साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठग नेता

शिवराम नेताको अनुहार पहेँलो बन्यो। उनलाई अब थाहा भयो, जनता मूर्ख छैनन्। सधैं झूट बोल्नेहरू एक न एक दिन पर्दाफास हुन्छन्।

Nepal Telecom ad

डा. गोपाल पौड्याल ‘मण्डने’ :

निर्वाचन नजिकिँदै थियो। गाउँमा फेरि चुनावी चटारो चल्यो। हरेक पाँच वर्षमा जसरी नेताहरू गाउँ पस्ने गर्थे, त्यसैगरी यसपालि पनि विभिन्न दलका उम्मेदवारहरू ठूला गाडी चढी प्रचारप्रसार गर्दै आइपुगे।

तर तीमध्ये सबैभन्दा चर्चित नाम थियो— शिवराम नेता। उनी पहिल्यै पनि गाउँबाट चुनाव जितिसकेका थिए। उनका भाषणहरू यति आकर्षक थिए कि गाउँलेहरू उनका कुरामा सजिलै फस्ने गर्थे।

चुनावको माहोल तात्दै गयो। शिवराम नेताले ठूल्ठूला भाषण दिन थाले— “गाउँमा पक्की सडक बनाउँछु, हरेक घरमा निःशुल्क बिजुली र पानी पुर्‍याउँछु। बेरोजगार युवाहरूलाई रोजगारी दिन्छु। सानहरूलाई नि:शुल्क मलखाद उपलब्ध गराउँछु। गाउँको अस्पतालमा विशेषज्ञ डाक्टर ल्याउँछु !”

उनको मीठो बोलीले गाउँलेहरू फेरि लोभिए। गाउँका वृद्धहरू भन्थे, “यो पटक त नेताज्यू साँच्चै राम्रो गर्नुहुन्छ जस्तो छ !” युवाहरू पनि खुसी थिए, “अब रोजगारीका अवसर पाइने भयो!” महिलाहरूले सोच्न थाले, “अस्पताल राम्रो भयो भने सुत्केरी हुन सहर जानुपर्दैन !”

तर शिवराम नेताको यथार्थ अर्कै थियो। चुनाव जित्न उनले गाउँमा पैसा बाँड्न थाले। कसैलाई बोरा बोरा चामल, कसैलाई केही रकम दिए। गाउँका प्रभावशाली व्यक्तिहरूलाई महँगो मदिरा र मासु भोज खुवाए। त्यसैले चुनावको दिन गाउँभरि उनका पक्षमा मतदान भयो।

शिवराम नेता जिते। सबै गाउँलेहरूले खुसी मनाए। तर समय बित्दै गयो। एक महिना, दुई महिना, वर्षौं बिते। तर न त सडक बन्यो, न बिजुली आयो, न अस्पताल सुधारियो। गाउँका बेरोजगार युवाहरू अझै रोजगारीको खोजीमा भौतारिरहेका थिए। किसानहरू मलखाद अभावमा चिन्तित थिए।

शिवराम नेता भने परिवर्तन भएका थिए। पहिले सानो घरमा बस्ने उनी अब ठूलो महलमा बस्न थाले। गाउँकै सरकारी जमिनमा उनले आलिशान घर बनाए। सामान्य मोटरसाइकल चढ्ने शिवराम नेता अब महँगो गाडीमा घुम्न थाले।

गाउँलेहरू निराश भए। एकदिन, रामे किसान केही समस्या लिएर नगर कार्यालय पुगे।
“नेताज्यू, हाम्रो गाउँको बाटो बर्खामा हिलाम्य हुन्छ। अस्पतालमा औषधि छैन। तपाईंले चुनावअघि भनेका वाचा बिर्सनुभयो ?” रामेले गुनासो गरे।

शिवराम नेताले आँखा उचाल्दै हाँसे, “के तिमीले मलाई जिताउन पैसा दिएर भोट हालेका थियौ ? मैले चुनाव जित्न लाखौं खर्च गरें, अब तिमीहरूका लागि किन काम गर्नु ?”
रामे किसानको मुख बन्द भयो। गाउँलेहरूले यो सुने। विस्तारै यो कुरो सबैतिर फैलियो।
अर्को चुनाव आयो। शिवराम नेता फेरि गाउँमा आइपुगे। फेरि उनले ठूल्ठूला आश्वासन दिन थाले—

“यो पटक जितेपछि म साँच्चै विकास गर्छु !”
तर गाउँलेहरू अब सचेत भइसकेका थिए। उनले भाषण गर्न सुरु गर्दा नै सबै गाउँलेहरू एकसाथ कराए—
“हामीलाई झूटो आश्वासन दिने नेताको जरुरत छैन !”

शिवराम नेताको अनुहार पहेँलो बन्यो। उनलाई अब थाहा भयो, जनता मूर्ख छैनन्। सधैं झूट बोल्नेहरू एक न एक दिन पर्दाफास हुन्छन्।

झूट र भ्रष्टाचारले जनताको विश्वास सधैं टिक्दैन। जब जनता सचेत हुन्छन्, तब भ्रष्ट नेताहरूको अस्तित्व सकिन्छ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
टुल्के पुराण

टुल्के पुराण

डा. गाेपाल पाैड्याल ‘मण्डने’
हेलिकप्टरबाट जनताको दुःख नियाल्ने राष्ट्रसेवकहरू

हेलिकप्टरबाट जनताको दुःख नियाल्ने...

डा. गाेपाल पाैड्याल ‘मण्डने’
भ्रष्टाचार: राष्ट्रको आधिकारिक धर्म !

भ्रष्टाचार: राष्ट्रको आधिकारिक धर्म...

डा. गाेपाल पाैड्याल ‘मण्डने’
रद्धी बने वास्तव

रद्धी बने वास्तव

डा. गाेपाल पाैड्याल ‘मण्डने’
हे झोला

हे झोला

डा. गाेपाल पाैड्याल ‘मण्डने’
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x