बी.डी. त्यागीएक चोक्टा (उपन्यास अंश– १६)
चार सुइया मसलमा दिए । दुई सुइया भुँडीमा । सुइया तागतको हुँदो हो । कप्तान साहेव सुइया पिच्छे मोटाउन थाले । डाक्टरले दुइ घण्टा औषधी गर्दा कप्तान साहेव दोब्बर मोटा भैसकेका तर चल्नु चट्पटाउनु नास्ती ।

बी.डी. त्यागी :
समसामयिक नेपाली हास्यव्यङ्ग्यमा कमै चर्चामा रहेका हास्यव्यङ्ग्यकार व्यक्तित्व हुन् बलदेव आचार्य । उनी बी.डी. त्यागीको नामबाट हास्यव्यङ्ग्य लेखनमा सक्रिय थिए । मोहनकुमारी/शुकदेव आचार्यका सुपुत्रका रूपमा वि.सं. १९९६ साल वैशाख १२ गते गहनापोखरी टंगाल, काठमाडौँमा जन्मिएका त्यागीले स्नातक तहसम्मको औपचारिक शिक्षा आर्जन गरेका थिए । वि.सं. २०६० वैशाख १९ गते कीर्तिशेष भएका त्यागीका अन्यान्य फुटकर हास्यव्यङ्ग्य रचनाका साथै ‘उत्पात’ (२०५८) र ‘एक चोक्टा’ (२०७६) दुईवटा हास्यव्यङ्ग्य उपन्यास कृति प्रकाशित छन् । नेपाली हास्यव्यङ्ग्यमा अत्यन्त कम लेखिएको विधा विशेष हो उपन्यास । औँलामा गन्न पनि नपुग्ने हास्यव्यङ्ग्य उपन्यास कृतिमध्ये त्यागीको ‘एकचोक्टा’ उपन्यास कृतिको अक्षराङ्कन प्रति स्रष्टा निबन्ध आचार्यको सौजन्यमा फित्कौलीलाई प्राप्त भएको छ । ‘चार थुम्का’ उपन्यास सङ्ग्रहमा सङ्कलित त्यागीको ‘एक चोक्टा’ हास्यव्यङ्ग्य उपन्यास श्रृङ्खलावद्ध रूपमा क्रमशः प्रविष्ट गरिरहेका छौँ । – सम्पादक
१६
चकमन्न रात थियो । झम् झम् पानी परिरहेको । छिन छिनमा हुच्चीलले कराएको आवाज र कुकुरको भुकाई शिवाय केहि सुनिंँदैनथ्यो । नरे र कप्तान साहेब घाटमा लाश जलेको हेरेर बसिरहेका थिए । मनमा विभिन्न तर्कना उब्जिरहेको थियो । कप्तान साहेव छिन छिनमा कराउँथे–
“छोरी, मलाई सदाको लागि एक्लै छोडी गयौ ।”
नरेले चमेलीको दुर्भाग्य सोची रहेको थियो । सम्झी रहेको थियो : त्यस दिन बाहुनीले देखाएकी क्रुरता । सोची रहेको थियो आफ्नो भविष्य । फत्फताई रहेको थियो –
‘सुधिर मरेर गए पनि दिपुको बाबु थियो र यो लास जली रहेको छ । मेरो लासलाई त श्यालले लुच्छने छ । हाडको मुरली बनाउने छ । कुकुरले टाउको कोपरेर गिदी चुस्ने छ । चील गिद्धले दशैं मनाउने छन् । चिता रुने छ । मानिस हाँस्ने छन् । अकालले मरे भने डाक्टरले सिक्ने मौका पाउने छन् । कुहिएर कीराले मोज लुट्ने छ ।
यी कप्तानको पनि गति राम्रो छैन । रण्डीलाई घरमा हुलेका छन् । पातर्नीको खटनले के के हुने हो ?’
