बी.डी. त्यागीएक चोक्टा (उपन्यास अंश– १७)

बी.डी. त्यागी :
समसामयिक नेपाली हास्यव्यङ्ग्यमा कमै चर्चामा रहेका हास्यव्यङ्ग्यकार व्यक्तित्व हुन् बलदेव आचार्य । उनी बी.डी. त्यागीको नामबाट हास्यव्यङ्ग्य लेखनमा सक्रिय थिए । मोहनकुमारी/शुकदेव आचार्यका सुपुत्रका रूपमा वि.सं. १९९६ साल वैशाख १२ गते गहनापोखरी टंगाल, काठमाडौँमा जन्मिएका त्यागीले स्नातक तहसम्मको औपचारिक शिक्षा आर्जन गरेका थिए । वि.सं. २०६० वैशाख १९ गते कीर्तिशेष भएका त्यागीका अन्यान्य फुटकर हास्यव्यङ्ग्य रचनाका साथै ‘उत्पात’ (२०५८) र ‘एक चोक्टा’ (२०७६) दुईवटा हास्यव्यङ्ग्य उपन्यास कृति प्रकाशित छन् । नेपाली हास्यव्यङ्ग्यमा अत्यन्त कम लेखिएको विधा विशेष हो उपन्यास । औँलामा गन्न पनि नपुग्ने हास्यव्यङ्ग्य उपन्यास कृतिमध्ये त्यागीको ‘एकचोक्टा’ उपन्यास कृतिको अक्षराङ्कन प्रति स्रष्टा निबन्ध आचार्यको सौजन्यमा फित्कौलीलाई प्राप्त भएको छ । ‘चार थुम्का’ उपन्यास सङ्ग्रहमा सङ्कलित त्यागीको ‘एक चोक्टा’ हास्यव्यङ्ग्य उपन्यास श्रृङ्खलावद्ध रूपमा क्रमशः प्रविष्ट गरिरहेका छौँ । – सम्पादक
१७
जयबहादुर पत्रिका हेरि कोठामा बसीरहेका थिए । बाहिर घामले निस्की नसक्नु थियो । मोटर गारगार र गुरगुर चली रहेका थिए । शर्मिला रामायणको पुस्तक पल्टाएर हेर्दै थिइन् । कहिले काहिं हनुमानको फुर्ती देखेर हाँसी दिन्थीन त कहिले काहिं सीताको दुःख देखेर रोई दिन्थीन् । दुबै किताव र पत्रिकामा मस्त थिए । यसै बखत घर मुनी सडकमा एउटा मोटर अड्यो । जय बहादुरले झ्यालबाट हेरे । मोटर रित्तो थियो । अचम्म मानेर फेरी बसे । भर्याङ्गमा टवाक टवाकको आवाज आयो । उठेर ढोका खोली हेरे । देखे पुरेत बाजे । अचम्म मान्दै सोधे –
“हैन पुरेत बाजे, आज कताबाट ?”
“दर्शन गरौं भनेर नि ! घरैबाट ।”
“मोटरमा आउनु भएको हो कि कसो हो ?”
“अँ, एउटा किनी टोपलेको नि ।”
“हाल समाचार त सबै बेस् ?”
“के बेस भनौ ? के खराब ।”
“किन र ?”
तीनौटा मन्त्रीका घरबाट डलर का डलर निस्केरे भन्ने सुन्छु के खराब भनौ ? अशल भनौ भने कप्तान साहेव जस्ता मानिस मरे । दाह संस्कार गरेको पैसा समेत चुकाउन नसकेर मानिस भागाभाग छन् के भनौ ? यस्तै छ ।
“हैन पुरेत बाजे, के तपाईंले साँचो कुरा त गर्दै हुनुहुन्छ ?”
“साँचो भनौ कि झुठो, पत्रिकामा देखाउँ छापिएको छैन, मरेका कप्तान साहेब देखाई दिउँ जली सके ।”
“मन्त्रीको घरबाट डलर निस्के भन्ने त सुनेको हुँ । कप्तान साहेव ।”
विचरा कप्तान साहेव मरेका देखि पातर्नी कप्तान्नीले लट्टी पट्टी पारेर चाउरेलाई लिई गुम् भइ छन् । दाह संस्कार सकेर घर पुग्दा पो ढोकामा ताल्चा बन्द रहेछ ।
“कसरी थाह पाउनु भो ?”
