साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक चोक्टा (उपन्यास अश– १५)

त्यागीको ‘एकचोक्टा’ उपन्यास कृतिको अक्षराङ्कन प्रति स्रष्टा निबन्ध आचार्यको सौजन्यमा फित्कौलीलाई प्राप्त भएको छ । ‘चार थुम्का’ उपन्यास सङ्ग्रहमा सङ्कलित त्यागीको ‘एक चोक्टा’ हास्यव्यङ्ग्य उपन्यास श्रृङ्खलावद्ध रूपमा क्रमशः प्रविष्ट गरिरहेका छौँ । 

Nepal Telecom ad

बी.डी. त्यागी :

समसामयिक नेपाली हास्यव्यङ्ग्यमा कमै चर्चामा रहेका हास्यव्यङ्ग्यकार व्यक्तित्व हुन् बलदेव आचार्य । उनी बी.डी. त्यागीको नामबाट हास्यव्यङ्ग्य लेखनमा सक्रिय थिए । मोहनकुमारी/शुकदेव आचार्यका सुपुत्रका रूपमा वि.सं. १९९६ साल वैशाख १२ गते गहनापोखरी टंगाल, काठमाडौँमा जन्मिएका त्यागीले स्नातक तहसम्मको औपचारिक शिक्षा आर्जन गरेका थिए । वि.सं. २०६० वैशाख १९ गते कीर्तिशेष भएका त्यागीका अन्यान्य फुटकर हास्यव्यङ्ग्य रचनाका साथै ‘उत्पात’ (२०५८) र ‘एक चोक्टा’ (२०७६) दुईवटा हास्यव्यङ्ग्य उपन्यास कृति प्रकाशित छन् । नेपाली हास्यव्यङ्ग्यमा अत्यन्त कम लेखिएको विधा विशेष हो उपन्यास । औँलामा गन्न पनि नपुग्ने हास्यव्यङ्ग्य उपन्यास कृतिमध्ये त्यागीको ‘एकचोक्टा’ उपन्यास कृतिको अक्षराङ्कन प्रति स्रष्टा निबन्ध आचार्यको सौजन्यमा फित्कौलीलाई प्राप्त भएको छ । ‘चार थुम्का’ उपन्यास सङ्ग्रहमा सङ्कलित त्यागीको ‘एक चोक्टा’ हास्यव्यङ्ग्य उपन्यास श्रृङ्खलावद्ध रूपमा क्रमशः प्रविष्ट गरिरहेका छौँ । – सम्पादक

१५

बिहानको दश मात्रै बजेको हुँदो हो । कप्तान कौशीमा बसी घाम तापिरहेका थिए । नरेले टाढैबाट देखी सलाम ठोकेर माथि उक्ल्यो । कप्तान पनि उसलाई देखी खुसी भए । नरेले निदाउरो मुख लगाई उभ्भिई रह्यो । कप्तान साहेव छक्क परे । कप्तान्नी अघि सरेर सोध्न थालिन्‌– “नरे, निदाउरो छस् । एका विहानै किन आइस् ?”

उसले केहि जवाफ दिएन । आँखाबाट बलिन्द्रधारा आँसु खसे । थुरथुर काँपेर थुचुक्क बस्यो । मुख मलिन भैसकेको थियो । खल्तीमा हात राखेर त्यसै झुलिरह्यो । उसको त्यो दयनीय अवस्था देखी कप्तानले सोधे–
नरे किन आइस बाबै ? निक्कै बुढो भैछस् । दुब्लाइछस् पनि । घरमा सन्तानलाई त ठीक छ ? के छ कुरा बताइ हाल्न । किन बेर गर्छस् ?
कप्तान साहेवको कुरा सुनेपछि नरेले सोध्यो –
“मैयाँ साहेव कहाँ नि ?”
“यतै होली, किन र ?”
“दर्शन गरौँ कि ?”
“पर्दैन भैगो ! के छ नयाँ हाल खबर उता ?”
“भए त अगिनै बताई हाल्थेँ नि ! एउटा चिठ्ठी पाएको थिएँ, टक्र्याउँ कि ?”
“के कस्तो चिठ्ठी ? कसको नाउँको ? ”
“हजुरको पनि छ । मैयाँको पनि !”
“ले न त हेरौँ ।”
नरेले चिठ्ठी दियो । कप्तान साहेवले खाम च्यातेर दिपुलाई दिए । दिपुले चिठ्ठी लिई तल वर्ली । चिठ्ठीमा लेखिएको थियो–