नरेको कुरा सुनेका कप्तानको दाह्रा कट्कटिन थाल्यो । घर सम्झे । चाउरेको मोज देखे । पातर्नी को बानी सोचे । शक्रान्तिको दिन मकैको भरमा अफिस गएको घटना उल्झ्यो । छोरीलाई काखी च्यापेको, पेन्टबाट पानी चुहिएको ‘बुबा अरु पनि’ को आवाज कानमा गुञ्जीयो । जली रहेको लासलाई हेरे । संझना आयो यो छोरी मात्र होइन मेरो पत्नी पनि हो । फेरि सोच्यो–
म पातकी हुँ । रण्डो हुँ । कामातुर म मानिस होइन पशु हुँ । यो समाज, धर्म, कानुन कसैले मलाई देखि सहँदैन । यत्ति मात्रै होइन मलाई घरकी पातर्नीले समेत रुचाउँदिन । मेरो बँचाई मूर्दा बचाई हो । म अपराधी हुँ । म फरार डाँकु हुँ । यस संसारमा म बाँच्नु ठीक छैन ।
नरेले ठीक भन्दैछ । मेरो गती राम्रो छैन । यहाँ भी.सी.पाएको कप्तान सिपाहीले शिवाय अरुले जानेका छैनन् । स्वास्नीको पिंजरामा बन्द गरिएको म एउटा सुगो हुँ । माघको जाडो र चैत्रको घाम मेरो लागि दुबै दुःख दायक छन् । भविष्य उस्तै दुःख दायक छ ।
छोरीलाई स्वास्नी बनाउन सक्ने म स्वास्नीसँग किन डरौँ । लास त जलोस् । त्यस चाउरे, त्यस पातर्नी, त्यस मसान तुल्य घर अनि त्यो अपराधको चिनो तक्मा सबै लाखा पाखा लगाई दिन्छु । अनि यो कप्तानी बिडो जहाँ बाट पाएथेँ त्यहि सुम्पेर अनाथको नाथसँग क्षमा माग्न जान्छु ।’
मैले यो संसारमा के देखिन ? यहाँ सतीको सराप छ । सोझोले खान नपावस । म अपराधीले एक पेट खाएको छु । यो नरेले एक पेटसम्म पनि भने जस्तो पाएको छैन किन ? यसले अपराध गरेकै छैन । स्वास्नी ल्यायो त्यो के पाप हो र ? जवानीले बौलाउन लागेकोलाई स्वास्नी बनाई औषधी गरि दिएको छ यसले । यो पुण्यात्मा हो । म अपराधीको सम्पत्तीमा चैन गर्न यसले सुहाउँछ । अरु मेरो सम्पत्तिको अधिकारी कोहि छैनन् । दिन्छु, यसैलाई सम्पत्ती । सोधौँ के भन्दो रहेछ ?
“नर बहादुर ।”
“हजूर”
“मेरो सम्पत्ती तिमीलाई दिन्छु, लिन्छौ ?”
