डा. गाेपाल पाैड्याल ‘मण्डने’हेलिकप्टरबाट जनताको दुःख नियाल्ने राष्ट्रसेवकहरू
हामी किन बाँचेका छौँ ? किनकि हामी हाँस्न सक्छौं। हास्य हाम्रो अस्त्र हो। व्यङ्ग्य हाम्रो आवाज हो। नेताजीहरूको राष्ट्रसेवा हेलिकप्टरको उचाइमा चम्किन्छ, जनताको वास्तविकता भने तुईनको डोरीमा झुन्डिन्छ।

डा. गोपाल पौड्याल ‘मण्डने’ :
“हामी यहाँ जनताको सेवा गर्न आएका हौं !” नेताजीको अनुहारमा राष्ट्रप्रेमको बाक्लो आवरण थियो। हेलिकप्टरको पंखा अझै घुमिरहेको थियो, अनि खोलापारिका स्थानीयबासीहरू तुईन चढ्नुअघि डोरी नचुँडियोस् भनेर प्रार्थना गर्दै थिए। तर नेताजीको सेवा सुरु भइसकेको थियो — अर्थात्, पाँच मिनेट फोटो खिच्ने, दुई मिनेट भाषण गर्ने अनि हेलिकप्टरबाट राजधानी फर्किने सेवा।
सेतो दौरा-सुरुवाल, छाते टोपी, टल्किएको कालो जुत्तासँगै नेताजीको हातमा दूरबिन थियो — खोला पारिको तुईन नियाल्न प्रयोग हुने ‘दूरदृष्टि’। त्यही दूरबिनबाट हेर्दै उनले घोषणा गरे, “हामीले तुईन हटाउने नीति ल्याइसकेका छौं। अब झोलुंगे पुल बनाइनेछ !”
सल्लाहकार कानैमा फुसफुसाए: “झोलुंगे पुल हो सर !” नेताजीले तुरुन्तै आत्मविश्वासले दोहोर्याए, “त्यही झोलुंगे पुल ! हामी डिजिटल युगतिर जाँदैछौं !” गाउँलेहरूले ताली त बजाएनन्, तर पत्रकारले फोटो खिचे — किनभने जनताभन्दा मुख्य विषय फोटो थियो।
गाउँको हेडमास्टरले भने माइक समाते, “जनताको भाग्य चम्काउने नेता आउनुभयो !” अनि मञ्च झुल्कियो। त्यो मञ्च झुल्किए पनि नेताजीको अभिव्यक्ति स्थिर थियो — “सरकार गम्भीर छ !”
त्यसैबेला खोलातिर एउटी आमाले तुईनबाट पार गर्न खोजिरहेकी थिइन्। डोरी खुकुलो भएको देखेर छोराले चिच्यायो, “आमा होस् गर्नुहोस् !” तर नेताजीले त्यो चिच्याहट सुनेनन् — किनभने उनी फेसबुक लाइभमा व्यस्त थिए। राष्ट्रसेवकको सेवा यस्तो कि फेसबुकमा लाइक नआउँदासम्म गहिरो चिन्ता हुन्छ, तुईन चुँडिएर मान्छे बग्दा होइन।
नेताजीहरूको दृष्टिकोण नभएर दृश्य–कोण हुन्छ। त्यो पनि हेलिकप्टरको झ्यालबाट ! खोलाको गहिराइ, बाटोको बिग्रिएको अवस्था, विद्यालयको टिनको छानो — सबै दृश्य नाटकको पृष्ठभूमि हुन्। फोटोको बैनर हुन्छ, पोस्टरमा पुल, अनि वास्तविकतामा तुईन।
हेलिकप्टर फर्किन्छ। गाउँका बालबालिकाले हात हल्लाउँछन् — खुसी भएर होइन, आश्चर्यले: “आकाशबाट चिच्याउँदै आएको यो फलामे चराले हाम्रो छानो किन उडायो ?” आमाले भन्नुहुन्छ, “ध्यान देउ ! नेताजी हेर्दै हुनुहुन्छ !” बच्चाले सोध्छ, “हाम्रो छानो हेर्ने कि आमाको आँसु ?”
