राजेन्द्रप्रसाद अधिकारीसुनको आकर्षक कात्रो र कठिन हठ-साधना
काम खोज्न बाहिरै जाने हो- जानु भए हुन्छ तर संझनुस्- यति बेला नेपाल भन्ने देशमा खल्ती सहितको सुनको आकर्षक कात्रो वरदानमा पाउने आसमा, अधमहरु कठिन हठ-साधनामा निर्लिप्त छन्।
राजेन्द्रप्रसाद अधिकारी :
विकास भएन भन्छन्
रोजगारी भएन भन्छन्
आर्थिक अवस्था डामाडोल छ भन्छन्
संभव भएसम्म हामी सबैले
पालै पालो र बेग्ला बेग्लै
हेलिकप्टर चढेरै निरीक्षण गरिरहेकै छौं
लाज पचाएरै भए पनि
खादा माला ला’एरै, लावालश्कर लिएरै
ठाउँको ठाऊँ पुगेर निर्देशन दिइरहेकै छौं
खनेर पुर्ने, भएन भने पुरेर खन्ने
काम पनि वारम्बार गराइरहेकै छौं
असम्भव र हचुवा नै भए पनि
आयोजनाहरुको शिलान्यास गरिरहेका छौं
अधुरो र अपुरो नै भए पनि
भ्याइनभ्याई, दोहोर्याकई तेहेर्या ई
उद्घाटन पनि गरिरहेकै छौं
र पट्यार लाग्दो भाषण पनि गरिरहेका नै छौं
देशको राजश्वले पुगेन भनेर, ऋणहरु थपिरहेकै छौं
ज्यादै दरिद्र नदेखियोस, विदेशीले नहेपुन् भनेर
सत्तामा भएका हामीहरु हृष्टपुष्ट देखिने गरेकै छौं
उस्तै पर्दा पुष्ट भूँडी देखाएकै छौं
टलक्क टल्कने, आयातित र महँगा गाडीहरु चढेर
फेरि फेरि नयाँ पोशाक लगाएरै दौडिरहेका छौं
हाम्रो अफिस हेर्नु हुन्छ भने
आकर्षक, विलाशी र विशालै छ
हामीलाई हेर्नु हुन्छ भने
दाताका प्रतिनिधिहरु भन्दा हामी नै
बढि तेजिला र फूर्तिला देखिएकै छौं
यति गर्दा पनि विकास भएन भन्ने हो भने
विकास हेर्न बाहिरै जाने हो- जानु भए हुन्छ
यति गर्दा पनि रोजगारी भएन भन्ने हो भने
काम खोज्न बाहिरै जाने हो- जानु भए हुन्छ
तर संझनुस्-
यति बेला नेपाल भन्ने देशमा
खल्ती सहितको सुनको आकर्षक कात्रो
वरदानमा पाउने आसमा, अधमहरु
कठिन हठ-साधनामा निर्लिप्त छन्।
०००
२०८२ साउन १३
चण्डाेल, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest





































