बी.डी. त्यागीएक चोक्टा (उपन्यास अंश– ३)
औँलामा गन्न पनि नपुग्ने हास्यव्यङ्ग्य उपन्यास कृतिमध्ये त्यागीको ‘हास्यव्यङ्ग्य उपन्यास कृतिको अक्षराङ्कन प्रति स्रष्टा निबन्ध आचार्यको सौजन्यमा फित्कौलीलाई प्राप्त भएको छ । त्यागीको ‘एक चोक्टा’ हास्यव्यङ्ग्य उपन्यास श्रृङ्खलावद्ध रूपमा प्रविष्ट गरिरहेकाे छ । प्रस्तुत छ उपन्यास अंश (३) ।

बी.डी. त्यागी :
समसामयिक नेपाली हास्यव्यङ्ग्यमा कमै चर्चामा रहेका हास्यव्यङ्ग्यकार व्यक्तित्व हुन् बलदेव आचार्य । उनी बी.डी. त्यागीको नामबाट हास्यव्यङ्ग्य लेखनमा सक्रिय थिए । मोहनकुमारी/शुकदेव आचार्यका सुपुत्रका रूपमा वि.सं. १९९६ साल वैशाख १२ गते गहनापोखरी टंगाल, काठमाडौँमा जन्मिएका त्यागीले स्नातक तहसम्मको औपचारिक शिक्षा आर्जन गरेका थिए । वि.सं. २०६० वैशाख १९ गते कीर्तिशेष भएका त्यागीका अन्यान्य फुटकर हास्यव्यङ्ग्य रचनाका साथै ‘उत्पात’ (२०५८) र ‘एक चोक्टा’ (२०७६) दुईवटा हास्यव्यङ्ग्य उपन्यास कृति प्रकाशित छन् । नेपाली हास्यव्यङ्ग्यमा अत्यन्त कम लेखिएको विधा विशेष हो उपन्यास । औँलामा गन्न पनि नपुग्ने हास्यव्यङ्ग्य उपन्यास कृतिमध्ये त्यागीको ‘एकचोक्टा’ उपन्यास कृतिको अक्षराङ्कन प्रति स्रष्टा निबन्ध आचार्यको सौजन्यमा फित्कौलीलाई प्राप्त भएको छ । ‘चार थुम्का’ उपन्यास सङ्ग्रहमा सङ्कलित त्यागीको ‘एक चोक्टा’ हास्यव्यङ्ग्य उपन्यास श्रृङ्खलावद्ध रूपमा क्रमशः प्रविष्ट गर्दैछौँ । – सम्पादक३.
यो जजमानी काम गरेर कुनै फायदा छैन । कप्तान, मेजर लाई जजमान बनायो, दुई पैसा आउला भन्यो पाँच पैसा जान्छ । अस्ति बिहान सबै काम बिताएर कप्तान शाव कहाँ पुगेँ । महीना घोक्रो फुलाई–फुलाई सुनाएँ, चार घण्टा वित्यो । काठा भन्ने नाम पाएर पाँच रुपैयाँ बुझाई लुरुक्क फर्कें । आज श्राद्ध खान लम्केर हिडें । निदार भरि केशरी लोपरेर, गाँड फुलाई–फुलाई कराएर टापन –टुपन तीनौटा मोहर बनाएको थिएँ । सात मोहरको त औषधी नै लाग्यो । यस्तो निर्घिणी काम गर्नुको सट्टा एक/एक ओटा हल्ला मच्चाई दिएको भए लखपति बनी सक्थेँ ।
यो ठगाहाले खाने देश हो । आफू मात्रै टपरे बनेर के गर्ने ? इज्जत हेर्यो इज्जत छैन ; पैसा हेर्यो पैसा छैन । ‘धर्म कर्म डाँडामा पैसा छैन भाँडामा’ भनेर हिंड्ने गरेको भए नामको ठाउँमा नाम ; दामको ठाउँमा दाम ।
कैयौंले दर्जन छोरा–छोरी पाएकी बुढीलाई दौडाए । स्वास्नीको ठाउँमा स्वास्नी, धनको ठाउँमा धन सुमरी हाले । आफू अधर्म गर्नु हुँदैन भनेर बस्यो । पेटमा कुल्ला बास्छ । इज्जतमा घुन लाग्छ । टपरे र काठाको गाली सिवाय अरु सुन्न पाईंदैन । कसैले मान राखेर भने पुरेत बाजे । यत्रोनी गर्दिन यस्तो काम ।