“के भनि बक्सेको ? हजुरको सम्पत्ती मलाई के काम ? एक पेट खानु हो भगवानले हरतरहले खुवाएकै छ । सम्पत्ती कै के दरोकार ? एक न एक दिन यसै गरी जल्नु पर्ने नै छ । बरु चमेली कहाँ छिन् ? खोजेर बक्स्योस् । कल्याण यसैमा छ ।”
“ठिक भन्यौ । सूचना पनि दिनै पर्छ । यो संस्कार पछि दुबै जाऔं । ती साक्षात देवीको दर्शनले पाप पनि कट्ने छ । अपराधको धन पनि सुमार्गमा लाग्ने छ ।” धेरै बेरपछि लास जलेर खरानी बन्यो । दुःखको दुई थोपा आँसु तप्काएर दुबै बाटो लागे ।
टाढा एक घरमा कचिङ्गल मच्चिरहेको थियो । एक बृद्ध ब्राम्हण रोइरहेका थिए । एउटा बुढो कराई रहेको थियो । बुढीलाई घिच्याई रहेको थियो । उर्लिरहेको थियो ।
यो बुढी मेरी पुरानी स्वास्नी हो । यसैले गर्दा मेरो यस बुढेस कालसम्म घरजम हुन सकेन । पहाडबाट जागीर खान नेपाल आएँ । आएकै दिन यार्लिङ्ग दिएर लोग्ने बन्न लगाई । दिनदिनै पैसा, सुन, चाँदी दिँंदै लोग्ने बनाई । बानी बस्यो । यस्तै यस्ता खोज्न थाले । पट्ठो हुन्जेल सवका सव स्वास्नी बन्न चाहे । आज बुढो भएर काम दिन छोडें । सबै टाढा भए । पहिले सिकाउने यहि हो । कुलतमा लगाउने यहि हो । घर जम बनाउन नदिने यहि हो । अव यहि बुढी भए पनि मलाई काम चल्छ । भात त पकाएर खान दिन्छे ।
कुरा अचम्म लाग्यो । दुबै अडेर सुनिरहे । नरेले ठूलो आँखा पारी हेर्यो । पछि चिन्यो बाहुनी । अनि खित्का छोड्दै हाँसेर बक्न थाल्यो–
“यो पातर्नी बाहुनीले मलाई गलहत्याएकी थिई । चमेलीको कपाल उखेलेकी थिई । कुनै दिन मेरी पनि बनी । यो पातर्नी हो, पुङ्कुली हो, रण्डी हो । यसलाई घिच्याउनै पर्छ । लैजाऊ बुढा । मैले यो पातर्नी बकस दिएँ । हहहह…. ।”
जिल्ल परेर अडे । उनको बहादुरी कता गयो कता ? सम्झे ‘न कप्तान्नीलाई पनि कसैले घिच्याई सक्यो । न आफूलाई पनि यी बुढा बाहुन रोए झै रुनु पर्ने हो । न नरे जस्तै कुनै हाँस्ने खडा हुने हो । यो कस्तो समाज ? कस्ता मानिस ?? कस्तो निडर ??? अर्काकी स्वास्नीलाई मेरी पुरानी स्वास्नी भन्दै तान्न सक्ने कहाँसम्मको हिम्मत ? यी बुढा बाहुन कत्ति थर्किरहेका ? रण्डी स्वास्नी अर्काले लैजान लाग्दा खुसी पो हुुनु पर्ने ? झन् रोएका छन् । त्यो निदारमा लगाएको त्रिपुण्डक कत्ति हाँस्दो हो ? त्यो रुद्राक्षको माला कत्ति रुँदो हो ? सब ठीक छ । आखिर यो संसार न हो ? नत्र किन मानिस मोक्ष हुन चाहन्थे । यस्तै दुःख, सुख घुमी घुमी आइरहने भएर न हो ? मेरी कप्तान्नीलाई पनि कसैले घिच्याई रहेको होस् । हाँस्ने कुनै खडा भएको होस् । आफूले दान दिन सकौं । यसैमा त संसारको मिठास छ । यी बाहुन सज्जन थिए होलान् । पतिब्रता स्वास्नीलाई घिच्याउन लागेको ठानी रोए । मलाई त पूरै थाह छ–
“स्वास्नी रण्डी हो, म रण्डो हुँ ।”
यो संसारमा सबै पवित्र छन् । समाज सेवीकाले पहिल्यै भनी दिएकी छे–
“म रण्डी, तिमीहरू रण्डीको सन्तान ।”
‘यहाँ लुपकुमारी र कण्डम कुमारको रजार्इं छ । रण्डा र रण्डीको निवास छ । धर्म–कर्मको बिनास छ । खाऔं, मोज गरौं, लुटौं, मारौं भन्ने मात्रै एक आस छ ।’
कप्तान साहेव फत्फताउँदै थिए । नरेले हाँसो थामी आएर भन्यो–
“कप्तान साहेव, अब जाऔं । पाप धुरीबाट कराउँछ भन्थे, ठीक रहेछ । मैले जाने । यो पातर्नी बाहुनीले सबैलाई ठगेकी थिई । मारेकी थिई । ईश्वर छैन, दुख पर्दैन, सुखै सुखले दिन वित्छ भन्ने यसको धारणा थियो । भगवानले अभियान पुरा पारी दिए दिए, मैयाँको त्यो गति नभएको भए आज मैले मासु भात खाने दिन थ्यो, बुझिबक्स्यो ?”
