैलाई थाहा हुनेछ— देश नाराले होइन, श्रमले बन्छ; कुर्सीले होइन, कर्मले बन्छ; भाषणले होइन, उत्पादनले बन्छ।राजनीति आफैँमा खराब खेती होइन। असल राजनीति त सम्पूर्ण खेतीको संरक्षण गर्ने मूल नीति हो। तर जब राजनीति सेवा छाडेर स्वार्थको व्यापार बन्छ, तब देशको खेत बाँझो हुन्छ र केही भुँडी हराभरा हुन्छन्।
नेपालमा सबैभन्दा ठूलो समस्या खेतीको अभाव होइन, खेती गर्नेभन्दा खेतीको भाषण गर्ने धेरै हुनु हो। उद्योगको अभाव मात्र होइन, उद्योग खोल्नेभन्दा उद्योग उद्घाटन गर्ने धेरै हुनु हो ।विकासको अभाव मात्र होइन, विकास गर्नेभन्दा विकासको जस लिने धेरै हुनु हो।अन्त्यमा मेरो भुँडीले फेरि सोध्यो-
“ए मण्डने लेखक! यति धेरै राजनीतिक खेतीको महिमा लेखिस्। अब तँ आफैँ कहिलेदेखि राजनीति गर्छस्?”
मैले भनेँ, “जुन दिन राजनीतिमा भुँडीभन्दा देश ठूलो हुन्छ, त्यही दिनदेखि !”
भुँडीले हाँस्दै भन्यो-
“त्यसो भए तँ अझै धेरै वर्ष साहित्य लेखेर बस्ने भइस्!”
मैले पनि हाँसेर भनेँ-
“ठीकै छ। मेरो भुँडी सानो भए पनि देश ठूलो रहोस्!”
किनभने राष्ट्रको उन्नति नेताको भुँडीको गोलाइले होइन, जनताको जीवनस्तरको उचाइले नापिन्छ।अनि यस महान् राजनीतिक कृषिशास्त्रको अन्तिम सूत्र यही हो-“अरू खेतीमा बाली पाकेपछि भकारी भरिन्छ, राजनीतिक खेतीमा कतिपयको भकारी भरिएपछि मात्र जनतालाई बाली पाकेको भाषण सुनाइन्छ !”
०००
(यो निबन्ध राजनीतिक विसङ्गतिमाथिको काल्पनिक साहित्यिक व्यङ्ग्य हो; इमानदार राजनीतिज्ञ र जनसेवामा समर्पित कार्यकर्तालाई यसले लक्षित गर्दैन।)
Subscribe
Login
0 Comments
Oldest







