एक पल्ट मङ्गला गौरी आउँदै छिन भनेर सारा जनता दगुरा दुगर गरे । ठगले भुँडी फोर्यो । अर्को पल्ट दुवीमा औषधी गर्ने के हो निस्क्यो भनी सारा तिर बाट रोगी पुगे । माटो बेचेर पैसा कुम्ल्यायो । झन अर्को पल्ट एउटी आईमाई काली–देवी बनी रे भनी मानिसका भिड लागे, नोटका कित्ताले घर भरियो । पछि २०१८ सालको भविष्य वाणी हुन थाल्यो, ज्योतिष शावहरुको पेट अटेस मटेस बन्यो । केहि व्यक्तिले पछि अति विश्वास गर्न छोडे । ठगहरुले अर्कै उपाय सोचे साधु बन्ने ।
कुखुरी बासेको बेला अरु कस्को हुत्ती चल्ने । एउटी कुखुरी नाङ्गी बनेर उम्री हाले । भेडा जन्ता बथानका बथान बनी पुगे सेवा गर्न । नोट कित्ताका कित्ता झरे । पूरा महात्मा बनी हाले । आज भोलि बन्कालीमा त्यसै सडेकी छे ।
एउटा अर्को महात्मा आइपुगे जस्ले ट्रान्जीष्टर र सुगाको भरमा नारी घडी हेर्दै रात काटे । पछि एउटी कुखुरीलाई चल्ला काढ्ने तुल्याएर लखेटीए । उनको नाम बाबा रह्यो । नोटै नोटले घर बनाए ।
यसपछि टौदहमा कलङ्की अवतार लिएर घोडा समेत पाली बाबा बसे । गुरु नआई पुगेकोले ब्राह्मणहरुले बच्ने मौका पाए नत्र खत्तम । अव अर्कै महात्मा आइपुगेका छन् ; जो नबोल्ने वनी सूर्यघाट निर बसेका छन् । उनले कत्ति गुट्मुटाउने हुन् । केहि पत्तो पाउन सकेका छैन । यस अघि घनघोर जान्ने ज्योतिष निस्केका थिए । नोटका विटा काखी च्यापी घरपट्टीको छोरीलाई धर्मपत्नि तुल्याएर लागे आफ्नो बाटो । उनी ज्योतिशाचार्य बनि हाले । दशा बोलाएको एक योगिले भने गुट्मुटाईसकेका नोटको कित्ता पनि लिई जान पाएनन् , जसले गर्दा सिराहामा केहि प्रगति भयो ।
काठमाण्डुको धर्मात्माहरु आज ठाडै बैकुण्ठ जाँदै छन् । सन्त महिषी १००८ ले मन्त्र धमाधम् दान गर्दै छिन् । श्रद्धा कमि भएकोले कोठा भरि छाता र जुत्ता हुन नसकेको भएतापनि किताव विक्री र गुरु दक्षीणाले भने लाखलाई नाघी सक्यो । श्रद्धा अलि बढेमा बीस तीस लाख रुपैयाँको मालिकनी वनी हाल्छीन् । शंकर भगवानको षोडाक्षरी मन्त्र हार्वीन र तवलाको तालमा कुर्लने अर्का गुरुजी आजकाल नारायण शत्रमा लागेकाले हलुवा–स्वारी ताजा मिल्न लागेको छ । लक्कु भने केहि घटेको अनुमान यहाँका अर्थशास्त्रीले लगाएका छन् ।
ताजा हलवा–स्वारी खाएर राम्रो माला लगाउन पाउने यस्ता सन्त महन्त नवनेर बर्षौं दिन पर्खेर एउटा टपरो सोर्ने काम गरे । म थोत्रो पण्डितलाई धिक्कार छ ।
पुरेत –“ए ! बुढी !”
पुरेत्नी –“हजुर !”
पुरेत –“मैले यो टपरे काम छोडी दिने भएँ बुझिस् ।”
पुरेत्नी –“के खानु नि !”
पुरेत –“लखपति हुन्छु”
पुरेत्नी –“कसरी ?”
पुरेत –“तेरो पहेंलो सारी छ कि छैन ?”
पुरेत्नी –“होला एउटा”
पुरेत –“मैले सुनाएको पुराण कत्तिको आउँछ तँलाई ?”
पुरेत्नी –“अलि – अलि आउला”
पुरेत –“उसो भए झाक्रो फिंजी हाल”
पुरेत्नी –“किन ?”
पुरेत –“लखपति बन्न ; किन अब”
पुरेत्नी –“मैले लखपति बन्दैमा बनिने हो र ?”