नरे बुढा आएर रुन थाल्यो र पो मैले पनी थाह पाएँ । नत्र कहाँबाट थाह पाउनु ? मोरा घाटे बाहुन पनि कस्ता ? एक–दुई सय पो माग्न सक्नु पर्छ । पाँच पाँच शय पनि माग्ने हो ? एक पैसा घट्दैन भनेछन् । दिने कबुल गरेर बुढाले दाह संस्कार गराएछ । घरमा पैसा दिलाई दिन जाँदा त कप्तान्नी कुईंच । मलाई कराउन थाल्यो के भनौ ? घाटेलाई पचहत्तर पचहत्तर रुपैयाँको दरले साडे चार शय र दाउराको पचास समेत पाँच शय रुपैयाँ बुझाएर आउँदै छु ।
“उसो भए काज कृया भएको छैन ?”
“कहाँ हुनु ? गर्दिनु पर्ला नि !”
“शर्मिले, पुरेत बाजेको कुरा सुन्यौ ?”
“के हो कुन्नी ?”
कप्तान साहेबको स्वर्ग बास भयो रे । कप्तान्नी भाउज्यु लट्टी पट्टी बोकेर भागिन रे के ?
“हो र ?”
“पुरेत बाजे त्यसै भन्दै हुनुहुन्छ ।”
“हामी जानु पर्दैन त ।”
“कहाँ जाने ? कोई भए पो जानु ??”
“आफ्नो कोई नभए झैं त्यसै छोडि दिने त ?”
“के गर्ने ? तिमी आफै भनन त ।”
“जानु पर्छ । काज कृया गराई दिनु पर्छ । अरु के भनौ ?”
“हामी पनि त कुन औगातका मानिस हौं र ? दुई हजार पच्चीस शय भन्दा कमिले पुग्ने छैन त ? त्यत्रो खर्च अपरझटमा कहाँ बाट पाउने ?”
“हजूरहरूले पीर नगरी बक्स्योस् , मेरो कप्तान साहेबको उद्धार म नै गर्छु ।”
“तपाईंले पनि त कहाँबाट गर्नु हुन्छ ?”
“भगवानले दिएको छ, सात पुस्तालाई पुग्ने ।”
“हैन पुरेत बाजे, तपाईंले कहाँबाट पाउनु भो त्यत्रो सम्पत्ती ?”
“ठगें नाई, सोझो गरेर कहाँबाट पाइन्छ र धन ?”
“हैन हजुरले पत्रिका सबै हेरीबक्स्यो ?”
“हेरेँ ।”
“देखिबक्स्यो त लोग्नेले स्वास्नी काट्यो भन्ने ।”
“अहँ त्यो त देखिन ।”
‘अपराधी त काटिए होलान्नी हेर्नु पर्छ, देखाई बक्स्योस पत्रिका’ भन्दै पुरेत बाजे पत्रिका पल्टाउन थाले । जय बहादुर सोचमा परे । शर्मिला भण्डार भित्र पसिन् । बाह्रको तोप पड्क्यो । पुरेत बाजेले पत्रिका हेर्दै गए । डलर कमाउने मन्त्री जत्ती मण्डल भित्र नपरेका । सत्र भाइ फेरि जुटेको पाई राणालाई झट्ट सम्झे । विशेष समाचार केहि नभएकोले पाता पल्टाउँदै जाँदा पारबहन सन्धी मा आँखा पुग्यो । एक छिन अडेर हेरे । जे कुराको लागि पनि भारत सरकार सँग अनुरोध गर्नु पर्ने देखेर एक पल्ट दाह्रा किटेर फेरि पल्टाए पाना । पुगेछ आँखा बिज्ञापनमा हेरे । नेपालमा बनेको भारत ब्लेड प्रयोगमा ल्याउनु होस् । त्यसै मुनी अर्को बिज्ञापन देखे नेपालमा बनेको सनसाइट, लाएफ ब्वाए साबुन प्रयोगमा ल्याउनोस् अनि अर्को सूचना देखे नेपालमा बनेको छेस्कीनी प्रयोग गर्नोस । सबै हेरेर मुसुक्क हाँसे । लाग्यो होला– नेपाली पनि अर्काको नाम चोरी गर्छन् । नक्कल गर्छन् । के नाम पनि आफ्नो देशमा पाईंदैन ?’