प्रिय दिपु,
कुशल रहु । भगवानले तिम्रो कल्याण गरुन् । ईश्वरले दुई–तीन वर्ष अघि तिमी र ममा सम्बन्ध जुराई दिएका थिए । आज सम्बन्ध विच्छेद हुँदैछ । हुन त तिमी ठूूलाकी छोरी म खानसम्म नपाउने कङ्गालको छोरो । जे होस्, आधी पेट माात्रै भने पनि खाए, खुवाएर बसौँला भन्ने मेरो विचार थियो । सुखमा बसेकी तिमीलाई म मिल्दा दुःख शिवाय सुख कहिल्यै मिलेन । यस पापको लागि लाचारसाथ म तिमीसँग माफी माग्छु । माफीको कृपा गर्ने नै छेऊ ।

मेरो दुखद घटनाको व्यहोरा त थाह पायौ नै होली । के गर्नु ? पूर्वजन्मको पाप भोग्नै पर्दो रहेछ । तिमीले पनि मेरो संसर्गमा रहेर निक्कै पाप गरेकी रहिछौ । जसले गर्दा म जस्तो अभागीसँग सम्बन्ध जुट्न पुग्यो । जे होस् मैले तिमीलाई पवित्र नै राखी दिएको छु । आफ्नो इच्छाको राम्रो, धनी, लायक पति रोज । कन्यादान कसैले गरिदिने छैनन् । मलाई दाजु सम्झ । मेरी आमालाई तिम्री आमा । जसले भए पनि कन्यादान दिने छौँ ।

तिमी र म त्यस बखत पति पत्नी थियौँ, जुन बेला लगनगाँठो समातेर म तिम्रो पछि हिँड्दै थिएँ । तिमी मेरो अघि हिंड्दै थियौ । ब्राम्हणहरू ऋचा पाठ गर्दै थिए । आज तिमी कहाँ ? म कहाँ ? कसरी पति–पत्नी मान्ने ? जे होस् । तिम्रो भाग्य रहेछ मसँग सम्बन्ध जुर्‍यो ।

हेर ! म त यहाँ दुई–चार दिनको पाहुना मात्रै बनी बसेको छु । अब त आफ्नै घर जाने भैसकेको छु । भेट्ने मन छ भने एक पल्ट आफ्नो दाजुको नाताले एकै छिनको लागि भए पनि आउने कष्ट गर । मन छैन भने त्यो पनि भैगो ।

दिपु, म पहिलेको दुष्ट सुधिर जस्तो अहिले अवश्य छुइनँ । मैले अन्जानमा तिमी उपर जे जति अत्याचार गरेँ । त्यसको माफी माग्ने मेरो ठूलो इच्छा छ । दया गर्छौ भने एक पल्ट मुख देखाउने कष्ट गर । म उपर घटेको घटनाको पूर्ण विवरण थाह नपाएकी भए त्यो पनि सुनाई दिउँला । तिमी आइनपुग्दै घर जाने साइत निस्क्यो भने नगई भएन । त्यसैले मात्रै सानो विवरण लेखेर छोडेको छु । आइपुग्यौ र सुन्न पायौ भने यो चिठ्ठीको कुनै मतलव छैन । नआई पुग्दै विदा भएँ भने केही जानौली भनेर मात्रै कोरेको छु । बरु अक्षर स्पष्ट भए भएनन् । स्पष्ट नभए सच्याएर पढे–
त्यस ढुस्स फुलेको उराठ लाग्दो दिन तिमीलाई भेटौँ । आफूले गरेको कुकर्मको व्याख्या सुनाउँ । ठूलो घरकी तिमीलाई आफूले हात थाप्नु परेको कारण बताउँ । आफ्नो तर्फबाट तिमीलाई पर्न गएको दुःखको लागि क्षमा मागौँ आदि कुरा लिएर तिमीलाई नै भेट्ने इरादा राखी तिम्रै घरतिर लागिरहेको थिएँ । एक्कासी मनमा कुरा खेल्यो–