पुरेत –“के कुरा गर्छे ? मैले भने–भने जस्तो त गर”
पुरेत्नी –“लौ, अब के गर्नु पर्यो ?”
पुरेत –“पुजा कोठामा केशरी होला लिएर आइज”
पुरेत्नी –“लिनोस ! अब के गरुँ ?”
पुरेत –“केहि गर्नु पर्दैन वस ।”
पुरेत बाजे फेरि पुजाकोठा भीत्र पसे । एक्कै छिन पछि हातमा गोपी चन्दन र ऐना लिई बाहिर निस्के । पुरेतेनी बजै बसीनै रहेकी थिइन । उनीलाई केहि पत्तो थिएन । छिन–छिनमा कराउँथिन “के गर्न लाग्नु भएको यस्तो ।” पुरेत बाजे केहि वास्तै नगरी सिंगार गर्नमा व्यस्त परिरहे । निदारको माझ गोपी चन्दन् । दायाँ–वायाँ केशरीको धर्को । फिंजीएको झाँक्रो । पहेंलो धोती लगाएकी पुरेत्नी वजैको एक हातमा कुशको डण्डा र अर्को हातमा तुलसीको माला थपक्क राखी दिएर पुरेत बाजेले सरक्क ऐना देखाई दिए ।
बाजेले के गर्न लाग्नु भो ? भनि चूप लागि बसीइरहेकी पुरेत्नी बजैले एक्कासी योगिनी अवतार देख्दा झसँग झस्किन् । बाजे जोडले हाँसे । वजै रुन थालिन । वाजेले फुल्याउँदै भने –
पुरेत –“नरो बुढी, अब लखपति बन्यौं !”
पुरेत्नी –“कहाँबाट आयो लाख रुपैयाँ र लखपति बन्यौं ?”
पुरेत –“यहाँका भेडालाई ठग्ने उपाय नै यहि हो । सोझो काम गरेर त खानै पाइदैन । अव म प्रचारमा दौडन्छु । तँ यहिं खटिया माथि बसिरहनु । म नआउँदै कोही भेडा आइपुग्यो भने नबाेल्नु ; हातले बस भन्ने इसारा सम्म गरि दिनु ।”
पुरेत्नी –“हस् !”
पुरेत बाजे बाहिर निस्केर कराउन थाले । कसैले वास्ता गरेनन् । बाजेले आँखा चिम्लेर सोचें –‘हैन, के उपाय कम भो ?’ कुरा झट्ट दिमागमा सुझ्यो । प्रेस तिर दुगुरे । दुई चारोटा श्राद्ध बाट बचाएको पैसा सवै सुम्पेर भेटी, दक्षिणा सहितको पूजा सामग्री लिई आउनु भन्ने कार्ड छपाए । प्रेस मालिकको सुझावबाट ठाउँ ठाउँमा प्रचारको लागि पाम्प्लेट पनि छापियो ।
एक घण्टा अगाडि वास्तै नगरी वसेका सन्तमा चेलाहरु पाम्प्लीटको मुठ्ठा हातमा लिई आएका पण्डित वाजेलाई देख्दा पछि लागि हाले । सिंगासनमा राज भएकी पहेंलो साध्वीलाई देख्दा कस्को टाउको ठाडो हुन सक्थ्योर । पुगी हाले तेर्स्याउन । बाजेको आदेश नपाएकी बज्यैले किन छुन दिन्थिन् खुट्टा ? पर्यो भक्तलाई आपत । हात जोडेर टाढै बसी ज्ञान पाउने आग्रह गर्न थाले । बाजेको मुखारविन्दुबाट निस्कन थाल्यो – बज्यैको गुण गान ।
भक्तहरुले भर्खरै सन्त महिषी १००८ बाट गुरु महिमा सुनेका । महिषि १ लाखको गुणगानले त परमानन्द मा पुगी हाले । दुई–चारोटा श्राद्धबाट आउने भेटीघाटी र दक्षिणा एकै छिनमा बटुलिएको देख्दा पण्डित वाजे दङ्ग परे । पण्डितेनी वजै भने सिदाको अचार चाख्न नपाउनुको साथै मुख बन्द गर्नु परेकोमा दिक्क बनिन् । भक्तहरुको उनको मलिन चेहरा देखि छक्क परे ।
चराको वोली बुझ्ने पण्डित वाजेले भक्तको विचार बुझि हाले । भेद खुले सारा मिहीनेत चौपट हुने विचार गरि उनीहरुलाई महिषी पट्टी आकर्षित तुल्याउने दिशामा दुगुरे ।