अन्त्यमा देखे –‘लोग्नेले स्वास्नीलाई काट्यो ।’ समाचारमा लेखिएको थियो–
‘हिजो राती करीब १२ बजे चालीस बर्षीय चाउरे नाम गरेको एक ब्यक्तिले कप्तान्नी नाम गरेकी बत्तीस वर्षीय आफ्नी स्वास्नीलाई काटेको समाचार प्राप्त भएको छ । निज चाउरेको भनाई अनुसार निज कप्तान्नी सँग दश वर्ष अघि देखि लस्पस्सीएको थियो । हिजो कप्तान्नीको लोग्ने छोरीको दाह संस्कारमा गएको मौका पारी भएको झरझिटी पोको पारी भाग्ने तरखरमा लागेको बखत नर बहादुर नाम गरेको एक बुढो आइपुगेकोले धनमाल लुकाउन अप्ठ्यारो परेको हुँदा निज कप्तान्नी साथैमा घाट गएको र सम्पत्ती सबै बोकी ऊ हिंडेकोमा एकै छिन पछि कप्तान्नी आई पुगेकीले भाग्न नपाएको हुँदा गल्फत्ती परेको थियो । एकलै गए कसैले पत्ता नपाउने र दुई जना गए सबैले थाह पाउने संझी तिमी पछि एक्लै आऊ, म अहिले जान्छु भन्दा कप्तान्नीले साथै जाने जिद्धी गरेकी हुँदा काटी दिएको हुँ भन्ने सावित बयान दिएको छ । अरु कुरा प्रहरीले छान विन गर्दै छ ।’
समाचार सकिंदा साथ पुरेत बाजे कराए –
“यो कप्तान साहेवलाई के भएको हो ? जहाननै सखाप ?”
“के भो र ? पुरेत बाजे ।”
“कप्तान्नी साब पो काटीइ छिन् ।”
“हो र ?”
“चाउरेले काटेछ ।”
“त्यही नोकर चाउरेले ।”
“नोकर भन्ने हो कि ? मालिक । मोज मज्जा सबै उसैले गर्थ्यो ।”
“त्यसो भए जहार पनि जेल पर्यो ।”
“अव त्यसैत भन्नु पर्यो नि ।”
कुरा चल्दै थियो । शर्मिलाले चीया ल्याइन् । पुरेत बाजेले लामो हात पसारे । जय बहादुरले पनि । एक कप चीया एकै पल्ट कसलाई दिने । रनभूल्ल परिन् । पुरेत बाजेले भने–
“पहिले हात मैले पसारेको छु ”
शर्मिलाले चीया पुरेत बाजेलाई नै सुम्पी भित्र पसिन् । जय बहादुर उठी झुल भित्र पसे । पछि चिया लिएर आउँदा पुरेत बाजे मात्र बसीरहेका । उनीलाई डरलाग्यो । किन कि जय पनि झडङ्गी नै हुन् ।
एक दिन भात खान ढिलो बोलाई रे भनि चार दिन बेपत्ता भएर पाँचौ दिनमा मात्र घर भित्र पसेथे । आज चिया ढिलो भो भनेर बाहिर जान पनि के बेर ? त्यसैले कप टेविलमा राखेर हुर्रिदै झ्यालमा पुगिन् । बाटो चकमन्न थियो । पुरेत बाजेले सोधे –
“हैन दुलै साहेब, कसलाई खोजी बक्स्यो ?”
“उहाँ कहाँ सवारी होइबक्स्यो ?”
“दुलै साहेवले मारी बक्सीन्छरे भनी झुल भित्र लुकी बक्स्यो । हजूरले अति सताई बक्सेको छ कि कसो हो ?”
शर्मिलाले हाँस्दै झुल खोलिन् । सिरकले गुट्मुट्टीएर बसेका जय बहादुरले च्याप्प समातेर भित्र ताने । पुरेत बाजे कराउन थाले –
“भूँइचालो त नजावस है हजूर ।”
लाजले भुतुक्क भएकी शर्मिला झुलबाट वर्लि फटाफट् हिंडी मटानमा पुगिन् । जय बहादुर हाँस्दै वर्ले । चीया सेलाई सकेको थियो । पुरेतवाजेले समाती भने –
‘हजूर । यो चीया त आजका सत्र भाइले खाने जस्तो चीसो भैसकेको छ । हजूर पीइ बक्सने कि ? म नै तन्काई दिउँ ?’
जय हाँसे । शर्मिलाले भनिन् –
बक्स्योस्न पुरेत बाजेलाई । हजूरलाई के अर्कै तयार पारी दिन्न र ?
जय चूपै रहे । पुरेत बाजेले भने–
“भो ! भो !! पीइ दिन्न । हजूर नै जीनार गरि बक्स्योस् । कत्रो लोभ लागेको हजूरलाई ? बाहुन लोभी भन्थे क्षत्री पो लोभी हुँदो रहेछन् । एउटी क्षत्रीनीले पाँच रुपैयाँ खाई दिइन् । अर्का क्षत्री एक कप चिया पनि खाः भन्न सक्तैनन् ।”
“ए पुरेत बाजे, क्षेत्रीको व्यइज्जत नगर्नोस् । एक कप त के पाँच कप पनि दिन सक्छु । चीसो चीया खुवाएर विरामी तुल्यायो भन्नु होला भनेर पो चूप लागेको ।”
“हो, कुरा बनाउन जानी बक्सेको छ । खाई दियो भने दश पैसा उड्छ भन्ने कत्ति डर लागेको होला ।”
“छैन, छैन पिउनोस् । बरु पेट दुख्यो भन्न नआउनु होला ।”
“बाहुन, हाकिम, मन्त्री उस्तै हो । जे पनि पचाउन सक्छन् बुझिबक्स्यो । यी तिनोटा मन्त्रीले भने किन हो पचाउन सकेनन् ।”
“हैन पुरेत बाजे, तपाईंलाई गफ कहाँबाट आउँछ ?”