कप्तान साब चुप रहे । आँखाबाट आँसुको धारा छुटयो । बोल्ने सामर्थ भएन । दिलमा भक्कानो छुटेर आयो । केहि होस भएन, थररर खुट्टा काँपे त्यसैले ठूलो आवाज गरी लडे भुइँंमा । इन्तु न चिन्तु भै हाले ।
नरेले टाउको काखमा राखेर बस्यो । बाटोमा आइरहेकी एउटी बुढी बाहुनीले कमण्डलुको पानी मुखमा सेंची दिइन् । होस खुलेन । एक पल्ट दाह्रा कटट्ट किटेर फुश्रो आँखा पल्टाई हाले ।
दुई चार ठाउँमा मmाँक्री बसी रहेको नरेले सोच्यो । कप्तान साहेवलाई बाँण लाग्यो । त्यसैले भूईंको माटो लिएर उफ्रन थाल्यो–
अँ, हेर । मनुवा हेर !
अँ, तँलाई ! अहिल्यै, अँ यीन्को, अँ, होस, अँ खोली, अँ दे हँु हुँ हुँ….। अँ, काँचो बायु, अँ पाको बायु, अँ भूत प्रेत, अँ जे भे पनि अँ, छोड्दे ! अँ छोड्दे !! अँ छोड्दे !!!
कप्तान साहेवको आँखा झाँक्री बस्दा पनि खुलेन । नरेलाई अचम्म लाग्यो । यस्तो अचानक ढल्नेलाई बाँणनै लागेको हुन्थ्यो । एक पल्ट झाँक्री बस्दासाथ विरामी उठी हाल्थे । कप्तान साहेव उठेनन् । त्यसैले निदार छाम्यो । पाइताला हेर्यो । भुँडी छाम्यो । शरीर ताततातै थियो । दुगुर्यो ऊ डाक्टर बोलाउन ।
पाँचै मिनेट भित्र आइपुगे डाक्टर ट्याक्सीमा र गर्न लागे जाँच–
यन्त्र छातीमा लगाए । पिठ्यूँमा लगाए । पल्टिरहेको आँखा हेरे । जोडले मुख फट्याएर जिब्रो हेरे । ठहरिए कप्तान निको हुने । नरे दङ्गदास पर्यो । डाक्टरले थाले सुइया दिन ।
चार सुइया मसलमा दिए । दुई सुइया भुँडीमा । सुइया तागतको हुँदो हो । कप्तान साहेव सुइया पिच्छे मोटाउन थाले । डाक्टरले दुइ घण्टा औषधी गर्दा कप्तान साहेव दोब्बर मोटा भैसकेका तर चल्नु चट्पटाउनु नास्ती ।
डाक्टर साहेवलाई ताजुव लाग्यो । ल्याएको डाक्टरी किताव पल्टाए रोगको नाम पत्ता लाग्यो । ‘फेन्टेस्’ । रोग अनुसारको औषधी त गरेकै हुन् । कप्तान साहेव किन उठेनन् ? ताजुव त यो पो भो ।
धेरै बेरपछि कप्तान साहेवको शरीरबाट गन्ध निस्क्यो तब डाक्टर साहेवलाई फुर्ती आयो अनि कराए–
‘नो आई हाएव गोन् अन् दि रङ्ग ट्रिटमेन्ट् । दिस डिजिज् इज् नट् फेन्टेस् । इज् अन्ली अन् डाइजेस्ट ।’ कप्तान साहेवलाई मुर्छाको रोग लागेको होइन रहेछ अपच । नत्र किन गन्ध आयो ?