हेर्नोस् ! आज देखिएको कुरा भोलि देखिंदैन । यो अनित्य चोलालाई एक दिन नछोडि सुख छैन । तँ म भन्ने जुन कुभावना छ त्यसले भगवान प्रतिको आस्था घट्छ । त्यसपछि नर्कको यातना सहनु पर्छ । मर्नु जन्मनु को चक्करमा परेपछि कहिल्यै आनन्द भनेको देखिदैन । यो प्राय किन भएको, सम्पत्ति त्यसै कुहाएर राख्छन् । किन साधु सन्तलाईसुम्पँदैनन् भनि एक लाख महिषी दिक्क मानी बस्नु भएको छ । आखिर दान गरेकै पाइन्छ । केहि राखेको छ भने त्यहि न हो , जो साधु सन्तमा सुम्पिएको छ ।
पण्डित बाजेको सानो प्रवचनले नै सबै भक्तहरु झुके । खल्तीमा एक पैसा पनि बाँकी नराखी एक लाख महिषी लाई समर्पण गरी लागे बाटो । साँझ झमक्क परी सकेको हुँदा टुकी बालेर भेटी घाटी गन्दा झण्डै एक हजार पुगेको पाई बाजे दङ्ग परे । बज्यै आफ्नो एक दिन को कमाई लाई हेरि आनन्दले यता–उता लर्खरिन लागिन् ।
‘बुझिस् बुढी ! यो संसारै ठगको संसार हो । सोझो औंलाले घ्यू आउँदैन भन्ने बुढा पाकाका उखान किन व्यर्थ हुन्थ्यो ? यो हजार रुपैयाँको पोको फेला पार्न कम्तीमा चारोटा सप्ताह भन्नु पर्थ्यो । एक महिना एक छाक खानु पर्थ्यो । त्यसमा पनि कत्तिले खोट लगाउँथे । कत्तिले व्येइज्जत गराई दिन्थे । आज मानको ठाउँमा मान, धनको ठाउँमा धन । फेरी पहिले प्रचार नभैसकेको दिनमा नै हजार रुपैयाँ पाक्यो भने भोलि कति पाक्ला ? यस्तै रीतले महीनौ दिन भने लखपति हुन के बेर ?’
पुरेत्नी –“भेद खुल्यो भने के होला नि ?”
पुरेत –“कमाएको पैसा दिनु पर्ने छैन त ; धेरै ठग्न नपाइएला यति न हो ?”
पुरेत्नी –“खडे बाजे हुन् कि खडा वावा हुन् जस्तो निक्लीनु पर्यो भने नि ।”
पुरेत –“तैंले छोरो पाइदिइस् भनेत हो नि । नत्र कस्ले पत्ता लगाउने ?”
पुरेत्नी –“पाउन पनि के बेर ?”
पुरेत –“आकाशै खस्छ भने मर्न पनि पर्ला ।”
पुरेत्नी –“अहिले भक्त आई पुगे भने ?”
पुरेत – “हो, ठीक भनिस् , समय पनि अहिले कै दिएको छु ।”
पुरेत्नी – “मैले के भन्नु पर्छ सिकाई दिई हाल्नुस् ।”
पुरेत –“धर्मको कथा उहिल्यै सुनाई दिएको थिएँनी । आउँछ कि आउँदैन ।”
पुरेत्नी –“आउँछ ।”
परेत –“हो, त्यही सुनाई दिनु ।”
पुरेत्नी –“बीचमा प्रश्न गरे भने नि ?”
पुरेत –“मनै जवाफ दिउँला ।”
पुरेत्नी –“छोरा छोरीले सबैको सामु आमा भनिदिए भने ।”
पुरेत –“के भो त ? माई लाई आमा पनि त भन्छन् नि ।”
पुरेत्नी –“उसो भए म निर्धक्क सँग बसौं ?”
पुरेत –“धक मान्नु पर्ने कुरा के छर ?”
पुरेत्नी –“त्यसो भए मूर्खहरुलाई ठग्या ठग्यै हुन्छ ।”
पुरेत –“बस । अव जानिछेस् । पूरा ज्ञानी भइस् ।”
पुरेत्नी –“लौ त, म एक निन्द्रा सुत्छु , कोहि आए ध्यानमा छे भनिदिस्योस ।”
पुरेत –“जा………. जा…… सुत । बरु नघुर्नु ।”
पुरेत्नी –“हस् त, गएँ ।”
क्रमश:
०००
चार थुम्का (२०७६)
Subscribe
Login
0 Comments
Oldest






