म जस्तो गरीव तिम्रो महलमा विना सोधपुछ घुसी दिँदा तिम्रो बेइज्जत होला, तिम्रो दिलले अशान्ति पाउला, वरपरमा तिम्रा इष्टमित्रले तिम्रो गिल्ली गर्लान् । थोत्रो दौरा सुरुवाल लगाएको केटो घुस्दा घरकै शोभा जाला । इत्यादि विचार गरी घरभित्र पस्ने साहसै गर्न सकिनँ । ढोका बाहिरैबाट तिमीलाई धेरैबेर हेरेँ । तिमी दोलैंमा गुटुमुटु भएर बुवासँग कौसीमा बसी गफ छाँटी रहेकी थियौ । हाँसो उडाई रहेकी थियौ । सोचेँ– मेरै गफ उडाई रहेकी हौली । पछि बिचार गरेँ –

म जस्तै झुत्रे भए पनि दिपुले लातै त मार्दिन । मैले उसको के बिगारी दिएको छुर ? बिग्रेकै भए पनि आफू पो बिग्रेको छु । दुःख पाएर छट्पट्टिएको छु । भोकाभोकै रहेर दिन गुजारेको छु । उसलाई मैले के दुःख दिएको छु र ? फेरि बिचार आयो–

दिपुले मलाई लात नमार्ली । मेरो गरिवी पहिरनलाई हेर्दा उसको इज्जतमा बट्टा नलाग्ला र लात नमार्ली । इज्जत कसको हुँदैन ? सानासँग कुरा गर्दा मात्रै पनि ठूलाको इज्जत जान्छ । झन् झुत्रे लोग्नेको रुपमा आउँदा कसलाई रिश उठ्दैन ? त्यसैले घरभित्रै नपस्नु श्रेय ठानँे । अब जाउँ कहाँ ? यत्तिकैमा बिचार उत्पन्न भयो–

म बाँची दिँदा दिपुले सँधै दुःखै दुःखको सागरमा पौडन पर्छ । सँधै आइदेला कि भन्ने त्राशै त्राशले दिन गुजार्नु पर्छ । अन्य दिदी बहिनीले सदा हेलाको दृष्टिले मात्रै हेरिदिन्छन् । उसलाई मरे बाँचेको बराबर हुन्छ । म बाँचुन्जेल उसले ठाडो मुन्टोसम्म पनि लगाएर हिंड्न पाउन्न । मद्वारा नै उसले दुःख पाइरहेकी छे । म नै उसको सुखको तगारो बनेको छु भने म बाँचेर के काम ? यस्तै विभिन्न तर्कना उठे । सुरुवालको ईंजार झिकेर त्यसैले कस्सी मरी दिन्छु भन्ने पनि बिचार गरेँ । पछि लाग्यो–

मरेँ भने त राम्रै भो । मरिन र अस्पताल पुग्नु पर्‍यो भने स्वास्नी, आमा, बाबुको समेत इज्जत जान्छ । त्यसैले झुण्डिएर मर्ने कुरा पनि त्यसै गयो । डुबेर मर्न रानीपोखरी पो जाउँ कि भन्ने पनि बिचार उठ्यो । त्यो विचार त्यसै बिलायो । अनि तिम्रो घरतिरकै परखालमा बसी सोचेँ विभिन्न कुरा । हरतिरबाट मरिदिनुमै तिम्रो भलाई सम्झेँ ।

