फित्काैली डटकमसाहित्य सन्ध्याको ४७५ औँ नियमित मासिक शृङ्खला सम्पन्न
‘नववर्ष मनाउने परम्परा, प्रचलन र सन्देश’ विषयमा विशद चर्चा गरिनुका साथै शुभकामना विशेष कविगोष्ठीको आयोजना गरियो ।

काठमाडाैं । साहित्य सन्ध्याको नियमित मासिक ४७५ औँ शृङ्खलामा ‘नववर्ष मनाउने परम्परा, प्रचलन र सन्देश’ विषयमा विशद चर्चा गरिनुका साथै शुभकामना विशेष कविगोष्ठीको आयोजना गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा विख्यात संस्कृतिविद् प्रा.दिनेशराज पन्त उपस्थित हुनुहुन्थ्यो भने अतिथिहरूमा डा.विजय सुब्बा, ब्रह्मप्रिय प्रेमस्वरूप, पोषरमण चापागाईँ, नर्मदेश्वरी सत्याल, डा.गोविन्दप्रसाद आचार्य, कृष्ण बाउसे, नन्दु उप्रेती, महेशराज खरेल, विन्दु अधिकारी ढकाल, ओमप्रसाद कोइराला, दिल पौडेल, ललित बस्नेत ‘भिमाली’लगायतको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि विख्यात संस्कृतिविद् प्रा.दिनेशराज पन्तले ‘नववर्ष मनाउने परम्परा, प्रचलन र सन्देश’ विषयमा विशद चर्चा गर्नुुहुँदै ऐतिहासिक रूपमा राजा मानदेवको पालामा ‘शक’ सम्वत् चलेको अर्थात् वि.सं. सुरु हुनुभन्दा १३५ वर्षअगाडि यो ‘शक’ सम्वत् चलेको थियो र यो ३०४ वर्षसम्म चल्यो । सम्वत् भन्ने कुरा राजासँग जोडिएको कुरा होइन; यो त गणित, भूगोल, हिसाबसँग सम्बन्धित कुरा हो । उत्तरायण र दक्षिणयायनको हिसाब गरेर वर्षको सुरु दिन गणना गर्ने गरिन्छ । हाम्रो हकमा यो गणना ठ्याक्कै वैशाख १ गते नै नपर्न पनि सक्छ ।
नेपालमा विभिन्न भाषा बोल्ने नेपाली भाषीहरूले शंखधर शाक्यलाई जोडेर नयाँवर्ष मनाउने परम्परा पनि रहेको छ । ऐतिहासिक, पौराणिक कालदेखि नै नयाँ वर्ष मनाउने परम्परा, प्रचलन रहेको मात्र होइन, यसको महत्त्व पनि धेरै रहेको छ भन्नेसमेतका विभिन्न तथ्यहरू, दृष्टान्तहरू प्रस्तुत गर्नुभएको थियो ।
समारोहमा ओमप्रसाद कोइराला, मुक्तिनाथ आचार्य, लक्ष्मण तिमिल्सिना, ब्रह्मप्रिय प्रेमस्वरूप, डा.मनोज जोशी, पोषरमण चापागाईँ, डा.विजय सुब्बा, अविकेशर ओली, महेशराज खरेल, कृष्ण बाउसे, नन्दु उप्रेती, दिल पौडेल, प्रशान्त खरेल, अमरदीप सुनुवार, ललित बस्नेत ‘भिमाली’, वासुदेव अधिकारी पाँचथर, बलराम विष्ट, नर्मदेश्वरी सत्याल, यदुनाथ वसन्तपुरे, देबु लुइटेल, डा.गोविन्दप्रसाद आचार्य, प्रिन्स प्रमोद, दिनेशराज खरेल, विन्दु अधिकारी ढकाल, गोपालकुमार मैनाली र राम विनयले आआफ्ना कविता, गीत, गजल, मुक्तक वाचन गर्नुभएको थियो ।