डाक्टर साहेवले ब्यागबाट फेरि अर्को सिसी झिकेर सुइया दिन थाले । दुइटा सुइया दिइसकेपछि नरे र कप्तान्नी साहेव आइपुगे । कप्तान साहेवको मुख देख्दा साथ कप्तान्नी साहेव जोडले चिल्लाइन्–
“हजुरको यो गति….. ?”
डाक्टर जङ्गिएर करायो–
“नोन्सेन्स् ! युमेन ह्वाई हाएव यु क्राइङ सो लाउड ?”
नरेले कुनै कुरा बुझेन । अलमल्ल परेर टुसुक्क बस्यो । कप्तान्नी रुन थालिन् । ठाउँ मसान तुल्य बन्यो । कप्तान साहेव ब्यँुझेनन् । डक्टरले हार खाएर उठी हात तेर्स्यायो–
“फिस् दिनोस्”
कप्तान्नी, नरे दुबै चूप लागे । डाक्टरले फेरि कराएर भन्यो–
“सुन्नु भएन ! पैसा दिनोस् भन्या !”
नरेले उठी एक झाप्पु दियो । डाक्टर उठी बेतोडले दुगुर्यो । केहि मानिस झुम्मिए । कुरा उठ्यो संस्कार गर्ने । कसैले कुरा गरे– ‘कसरी लैजाने ?’ झरी पर्न लागिसक्यो व्यवस्था भएन । रात पर्न आँट्यो मानिस फटाफट बाटो लागे । दूई चार जना धर्मात्माले भने छोडेनन् । नरे हिँडयो घाटे डाक्न ।
“अ… बाजे ! घाटे बाजे !!”
“किन ?”
“एउटा लाश ल्याएर जलाई दिनु पर्यो !”
“कहाँ छ ?”
“त्यहिं बाटोमा !”
“को त्यहि कप्तान ?”
“हो !”
“दुई शय रुपैयाँ लाग्छ !”
“त्यसो नभन्नोस्न बाजे, दुःखमा !”
“यस्तै दुःखैमा हो हामीले खाने !”
“डेढ सय रुपैयाँ दिन्छु दाउरा समेत ।”
“दाउरा समेतलाई त पाँच शय लाग्छ ।”
“त्यसो नभन न बाजे, तिम्रो मुख बोली अनुसार दुई शय दिएँ हिंँड ।”
“सर्जाम समेतलाई पाँच शयमा एक पैसा घट्दैन, दिनुहुन्छ दिनोस नदिए जाईंदैन ।”
“के धर्मै सम्झेर भनेका हौ ?”
“धर्म अधर्म म जान्दिन । लाग्ने पैसा छोड्दिन ।”
“धेरै कुरा नगर । अढाई शय दिन्छु हिंँड ।”
“जान्न भनेपछि कसको बाबुको कर ?”
गल्फत्तीले नै रात गई सकेको । झन् बाबुको शब्दले नरेको कन्सिरीको रौँ तातेर आइहाल्यो । नरेले हात गर्धनमा लगेर के घोक्रयाएको मात्रै थियो, घाटे बाहुन कराउन थाली हाल्यो–
‘मार्यो नि बज्जेले ! समायो घोक्रो ।’
घाटेको आवाज सुन्दासाथ सत्तलमा बसेका अरु ३/४ जना घाटे ओर्लेर आए । एउटा घाटे नरबहादुरले चिनेकै पर्यो । कुरा मिली हाल्यो । चार जना कस्सिएर हिँंडे लास उठाउन ।
कप्तान साहेव चौबर ठूला भैसकेका थिए । घाटे बाहुनहरूले डेग चलाउन सकेनन् फेरि पर्यो फसाद । दुइ जना अर्का घाटे आएपछि बल्ल उठ्यो लास । घाटमा पुर्याई संस्कार सकिँदा विहानको छ बज्यो । फर्केर घर आउँदा ढोकामा ताल्चा बन्द ।
क्रमशः
०००
चार थुम्का (२०७६)
Subscribe
Login
0 Comments
Oldest






