म मरेमा कसैको नोक्सान हुन्छ कि त्यो पनि बिचार गरेँ । आमाको लागी बहिनी र दुई भाइ छँदैछन् । तिम्रो लागि म थिएँ । भए नभएको बराबर नै भएपछि बराबर किन राख्ने ? नभई दिएमै तिम्रो कल्याण हुन्छ । ठूलो घरानको केटोलाई जीवनसाथी बनाई ऐसआराममा डुल्न पाउँथ्यौ । सदाको दुःखको झक्झकी पनि रहँदै दिदी बहिनीहरूले पनि खिस्सी गर्न सक्दैनन् । आरामै– आरामले तिम्रो जिन्दगी बित्छ । बजार खरीद गरी खानेले पनि एक गेडा अन्न सस्तो पाउलान् । तब निर्णय नै गरेँ मर्ने ! मर्ने !! अब मर्ने पो कसरी ? कुनै तरिकाबाट पनि सजिलो देखिन । पछि सुझ्यो मोटरले किल्चिएर मर्ने । तब बसेँ इन्तिजारमा ।

कैयौं मोटर आए गए । किल्चिइने साहस गर्न सकिनँ । पछि तिम्रो कम्पाउण्डबाट रातो मोटर निस्क्यो बेतोडले साहसै गरी गएर सुतिदिएँ बीच सडकमा । खुट्टा भाँचियो, हात टुट्यो, टाउको बज्रिएर आँखा बन्द भए । प्राण जान सकेन । आज हरबखत तिम्रै संझना आइरहेछ । एकपल्ट यहाँ आउने कष्ट गर्‍यौ भने मुख त देख्ने छैन । कुरासम्म सुन्न पाउने थिएँ । आफ्नो मनमा लागेको कुरा गर्न पाउने थिएँ । केहि कुरा अह्राउन पाउने थिएँ । त्यसैले सामर्थ हुँदैमा यो चिठ्ठी लेखेको छु । दाजुको हैसियतले एक पल्ट पाउ कष्ट गर्‍यौ भने तिम्रो आभारी हुने छु ।

दिपु, तिमीले मेरो तर्फबाट ज्यादै दुःख पायौ हगि ? मलाई पनि तिम्रो दुःखले दिल जलेको छ । के गरुँ ? पूर्व जन्ममा दुबैजना साथै बसी कुनै पुण्य गरेथ्यौँ होला । त्यसैले पति–पत्नीको नाता जोडियो । पुण्य सकियो नाता टुट्यो । जे होस् सबै कुरा आमालाई बताई दिएको छु । मेरी आमा पनि तिम्रै आमा हुनुहुन्छ । फुर्सत मिलेको बेला भेट्ने गरे । मेरी आमा साह्रै सोझी हुनुहुन्छ बुझ्यौ ? एउटी बहिनी यहिं छे । अर्की बहिनी तिमी भयौ । मैले भनिदिएको छु । जेठी तिमी नै हौ : पहिले विबाह तिम्रै हुनु पर्छ । राम्रो बर मात्रै खोज । कन्यादान म नभए आमाले दिनुहुन्छ । तिमीले कुनै सर्जाम केहिं खोज्नु पर्दैन । तिमीबाट आएको सबै सामान जम्मै जस्ताको तस्तै कोठामा राखिदिएको छु । गाई एउटी पनि तिम्रै लागि किनिएको छ । मेरो तर्फबाट एउटा हिराको हार थपिएको छ । सो पनि बाकसमा रहेको छ । हार कहाँबाट ल्यायौ भनौली । त्यो चोरीको होइन भाग्यको । मलाई चिठ्ठा परेको थियो बुझ्यौ भारतको । सबै सामान राम्ररी राखे । दुःख त तिमीलाई पर्ने छैन केहि गरी परेछ भने त्यहि हार बेचेर पनि जिन्दगानी विताउन सक्नेछौ ।