वाचित रचनामाथि समीक्षा गर्नुहुँदै समालोचक विनोद मन्जनले लामो इतिहास बनाएको साहित्य सन्ध्याको आजको यो विशेष समारोहमा परिचर्चा गरिएको विषय र सुनाइएका कविता समसामयिक रहेका छन् । आज वाचित प्रायः कविता आजको विषयसँग सम्बन्धित छन् । स्रष्टाका सिर्जनामा पाइन लाउनुपर्ने वा धारिलोपन ल्याउनुपर्ने अवस्था भने धेरै कवितामा रहेको देखिन्छ । पहिचानको त्यसमा पनि नारीको बहुआयामिक पहिचानको खोजी कवितामा गरिएको छ । हाम्रो क्षमताको अवमूल्यन गर्ने हस्तक्षेपकारी देशीविदेशी प्रवृत्तिको शालीन विरोध पनि कवितामा गरिएको छ तर अपेक्षित सशक्तता भने देखिँदैन । उद्देश्य दिग्भ्रमित भएको वर्तमान उजागर गर्दै सपना बिउँझाउनुपर्ने अपेक्षा पनि कवितामा गरिएको छ । देखिएका विचलनमा रूपान्तरण आवश्यक छ र अबका दिनमा के गर्नु आवश्यक छ भन्ने दिशानिर्देश पनि कविताले गर्नु आवश्यक छ । समग्रमा चाहिँ आजको यो विशेष समारोह सार्थक रहेको छ । यस समारोहमा उपस्थित भएर वाचित रचनामाथि टिप्पणी गर्ने अवसरका लागि म हार्दिक धन्यवाद दिन्छु भन्नुभयो ।
सभाध्यक्ष राम विनयले साहित्य सन्ध्या भनेको एक प्रकारको कार्यशाला हो । २०३९ पुस २ गते बुधवार नेपाल ल क्याम्पसबाट साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियानको अगुवाइ गरिरहेको यो संस्थाले नयाँ र पुराना स्रष्टालाई एकै ठाउँमा भेला गराई कार्यशालाको स्वरूप प्रदान गरिरहेको छ तर पछिल्ला दिनमा नयाँ स्रष्टाको सहभागिता अलि कमजोर भइरहेको पनि छ । आजको यो विशेष समारोहमा भने पुराना र स्थापित पुस्ताको उल्लेख्य सहभागिता रहेको छ । हामी जेजति यहाँ उपस्थित हुनसकेका छौँ गुणस्रीय उपस्थिति रहेको छ । हामी हरेक महिनामा कुनै न कुनै महत्त्वपूर्ण विषयमा बहस गर्ने, छलफल गर्ने र सामाजिक विकृति तथा शासकीय विसङ्गतिका विरुद्धमा आबाज उठाउने वा बहसको थालनी गर्ने कार्य गरिरहेका छौँ । हाम्रा आबाज शासनसत्ताले सहज सुन्ने प्रवृत्ति नदेखिए पनि हाम्रो अभियान निरन्तर रहिरहेको छ । आजको यो विशेष समारोहमा बहस गर्नै पर्ने निकै महत्त्वपूर्ण विषय ‘नयाँवर्ष मनाउने परम्परा, प्रचलन र सन्देश’का बारेमा विद्वान व्यक्तित्व प्रा.दिनेशराज पन्तले विभिन्न दृष्टान्तसहित विशद चर्चा गरिदिनुभएको छ । कविहरूले आआफ्ना सिर्जना वाचन गर्नुभएको छ र वाचित सिर्जनामाथि समालोचक विनोद मन्जनले विश्लेषणात्मक समीक्षा गरिदिनुभएको छ । हामी स्रष्टाले सिर्जनाका माध्यमबाट सत्यका पक्षमा र न्यायका पक्षमा उभिनु आवश्यक छ ।
वर्तमानमा देखिएको अराजकता, उग्रता र भ्रम छर्ने प्रवृत्तिका विरोधमा हामी स्रष्टाको कलम चल्नु आवश्यक छ । आजको यो समारोहमा उपस्थित भइदिनुहुने प्रमुख अतिथि, अतिथिलगायत सबै सबैलाई हार्दिक धन्यवाद दिन्छु, आभार प्रकट गर्दछु । फेरि अर्काे महिनाको समारोहमा कुनै न कुनै विशेष विषयमा बहस गर्ने तथा कविगोष्ठी गरिने भएकाले त्यसमा पनि आमन्त्रण गर्ने नै छौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।
०००
रमेश पाेखरेलकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest







































