माधव पोखरेल गोज्याङ्ग्रेजालझेल
झोलामा दलको विकास रसिलो बोकेर भट्टीतिर खोज्दै जान्छ विहान साँझ मदिरा धोकेर त्यो आखिर राम्रो बन्छ र बोल्छ ताल सुरले जिब्रो बटार्दै जब आफैँ हूँ सबथोक भन्छ उसले मातेर गल्दै तब ।

माधव पोखरेल गोज्याङ्ग्रे :
भोकाए दलका अनेक थरिका गोही र ब्वाँसाहरू
छेपारो जसरी हिडे नगरमा कुल्चेर आशाहरू
सिल्लीका सरदार म्याउ गरने ढाँडे बिरालो सरी
पस्यो गाउँतिरै ठगेर दुनियाँ खायो भकारी भरी ।
फोस्रा भाषणले अघाउन सधैँ को सक्छ यो देशमा
धन्दामा छ अनेक रूप यिनको गोरो छ त्यो फेसमा
हाम्राको पहिचान भित्र यिनले राम्रा बिलाए कति
जाली काम अनेक झेल यिनको चर्चा कमाए अति ।
चिन्दैनन् यिनले समाज अनि ति भोका र नाङ्गाहरू
चिन्छन् केवल मात साथ रहने मुन्द्रे र बाङ्गाहरू
कालो सर्प भएर देश डसने आत्मा खरानी सरी
शिक्षा काल भयो र जीवन सधैँ फाल्यो रछ्यानी भरी ।
आँखा खोल्न सकेन आज उसले भो अन्धकारै यता
आफू भो बदमास काल अरुको छिःछिः र दुर्र्दुर्र उता
फाल्यो इज्जत झोलमा रहरले नेता भएको दले
सेतो देख्न सकेन फोहर तिरै आत्मा पगाली ढले ।
आशामा जनता निरास जहिले वाचा हराए सबै
आफ्नै छैन अडान दाग मनमा लैलै बरी झैँ सबै
सिंचाइर्, विजुली, कुलो नहरको खाँचो छ शिक्षा अनि
पानी खान नपाउने समय भो बाटो र स्वास्थ्य पनि ।
पक्का काम भएन आज जसरी ढाँट्दै र ठग्दै हिँडे
नेता हूँ जनको भनेर हिडने कुर्लन्छ आफैँ लिँडे
नेताको गुण छैन साथ अरुको पाएन खै लाजले
आफ्नै धाक रवाफले मरिच झैँ बन्यो पुरा मादले ।
झोलामा दलको विकास रसिलो बोकेर भट्टीतिर
खोज्दै जान्छ विहान साँझ मदिरा धोकेर त्यो आखिर
राम्रो बन्छ र बोल्छ ताल सुरले जिब्रो बटार्दै जब
आफैँ हूँ सबथोक भन्छ उसले मातेर गल्दै तब ।
०००
गाईघाट, उदयपुर
Subscribe
Login
0 Comments
Oldest






