दिपु,
घाउ अति दुख्दै छ । धेरै कुरा बाँकिनै थिए लेख्न सकिनँ । लेखेको पनि बुझ्छ्यौ– बुझ्दिनौ । नजिक भएकी भए घस्रेर पनि भेट्न आउने थिएँ । टाढा भएकीले यो चिठ्ठी छोडेको छु । यहि सानो खेस्राले तिमीलाई केहि शान्ति मिल्ने छ । अव मलाई लोग्ने भन्नु पर्दैन दिपु । दाजु भन्ने गर । कुनै बेला दुःख परेछ भने दाजु … भनी पुकार्नु । उही घरबाट सुनी तिम्रो दुःख दुर पारी दिनेछु ।

प्रिय दिपु,
मैले तिमीलाई यत्ति मायाँ गर्ने थिएँ । के बयान गरौँ ? आफू गरीव भएर जन्मेँ । तिमी अमीर भएर जन्म्यौ । यसैले साथमा रहने अवसर परेन । कुरा कत्ति दोहर्‍याउँ ? अब भेट त्यत्तिकै हो । लौ त विदा देऊ ।

उही
कगाल ‘सुधिर’

चिठ्ठी सकिंदा साथ आँसुको मूल फुट्यो । मुखबाट अनायास आवाज निस्क्यो–
“मेरा पति, मेरा दाजु, तपाईं कहाँ ?”
दिपु डग्रङ्ग लडी । चिठ्ठी हातको हातैमा खुम्चियो । झोक्रिएर बसेको नरेले डग्रङ्गको आवाज सुनी करायो–
“हजूर तल मैयाँ साहेव…”

कप्तान साहेब झसङ्ग झस्केर तल वर्ले । लगाएको ढोका घच्घच्याए । ढोका खुलेन । प्वालबाट हेरे । दिपु इन्तु न चिन्तुसँग घोप्टी रहेकी । कागज हातमा । कप्तान साहेव जोडले कराए ।
“दिपु…. ढोका खोल !”

दिपु चमेलीको घरमा पुगेकी थिई । उहीँ ऊ लडेकी थिई । अगाडि बसेकी चमेलीले सोधिरहेकी थिई–
छोरी, के भो तिमीलाई ? किन लडेकी ?? तिम्रो बुबाले देख्नुभो भने के भन्नु होला ? छिटो उठ ! किन मेरो कुरा पनि मान्दिनौ ? उठ न छोरी तिम्रो बुबाले देख्नुभो भने तिम्रो इज्जत जान्छ । हेर ! तिम्रो विवाहको लागि दाजुले कत्ति सामान जोरेको छ ? देख्यौ । यो पलङ्ग, यो चाँदीको खड्कलो, यो सुनको झारी, यो साडी र यो अनमोलको हिराको हार अनि तल बाँधिएको गाई सवै तिम्रै हुन् । उठ न । उठ्दैनौ ? किन पीर गरेकी तिमीले ? कुनै पीर मान्नु पर्दैन तिमीले बुझ्यौ । म छु ।

तिम्रो कन्यादान दिन दाजुले ठूलो इच्छा गरेको थियो तर के गरोस् ? बाँच्न सकेन । उसले सबै कुरा अह्राएको छ । म आमा बाँचेकै छु । तिम्रो इज्जत अनुसारको विवाह गराई दिन म कहिल्यै पछि हट्ने छैन बुझ्यौ । हो, म गरीव छु । सिर्फ पैसाको दिलको ज्यादै अमीर छु । तिमी मेरो जेठी छोरी हौ । तिम्रो लागि मैले के के जोरेकी छुइन ? हेर्न चाहन्छौ ? आँखा खोलेर हेर । यो कोठाको सबै सामान तिम्रै हो । देख्यौ । के के रहेछ ?