“चीत्र गुप्तले पार्शल गरेर पठाउँछन् ।”
“टोयोटा कार कहाँबाट आयो नि ।”
“कहाँबाट हुन्थ्यो, जापान बाटै त हो नि ।”
“नोट नि ।”
“त्यो पनि सोध्नु पर्छर ? बेलायत छैन र ?”
“साँच्चै भन्नोस्न । गाँठी कहाँबाट जम्मा गर्नु भो ?”
“भक्तहरू जन्मेका छैनन् र ? तिनै भक्तहरूबाट ।”
पुरेत र जजमान बात चित हुँदै थियो । नरे आइ पुग्यो टुप्लुक्क । जय बहादुर चकित परे । शर्मिला भित्र पसेर सोध्न थालिन् –
“हैन, नर बहादुर के भन्न आयौ ?”
“के भनौ हजुर । जता ततै बिल्लबाटै विल्लबाट शिवाय केहि देख्नु, सुन्नु छैन ।”
“के के विल्लबाट देख्यो र ?”
“दिपु मैयाँलाई जलायर आउनु पाएको छैन, कप्तान सावको त्यो चाल परी हाल्यो । पुरेत बाजे नभै दिनु भएको भए के हुन्थ्यो होला । घुम्दै जाँदा देखें चमेलीको त्यो गति आज हो कि भोलि हो । आउँदा सुन्छु कप्तान्नी साब पनि खसी बनी बक्स्यो । अव यहाँ भन्दा विल्लबाट के सुन्नु ? के देख्नु ?”
“अहिले तिमी कहाँ बसेका छौ नि ?”
“जहाँ पाउँछु त्यहि बस्छु । कहाँ बस्छु भनौ अव ।”
“डेराको बन्दोबस्त गरेका छैनौ र ?”
“पैसा भएपो डेराको व्यवस्था हुन्छ । छैन कहाँबाट होस ?”
“यहीं बसनत ।”
मालिकको नजिक बस्न पाए मर्दा पर्दा पनि काम लाग्थ्यो । दिन दिनै सत्तल चाहर्दा जोडिएका सामान पनि हराउने सुविस्ता भनेको छँदै छैन । यस्तै गुँड सार्दा सार्दै दिन गुज्री हाले । अब बढी बाँचे पाँच वर्ष त हो नि । त्यतिन्जेलको लागि मालिकहरूलाई किन दुःख दिउँ ? जहाँ पायो त्यहि लडिदिए भैहाल्यो बासकै जोहो पनि किन गर्नु पर्यो र ? बस नै आज्ञा हुन्छ भने दुई – चार दिन गुजारा गर्नु पर्ला ।
“तिमीलाई अन्तै अशल छ भने अन्तै बसे पनि हुन्छ”
बास नपाएकोमा पीर भए बस्न सक्छौ भन्देकी मात्रै हुँ ।
कुरा हुँदै थियो । पुरेत बाजेले जय बहादुर सँग विदा भै शर्मिला सँग पनि विदा मागे । नरेले हात जोर्दै भन्यो –
“बाजे, म पनि जान्छु ।”
“हिंड्न त ।”
पुरेत बाजे र नरे दुबै हिंडे । मोटर चल्यो । ढोका खोली दुबै पसे । नरेले कुरा झिक्यो नरमाइलो मरणको । बाजेले सुन्दै गए । घर आइ पुग्यो । ओर्लेर भित्र पसे । छिंडीमा कृया पुत्री बसीरहेको बजैलाई सोधे । पत्ता चल्यो –कप्तान साहेवको । नरे खुसीले नाच्यो बाजेले धन्यवाद दिए बजैलाई ।
बेलुकीको खान पीन सकियो । नरेलाई एउटा लम्पट दिए । एउटा पाखी । दुबै बोकी तल झर्यो । प्रसस्त काँडा खान पाएको कृयापुत्रीले निक्कै प्रशंसा गर्यो बाहुनीको । नरेले सुनी नै रहयो । रात वित्दा साथ सामान बुझाई लागि पनि हाल्यो आफ्नो बाटो ।
०००
चार थुम्का (२०७६)
Subscribe
Login
0 Comments
Oldest







