राजधानी पुगेर नेताजी सम्मेलन हलमा भन्छन्, “हामीले गाउँ–गाउँमा विकास पुर्यायौं।” साँच्चिकै हो — धुलो, धुवाँ र हेलिकप्टरको आवाज त पुगेकै हो।
अब नेताजीहरूको अर्को योजना तयार छ — तुईनलाई “हरित पर्यटन” मा बदल्ने। नाम: “तुईन ट्रेल – ए भीआईपी एडभेञ्चर”। विदेशी पाहुनाले तुईन चढ्न पाए भने “ग्रासरुट” अनुभव लिन्छन् रे ! अनि नेता आफू चढ्नुपर्ने भयबाट जोगिन्छन्।
राष्ट्रसेवकहरूको सेवा यस्तो गहिरो हुन्छ कि खोलाको छेउमा उत्रिनु पर्दैन — ड्रोनबाट निरीक्षण हुन्छ, PPT मा विश्लेषण, र टेन्डरबाट निष्कर्ष। गाउँले भने अझै पनि तुईनको डोरी बाँध्दै, मनमा एउटै प्रश्न बोकेका छन् — “पुल कहिले बनिन्छ ?” कहिलेकाहीँ लाग्छ, नेताहरू त तुईन नबन्ने गरी नै काम गर्छन् — ताकि अर्कोपटक फेरि हेलिकप्टर चढ्न पाइयोस्।
पुराना नेताहरू खेतबारी जोतेका हुन्थे। अहिलेका नेताहरू पावरपोइन्ट जोत्छन्। प्रेसमिटमा मुस्कान बाँड्छन्, ट्याब्लेटबाट माया दिन्छन्। जनतासँग “डिजिटल आत्मीयता” प्रदर्शन गर्छन्। तर गाउँमा अझै टुकी बालेर किताब पढ्नुपर्छ।
“हामी राष्ट्रको सेवा गर्छौं !” भन्दै नेताजी हेलिकप्टरबाट ओर्लिन्छन्, तर राष्ट्रको सेवा होइन, संसाधनको सेवन गर्छन्। जस्तै: अस्पतालको अक्सिजन प्लान्ट बजेटमा मात्र देखिन्छ। त्यस्तै तुईनको स्थायी पुल पनि कागजमा मात्र लेखिन्छ। फेसबुकमा नेताजीको स्टाटस आउँछ: “हामी दुखी परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौं।”
गाउँमा झ्याल नभएको विद्यालय छ। तर कागजमा “स्मार्ट डिजिटल क्लासरूम” दर्ता भइसकेको छ। शिक्षकको तलब ६ महिना अड्किएको छ, तर मन्त्रीज्यू PPT मा देखाउँदै भन्छन्: “अब किसानले घरमै बसेर बाली बाउन सक्छन्।” किसानले माटो छोएर सोच्छ: “अब त मल पनि प्रिन्ट गरेर हाल्नुपर्ला !”
अर्को कार्यक्रममा मन्त्री भन्छन्: “कुखुरापालनमा रोबोटिक इनोभेसन !” गाउँमा अझै बाख्रा छानामा चढेर ढुकुर लखेट्दैछ। अनि नेताजी भन्नुहुन्छ — “हामीले ग्रामीण अर्थतन्त्रलाई डिजिटाइज गरिसकेका छौं।” रोजगारी — भाषणको हेडलाइन मात्र
नेता भन्छन् — “हामी रोजगारी सिर्जना गरिरहेका छौं।” तर त्यो रोजगारी पाउन ४८ वटा सर्त, ३ वटा अफिस सिफारिस, र १ नेताको फोटो टाँसिएको ढोका चुम्नुपर्छ।
युवाहरू देश छोड्छन्। एकले खाडीमा छत टाँस्दै फेसबुकमा लेख्छ — “यो देश त नेताले टाँस्नै नदिएको घर हो !” अर्कोले भिडियो बनाउँछ — “घाममा काम गर्ने छोरा र कुर्सीमा बसेका नेताको कथा।” त्यो भाइरल हुन्छ। अनि नेताजीको स्टाटस आउँछ: “हामी युवाको स्वर सुन्छौं। निर्णय भने हाम्रो हुनेछ।”
माया — केवल क्यामेराको लागि जहाँ मिडिया पुग्दैन, त्यहाँ नेताको माया पनि पुग्दैन। तर जहाँ क्यामेरा अन हुन्छ, त्यहाँ नेता जनताको घरमा दालभात खाँदै गरेको फोटोमा देखिन्छन्।
क्यामेरा अफ भएपछि, ती दालभात खाएको घरको भान्सामा अझै ३ महिना पुरानो नुन छ। तर भित्तामा टाँसिएको पोस्टर चिटिक्क छ: “हामी गरिबको घरमै सेवा गर्छौं !”
“हामी परिवर्तन चाहन्छौं !”
हाम्रो समाजमा तीनथरी जनता छन्:
• झोलुङ्गे पुल नपाएर तुईनमा झुण्डिएर मर्ने,
• त्यही तुईन चुँडिएको ठाउँमा हेलिकप्टरबाट फोटो खिच्न जाने,
• अनि फेसबुकमा स्टाटस लेख्ने — “हामी परिवर्तन चाहन्छौं।”
तर परिवर्तन आउँछ कहाँ ? जहाँ तुईन चुँडिन्छ, त्यहाँ सरकार “गम्भीर छ” भन्छ। पुल बनाउने ब्यानर आउँछ, डोरी बाँध्ने काम भने फेरि स्थानीयबासीको काँधमा पर्छ।
तुईन चुँडियो। आमा बगिन्। बच्चा बाँच्यो।
भोलिपल्ट नेताजीले हेलिकप्टर चढे — “तुईन निरीक्षणका लागि विमानद्वारा यात्रा”। तस्बिर खिचियो। अनुहारमा समवेदनाको अभिनय देखियो। विज्ञप्ति आयो: “७ करोडको पुल बनाउने योजना तयार हुँदैछ।” तर डोरी अझै कस्न बाँकी छ।
हामी किन बाँचेका छौँ ? किनकि हामी हाँस्न सक्छौं। हास्य हाम्रो अस्त्र हो। व्यङ्ग्य हाम्रो आवाज हो। नेताजीहरूको राष्ट्रसेवा हेलिकप्टरको उचाइमा चम्किन्छ, जनताको वास्तविकता भने तुईनको डोरीमा झुन्डिन्छ।
देश अझै बाँचेको छ — किनभने जनता अझै व्यङ्ग्य गर्न सक्छन्। त्यो व्यङ्ग्य हाँसोमात्र होइन — प्रश्न पनि हो। अनि कहिल्यै नसुनिएको त्यो प्रश्न, एकदिन उत्तर माग्नेछ।
०००
Subscribe
Login
0 Comments
Oldest








