दिपु, तिमी रिसायौ ? किन रिसाउने मसँग ? मैले तिम्रो के बिगार गरेकी छु र ? चिठ्ठी समयमा दिइनँ भनी रिसाएकी होली । किन दिउँ ? थाह नपाएकी भए पो दिने । तिम्रै मोटरले किल्चिएर त्यो गति भयो बिचाराको । आखिर प्राणै समेत गयो । तैपनि तिमीलाई दोष दिएन । थाह पाएर तिम्रो बाबुलाई जेल पुर्‍याउला भनेर गुपचुपमै रहिदियो । हामीले के विगार गरेका छौँ र तिमी रिसाउने ?

तिमी मेरो आफ्नै छोरी हौ । मेरो भूल यहि छ कि तिमीलाई आफ्नो पेटमा राख्न पाइनँ । जे होस् ! सुधिरकी बहिनी मेरै छोरी हौ तिमी । मलाई तिम्रो जत्तीको मायाँ लाग्छ त्यत्तिकै मायाँ आफूले दश महिना पेटमा राखेकी छोरीको पनि लाग्दैन । मैले तिमीलाई छोरी भनेर ल्याउनु पर्थ्यो । बुहारी भनी भित्र हुलेँ । यसको लागि क्षमा गर । अब बुहारी होइनौ, मेरी जेठी छोरी ।

त्यस प्राण जाने दिन सुधिरले तिमीलाई कत्ति भेट्न खोजे रे ! बहिनी दिपु…. भन्दै कत्ति बोलायो रे ! बेहोसमा परेकी मैले केहि थाह पाइनँ । दैवको लात खाएको उसको के जोर चलोस् ? ऊ कस्सिएर हिंड्न सकेन । बोलेको आवाज तिम्रो कानमा पुगेन । आज तिमी कहाँ ? ऊ कहाँ ?? जे होस् ! उसले सबै कुरा मलाई सुनाएको छ । तिमीले कुनै पीर मान्नु पर्दैन । तिम्रो लागि आफ्नो प्राणै समेत दिन तयार छु । उसले मर्ने बेलामा भनेको थियो–
“आमा, मैले गर्दा दिपुले अति दुःख पाएकी छ । तपाईले उसका सबै दुःखलाई सुखमा परिणत गरि दिनु होला है ।”

सुधिरको मर्ने बेलाको त्यो अनुरोध कहिल्यै भुल्न सक्दिनँ दिपु । कहिल्यै भुल्न सक्दिन ।
मेरा तीन छोरा र एक छोरी थिए । अब दुइ छोरा र दुई छोरी भयौ । मेरो केहि पनि घटेको छैन । झन् मैले तिमी जस्ती छोरी पाएँ । आनन्द भने बढेको छ ।

दिपु, उठेर एक पल्ट मुस्कुराई देऊ त । म कत्ति खुशी हुन्छु । सुधिरले दिनदिनै भन्ने गर्थ्यो–
आमा, तपाईंलाई छोराको सट्टा छोरी मिलेकी छ । म बेकामको छोरोलाई दिपु बहिनीले बिर्साइ दिन्छिन् । उनी कत्ति राम्री छिन् ? कत्ति मायालु छिन् ?? कत्ति दयालु छिन् ??? उनको बोलीले नै पेट भरिन्छ केहि खानै पर्दैन । उनले त्यस दिन गरेको कुरा कहिल्यै भुल्न सक्दिन आमा–
“यो संसार त के छ र ? कर्कलोको पानी न हो ?? हावा लाग्यो कि झरिहाल्ने ।”
बहिनी कत्ति बुद्धीमान छे ।

दिपु, तिमीले कुनै पीर लिनु पर्दैन । दाजु विदा भए पनि आमा विदा भैसकेकी छैन । खोज, तिम्रो इज्जत सुहाँउदो बर । बिहे गरिदिने भारा मेरो भो ।

दिपु च्याँँठ्ठिएर कराई–
“आमा …. !”
नरे र कप्तान साहेव ढोका खोली भित्र पसे । दिपुले आँखा पल्टाई फुस्रो ।

०००
चार थुम्का (२०७६)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x